कास्कीको रुपागाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा पुरानै अनुहार दोहोरिए । कास्कीका पाँच पालिकामध्ये सफल पालिकाको रुपमा दर्ज हुँदा एमालेबाट उम्मेदवार बनेका नवराज ओझा अध्यक्ष र लालसुवा गुरुङ उपाध्यक्ष चुनिइन् । दोहोरिने भाग्यमानी अध्यक्ष ओझा आफ्नो दोसो कार्यकाल अझ रचनात्मक र परिणाममुखी बनाउने जिकिर गर्छन् । उनै अध्यक्ष ओझासँग पालिकाको विकास, अवस्था, आगामी योजना तथा पर्यटन प्रवद्र्धनलगायत विषयमा ढोरपाटनकर्मी विजय नेपाली गफिए । उनले सुरुमा सोधे,दोस्रो पटक पनि पालिकाको अध्यक्षमा विजयी हुनभयो । जित्छु भन्ने थियो ?
काम र रिजल्टको हिसाबले चुनाव जितिन्छ भन्ने नै थियो । हामीले सोचेअनुसार पहिलाको भन्दा पनि डबल मतले विजयी भयाँै । चुनावमा उठेपछि जित्छु भन्ने सबैको आशा हुन्छ ।
दोहोरिनुभन्दा माथि जाऊँ भन्ने भएन ?
मेरो निम्ति त दोहोरिँदा भन्दा पनि नदोहोरिँदा फाइदा हुने थियो । तर, जनताका कुरा, पार्टीका कुरा र बाँकी रहेका कुराहरु पूरा गर्नका निम्ति पार्टीले मलाई नै उठ्न पर्छ भनेपछि हुन्न भन्ने कुरा भएन । त्यसैले दोहोरिएँ ।
पाँच वर्षको अवधिमा के के काम गर्नुभयो ?
पाँच वर्षअघि हाम्रो गाउँपालिका भित्र सबैभन्दा ठूलो समस्या खानेपानी र बाटोको नै थियो । हामीले त्यो पुरा ग¥याँै । अहिले करिब ९८ प्रतिशत ‘एक घर एक धारा’ योजना पूरा भइसकेको छ । त्यसपछि पालिकाभित्र ८० किलोमिटर बाटो पिच भइसकेको छ । पहिला कहीँ पनि पिच थिएन् । अब फेरि २० किलोमिटर टेन्डरमा छ ।
नयाँ बाटोभन्दा पनि भएकालाई स्तरोन्नति गर्नतर्फ लागियो । पालिका आफैले असफाल्ट पिच सुरु ग¥यो । २ वटा वडाबाहेक सबै वडामा पिच पुगिसक्यो । स्वास्थ्यको हकमा यो कार्यकाल ऐेतिहासिक रह्यो । अस्पताल नै सुरु गर्न सफल भयौँ । सबै वडामा स्वास्थ्य संस्था पु¥याइयो । नपुगेको ठाउँ जस्तै स्यास्त्री, तालवेसी,थुम्कीजस्ता ठाउँहरुमा स्वास्थ्यचौकी व्यस्थापन, सबै ठाउँमा ल्याब व्यवस्थापन, कोभिडको बेलामा पनि जनतासँग प्रत्यक्ष जोडिएर आफ्नो सरकार छ भन्ने महशुस पनि गराउनुका साथै एम्बुलेन्स सेवा पनि सुचारु गरायौँ ।
प्रविधिक शिक्षा लिन गाउँपालिकाबाट धेरै टाढा जानुपथ्र्यो । त्यो पालिकामै ल्यायौँ । अहिले पालिकामै कृषि र सिभिल इन्जिनियरिङको पढाइ चलिरहेको छ विश्व शान्ति र रामकोट माविमा । २३ विद्यालयमा पक्की भवन निर्माण गरायौँ । पाठ्यपुस्तक निमार्णका लागि अहिले काम अघि बढिरहेको छ ।
पालिकामा शिक्षकलाई समेत पढाउन उत्पे्ररित गर्नेगरी विभिन्न सेवासहित योजनाहरु अघि बढाएका छौँ । पर्यटनको हकमा पनि पोखराको वरपर रहेको सबैभन्दा रमणीय गाउँ हो । यहाँबाट पोखराका सबै ताल, पोखरा मात्रै नभइ ३तिर हिमाल, लम्जुङदेखि पर्वतसम्म देखिन्छ । यो गाउँमा नेपालका सबै उच्चपदस्थ व्यक्ति आइसकेका छन् त्यतिमात्र होइन् यो ठाउँ बेलायतको राजकुमार घुमेको ठाउँ पनि हो । त्यसैले यो रोयल ट्रेक हो । त्यो सँगसँगै बंगलादेशको राष्ट्रपति पनि यहाँ आइसक्नुभयो ।
त्यो कारणले पनि पर्यटकीय हिसाबले निकै महत्वपूर्ण ठाउँ छ । अहिले पालिकाले विश्व शान्ति उद्यान बनाउने भनेर ६ किलोमिटर छिर्ने बाटो तयार गरिसक्यो । पार्क, भ्यु टावर, क्याम्पिङ क्षेत्रको पहिचान गरेर त्यसको काम अघि बढाइरहेका छौँ । त्यतिमात्रै होइन् कृषिमा पनि हामीले पकेट क्षेत्र बनाइ सोही अनुसार योजना बनाएर अघि बढिरहेका छौँ । हाम्रो पालिकाभित्र हामी आउँदा जम्मा ७ वटा फार्महरुमात्रै दर्ता थिए अहिले ७ सयभन्दा माथि दर्ता भइसकेका छन् त्यसैले हामीले रोजगार तर्फपनि ध्यान दिएका छौँ ।
स्वास्थ्यमा पालिकाले औषधि खरिद्मा लापर्वाही ग¥यो भनिएको छ नि ?
