फेवाताल किनारमा नेपाली नयाँवर्षको अवसरमा फेवा नववर्ष महोत्सव हुँदैछ । कोरोना महामारीले २ वर्ष रोकिएको महोत्वस पुनः सुचारु हुने अवस्थामा रहेको छ । कोरोना महामारीले पर्यटन व्यवसायीलाई पारेको प्रभाव र पोखराका होटलहरुको अवस्था पर्यटन प्रवद्र्धनलगायत विषयमा होटल संघ पोखरा नेपालका नवनिर्वाचित अध्यक्ष लक्ष्मण सुवेदीसँग ढोरपाटनकर्मी विजय नेपालीले लामो कुराकानी गरे । प्रस्तुत छ–कुरकानीको सम्पादित अंश । –सं.
कोरोना महामारीले पर्यटन व्यवसायमाथि पारेको असर बिस्तारै कम हुँदै गएको हो ?
कोरोना महामारीले हामीलाई मात्र होइन संसारलाई नै विचलित बनायो । हामी पर्यटन व्यवसायीहरुले जब व्यवसाय सुरु ग¥यौँ, त्यतिबेलादेखि नै विभिन्न समस्या खेप्दै आउन बाध्य भयौँ । कहिले राजनीतिक अस्थिरताले ल्याएको आन्दोलन त कहिले भूकम्प अनि नाकाबन्दीको समस्या । त्यस्तै त्यसतै समस्याले प्रभाव पारिरहँदा अब केही हुन्छ कि भन्ने आशा पलाएको थियो २०७२ सालको भूकम्पले अस्तव्यस्त हुन पुग्यो र त्यसको बाबजुत केही वर्षपछि राम्रोसँग व्यवसाय हुन्छ कि भन्ने थियो । पुनः कोभिडले पर्यटन व्यवसायलगायत अन्य व्यवसाय पनि सिथिल अवस्थामा पु¥यायोे । कोरोनाको पहिलो १ वर्ष निराशामा वित्यो । नेपाल सरकारले लकडाउन गर्दा पूर्णरुपमा बन्द हुँदै गर्दा चैतदेखि असोजसम्म शुन्य अवस्थामा पुग्यो । त्यो बेला अब कोरोना कहिले जान्छ भनेर हतोत्साहीसमेत भयौँ । लाग्थ्यो, अब टुरिजम खतम हुन्छ । कति बर्ष जान्छ ? त्रसित नै थियौँ । कोभिडले ८० प्रतिशत बढी कर्मचारी विस्थापित हुन पुगे । २५ प्रतिशत होटल व्यवसायी त पलायन नै भए ।
अहिलेको अवस्था कस्तो छ ?
पोखरा आसपासमा करिब १२ सय होटलहरु रहेका छन् भने, लेकसाइड र ड्यामसाइडमा मात्रै ७ सय बढी होटलहरु रहेका छन् । होटल संघ पोखरा नेपालमा ४२५ होटल दर्ता भएका छन् । बाँकी करिब ३ सय होटल हामीभन्दा बाहिर हुनुहुन्छ । होटल बन्ने क्रम चलिरहेको छ ।
संघमा सबै होटल किन अटाउन सकेनन् वा ल्याउन संघले चाहेन ?
हामीले ल्याउन नचाहेका होइनौँ । नेपाल सरकारको झन्झटिलो प्रक्रियाका कारण संघमा आवद्ध हुन सक्नुभएन । किनभने सदस्य बन्नका लागि हरेक सरकारी निकायमा पर्यटन, कर र घरेलुमा दर्ता हुनैपर्छ । त्यस्ता होटललाई मात्र हामीले सदस्यता दिन्छौँ र उहाँहरु पर्यटन कार्यालयमा दर्ता गर्ने अवस्थामा हुनुहुन्न । सरकारले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनसमेत माग्ने भएकाले यो झन्झटिलो प्रक्रिया सानो गेष्ट हाउसमासमेत लगाएको हुनाले उहाँहरुले दर्ता गराउन सक्नुभएको छैन् । हामीले हाम्रो संघमा सम्पूर्ण होटल व्यवसायीलाई समेट्नका लागि कि त विधान संशोधन गरेर जानुपर्छ अथवा नेपाल सरकारले यसलाई अलि फितलो बनाएर दर्ता प्रक्रिया सहज बनाए सबैलाई समेट्न सकिन्छ ।
अहिलेको अवस्थामा हेर्दा पर्यटकीय क्षेत्र भनेर फेवातालमात्रै सीमित देखिन्छ । तपार्इंहरुकै संघले पनि फेवाका होटलहरु मात्रै देखिएको छ । तर, अन्य ताल तथा क्षेत्रहरु पर्यटकीय गन्तव्य होइनन् कि जस्तो देखिन्छ !
