वैशाख ३० गतेको स्थानीय निर्वाचन पछि देशले दोस्रोपटक जनप्रतिनिधि पाएको छ । कास्कीमा पाँच पालिकाले पनि आफ्नो जनप्रतिनिधि चुनेका छन् र नव निर्वाचित जनप्रतिनिधिले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक बजेट समेत सार्वजानिक गरिसकेको छ । आर्थिक वर्षको बजेट, निर्वाचित भइसकेपछि पालिकाको अनुभव, विकासे योजना, पालिकाको समस्यालगायत विषयमा कास्कीको मादी गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष देवीजंग गुरुङसँग गरिएको कुराकानीको सम्पादित अशं ( सं.)
निर्वाचित भएर आएको २ महिना वितिसक्यो । अहिलेसम्म के काम गर्नुभयो ?
कामकुरा भन्दा पनि निर्वाचित भइसकेपछि बजेट सार्वजानिक गरेका छौँ । हामीले सार्वजानिक गरेको नीति तथा कार्यक्रम, बजेटलाई कार्यान्वय गर्ने चरणमा बल्ल पुगेका छौँ । हाम्रो काम भनेकै निर्वाचित भएर आउनेवित्तिकै नीति तथा कार्यक्रम बनाउने र बजेट पारित गर्ने भयो । काम त अब बल्ल सुरु हुन्छ ।
निर्वाचित भएर आइसकेपछि दैनिकी कसरी चलिरहेको छ त ?
दैनिक त म प्रायः जसो सेवाग्राहीकै बीचमा हुन्छु, गाउँपालिकामा नै । र, अहिले बर्खायाम पनि भयो । आपत विपद् चाहिँ आउने । खोला बढ्ने बाढीपहिरो आउने सम्भावना पनि भएकाले आवश्यकता अनुसार प्रत्येक वडाहरुमा पनि गइरहेको छु । यसरी नै दैनिकी गइरहेको छ ।
जनताले तपाईंलाई मत दिएर काम गर्न पठाए अब जनताका लागि तपाईंले के गर्दै हुनुहुन्छ ?
होइन, त्यो भन्दा पनि जनताको हिसाब किताबमा हिजोबाटै भनेको हो अब सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकै हो । करिब करिब ३ वर्ष अघिदेखि जनताकै साथमा रहेर काम गरेको हो । त्योभन्दा अघि म यहाँ नभएपनि गाउँको विकासका लागि काग गर्दै हिँडेकै हो । अहिले ठाउँमा हुँदा पनि मेरो काम भनेको सेवा गर्ने नै हो । म निर्वाचित भएर आउँदा मात्रै होइन, पहिला पनि जनताकै लागि काम गर्दै आइरहेको हुँ र पछि पनि गर्ने नै छु ।
तपाईँँका नयाँ योजनाहरु केके छन् ?
नयाँ योजनाभन्दा पनि यहाँको आवश्यकता महत्वपूर्ण हो । यहाँको आवश्यकता के हो त ? त्यो हेरेर कार्यक्रम बनाउनुपर्ने हुन्छ । त्यो आवश्यकता हरेर नै हाम्रो नीति तथा कार्यक्रमहरु बनेका छन् र बजेट पनि त्यो अनुसार बजेट प्रस्तुत गरेका छौ । जनताको आवश्यकतामा नै अघि बढेको छु ।
आर्थिक वर्ष २०७९/०८० को बजेट आयो र गाउँपालिकाले पनि सोही अनुसार नीति तथा कार्यक्रम निर्माण गरी बजेट प्रस्तुत गरिसक्यो बजेट बाट सन्तुष्ट हुनुहुन्छ ?
अहिलेको हिसाब किताबमा त सन्तुष्ट नै हो । तैपनि के हो त भन्दा केन्द्र र प्रदेशले बजेट विनियोजित गर्दा केही– केही सर्त राख्नुपर्छ । भूगोललाई हेर्नुपर्छ, जनसंख्यालाईँ हेर्नुपर्छ, सबैको भूगोल एकै नासको छैन् । सबै पालिकाको वडाहरु एकै प्रकारका छैनन् । त्यसकारण भूगोल र जनसंख्याको आधारमा बजेट विनियोजन ग¥यो भने त्यो प्रभावकारी हुन्छ । थोरै जनसंख्या भएको ठाउँमा पनि त्यही, धेरै जनसंख्या भएको ठाउँमा पनि त्यही गर्नेबेलामा अलिकति सुहाउँदैन् । त्यसकारण यो सिस्टम अलिकति परिवर्तन गर्नपर्छ भन्ने लाग्छ । किनभने मादी गाउँपालिका आफैमा भूगोलको हिसाबले पनि ठूलो कास्कीको पालिकाको हिसाबमा वडाले पनि ठूलो ! ७ वटा वडा भएको पालिकालाई पनि त्यही, १२ वटा वडा भएको पालिकालाई पनि त्यही हुँदा त त्यहाँ त्यसै फरक प¥यो । त्यसले गर्दा यो खालको बजेटले हुँदैन् ।
बजेटमा तपाईँहरुको चाहना कस्तो थियो ? अहिले आएको बजेटले काम गर्न सहज छ त ?
