आगामी पाँच बर्षे कार्यकालको सुरुवाती नीति तथा कार्यक्रम र बजेट ल्याएको काठेखोला गाउँपालिकाले उत्पादन बृद्धिमा जोड दिएको छ । अघिल्लो आर्थिक बर्षमा न्युन लक्ष राखेर लक्षभन्दा धेरै राजश्व संकलन, भौतिक र बित्तिय प्रगतिमा उल्लेख्य बृद्धि तथा विकास निर्माणका सन्दर्भमा विविध बाधा व्यवधानका बीचमा पनि देखिनेगरी भएको प्रगतिमा चुनौतीहरु थपिएका छन् । आयका स्रोत कम र व्ययका स्रोत धेरै भएकाले गाउँपालिका सहायता र सहयोगकै भरमा चल्नुपर्ने अवस्था छ । आन्तरिक स्रोत न्युन हुँदाहुँदै पनि गाउँपालिकाले आत्मानिर्भर बन्ने आशा भने मारेको छैन् । नयाँ जनप्रतिनिधि आएपछि आएको नीति तथा कार्यक्रम र बजेटबाट जनताले फरक स्वादको आशा राखेका छन् । तर, कार्यक्रम धेरै फरक नआएका भएपनि त्यसको कार्यान्वयको अवस्थामा भने हेर्न बाँकी छ ।
आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम ११ औं गाउँसभाबाट पारित भएपछि ती कार्यक्रमको कार्यान्वयनबारे चर्चा सुरु भएको छ । कसरी चलेको छ त गाउँपालिका, के छन् बजेटका बिषेशता, रोजगारी सिर्जना र उत्पादन बढाउने बजेटले के कार्यक्रम ल्यायो । यी र यस्तै विविध बिषयमा ढोरपाटन सहकर्मी तारानाथ आचार्यले काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’सँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।
काठेखोला गाउँपालिका के गरिरहेको छ ?
–काठेखोला गाउँपालिकाको विकास र परिवर्तनका लागि हामीले धेरै परिकल्पना गरेका छौं । भर्खरै हाम्रो ११ औं गाउँसभा सम्पन्न भएको छ । यो सभाबाट हामीले केही कार्यक्रमहरु बनाएका छौं । निश्चित रुपमा हामीसँग केही अवसर र चुनौतीहरु छन् । संविधानले कल्पना गरेको जनताको नजिकको सरकार हो गाउँपालिका । यो गाउँपालिकाबाट जनताको चाहना जुन खालको छ । त्यो पुरा गर्ने खालको स्रोत साधन हामीसँग छैन् । तर पनि हामी प्रयत्नशिल छौं । हाम्रो कार्यकालमा हाम्रो गाउँपालिकाका जनताको मुहारमा खुसी ल्याउने कुरामा हामी सधैं तत्पर रहने छौं ।
भर्खरै निर्वाचित भएर आउनुभएको छ । कत्तिको चुनौती र अवसरहरु देख्नुभयो गाउँपालिकामा ?
