बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘भलिबल खेलाडीहरु पीडामा छन् ’

‘भलिबल खेलाडीहरु पीडामा छन् ’


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०७८, बुधबार

खेलाडी उत्पादनमा कि राज्य अग्रसर हुनुप¥यो कि वातावरण निर्माण गरिदिनुप¥यो । दुबै भएको छैन ।अर्कोतर्फ राज्यले खेलाडीको भविष्य सुनिश्चितताको ग्यारेण्टी लिनुप¥यो ।

स्याङजा चापाकोटका जीवन भण्डारी होटल व्यवसायी हुन् । होटल व्यवसायमार्फत् नै गण्डकी प्रदेशको भलिबल खेलसँग जोडिएका उनलाई गण्डकी प्रदेश भलिबल टिमको व्यवस्थापकको भूमिका सुम्पेको छ । व्यवस्थापकको भूमिकामा रहँदै टिमसँग उनी एनभीए कप, टाइगरकपमा टोलीलाई सम्हाले/अनुभव सँगाले । हामीले उनै भण्डारीसँग उनको अनुभव,योजना र अवस्थाबारे लामो कुराकानी ग¥यौँ । प्रस्तुत छ– कुराकानीको सम्पादित अंश ।

व्यवसाय र खेलकुद टिमको व्यवस्थापनमा के फरक रहेछ ?

व्यवासय छुट्टै पाटो हो । यो कमाइ खाउँला, परिवार पालौँला भनेर गरिएको भयो । त्यसलाई त्यही अनुसार व्यवस्थापन गरिन्छ । टिम म्यानेजर भनेको भलिबलको मायाले भएको हो । यसको हिसाबमा फरक छ । एकातिरको व्यवस्थापन आफ्नो जिवनसँग जोडिएको छ भने अर्कातिर भनेको स्वयम्सेवकको रुपमा हो । खेलाडी व्यवस्थापकको भूमिकामा रहेर हेर्दा खेलाडीको अवस्था नाजुक छ । तर, भएको स्रोत र साधनको समुचित प्रयोग नै व्यवस्थापन हो । गहिराइमा जाने हो भने समानता पनि देखिन्छ ।

भलिबलसँग कसरी जोडिन पुग्नुभयो त ?

वास्वतमा भन्नुपर्दा भलिबलसँग जोडिएकै व्यवसायमार्फत् नै हो । व्यवसायी भएको हिसाबले र भलिबललाई माया गर्ने भएकाले नै यता जोडिएको हुँ । रमेश गुरु,राजकुमार दाई, नविन दाईसँग ठोक्किन पुगियो । उहाँहरु आयोजक, म होटल व्यवसायी ! पहिलो भेट सभामुख कपमा भयो । मैले चासो देखाएँ । खेलाडीले कस्तो प्रदर्शनबारे चर्चा र समीक्षा भयो । त्यही उपक्रममा एनभीएकपका लागि व्यवस्थापक अफर आयो । मैले स्वीकारेँ ।

खेलाडीको व्यवस्थापन गर्दा खर्च हुन्छ । स्रोत र सहयोग छैन । खर्च कहाँबाट जुट्छ ?

खेलाडी र व्यवस्थापक दुबैको हकमा साह्रै गाह्रो छ । खेलाडीलाई त हुने नै भयो । भलिबल संघलाई पनि गाह्रो नै छ । किनकि संघसँग रकम छैन् । प्रदेश सरकारले दिँदैन् । संघ छ, रकम छैन् । खेलाडीलाई कतै खेलाउन लग्याँै भने खर्चकै कुरा आउँछ । कतिपय अवस्थामा थोरै प्रदेशले सहयोग ग¥यो होला तर खेलाडीको संरक्षणको हकमा भने सरकार चुकेकै छ । खेल अवधिमा आयोजकले खाने बस्ने व्यवस्था गरिदिए हो, नत्र त सहयोग खोजेर नै चल्नु परेको छ । यो त भयो खेल खेल्दाको कुरा ! अब आउँछ,खेलाडी पारिश्रमिकको कुरा । हामीले खेलाडीलाई पारिश्रमिक दिन नै सक्दैनौँ । व्यवस्थापक भएको हिसाबले खेलाडीहरुलाई डाइट आवश्यक पर्दा सहयोग गरेँ । प्रशिक्षकले पनि प्रतिक्षणमा सहयोग गर्नुभयो । खेलाडीहरुले पनि निःशुल्क रुपमै प्रदेशको प्रतिनिधित्व गर्नुपर्ने बाध्यता छ ।

प्रदेशको टिम हेर्नुभयो । प्रदेशले टिम बनाउँदा खोजुवाको भर पर्नुपर्ने अवस्था छ । कारण के हो ?

