आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रंगशाला संरक्षणदेखि अन्तर्राष्ट्रिय म्याराथनसम्मको यात्रा

रंगशाला संरक्षणदेखि अन्तर्राष्ट्रिय म्याराथनसम्मको यात्रा

सरकारले अपनत्वसँगै सहयोग गर्ने हो भने म्याराथनले अन्तर्राष्ट्रिय स्वरुप लिन समय लाग्ने छैन ।


  • विजय नेपाली
  • फाल्गुन ६ २०७८, शुक्रबार

पोखरा/ भूतपूर्व खेलाडी मञ्च अर्थात् जेठा खेलाडीहरुको जमात ! खेल जीवनबाट सन्यास लिएका यिनै पुराना खेलाडीहरुको संस्था भूतपूर्व खेलाडी मञ्च स्थापनाको २ दशक पूरा भएको छ । २ दशकको अवधिमा मञ्चले २ ठूला काम गरेका छन् । यी कामले गण्डकीको खेलकुदलाई भरथेग गरिदिएको छ ।

२०५८ सालमा ८१ जना खेलाडीहरुको पोखरा रंगशालामा भएको भेलाबाट मञ्च स्थापना भएको हो । मञ्चले एथलेटिक्सलाई अघि बढायो । २० वर्षअघि जोशका साथ सुरु गरेको पोखरा म्याराथन समयक्रमसँगै परिमार्जित र व्यवस्थित भएको छ । अर्कोतर्फ, मञ्चले कथित सुकुम्वासीसँग मुकाबिला नगरेको भए पोखरा रंगशाला अहिलेको रुपमा देखिने थिएन् ।

अधिग्रहण गरिएको जग्गाको मुआब्जा बुझ्न नमान्ने जग्गाधनीहरु एकातिर रंगशालाको जग्गा भाडामा लगाइरहेका थिए भने अर्कोतिर सुकुम्वासीको नाममा भएको अधिग्रहण ! संरक्षण अभियानमा लागेको मञ्चकै अगुवाइमा रंगशालामा पर्खाल लगाउने योजना बन्यो । खेलप्रेमीहरुले दिल खोलेर सहयोग गरे । २०५९ सालमा पर्खाल ठडियो । कुल ४ सय १७ रोपनी क्षेत्रफलको बहुउदेश्यीय रंगशालालाई नयाँ स्वरुप दिने बाटो खुल्यो । गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तथा भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष तेज गुरुङ रंगशाला अतिक्रमण रोक्ने काम ऐतिहासिक भएको बताउँछन् । रंगशाला संरक्षण र पोखरामा म्याराथनको आयोजना नै मञ्चको परिचय भएको पनि उनले स्वीकारे । सशस्त्र द्वन्द्वको समयमा सुरु भएको अभियान संचालनका दुःखको स्मरण गर्दै उनले भने,‘ एकातिर अर्थ अभाव, अर्कोतिर रंगशाला संरक्षणको लागि भिडन्त तर विषमतामा पनि हामीले २ किलोमिटरको क्षेत्रमा पर्खाल लगाइएको छ । ८१ जनाबाट सुरु भएको मञ्चमा अहिले २ सयभन्दा बढी सदस्य भएका छौँ ।’

२६ जनाबाट सुरु म्याराथन देखी हजारौँ सहभागि समस्या सडक सुरक्षा नै

मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट एथलेटिक्स खेलाडी थिए । उनले मञ्चबाटै एथलेटिक्सको आयोजना प्रस्ताव ल्याए । उनकै प्रस्तावमा २०५८ साल फागुन ६ गते पहिलो पोखरा म्याराथन आयोजना भयो । म्याराथनलाई निरन्तरता दिइयो ।आर्थिक अभावका कारण बीचका ४ संस्करण रोकिए । २६ जनाबाट सुरु भएको म्याराथनमा अहिले हजारौंको सहभागिता हुन्छ । मुख्य धावकहरुको संख्या भने सय हाराहारी हुने गर्छ ।

विश्वमा चर्चित सहरहरुले मुख्य शहरकै नामबाट म्याराथन गर्दै आइरहेको थियो । सोही कुराको सिको गर्दै पोखरा म्याराथन नाम जुराइएको हो । चौथो संस्करणपछि म्याराथनमा राष्ट्रिय वाणिज्य बैंक जोडियो । म्याराथनका ३ वटा संस्करणमा मुख्य प्रायोजकको फुर्को थपियो । बैंक सुधारको लागि आएका विदेशी व्यवस्थापकको सदासयताका कारण म्याराथनमा प्रायोजक पाइएको रानाभाटले सुनाए ।