चाहना त प्रत्येक वडामा नै गएर योजना ल्याउने हो । त्यहाँको योजना अनुसार पालिकाले पनि आफ्नो योजना बनाएर बजेट माग्ने हो । समावेशी र समानुपातिक हुनुपर्छ । हाम्रो कुरा भनेको ठूलो पालिकाले केही ठूलो र सानो पालिकालाई सोही अनुसारको बजेट आइदियोस् भन्ने हाम्रो चाहाना हो । ठूलो पालिका भएपछि अवश्य पनि योजना धेरै हुन्छन् नै ।
जनप्रतिनिधि भएर काम गर्न कत्तिको सहज छ ? तपाईंले पालिकामा चुनौती र अवसर कस्तो देख्नुहुन्छ ?
मलाई त्यस्तो अवसर भन्ने लाग्दैन र चुनौती पनि छजस्तो लाग्दैन । किनभने म पहिलादेखि नै राजनीतिक र सामाजिक क्षेत्रमा भएकाले त्यस्तो छैन् । तर, पनि केही त हुन सक्छन् ।समावेशी तरिकाले म अघि बढ्ने छु । राजनीतिक रुपमा हामी फरक भए पनि जनप्रतिनिधि भएर आइसकेपछि पार्टी हुँदैन । सबै एक हो । अब यो त्यो होइन, सबैलाई एकै किसिमको सेवा दिनुपर्छ ।
बजेटमा सबैभन्दा बढी सामाजिक विकासमा खर्च देखियो । अर्को कुरा बजेटमा टुक्रे योजनाहरु देखिन्छन् । टुक्रे कार्यक्रमले पालिकाको विकास हुन्छ ?
गाउँपालिकाको हिसाबमा टुक्रे कार्यक्रम नै छैन्, खासमा । वडामा गएपछि अवश्य बजेट टुक्रिन्छ । तर, योजना बनाउँदा के खालको समस्या हुँदो रहेछ भने, पाँच हजारको योजनाको समिति बनाउने पनि त्यही, पाँच लाखको समिति बनाउने सिस्टम पनि त्यही हो । त्यसकारण हामीले सानो किसिमको योजनानै नबनाऊँ भनेर वडालाई निर्देशन पनि गरेको हो । त्यसकारण साह्रै टुक्रिएर आएका योजनाहरु कम छन् । तर, आवश्यकता हेरेर केही वडामा चाहिँ त्यस्ता योजनाहरु रहेका छन् । हामीले टुक्रे योजनाले विकास हुँदैन र देखिँदैन भनेर नै अबको पाँच वर्षमा देखिनेगरी काम गर्नका लागि सोही अनुसारको योजनाहरु तयार गरेर बढेका छौँ ।
दीर्घकालीन र गौरवका योजनाले प्राथमिकता नपाएको देखिन्छ नि बजेटमा ?
हाम्रा मादीका गौरवका योजनाहरु पनि छन् । गौरवका योजनालाई मादी आफैले लगानी गर्न सक्ने स्थिति छैन् । हाम्रो पूँजीले मात्रै केही हुँदैन् । त्यही भएर केही यस्ता योजना छन् जसलाई प्रदेश र संघ सरकारसँग मिलेर अगाडी बढाउने योजनामा हामी छौँ ।
अबको पाँच वर्षमा मादी गाउँपालिका कस्तो हुनेछ ?
मादी गाउँपालिका कस्तो भन्दा पनि यहाँको संरचना जे छ त्यस्तै हुने हो । संरचनामा खासै फरक आउँदैन । विकास निमार्णको कुरामा आउने भनेको पहिलो बाटो नै हो । के हुनप¥यो भन्दा, गाउँघरमा यहाँकै नागरिक जागरुक हुनुपर्छ । बाहिरको कोही आएर गाउँमा विकास गरिदिँदैन । सबै लागेर विकास गर्ने हो । यहाँको सरकारी कामकाजलाई व्यवस्थित गर्ने र सिंहदरबारको अधिकार घरघरमा भन्ने जुन नारा छ, त्यो चाहिँ हामी पूरा गर्नेछौँ । सुशासनको प्रत्याभुति दिनेगरी काम गर्नेछौँ ।
गाउँका जमिनहरु पनि बाझोँ हुँदै गइरहेका छन् ,युवा विदेश छन् । युवालाई गाउँमै राख्ने विशेष योजना केही छ ?