समस्या चाहिँ दुबै पाटोबाट देखिन्छ । संघले पनि खेलाडी संरक्षणका लागि दवावमूलक तरिकाले लाग्नुपर्ने हो, त्यो भएको देखिदैँन । अर्को कुरा भनेको त राज्यले नै खेलकुदलाई वेवास्ता गरिरहेको छ । यो प्रदेशको मात्र होइन, देशकै समस्या हो । विभागीय क्लबबाहेक खेलाडीलाई जागिर दिन सक्ने अरु क्लब नै छैनन् । समस्या भनेकै जीविकोपार्जन हो, आर्थिक पक्ष हो । जबसम्म खेलाडीको जीविकोपार्जनमा ध्यान दिन सक्दैनाँै,तबसम्म यस्ता समस्या खेपिरहनुपर्छ । सधैं सहयोगमात्रै खोजेर पनि त टिम बन्दैन होला ? हामीले देखेको र सुनेकै कुरा हो–कुनैबेला नेपाली भलिबललाई उकास्नका लागि महत्वपूर्ण भुमिका खेलेको टप्स, फिस्टेल र ज्ञानुबाबाजस्ता विद्यालयले आफ्नो खर्चमा टिम बनाएका थिए । खेलाडी उत्पादन गरेका थिए । आज ती विद्यालयमा खेलाडीको अवस्था के छ ? यसैले पनि त प्रमाणित गर्छ– खेलकुदमा राज्यको लगानी गरेन भने अन्यत्रबाट मात्रै खेलाडी उत्पादन सम्भव छैन । राज्यले लगानी गरेको भए÷ खेलाडी उत्पादन गर्ने विद्यालयलाई अन्य किसिमले प्रोत्साहन गर्न सकेको भए गण्डकीका कयौँ विद्यालयहरुले खेलाडी उत्पादन गर्थे । खेलाडी उत्पादनमा कि राज्य अग्रसर हुनुप¥यो कि वातावरण निर्माण गरिदिनुप¥यो । दुबै भएको छैन । नेपालमा भलिबलको मात्र होइन सबै खेलको अवस्था निकै दयनीय रहेको छ । सबै खेल स्वयंसेवक प्रशिक्षक र सहयोगीकै भरमा चलिरहेको छ ।
खेलाडीलाई आवश्यक प्रशिक्षण पनि पुग्दैन् । अनि कहाँबाट नतिजा राम्रो आउँछ त ? प्रदेशले खेलाडीहरुलाई विभागीय टोलीजस्तै प्रशिक्षण दिने हो भने गण्डकीलाई कसैले नआँटे हुन्छ । प्रदेश सरकारले पनि खेलाडीका लागि केही पनि गरेको छैन । खेलाडीहरुल्े कतिदिन प्रदेशको नामबाट रित्तो हात खेलिदिने ? दुःख खेल संघ र खेलाडीलाई छ । संघसंग पैसा छैन, खेलाडीले पैसा पाउँदैनन् ।

प्रदेश खेलाडीको प्रदर्शन चाहिँ कस्तो छ र तपाईं आएपछि के परिवर्तन भयो ?

खेलाडीको प्रदर्शन उच्च छ । प्रत्येक प्रतियोगितामा नयाँ खेलाडी हुने गर्छन् । उनीहरुको खेल निकै राम्रो छ । टाइगर कपको कुरा गर्ने हो भने पनि नयाँ खेलाडी थिए । सेमिफाइनलमा पुगेकै हो, लिग खेलेर पनि । खेलाडीले पर्याप्त प्रशिक्षण नपाएसम्म नतिजाको आशा नगरे हुन्छ । यदि हाम्रा खेलाडीलाई पर्याप्त प्रशिक्षणको व्यवस्था हुन्छ भने देशमा सबैभन्दा बलियो टिम हुन्छ । नतिजा पनि हाम्रै पक्षमा नै आउँछ ।
अझ टाइगर कपमा गण्डकीबाट खेल्न केही राम्रा खेलाडी आएनन् । जसका हामी कमजोर देखियौँ ।

राम्रा खेलाडीले प्रदेशबाट खेल्न किन मानेनन् ?