‘ बैंकका कार्यकारी निर्देशक अमेरिकाको न्यूयोर्क म्याराथनको सुरुआत गरेका व्यक्ति रहेछन् । उनले नै खोजी गरेर ३ वर्षे सम्झौता भएपछि वाणिज्य बैंककै नाम राखेर म्याराथन भयो’, उनले भने,‘ सहयोगले केही सहज भयो, नत्र घरघर पुगेर सहयोग उठाउनुपर्ने बाध्यता थियो ।’ एउटा संस्करणलाई गैरआवासीय नेपाली संघले सघायो । २०६९ देखि २०७१ सालसम्म म्याराथन हुन सकेन । २०६२ सालदेखि पोखरेली औद्योगिक घराना लक्ष्मी हाउसको उत्पादन सफल दूध म्याराथनसँग जोडिएको छ । सफल दूधको प्रायोजनपछि म्याराथनमा निरन्तरता छ । म्याराथनले राष्ट्रियबाट अन्तर्राष्ट्रिय स्वरुप लिने बाटो समाएको छ तर सहभागी संख्या बढ्दै जाँदा सडक सुरक्षाको चुनौती झन थपिएको छ । ट्राफिक समस्याका कारण खेलाडीलाई सडकमै दौडाउँदा ज्यानको जोखिम बढेको छ । पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय म्याराथन एशोसिएसन (एम्स) मा जोड्नका लागि मुख्य मापदण्डक नै सडक सुरक्षा हो । एम्समा जोडिन सफल भयो भने पोखरामा समेत अन्तर्राष्ट्रियस्तरका प्रख्यात धावक आउने सम्भावना बलियो हुन्छ ।

पोखरा म्याराथनको गुणस्तरमा वृद्धि हुँदैगर्दा अहिले महिला हाफ म्याराथन समेत समावेश गरिएको छ । म्याराथनमा सबै किसिमका दौड समावेश गरिएको छ । जसले पोखरा म्याराथनलाई विश्व सामु चिनाउने प्रयत्न गरिरहेकै छ । हिजोका दिनमा थोरै सहभागिताबाट सुरु भएको म्याराथनलाई पोखरामय बनाउन आम नगरवासीको सहयोगको आवश्यकता रहेको छ । यतिमात्र होइन् । यसलाई अझ प्रभावकारी म्याराथन बनाउनका लागि अब गण्डकी प्रदेशभर विभिन्न दौड प्रतियोगिता गर्ने र दौडको कुम्भमेलाको रुपमा पोखरा म्याराथनलाई स्थापित गर्नुछ ।

मुख्यतयः सडक सुरक्षालाई समाधान गर्न आवश्यक छ । यसका लागि स्थानीय क्लब,आमा समूह, समाज र मुख्य जिम्मा भनेको प्रदेश र स्थानीय सरकारको हो । प्रदेश र स्थानीय सरकारले यसलाई ठूलो र महत्वपूर्ण कार्यक्रमको रुपमा अपनत्व ग्रहण गर्ने हो भने विश्व म्याराथनमा जोडिन पोखरा म्याराथनलाई समय लाग्ने छैन र सडक सुरक्षामा समेत समस्या आउने छैन् ।

५० हजार रुपैयाँ पुरस्कारदेखि सुरु भएको म्याराथनको पुरस्कार अहिले ४ लाख पुगेको छ । १६ औं संस्करणको म्याराथनमा केन्या, भारत, फ्रान्स, युके, ओमन, आएरल्यान्ड र अमेरिकाबाट १४ विदेशी धावक सहभागी हुनेछन् । नेपालका १७ जिल्लाबाट १६२ जना धावकको सहभागिता रहनेछ । उता महिलातर्फ भने ३९ जना धावक सहभागिता रहनेछ ।

पोखरा म्याराथनले विकासको गतिलिदैँ जादा म्याराथन प्रथम हुनेले बेलायतको म्याराथनमा सहभागिता जनाउने निश्चित भएको छ । यस्तै, एशियाली खेकुदको बन्द प्रशिक्षणमासमेत सहभागिता गराइने भएको छ । यो पोखरा म्याराथनको डेढ दशको उपलब्धी हो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->