तपाईँले एकदमै राम्रो कुरा उठाउनुभयो । अब हाम्रो गाउँपालिकामा सबै टेन्डर भएरै खरिद भएको हो । मैले समाचारमा पनि पढेँ, म्याद सकिन लागेको औषधि छ भनेर, हाम्रो पालिकाले खरिद गरेको औषधि १८ महिनाभन्दा तल म्याद नभएको औषधि नै खरिद गर्दैन् । हामीले कोटेसनबाट पनि खरिद गर्दैनौँ । यहाँ अस्पताल चलेको छ । १० दिनमा म्याद सकिने औषधिहरु, तरल पदार्थहरु त किन्न प¥यो नि । त्यो टेन्डरमार्फत सकिँदैन् । ती अत्यावश्यक हुन् । नत्र अरु सबै टेन्डरबाट नै खरिद गर्ने गरेका छौँ ।
हाम्रो काम पारदर्शी हुन्छ । अरुको र हाम्रो के हो सालाखाला जोडिदिन प¥यो । हाम्रो विषय के थियो भने त्यतिबेला हामीले टेन्डर गरेको कुरा उठाएको होइन् अरु समग्रमा यस्तो छ भन्ने कुरा उठाएको हो । कतिपय कुरा के हुन्छ भने तपाईँले भनेको कुरा कहाँनेर मिल्छ भने, प्रदेश र केन्द्रले खरिद गरेर दिने औषधिमा हुन्छ । हामीले के आवश्यकता हुन्छ त्यो किन्छौ । उहाँहरुले चाहिँ किनेको कुल सिस्टममा उति लैजा न भनेर पठाउने अति त्यो चाहिँ फेरि हामीले डिस्पोज गर्नुपर्ने, म्याद सकि हाल्ने त्यो चाहिँ छ ।
प्रदेश र संघबाटै आउने औषधिमा समस्या छ ?
हो त्यो छ । हामीले प्रदेश संघसँग पनि भनेका छौँ–तपाईँहरुले हाम्रो आवश्यकता अनुसारको औषधि खरिद गरिदिनुस् ,तपाईँहरुको आवश्यकताको होइन् । जस्तो हाम्रो गाउँपालिकाले यो साउनमा टेन्डर गर्छ औषधिको । हामीले कुनकुन चाहिन्छ सोही अनुसार टेन्डर गरेर खरिद गर्छौँ । हामीलाई अपुग भएको औषधि दिनुप¥यो नि प्रदेश र संंघले । हो कि होइन् ? नभए स्थानीय तहमा औषधि किन्न भनेर पैसा पठाइदिनप¥यो । हामी एकैचोटी टेन्डर गरिदिन्छौँ । के आवश्यक छ त्यसको माग फारम दिने हो भने त समस्या नै आउने थिएन नि !
संघ र प्रदेशबाट कस्ता किसिमका औषधि आउने गर्छन् ?
यसमा कस्तो हुन्छ भने जस्तो मानौँ कि सिटामोल । हामीलाई आवश्यक प¥यो पालिकाले किन्यो । फेरि त्यही सिटामोल संघ र प्रदेशले पठाउँछ । अनि त्यहाँबाट पठाउने औषधि अन्तिममा आउँछ । त्यसले गर्दा गाउँपालिकाहरुमा म्याद सकिन लागेका औषधि रहे भन्ने देखिन्छ । गाउँपालिकाको माग अनुसारको औषधि पठाइदिए हुन्छ । स्थानीय तहसँगको समन्वय नहुँदा यस्तो समस्या आएको हो ।
ठेकेदार कम्पनीलाई बढी छुट दिएको भन्ने कुरा पनि आएको छ त्यसलाई कसरी हेर्नुहुन्छ ?
