बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मतदाता र नागरिकको सहयोग विना निर्वाचन सफल हुँदैन

मतदाता र नागरिकको सहयोग विना निर्वाचन सफल हुँदैन


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७९, बिहिबार

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशको अवस्था, तयारी के कसरी भइरहेको छ, मतदान स्थल÷केन्द्र तथा निर्वाचनबारे गण्डकी प्रदेश निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश ( सं.)

स्थानीय तहको निर्वाचन तयारी कस्तो चलिरहेको छ ?

आसन्न स्थानीय तहको निर्वाचनका लागि विभिन्न चरणमा विभिन्न तयारीहरु भइरहेको अवस्था छ । मतदान केन्द्रहरुको टुंगो लगाइसकेका छाँै । निर्वाचन अधिकृतहरु समेत नियुक्ति भइसकेर तालिमहरु सम्पन्न भएका छन । मतदान केन्द्रमा खटाउने जनशक्तिको लागि हामी तयारी चरणमा छाँै र यसलाई चाहिँ अन्तिम रुप दिने तयारिमा भइरहेको छ । त्यसैगरी मतदाता नामावलीहरु सम्पूर्ण रुपममा तयारी भएर आइसकेको छ । निर्वाचन आयोगको वेबसाइटमा पनि हेर्न सक्नुहुनेछ । अर्को भनेको, निर्वाचनसँग सम्बन्धित सामग्रीहरु हामीले तयारी अवस्थामा राखेका छौँ । कतिपय सामानहरु निर्वाचन आयोगबाट आइरहेको अवस्था पनि छ । कतिपय सामान मौज्दात रहेका भण्डार भएका सामानलाई पनि प्रयोग गरिरहेका छौँ । यसरी विभिन्न चरणमा तयारी भइरहेको छ ।

मतदानस्थल तोकिएका छन् । पूर्वाधारको अवस्था कस्तो छ ? स्रोत साधन कति छ ?

अब निर्वाचन आयोगको आफ्नै मतदान केन्द्र हुँदैन । सामान्यतया ः सार्वजानिक स्थलहरु जस्तै विद्यालय, सार्वजानिक भवन, हेल्थपोष्टजस्ता स्थानमा मतदान स्थलको रुपमा प्रयोग गर्छौ । र पुर्वाधारको कुरा गर्दा हामीले कम्तिमा पनि एक हजारजना मतदाता अटाउन सक्ने, लाइनमा राखेर व्यवस्थित गराउन सक्ने खालको भवनसहितको केन्द्रहरु तयार गरेका छौँ र कम्तिमा पनि छानो भएको मतदान केन्द्र होस् भन्ने हामीले पहिलेदेखि नै विचार गरेका हौँ । किनभने बर्खाको सिजन छ, भोलि हावाहुरी, पानी पनि आउन सक्छ । मतपत्र नभिजोस्, स्रोत साधन नबिग्रियोस भनेर विशेष जोड दिएका छौँ ।

गण्डकीमा अहिले कति मतदाता कति छन् ?

हाम्रो प्रदेशमा अहिले कुल १६ लाख ६२ हजार २४६ जना मतदाता हुनुहुन्छ । जसमा महिला मतदाताको संख्या ८ लाख ६९ हजार ५ सय ३८ रहेको छ भने पुरुष मतदाता संख्या ८ लाख ९२ हजार ६९७ जना रहेका छन् अन्य मतदाता भने ११ जना रहेका छन् । यो पाँच वर्षमा करिब १ लाख मतदाता थपिनुभएको छ । समग्रमा यो पाँच वर्षको समयमा पहिलाका बालिगहरुसमेत यतिबेला मतदाता भएका छन् । यसरी चाहिँ थपिएको अवस्था छ ।

प्रत्येक निर्वाचनमा मत बदर हुने गर्छन् नि ?

