पोखरा/ २०७६ असारमा गण्डकी प्रदेशमा एउटा विश्व कीर्तिमान कायम भयो । विश्वकै सबैभन्दा उचाइमा हक्की खेलेर सो कीर्तिमान कायम भएको थियो । तर, त्यो कीर्तिमानी नेपालले होइन्, बेलायतका खेलाडीको नाममा थियो ।
नेपालमा हक्की खेलको इतिहास निकै लामो छ । नेपालमा खेलकुदको इतिहासमा हक्की सबैभन्दा पुरानो खेलमध्येको एक हो । तर, यहाँ हक्कीकै लागि कुनै पूर्वाधार नै छैन् । नेपालमा हक्की खेलमा सम्भावना देखेर ४ वर्षअघि बेलायतका व्यावसायिक हक्की खेलाडीको सिंगो टिम नेपाल आएको थियो । २०७६ असार ३१ गते बेलायतबाट आएका ३४ जना खेलाडीमध्ये ३१ जनाले मुस्ताङको थोरङ्लामा विश्व कीर्तिमानी कायम गरेका थिए । पाँच हजार २० मिटर उचाइमा १ घण्टा हक्की खेलेका थिए ।
विदेशीले आएर विश्व कीर्तिमानी कायम गरेको खेलको महत्व गण्डकीमा भने छैन् । उसो त गण्डकीले राष्ट्रिय खेलकुद प्रतियोगिता तथा अन्य राष्ट्रिय स्तरको प्रतियोगितामा पदक जित्न सफलमध्येको खेलमै पर्छ हक्की । विना खेलमैदान, विना प्रशिक्षक गण्डकीमा हक्कीका खेलाडी उत्पादन भइरहेका छन् । पछिल्लो समय हक्की खेलको लोकप्रियतासमेत बढ्न थालेको छ । सरकारले हेला गरेपनि खेलाडीले भने यस खेललाई लोकप्रिय खेलको रुपमा अघि बढाउन पोखरामा विद्यालयस्तरमा शिविर नै चलाएका छन् । तर,यो खेलप्रति राज्यको ध्यान गएको छैन । पोखरामा ५०–६० जना हक्कीका खेलाडी छन् । तर, उनीहरु दैनिक पोखरा रंगशाला जान्छन् । तर, आफ्नै मैदान नहुँदा जहाँ खाली छ, त्यहीँ खेल्न बाध्य हुन्छन् । कहिले फुटबल मैदान, कहिले भलिबल, कहिले कर्भडहल त कहिले पार्किङ क्षेत्रमा गएर अभ्यास गर्ने गर्दछन् ।
गण्डकीको भलिबल, फुटबलभन्दा बलियो हक्कीको दयनीय अवस्थालाई अहिलेसम्म कुनै निकायले देखिरहेको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहेको अवस्थामा हक्की खेल कहाँ खेलाउने भन्ने नै अन्योलको विषय हो । खेलकुदको राजधानी कथित पोखरालाई राजधानीको रुपमा भन्ने अधिकार नै देखिदैन् । यदि खेल राजधानी बनाउने हो भने त यहाँ खेलिने सबै खेलले न्याय पाउन पर्ने हो तर, त्यसो हुन सकिरहेको छैन् । अन्य खेलमा स्वयम्सेवक प्रशिक्षकहरुलाई राज्यबाट संरक्षण भइरहँदा हक्की खेलले भने त्यो सेवा पाउन सकिरहेको छैन् । नवौं राष्ट्रिय खेलकुद नजिकिदैँ गर्दा खेलाडीहरु आफै प्रशिक्षक, आफै व्यवस्थापक र आफै फिजियोथेरापिस्ट बन्न बाध्य भएका छन् ।
गण्डकीको प्रतिनिधित्व गर्दै आइरहेकी पेमा परियारले आफूहरुले जति जान्यो त्यति नै सिक्दै आइरहेको सुनाइन् । उनले खेल मैदान अभाव र प्रशिक्षक विना पनि अभ्यास गर्दै आइरहेको बताइन् । उनी भन्छिन्,‘हामीसँग कोच हुनुहुन्न । मैदान पनि छैन् कहिले यता कहिले उता खेल्ने गरेका छौँ ।’ गण्डकीको महिला हक्की पुरुष हक्कीभन्दा अब्बल मानिन्छ । टोलीले हरेक प्रतियोगितामा कुनै न कुनै पदक लिएरै आएकै हुन्छ । ‘हामीलाई खेल्न मन लाग्छ ।
कसैले रोकेर हामी रोकिदैनौँ । जता खाली ठाउँ देख्यो त्यतै खेल्छौँ गाली खाएरै भए पनि’। पेमाले भनिन् । यस्तै हक्की खेलमा रमाउँदै आएकी नयाँ खेलाडी पूजा पुनले भारतमा हक्की खेल्छ भन्ने थाहा पाए पनि नेपालमा भने पछिमात्रै थाहा पाएको सुनाइन् । साथीको माध्ययमबाट हक्की आएकी उनी मैदान र प्रशिक्षक विना पनि खुसीसाथ खेलिरहेकी छिन् ।
‘हाम्रो आफ्नै ठाउँछैन् अर्काको ठाउँमा खेल्दा कहिलेकाहिँ त गाली गरेर धपाउँछन्’, उनले भनिन्,‘कहिलेकाहिँ त हामीलाई निकै हेपेको भन्ने लाग्छ र दुःख लाग्छ ।’ यस्तै खेलाडीहरुलाई सिकाउँदै आइरहेका अर्का खेलाडी राजन नेपालीले प्रशिक्षकको अभावले प्रशिक्षणमा निकै समस्या आएको सुनाए । ८ वर्षदेखि गण्डकीको प्रतिनिधित्व गरिरहेका उनले राज्यबाट कुनै सहयोग नगरेको बताए । नियमित प्रतियोगिता नहुने र राज्यको नजर नपर्दा यो खेलको महत्व पनि घटिरहेको उनको भनाइ छ ।
‘ठूलो सरहरुबाट (नेतृत्वमा पुगेका पदाधिकारी) नै यो खेल भारतमा त खासै खेलिदैन नेपालमा के काम भनेको पनि सुनियो’, त्यसैमा उनी थप्छन्,‘हामीले धेरै पटक मैदानका लागि यो कुरा राखेका हौँ । हामीलाई आफ्नै मैदान चाहिएको छैन् खेल्न मिल्ने मैदान दिए पुग्छ ।’
हक्की फुटबल खेल्ने मैदानमा पनि खेल्न मिल्छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ११ जना खेल्ने गरे पनि सेभेन ए साइड, सिक्स ए साइड समेत खेल्न मिल्छ । हक्की इन्डोर, आउटडोर दुवै क्षेत्रमा खेल्न सकिन्छ । हक्कीका लागि ९४ मिटर लम्बाइ र ५५ मिटर चौडाइ भएको ग्राउण्ड चाहिन्छ ।