धेरै राम्रो कुरा गर्नुभयो । हामीले पोखरा मात्र होइन, नेपाल नै घुम्न पर्छ भन्ने अभियान चलाएका छौँ । हामीले चलिए नेपाल भनेर छिमेकी मुलुकमा अभियान चलाएका छाँै । हामीले फेवातालमात्र होइन अन्य तालहरुपनि जानु भन्छौँ । सराङकोटमात्र होइन हामी काहुँडाडा जानुहोस् भन्छौ । काहँुमात्र होइन स्तुपापनि जानुहोस् भन्छौँ । स्तुपा पनि गयो भने पो त पर्यटक हाम्रो कहाँ बस्छन् । पोखराको पर्यटन व्यवसायीका लागि आसपास र नेपालका अन्य क्षेत्रको प्रबद्र्धन गर्न आवश्यक छ ।
कोरोना महामारी पछि अहिले बाह्य र आन्तरिक पर्यटनको अवस्था चाहिँ कस्तो छ ?
अहिले एक हप्ताको मात्रै हेर्ने हो भने छिमेकी मुलुक भारतबाट ठूलो मात्रामा पर्यटक आएको अवस्था छ । तेस्रो मुलुकबाट पोखरामा दैनिक पाँच सय जनाको हारहारीमा आउने पर्यटक पनि देखिन्छन् । आन्तरिक पर्यटक भने हरेक हप्ता ३५ प्रतिशतसम्म आउने गरेका छन् । कोरोनापछि थला परेको स्थितिमा अहिले तेस्रो वा छिमेकी मुलुकबाट पर्यटक आउने सम्भावना कम भइरहँदा पोखराको पर्यटन आन्तरिक पर्यटनले नै धानेको हो । विषेश गरी पछिल्ला समय पोखरामा भएका लोकसेवा आयोगको परीक्षा, विभिन्न राजनीतिक पार्टी, संघसंस्थाहरुको सभा सम्मेलन पोखरामा हुँदा आन्तरिक पर्यटन बढे । उनीहरुको आगमनले हाम्रा व्यवसायीहरु लाभान्वित भएको अवस्था हो र यसरी नै संघसंस्था तथा पार्टीहरुको कार्यक्रमका कारण चलायमान हुनेमा हामी आशावादी रहेका छौँ ।
होटल संघ पोखराले नेपाली नयाँ वर्षको अवसरमा १७ औँ संस्करणको नव फेवा महोत्सवको आयोजना गर्दै हुनुहुन्छ तयारी कस्तो छ ?
वास्तवमा होटल संघ पोखराले करिब २ दशक अघि सुरु गरेको अभियान निरन्तर रुपमा १६ औँ पटकसम्म सफलतापूर्वक सम्पन्न ग¥यौँ । र बीचको २ वर्ष कोभिडका कारणले हामीले कुनै पनि कार्यक्रम गर्न सकिएन र अब अवस्था सामान्य छ । तर पनि हामी स्वास्थ्य मापदण्ड पालना गर्दै यो महोत्सव भव्य रुपमा सफल गराउन विभिन्न समिति गठन गरि काम गरिरहेका छौँ । तयारी तीव्र चलिरहेको छ ।
फेवातालको किनारमा वर्षको २ पटक महोत्सव हुन्छन् अंग्रेजी नयाँ वर्ष र नेपाली नयाँ वर्षको अवसरमा तर यो हेरिरहँदा अंग्रेजी नयाँ वर्षमा मनाइने महोत्सव चाहिँ बढी रुचाइयो । नेपाली नयाँ वर्षको महोत्वस रुचाइएन । समस्या कहाँ र के हो ?
हो, हामीले यहिका लागि प्रयास स्वरुप यो वर्ष सडकमा मात्रै निःशुल्क महोत्सवको आयोजना गर्दैछौँ । जसरी रेवानले गर्ने महोत्वस कार्यक्रम भित्र पनि र बाहिर पनि गर्नुहुन्छ र सडकको कार्यक्रममा बढी उपस्थिति हुने गथ्र्यो । किनभने सडकै खाऊँ सडकमै रमाऊँ भन्ने अभियान छ । हामीले चाहिँ एउटा निश्चित ठाउँमा टिकटसहित कार्यक्रम गथ्र्यौँ । लामो समय १० दिन, ५ दिन ३ दिन त्यसरी कार्यक्रम ग¥यौँ । यो वर्ष हामीले अंग्रेजी नयाँ वर्षमा जस्तै,त्यही मोडालिटिमा रेवानले जसरी गर्नुहुन्थ्यो त्यसरी नै लेकसाइडको ३ किलोमिटरको बाटोमा हामी रेवानसँग समन्वय गरेर सडक महोत्सव गर्दैछौँ । हामीले यो पटक २ वटा स्टेज बनाउँदै छौँ, सडकमा । एकातिर लोकदोहोरी, अर्कातिर पप कन्र्सट, लोक बाजाहरुको प्रस्तुति दिनेछौँ । कला संस्कृति, भजन, रत्यौलिलगायतका कार्यक्रमको आयोजना गरिनेछ ।
तपाई लामो समय यो व्यवसायमा हुनुहुन्छ । पहिला कस्तो स्थिति थियो र अहिले कस्तो स्थिति छ ?