मत बदरको सम्बन्धमा अघिल्लो निर्वाचनमा पनि केही प्रतिशत मत बदर भएको तथ्याङ्क हामीसँग छ । जहाँसम्म लाग्छ, स्थानीय तहको निर्वाचनमा पहिलेभन्दा अहिले धेरैलाई थाहा भइसकेको र बानी परेकाले त्यो हिसाबमा कम बदर हुन्छ भन्ने हाम्रो अनुमान छ ।

मतदाता शिक्षा दिइएको छैन । १ लाख मतदाता थपिँदा बदर दर नबढ्ला र ?

समग्र मतदाताको शिक्षाको कुरा गर्दा विभिन्न पत्रपत्रिका, टेलिभिजन, अनलाइन, रेडियोमार्फत् सूचना प्रचारप्रसार गर्ने काम भइरहेको छ । खासगरेर मतदाता शिक्षाअन्तर्गत घरदैलो कार्यक्रम थियो । त्यो चाहिँ निर्वाचन आयोगले कार्यक्रम नै कटौति गरेको छ । अलिकति कम खर्चमा निर्वाचन सम्पन्न गर्ने विषय उठेकाले मतदाता शिक्षा कटौतिमा परेको छ । हामीलाई के लाग्छ भने, पहिला पनि मतदान सम्पन्न भएकाले धेरै समस्या आउँदैन भन्ने लाग्छ । अब नयाँका लागि राजनीतिक दलहरुले पनि मतदाता शिक्षा दिइरहेको अवस्था छ । यसको पहिलो वाहक भनेकै राजनीतिक दल हुन् । हामीले अपेक्षा गरेअनुसार कम्तिमा नयाँका लागि कसरी मतदान गर्ने भन्ने सिकाउनु भएको छ र अर्को भनेको संचारमाध्यमबाट धेरै सिक्नु भएको छ भन्ने लागेको छ ।

तर, गण्डकीका कतिपय स्थानमा अझै बिजुली प्ुग्न नसकेको पनि छ । त्यहाँका मतदातालाई समस्या त पर्छ होला नी ?

मतदातालाई समस्या पर्न सक्छ भन्ने कुरा पनि हो । अर्को भनेको मतदाताले धेरै कुरा बुझिसक्नुभएको छ भन्ने पनि हो । हरेक कुना काप्चामा उम्मेदवार हुनुहुन्छ । सबैतिर भिजिसक्नुभएको छ । उहाँहरुले पनि यसका लागि शिक्षा दिनुभएकै छ । उहाँहरु पनि एउटा सूचनाको वहाक भएको हिसाबले त्यतिधेरै समस्या नहोला भन्ने लाग्छ ।

विकट स्थानहरुमा मतदान स्थल वा केन्द्रको अवस्था कस्तो छ त ?

भौगोलिक रुपमा विकट स्थानमा पनि मतदान केन्द्र सार्वजानिक भवनहरुमा नै छन् र मतदान गर्नका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको व्यवस्थापन हुन्छ ।

मत बदर कसरी हुन्छ र सदर गर्न कसरी सकिन्छ ?

सबैभन्दा पहिला त निर्वाचन आयोगले तोकेको बमोजिम मतदान गर्न प¥यो । जस्तो कि, सम्बन्धित उम्मेदवारको नाम , चिन्ह रहेको कोठाभित्र नलत्पतिनेगरी स्वस्तिक चिन्ह लगाउन प¥यो । आफूलाई मनपरेको उम्मेदवार भयो भन्दैमा कलमले टिक लगाउने वा औठाछाँप लगाउने गर्नु भएन । अन्य तरिकाले गर्दा बदर हुन्छ । मतपत्र च्यात्नु भएन, त्यहाँ कुनै संकेत छाड्नु भएन । मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छ कि छैन, त्यो पनि हेर्न प¥यो । यदि निर्वाचन अधिकृतको हस्ताक्षर छैन भने त्यो मतपत्र बदर हुन्छ । कहिलेकाहिँ मानवीय त्रुटिका कारण त्यस्तो हुनसक्छ ।

मतपत्रको सुरक्षा कसरी मिलाउनु भएको छ ?