–सबैभन्दा पहिला त मेरो टिमलाई यो स्थानीय तह सञ्चालन गर्ने अवसर काठेखोला गाउँपालिकाबासीले प्रदान गर्नुभयो, म सबैप्रति आधार प्रकट गर्न चाहन्छु । सबै मतदाता सरोकारवाला सबैलाई धन्यवाद दिन चाहन्छु । यहाँको जनप्रतिनिधि भएर काम गर्न पाउँदा निश्चित रुपमा मैले गौरवको अनुभुती गरेको छु । यो नजिकको सरकार, जनतासँग जोडिएको सरकारमा रहेर काम गर्ने अवसर पाएको छु । यो अवसरलाई म उपयोग गरेर जनताको सेवा गर्नेछु । हामीले यो अवसरको उपयोग जनताको सेवामा गर्ने छौं, अबको पाँच बर्षमा जनताका हरेक दिन दैनिकीसँग जोडिएर काम गर्ने छौं ।
चुनौतीको धेरै चुनौती छन् । तिनै चुनौती जित्न सके हामी सफल हुने हो । अहिलेको समाजको चाहना हेर्दा कयौं प्रकारका चाहनाले चुनौतीहरुसँगै लिएर आएका छन् । आज विकासलाई बुझ्ने सन्दर्भमा पूर्वाधारलाई मात्रै विकास मान्ने विचारहरु एकातर्फ छन् । हामीले विकासलाई हेर्दा पूर्वाधार मात्रै विकास होईन समाजका कयौं पाटोहरु विकाससँग जोडिन्छन् भनेर बुझाउन आवश्यक छ । पूर्वाधार पनि विकास हो तर पूर्वाधार निर्माण मात्रै विकास होईन भन्ने कुरा बुझाउनु अहिलेको चुनौती हो । जबसम्म हामीले हाम्रा पूर्वाधारहरुलाई प्रयोग गर्नसक्ने नागरिक तयार गर्न सक्दैनौं तबसम्म पूर्वाधारको विकासले मात्रै परिवर्तन हुँदैन् । त्यसैले गर्दा जनताको चाहनाअनुसार बनेका योजनाको कार्यान्वयन नहुनु मुख्य चुनौती हो ।
कार्यान्वयनको पक्षमा पनि स्रोत साधन जोडिएर आएको हुन्छ । हामी थोरै स्रोत साधनमा धेरै अपेक्षा पुरा गर्नुपर्ने बाध्यतामा छौं । तर, पनि हामीले हाम्रो स्रोत मात्रै होईन त्योभन्दा बाहिरका विभिन्न संघसंस्था, केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर सम्पादन गर्न सकिने कार्यक्रम बनाएर जनताका चाहना पुरा गर्ने चरणमा छौं । एकातर्फ जनतामा विकास के हो भन्ने बुझाउने चुनौती छ, परिवर्तन के हो भन्ने बुझाउनुपर्ने चुनौती छ, विकासलाई हामीले टिकाउन सक्छौं या सक्दैनौं भन्ने चुनौती छ । मुख्य रुपले स्रोतसधानको चुनौती छ ।
बजेट तथा कार्यक्रम कस्तो छ र यसले गाउँपालिकालाई कस्तो बनाउँछ ?
–हामी निर्वाचित भएलगत्तै बजेट बनाउने काम सुरु भयो । छोटो समयमा नै हामीले बजेट बनाउनुपर्ने बाध्यता आईलाग्यो । बजेटका प्रक्रिया छन् । बजेटले सात चरण पार गर्नुपर्छ । तर, पनि हामीले समयलाई व्यवस्थापन गरेर जनताका बीचमा गएर माग ल्याउनेदेखि कार्यपालिकाहुँदै गाउँसभामा पास गर्नेसम्मका काम गरेका छौं । हामीले गाउँसभाबाट पारित गरेको बजेटले मात्रै हाम्रा जनताका इश्छा र चाहनाहरुलाई पुरा गर्न सक्दैनौं । त्यसैले हामीले कयौं प्रकारका साझेदार संस्थाहरुसँग साझेदारी गरेर जनताका इश्चा पुरा गर्नेगरी कार्यक्रम बनाएका छौं । निश्चित स्रोत साधनभित्रै रहेर पनि जनताका आधारभुत चाहना पुरा गर्ने, जनतालाई लाभ दिने हिसाबले बजेट बनाएका छौं । यो परिषद गरिरहँदा आफ्नै बाध्यता पनि भयो । हामीले कतिपय बिषय बजेट नराखी नहुने तर स्रोत नहुने समस्याहरु आए । तर पनि हामीले सबैको चित्तबुझ्ने हिसाबले बजेट कार्यक्रम ल्याएका छौं । पूर्वाधार तर्फका केही योजना समाबेश गरेका छौं यसमा मैले चर्चा गर्नु पर्दैन किनकी हामीले विकास भनेकै पूर्वाधार भनेर बुझेका छौं । हाम्रो बजेट पूर्वाधारमा मात्रै केन्द्रित छैन् । कृषि, शिक्षा, स्वास्थ्यतर्फ लक्षित बजेट ल्याएका छौं । हुनतः हामीले धेरै उत्पादनतर्फ जोड्ने योजनामा थियौं तर केही बाध्यताका कारण कम बजेट भएपनि उत्पादन, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । हामीभन्दा पहिलो कार्यकालका साथीहरुले सुरुवात गरेका कतिपय जनतासँग जोडिएका कार्यक्रमलाई पनि निरन्तरता दिएका छौं । बिपन्न वर्गका लागि स्वास्थ्य बिमा कार्यक्रम निरन्तर छ । शिक्षातर्फ इसिडि कक्षा, तलबमानको कुरामा सम्बोधन गरेका छौं । पर्यटनका लागि सम्भाव्यता अध्ययनका काम, पूर्वाधारमा ध्यान नदिएर सुख छैन्, त्यो सँगै उत्पादसँग जनतालाई जोड्ने कार्यक्रम हामीले ल्याएका छौं । सबै गछौं भन्दैनौं तर उत्पादन बढाउन पहल हुन्छ ।
उपलव्धीबिहिन बन्ने टुक्रे योजना नियन्त्रणमा हजुरको बजेटले ध्यान दिएको छ ?