वास्तवमा आजभन्दा २५ वर्ष अगाडी पोखराको पर्यटनमा व्यवसायीहरु थोरै हुनुहन्थ्यो । मैले व्यवसाय गरेको ३० वर्ष भइसक्यो । त्यतिबेल १०–१२ वटा रुम भएको होटललाई पनि ठूलो होटलको रुपमा लिइन्थ्यो त्यो पनि टिनको छानो भएको कटेरो थियो । त्यतिबेला सिजन र अफ सिजन भन्ने थियो । सिजनका बेलामात्रै खोलिन्थ्यो अफ सिजनमा सबै होेटल बन्द हुन्थ्यो । विस्तारै रेष्टुरेन्ट एण्ड वार एसोसियसनले पर्यटकको आगमन नहुने अवस्था रोजेर महोत्सव गर्न सुरु ग¥यो । क्रिसमसको समयमा यहाँ आउने पर्यटक पनि केही गतिविधि नहुने हुदाँ स्वदेश फर्किने प्रचलन थियो भने आन्तरिक पर्यटकलाई हामीले त्यति ख्याल दिन सकेनौँ । त्यो हाम्रो कमजोरी थियो । रेवानल विस्तारै सुरु गरेपछि आन्तरिक पर्यटकको पनि चहलपहल बढ्यो र होटल संघले पनि जाऊँ है पोखरा भनेर २ दशक अघिबाट अभियान चलाउँदै आयो । अब आन्तरिक पर्यटक पनि ल्याउनुपर्छ है भन्दै हामीले इलामबाट यो अभियान सुरु गरेका हौँ । हिजोको शुन्य अवस्थामा अहिले ठूलो पर्यटकको आगमन भएको छ । अहिले होटलहरु जस्तो भन्यो त्यस्तै पाउँछौ । वास्तवमै आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न सक्ने हो भने मात्र पर्यटनको संख्यामा वृद्धि गर्न सक्ने रहेछौँ ।
पोखरामा पछिल्ला वर्षहरुमा हेर्दा पर्यटकको बसाई घटेको छ, अव्यवस्थित रुपमा पदयाात्रालाई मासेर बनाएको विकासका कारण यो आएको हो भन्ने छ तपाईको धारणा के छ ?
तेस्रो मुलकबाट विशेषगरी पदयात्राका लागि करिब १ महिनाका लागि आउने गरेको अवस्था थियो । पदयाात्राका लागि आउने क्रममा पोखराको बसाई पनि लम्बिने गरेको थियो । तर, विस्तारै पदमार्गहरु मासिदैँ गए । कच्चि सडक बन्न थाले जस्ले गर्दा पर्यटकहरु त्यहि कच्चि बाटोबाट हिड्न पर्ने बाध्यता आइलाग्यो । त्यसले राम्रो सन्देश दिएन भने अर्कातिर एक महिनामा पूरा गरिने गन्तव्य अहिले दुई दिनमै सकिन्छ । एक दिन काठमाडौं बस्यो, अर्कोदिन पोखरा आयो पदमार्गमा गयो अनि फर्कियो गर्दा ३ दिन देखि ४ दिनमा त्यो सबै सकिन्छ । नेपाल आउने ८० प्रतिशत पर्यटक पदयात्राकै लागि आउने हो । विकाससँगै विकृति आउँदा समस्या हो । अहिले विभिन्न स्थानमा संरचना बनिरहेका छन् । अब नयाँ पदमार्ग खोलिनुका साथै नयाँ पर्यटकीय गन्तव्यको निमार्ण गर्न अवस्यक छ । जसले गर्दा पर्यटकको बसाई लम्बियोस् ।
तपाईँ संघको अध्यक्ष भएको ६ महिनामात्रै वित्यो लामो अनुभव बटुल्नु भएको छ पर्यटन प्रबद्र्धनमा तपाईँको भावि योजना के छ ?
संस्थामा म २ दशक देखि छु भने, पर्यटन व्यवसायमा ३० वर्षदेखि । जस्ले गर्दा यहाँको समस्याको बारेमा केहि जानकार छु जस्तो लाग्छ । पोखरामा पर्यटकको संख्या बढाउन र बसाइ लम्ब्याउनका लागि विभिन्न पर्यटकीय गन्तव्य खुलाउने र थप ठाउँ बनाउन विभिन्न फुटट्रयाक बनाउने साइकलरोड, टे«किङ रुट खोल्ने जस्ता गतिविधि तथा साहसिक खेलहरुको आयोजना गर्ने हो भने पर्यटक बढ्नुका साथै बसाई पनि लम्ब्याउन सक्छौँ । पोखरामा संसारका सबै खाना पाइन्छ । अब अन्तर्राष्ट्रिय विमानस्थल पनि बनिरहेको छ त्यसले पनि यहाँ पर्यटकको संख्या बढ्नेमा हामी आशावादी रहेका छौँ । जसले गर्दा हामी सिधै अन्तर्राष्ट्रिय सहरहरुसँग जोडिन सक्छाँै । दत्तचित्त भएर सबैले काम गर्ने हो भनेदेखि पर्यटन प्रबद्र्धन गर्न त्यति धेरै समय लाग्दैन ।