एउटा कुरा त के हो भने बाहिर भनिए जस्तो घोटला हुने, परिणाम नै उल्टिने बाहिर हल्ला, अपवाह गलत सूचनाको रुपमा हामीले लिन्छौँ÷सुन्छौँ नि, त्यो कदापि होइन । किनभने निर्वाचन एउटा व्यवस्थित प्रक्रिया हो । मतपेटिका शिल गर्नेदेखि लिएर त्यहाँ युनिक नम्बर हुन्छ । मतदान सम्पन्न भइसकेपछि त्यहाँ रहेका राजनीतिक दल तथा उम्मेदवारको प्रतिनिधिलाई राखेर, निर्वाचन अधिकृतले शिल गरेर सुरक्षाकर्मीको सुरक्षा घेराभित्र राखेर मतगणना स्थलसम्म ल्याइन्छ । स्थानीय तहको निर्वाचनको कुरा गर्दा मतगणना भनेको स्थानीय पालिकाको कार्यालय नै हो । जहाँ निर्वाचन अधिकृतको कार्यालय खुलेको छ त्यहाँसम्म ल्याइन्छ । र रातभरी कुर्नुपर्दा पनि प्रतिनिधिदेखि सुरक्षाकर्मीसम्म रहेका हुन्छन् । त्यसैले त्यस्तो घोटला भन्ने कहिँ हुँदैन् ।

विद्युतीय भोटिङ मेसिनका कुरा आएको थियो, त्यो किन सम्भव हुन सकेन ?

अहिलेको परिवेश भनेको टेक्नोलोजीको जमाना हो । मतदाताहरुको मागपनि इलेक्ट्रिक भोटिङमात्र नभइ अनलाइन मतदानका पनि कुरा आएका थिए । यसका लागि निर्वाचन आयोगले केही पनि गर्ने होइन् । यो त राज्यले नै गर्ने हो । विशेषगरी राजनीतिक दलहरुको सहमति नै सबैभन्दा ठूलो कुरा हो । आयोगले चाहेरमात्रै हुँदैन । यसमा समग्र दलहरुले सहमति, विस्वास, समझदारी हुन आवश्यक छ । अर्को पाटो भनेको आर्थिक पनि हो । सुरुमा खरिद गर्दा अलि महंगो हुन जान्छ । यसको फाइदाको कुरा के हो भने मत बदर हुने सम्भावना नै रहँदैन । मेसिनले गर्ने कुरामा दायाँबायाँ हुने मसि लतपतिने कुरा नै हुँदैन् । उपनिर्वाचनको समयमा यसको प्रयोग भएको थियो । आशा गराँै, समय अन्तरालमा यो पनि हुन्छ ।

मतपत्रहरु आइपुगेका छन् कि, छैनन् अवस्था कस्तो छ ?

मतपत्रको कुरा गर्नुपर्दा राज्यले दुर्गम भेगका लागि मतपत्र छाप्ने काम सकिसकेको छ । हाम्रो प्रदेश अलि सुगम छ र विस्तारै आउँछ । हामीले ८ गते बल्ल निर्वाचन अधिकृतको कार्यालय खोल्दै छौँ । त्यसपछि निर्वाचनसँग सम्बन्धित सामग्री सबै आउँछन् ।

अन्त्यमा आम मतदातालाई आयोगको तर्फबाट के सन्देश दिन चाहनुहुन्छ ?

समग्र मतदातालाई तोकिएको र आफुले मत हाल्ने केन्द्रमा पुगेर मतदान गर्न अनुरोध गर्दछौ । निर्वाचन भनेको आयोगको अथवा नेपाल सरकारको प्रयासले मात्रै सम्पन्न हुने विषय होइन् । यसमा आम मतदाता, नागरिक समाज, संचारमाध्यम, सुरक्षा निकाय, आम नागरिक सबैको उत्तिकै भूमिका हुन्छ र सबै मिलेर यो राष्ट्रिय अभियानलाई सफल पारौ भन्न चाहन्छु । पूर्ण शान्ति र सद्भावपूर्ण तरिकाले सफल पारौँ । प्रस्तुति ःविजय नेपाली

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->