नेपालका अधिकांश युवा विदेशिने गर्दछन् । कतिपय रहर र धेरै बाध्यताले वैदेशिक यात्रामा निस्केका हुन् । राज्यसँग युवाहरुको भरोशा टुट्दै जाँदा पनि विदेशिनेको संख्या बढेको हो । युवा स्वयं पनि नेपालमा व्यवसायको सम्भावना खोज्दैनन् । यो भीडमा अपवाद बनेका छन्–सुवास शर्मा । कोरोना महामारीकै समयमा पोखरामा ‘चियादानी’मार्फत् चिया पसल सुरु गरेका उनले ३ ठाउँमा शाखा खोलेका छन् । सरकारले नवप्रवर्तनको कुरा गरिरहँदा सुवास कसरी यो पेशामा आए त ? यही प्रश्नको सेरोफेरोमा ढोरपाटनकर्मी विजय नेपाली उनीसँग लामो गफिए । प्रस्तुत छ– कुराकानीको सम्पादित अशं । (सं.)
स्नातक पढ्दै गर्दा विदेश जाने चाहना जागेको थियो । ब्याचरल सकेपछि चाहिँ यहीँ केही गर्नुपर्छ भन्ने भावना जाग्यो । के गर्ने होला ? विभिन्नखाले सोच आउँथ्यो । त्यस्तैमा पोखरामा चियामात्र बेच्ने पसल छैन भन्ने ज्ञान भयो । क्याम्पस जाँदा चिया खाइन्थ्यो । चिया पसलमै गफिन्थ्यौँ । त्यसैलाई व्यवसाय बनाउने सोचले पृथ्वीनारायण क्याम्पस भएको बगरमै चिया पसल खोलियो ।
यो कहिलेको कुरा हो ?
झण्डै साडे २ वर्ष अगाडिको । चियादानी खोलेसँगै देशमा कोभिड भित्र्यिो । एक वर्ष चुर्लुम्मै डुबियो ।
व्यवसाय छाडौँ भन्ने लागेन ?
लगानी गरिसकेपछि कम्तिमा नडुबौं भन्ने हुन्छ नै । बीचमा विदेश नै गएको भए पनि हुनेरहेछ भन्ने चाहिँ लागेको हो ।
पढेको छोराले चिया पसल सुरु गर्दा घरबाट कस्तो प्रतिक्रिया आयो ? बाहिरकाले के भने ?
मलाई परिवारबाट प्रोत्साहन नै भयो । प्रायः ‘यहीँ केही गर’ भन्नेभन्दा पनि ‘विदेश जाऊ’ भन्नेहरु नै भेटिने साँचो हो । कोरोनाको बेला कतिले गाली पनि गरे । चिया बेचेर के हुन्छ ? भन्नेहरु धेरै थिए । काम कुनै पनि सानो–ठूलो हुँदैन् ।
अक्सर चियासँग खाजा पनि खुवाइन्छ, चियामा मात्र तपाईंको ध्यान किन ?
यो सबै किनभने, चिया पारखीलाई फरकपन दिन खोजेको हो । हामीकहाँ चियामात्रै बेचिँदैन । होटल, खाजा घर, क्याफे, रेष्टुरेन्टलगायतका ठाउँमा अरु खाजासहित चिया बेचिन्छ । काठमाडौंमा भने चियाको मात्रै व्यवसाय सुरु भएको थियो । त्यसलाई हामीले पच्छ्यौँ भन्दा पनि हुन्छ । हामीले पोखरामा सुरु ग¥यौँ । एउटा जक्सन, जहाँ चियाकै मात्र परिकार पाइने र मीठो चिया पाइन्छ भन्ने सन्देश प्रवाह गर्न सक्षम भयौँ । सानो लगानी गरेर एउटा ग्यारेजको ढाचाँमा टायरको कुर्ची, टेबल बनाएर नयाँपन दियौँ ।
चियादानी नाम चाहिँ कसरी जु¥यो ?
पब्लिक सेन्टिमेन्ट क्याच गरेको हो । चिया पसल चलाउने सोच बनाएदेखि नै हामीले विभिन्न नाम सोच्यौँ । चिया छान्ने भन्ने शब्दलाई छानेर जादाँ त्यहीँ अड्कियौँ । अनि त्यो चिया र दाना छान्ने सोच्यौँ । त्यसपछि चियादानी आयो । त्यो शब्द खोज्दा चलनचल्तिमा आएको कित्ली, जसको नेपाली नाम रहेछ –चियादानी । नेपाली पुरानो शब्द भएको हुनाले चियादानी नै राख्ने योजना बनायौँ ।
चिया त हरेक पसलमा पाइन्छ । जहाँ गयो त्यहि चिया पसल नै हुन्छन् होइन र ?