–हाम्रो असिमित मागहरु सम्बोधन गर्ने नाममा टुक्रे योजनाहरु बनाएर उपलव्धीबिहिन बन्ने कुराहरु सत्य हुन् । हाम्रो कार्यपालिका बैठकबाट साना योजना वडा तहबाट आउने भएकाले सकेसम्म उपलव्धीमुलक हुने हिसाबले वडामा गौरवको योजना मागेका थियौं । बरु पाँचै वर्ष लगानी गर्न किन नपरोस् । तर, पनि टुक्रे योजना आउने क्रम रोकिएको छैन् । अहिलेको योजना छनोट र बजेट हतारमा आयो । सकेसम्म पाँच बर्षको अबधिमा उपलव्धी मुलक हुनेगरी योजना ल्याउन प्रयास गरेको हो । यसमा केही कमीकमजोरी भए होलान्, कार्यान्वयनमा समस्या होला तर जनतासँग जोडिने र उपलव्धीमुलक हुनेगरी योजनाहरु सञ्चालन गर्ने सोँचका साथ सकभर टुक्रे योजना कम र ठुला बहुबर्षे योजनामा जोड दिएका छौं ।
अनुदानको उपयोग भएन भन्ने गुनासाहरु आउँछन् नि ? अनुदानको उपयोग गर्न के योजना छ गाउँपालिकासँग ?
–मैले अघि पनि चुनौतीको रुपमा भने हाम्रो बुझाई यो नेपाल सरकारको पैसा हो । अनुदान भनेको हामीले पाउने हो र खाने हो भन्ने बुझाई छ । यसको नियन्त्रणको लागि दुईवटा कुरामा ध्यान दिनुपपर्छ भनेका छौं । एउटा कुरा अनुदान पाउने कुरा र अनुदान पाएपछि त्यसको उपयोगको कुरा । पहिलो कुरा त अनुदान दिनका लागि हामीले कार्यविधि बनाउँदै छौं । कार्यविधिमा समाबेश हुने कुरा अहिले नभनौं । हिजो अनुदान ल्याउने खोज्न जाँदा नभेटिने रोग नियन्त्रणका लागि हामीले कार्यविधि बनाएर जान्छौं । उत्पादनको आधारमा अनुदान र मागमा आधारित अनुदानको कार्यक्रमलाई प्रभावकारी ढंगले अघि ल्याउँछौं ।
आन्तरिक स्रोत बढाउन के योजना छ ?