मैले अघि पनि भनिसकेँ, यो सबै अर्थसँग नै जोडिएको कुरा हो । खेलाडीहरु प्रदेशबाट के का लागि खेल्ने ? किन खेल्ने ? के सधैं प्रदेशको जर्सी लगाउने अनि निःशुल्क खेल्ने हो र ? त्यो त सम्भव नै छैन नि । खेलाडीलाई प्रदेशमा भन्दा स्थानीय प्रतियोगिता खेल्दा फाइदा हुन्छ । उनीहरुले प्रत्येक खेल खेले अनुसार रकम पाउँछन् । प्रदेशबाट खेल्दा त नाम मात्र पाउने त हो । अनि अर्को कुरा, खेलाडीमा पनि अनुशासन नभएकै हो । प्रदेशको टिम बनाउँदा सुरुमा जुन खेलाडीहरु थिए, अन्तिम छनोट हुँदा आइदिएनन् । उनीहरु स्थानीय प्रतियोगितामा नै गए । त्यसैले हामीले आलोचना खेप्न परेको हो । अन्यथा त खेलाडी बाँच्नु प¥यो । अधिकांश खेलाडी गाउँकै छन् । त्यसरी नै खेलेर कमाइ हुँदा उतै जान्छन् । रित्तो हात फर्किने भएपछि किन आउँछन र आउँदैनन् । प्रदेशबाट खेल्ने वित्तिकै स्थानीयस्तरको खेल खेल्न पाउँदैनन् । प्रदेशबाट खेल्दा राष्ट्रिय स्तरको खेलाडी भनिन्छ अनि खेल्न पाउँदैनन् । त्यसैलेपनि खेलाडी आउन मान्दैनन् । लोकल खेलमै रमाउँछन् ।

खेलाडीले खाली हात फर्कनुको पीडा कसरी सल्टाउने ?स्वयंसेवक बनिरहँदा तपाईंलाई पनि गाह्रो होला नि !

विना व्यवसाय त खेल नै भनेर हिँड्न सक्ने अवस्था नै छैन । तैपनि तपाईँले भनेझै खेलाडीको तर्फबाट सोच्दा निकै दयनीय अवस्था छ र्। प्रदेशबाट नेतृत्व गरिरहँदा खेलाडीहरुलाई भत्ताको व्यवस्था छैन् । खाली गाडी भाडामात्रै दिनुपर्ने बाध्यता छ । खेलाडीले पारिश्रमिक नै पाउँदैनन् । यो त लाजमर्दो कुरा हो । महिना दिन टिमका लागि खेल्यो अनि जाने बेला खाली हात फर्कियो । परिवार पाल्नुपर्ने खेलाडीको हकमा के हुन्थ्यो होला ? मैले पनि कुनै खेलाडी भाइबाट नै सुनेको– काठमाडौंमा एकजना सर हुनुहुन्थ्यो रे खेलकुदलाई निकै माया गर्ने । उहाँसँग राम्रो सम्पत्ति पनि थियो रे ! तर, उहाँ अहिले डाइभर भएर हिँड्न बाध्य हुनुहुन्छ रे ! अवस्था एस्तै हो–खेलाडीको । राम्रो आम्दानी भएको व्यक्ति त सकिन्छ भने केही पनि नभएका खेलाडीहरु कसरी धानिन्छन् ? धन्न खेलाडीले प्रदेशका लागि खेलिरहेकै छन् ।

खेलाडी संरक्षण र जीविकोपार्जनका लागि राज्यले के गर्नुपर्छ त ?

मुख्य कुरा भनेकै यही हो । खेलाडीका लागि वर्षेनी प्रशिक्षण गराउने । दिउँसोमा केही जागिरको व्यवस्था गरिदिने वा व्यवसायमा राज्यले लगानी गरिदिने हो भने खेलाडीको संरक्षण पनि हुन्छ । खेलाडीले नियमित रुपमा प्रशिक्षण पनि पाउँछ । टिम सेट हुन्छ,नतिजा सोही अनुसारको आउँछ । आर्थिक रुपमा बलियो बनाउने योजनाहरु राज्यले ल्याउनुपर्छ अनिमात्र समस्याको समाधान हुन्छ । गाउँगाउँका विद्यालयहरुमा भलिबल निकै खेलिन्छ । उनीहरुलाई त्यही विद्यालयहरुमा पार्टटाइम जागिरको व्यवस्था गरिदिने । उनीहरुले त्यहाँ सामान्य भलिबल खेल्न सिकाउँछन् । त्यसले उनीहरु पनि प्रशिक्षक बन्नेतर्फ आकर्षित हुन्छन् अनि खेलाडी उत्पादनमा पनि राहत मिल्छ । अथवा अन्य जागिरहरु पनि त प्रदान गर्न सक्छन नि ।

प्रस्तुतिः विजय नेपाली

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->