चियाको चुस्किसँगै तीतामीठा गफदेखि व्यवसाय, राजनीति र पढाइकासमेत गफ गर्ने थलो ‘चियादानी’लाई बनाउने निधो ग¥यौँ । चियामा फरकपन दिन मट्का चिया उपलब्ध गरायौँ ।
चियादानीमा कति प्रकारका चिया पाइन्छन् त ?
अहिले ३५ प्रकारसम्मका चिया बेच्दै आएका छौँ । हाम्रो टार्गेट भनेको १५० परिकारसम्म चिया पु¥याउने हो । निकट भविष्यमा नै यसलाई नै हाम्रो मुख्य आकर्षण बनाउनेछौँ ।
पोखराबाट उदय भएको भन्नुभयो यो कहाँ कहाँ छ र कति जनाले रोजगारी पाइरहेका छन् त ?
३ ठाउँमा शाखा विस्तार गरेका छौँ । पोखरासहित चितवनको सौराहा र सप्तगण्डकी कोटमा रहेको छ । प्रत्यक्षरुपमा यसमा जोडिएको भनेको १५ जना छन् । उनीहरुले रोजगारी पाइरहेका छन् । यसको आम्दानीको कुरा गर्दा बजारको माहोल सबैले बुझैकै छन् । तर, नेपालमा नै बसेर हामीले मासिक लाख रुपैयाँ चाहिँ बचत गरिरहेका छौँ । हामी सन्तुष्ट छौँ ।
चिया बेचेर सन्तुष्ट !
आम्दानीबाट होइन व्यवसायबाट । मानिसको जातलाई जति भए पनि नपुग्ने रहेछ तर हामी अहिले आम्दानीलाई भन्दा पनि यसलाई ब्रान्डको रुपमा विकास गर्नतर्फ लागिरहेका छौँ । स्वदेशमा नै केही हुन्छ भनेर अघि बढेका हौँ । केही गर्छाँै र त्यहिबाट सन्तुष्टि लिन्छौँ ।
हाम्रो नेपाली समाजमा विदेश जानका लागि ऋण दिने तर, स्वदेशमै केही गर्छु भन्दा सहयोग नमिल्ने अवस्था छ । तपाईं अपवाद हो ?
म अपवाद हैन । परिवारको सहयोग चाहिँ पाएको हो । तपाईंले भनेजस्तै यहाँ केही गरौँ भन्नेलाई ऋण नपत्याउने तर विदेश जाँदा ऋण हालिदिने मान्छे भने पक्कै छन् । यो विचार अब बदल्नुपर्छ । विदेश जान होइन् स्वदेशमै केही गर्नका लागि राज्यबाटै सहुलियतमा ऋणको व्यवस्था गर्नै पर्छ । हो,जागिरमा भन्दा व्यवसायमा जोखिम धेरै हुन्छ । तर, राज्यले युवालाई प्रोत्साहन नगरेसम्म अर्थतन्त्र उकासिँदैन ।
सरकारले युवा लक्षित विभिन्न स्वरोजगार कार्यक्रम पनि ल्याएको छ । त्यो त सराकात्मक नै हो नि ! हैन र ?
सरकारले एउटा अवधारणा त ल्यायो । अवधारणा ल्याएर मात्रै हुदैन् । जसको सरकार, उसैको पार्टीका जान्नेसुन्नेका लागि मात्रै त्यस्ता कार्यक्रम परिचालित हुनुहुँदैन । । सरकारले ल्याएका यस्ता कार्यक्रमबाट अहिलेसम्म कति युवा लाभदायी भए ? कतिले आम्दानी गरे ? खालि यो शक्तिको पहुँच हुनेका लागिमात्रै हो । अर्को, एउटा सामान्य युवाले राज्यको सो कार्यक्रमबाट लाभ लिनको लागि आवश्यक पर्ने मापदण्ड पूरा गर्नै सक्दैन । यस्ता कार्यक्रम युवा मैत्री बनून् ।
भावि योजना के छन् तपाईँका ?
हजुर म क्याम्पस पढ्दादेखिबाट नै विभिन्न संघ–संस्थामा आवद्ध भएर लागे । सामाजिक सञ्जाल मेन्सरुमबाट पनि हामीले निकै काम ग¥यौ । त्यहि मार्गबाट नै यो क्षेत्रमा लाग्ने सोच पनि आएको हो । व्यवसाय नाफामूलक भन्दा पनि सामाजिक सेवामूलक हुनुपर्छ भन्ने हो । आगामी योजना भनेको यो व्यवसायलाई देशका विभिन्न सहरहरुमा लैजाने छ । हामी व्यवसायलाई अघि बढाउनेमात्रै होइन्, चियादानीको आफ्नै चियापत्ति समेत ल्याउने योजनामा छौँ । सहकार्यका हात पनि अगाडि बढाएका छौँ ।