–राजश्वको कुरा गर्दा हामीले राजश्व परामर्श समितिसँग पटक पटक बैठक बस्यौं । गत बर्ष हाम्रो गाउँपालिकाको तार्गेट भनेको ३२ थियो तर हामीले ४० लाख रुपैयाँ राजश्व संकलन गर्न सकेका छौं । यो आम्दानी भनेको हाम्रो अहिलेको विकास बजेटको हिसाबमा अन्यन्तै न्युन हो । त्यसैले हामी अत्यन्तै गम्भिर भयौं । किन भने जसको आफ्नो आम्दानी छैन्, अर्काको सहायताको भरमा मात्रै गाउँपालिका चलाउँछौं, समृद्ध गराउँछौं भन्ने कुरा पनि त्यो एउटा स्वभानीय बिषय होईन । त्यसैले हामीले आन्तरिक आम्दानी बढाउन मेरै अध्यक्षतामा एउटा समिति बनाएका छौं । हिजो ५६ वटा करका दायराहरु थिए । अहिले हामीले करको दर बृद्धि नगरेर दायरा बढाउने भनेका छौं । ७० वटा दायरा बनाउने छौं । ५६ शिर्षकमा कर लगाउँदा १५÷१६ वटा मात्रै प्रयोगमा छन् । त्यसैले हामीले पसल दर्ता भएर नविकरण नभएकालाई छुटको व्यवस्था गर्ने भनेका छौं । जसका कारणले दायरा फराकिलो बनोस् । कर बढाउन पनि भएको छैन र सबैलाई करको दायरामा ल्याउने काममा हामी लाग्ने छौं ।
वेरोजगारको समस्या चरम छ, रोजगारी र स्वरोजगार प्रबद्र्धनका लागि बजेटले के सम्बोधन गर्यो ?
–हामीले यो बिषयमा छलफल गरेका छौं । रोजगारीका क्षेत्र हाम्रोमा अत्यन्तै न्युन छन् । हामीले कृषि र पर्यटनको क्षेत्रमा स्वरोजगार तयार गर्ने नीति लिएका छौं । बढीभन्दा बढी स्वरोजगारको उत्पादन गर्ने हाम्रो चाहना हो । युवालाई पर्यटन र उत्पादनमा जोड्ने हाम्रो योजना हो । युवालाई समाजप्रति उत्तरदायी बनाउन कार्यक्रम ल्याउन आवश्यक छ । जब युवा आफु र समाजप्रति उत्तरदायी बन्छ तब मात्रै उत्पादनसँग जोडिन्छ । सचेतना, अनुदान र सहयोगमार्फत जनताको जीवनस्तर सुधारतर्फ लागेका छौं ।
सुशासन प्रबद्र्धनका लागि के गर्दै हुनुहुन्छ ?
–यो अत्यान्तै गम्भिर बिषय हो । सुशासनका कुरा गर्न सजिलो छ त्यतिनै कठिन कार्यान्वयन गर्न छ । सुशासनका सर्तहरु छन् । यी सर्तहरु पुरा गर्ने सन्दर्भमा हामीले पहिले त हाम्रो टिममा नै त्यो कार्यान्वयनको थालनी गर्ने भनेका छौं । पहिलो कुरा जनतालाई थाहा दिने काम थाल्ने छौं । त्यसको सुरुवात नागरिक वडापत्रबाट हुनेछ । अर्को कुरा प्रविधिको प्रयोगलाई बढाउँदा सुशासनमा सहयोग गर्छ । सेवालाई चुस्त बनाउन नीतिगत व्यवस्था गरेका छौं । हामी गुनासो नआउने गरी काम गर्नेगरी लाग्ने छौं । केही गुनासो भएमा सिधा सम्पर्क गर्न अनुरोध गर्न चाहन्छु । हाम्रा अनुभव कमी छन्, केही छुटे नागरिक समाज र जनताले सजग गराउनु हुने छ भन्ने मेरो आशा छ ।
अन्तमा केही भन्नु छ ?
–हामीले पाँच बर्षको अबधिमा जनताका केही आकांक्षा पुरा गर्ने लक्ष राखेका छौं । यो कुरा जनप्रतिनिधि वा कर्मचारीले चाहेर मात्रै पनि पुरा हुन सक्दैन् । त्यसैले सबै नागरिक समाज, पेसा व्यवसायमा रहनुभएका मित्रहरु, राजनीतिक दलहरु, सञ्चार क्षेत्र र आम नागरिकले हामीलाई सचेत र सजग गराउनु हुनेछ भन्नेमा म आशावादी छु । धन्यबाद ।