यो समस्या मादीको या कास्कीको मात्रै होइन् । यो त देशकै समस्या हो । तर, यो भनिरहँदा मादी गाउँपालिका अछुतो रहेन । भएको जग्गा जमिन बाँझो राखेर युवा जनशक्ति बाहिर जाने प्रवृत्ति छँदैछ । यसलाई रोक्न सक्ने स्थिति छैन् किनभने रोजगारको कुरा भयो । सबैलाई रोजगार दिन सक्ने कुरा पनि नेपालमा छैन् । ठूला विकास निमार्णका कार्यहरु, ठूला कलकारखानाहरु, उद्योग खोल्न सकेको खण्डमा मात्रै त्यो सकिन्छ ।
यो समस्याको समाधान के छ ?
राज्यको ठूलै लगानी गर्नुपर्छ । राज्यले ठूलो लगानी नगरेसम्म यसलाई रोकथाम गर्न सकिँदैन् । जहाँसम्म मलाई लाग्छ, यो मादी गाउँपालिकामा मात्रै नभई देशको ७५३ वटै पालिकामा यो समस्या हो । किनभने यो थेग्न सक्ने खालकै छैन् । यो त गरिहाल्छु भनेर ‘छु मन्तरकी बाचा’ गरेर सबै ठीक हुन्छ भन्ने स्थिति नै छैन् ।
पालिकामा गुणस्तरीय शिक्षा र स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ त ?
शिक्षाको क्षेत्रमा हेर्दा चाहिँ नेपाल सरकारले लगानी गरेको छ त्यसको हारहारीमा स्थानीय निकायले पनि लगानी गरेको छ । तर,पनि सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा कम भएकै अवस्था हो । राज्यले जति लगानी गरेको छ त्यो अनुसारको गुणस्तर चाहिँ नभएको अवस्था छ अझै पनि । अब स्वास्थ्यको कुरा गर्ने हो भने त्यही छ । स्वास्थ्य चौकीहरु स्थापना भएका छन् । स्वास्थ्य केन्द्रमा गएपछि नेपाल सरकारले दिने बाहेकको अन्य सुविधा दिनसक्ने सामथ्र्य छैन् । मादीमा २ वटा अस्पतालको अवधारणा ल्याएका छौँ । एउटा १० नम्बर वडामा संचालनमा छ । डाक्टर आउँछन्,६ महिना पछि गइहाल्छन् । ल हेर्नुस यस्तो छ, विकट ठाउँमा । ग्रामीण ठाउँमा डाक्टर आएपनि बस्न नमान्ने स्थिति छ । पालिकाले के कति गर्ने ? राज्यले दिएको सेवा सुविधा भन्दा २५ प्रतिशत बढाएर दिएकै छ ,तैपनि आएर बस्न सक्ने अवस्था रहेनछ । बस्न पनि दिएकै त तैपनि आउन नमान्ने अवस्था यहाँ मैले देखेँ ।
अन्त्यमा पालिका वासिन्दालाई के सन्देश दिन चाहनुहुन्छ ?
विकास भनेको एकैचोटि बोलेर मात्रै हुने कुरा होइन् । यो विस्तारै हुने कुरा हो । अब हामी यो गर्छौँ भनेर एउटा कन्सेप्ट बनाएर हिँडेका छौँ, त्यही अनुसार जाने हो । जनताको चाहना अनुसारलाई उहाँहरुले खोज्नुभएको विकास र योजनालाई हामीले सजिलैसँग लैजाने प्रतिबद्धता गरेका छौँ । बजेटलाई त्यही अनुसार लगेका छौँ । हामी निर्वाचित जनप्रतिनिधि शासक होइन सेवक हौँ । तपाईंहरुको घरघरमा आउँछौँ । घरकै सरकार भनेको स्थानीय सरकार हो । त्यसैले स्थानीय सरकारलाई आफूले राख्नुपर्ने मागहरु राख्नुहोस्, राम्रो–नराम्रो कुरा औंल्याइदिनुभयो भने हामी सफल हुनेछौँ । राम्रो र नराम्रो कुरा चाहिँ दाजुभाई दिदीबहिनीहरुले निर्धक्क पालिकामा आएर राखिदिनुहुन विनम्र अनुरोध गर्दछु ।
प्रस्तुति : विजय नेपाली