यो त राज्यले भयंकर ठूलो कमजोरी गरेको छ । खास भन्ने हो भने ठेकेदार वा निर्माण कम्पनीले जस्तो खालको कानून चाह्यो त्यस्तै खालको बनाइदिने काम भएको छ । त्यसले गर्दा एउटा विकास निमार्णको काम दशौँ वर्षसम्म अडकिने गरेको छ । ऐन कानूनलाई बलियो बनाएर लैजाने, अनुगमन गर्ने, गुणस्तर मापन पनि त्यस्तै खालको हुने हो भने त समस्या नै आउँदैन् ।
रुपामा अझै पर्यटक पुग्न सकेका छैनन् हामी कहाँ चुकिरहेका छौ । यसका लागि के गर्दै हुनुहुन्छ ?
यसमा के हो भने एकैचोटी सबै काम गर्न नसकिने रहेछ । हामीले अघिल्लो पाँच वर्ष भौतिक पूर्वाधार र जनताको अत्यावश्यक कामलाई बढी ध्यान दियौँ । यो पटक उत्पादन, रोजगार र पर्यटकीय हिसाबले बन्ने गरी काम गर्ने उदेश्य रहेको छ । यो वर्ष स्वरोजगारको वर्ष भनेर घोषणा गरेको छ ।
पर्यटनका लागि अहिले रुपाताल परियोजना छ । त्यसमा हेर्नलायक महत्वपूर्ण स्थान बनाउँछौ । परियोजना र पालिकाबिच समन्वय भएको छ त्यो हुनेबित्तिकै त्यहाँ सिसाको पुलदेखि लिएर पार्क, फराकिलो बाटो, फिसिङ सेन्टर, आइल्याण्डलगायत धेरै चिज हुन्छ । अर्को हामीले विश्व शान्ति उद्यानमार्फत सबै डाडाँहरमा एक एक वटा पहिचान झल्कने गरी पर्यटक न्युनतम २–४ दिन भुल्ने खाल्को गन्तव्य बनाउँदै छौँ । त्यसपछि पर्यटकीय हिसाबले हाम्रो पालिकालाई केही माथि लैजान सक्छौँ ।
अरु भनेको यहाँ होमस्टे, सांस्कृतिक संग्रहालय निमार्ण, यहाँको ऐतिहासिक सांस्कृतिक सम्पदाको संरक्षण ,विभिन्न जातजातिका संस्कृतिहरुको प्रवद्र्धन गरेर लान सके पर्यटकको आकर्षण बढ्ने देखिन्छ । हामी चुक्नुको पछि यस क्षेत्रको प्रबद्र्धन हुन नसक्नु नै हो ।
यस अघि त्रिवर्षीय योजना सार्वजानिक गर्नुभएको थियो त्यो कार्यान्वयन भएको छ त ?
त्यो कार्यान्वयन भएको छ । त्यही अनुसार नै सबै अघि बढेको हो । पालिकाभित्रका योजनाहरु कुन प्राथमिकतमा राख्ने भनेर गरेका छौँ । पहिलो हाम्रो बाटो थियो त्यो पूरा भयो । खानेपानी पनि लगभग सक्यौँ । यी कुरा यो वर्ष सकिन्छ । अन्य भनेको मल्टिपल केही कम्पनी खोल्ने भनेका छौँ । त्यो पनि स्रोत साधन, प्राकृतिक जडिबुटी प्रशोधन केन्द्रदेखि उत्पादनका हिसाबले सम्भावना भएको डेरी, कुटानी पिसानी, प्याकिङलगायतको विषयमा तयारी भइरहेको छ । कतै सुरुवात पनि भइरहेको छ । उत्पादन गर्ने र विकास निमार्णका काम सबै सक्ने योजनामा छौ । पहिला हामीले गाउँपालिका बनाएनाँै । वडागत विकास ग¥यौँ । अब पालिकाको विकास गर्छौ ।
पाँच वर्षको अनुभवका आधारमा विकास निर्माणका कामले त रफ्तार समाते होलान् है ?
अहिले राम्रै भइराखेको छ । कामको सुरुवात भएको छ । पहिलाको अनुभवले झन अब काम गर्न चुनौती थपिएको छ । पहिलाको झै काम गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा हो । अब त्यसलाई व्यवस्थापन गरेर जानु छ । पहिलो वर्ष हामीलाई पूर्वाधारको समस्या थियो, खानेपानी, सडक, भवनहरु निर्माणलगायतका कामहरु ग¥यौँ । अहिले नागरिकका रोजगारदेखि लिएर दैनिक जीवनयापनमा जोडिने गरेर जानुपर्नेछ । बाँकी रहेका कामहरु पनि सम्पन्न गर्नुपर्ने छ ।
अन्त्यमा, यो अन्तिम कार्यकाल पनि हो भावि योजनाहरु केके छन् ?
हामीले यो वर्षलाई स्वरोजगारको वर्ष भनेका छौँ । सहर र विदेश जानेहरुलाई गाउँ फर्काउने हाम्रो लक्ष्य छ । त्यसका लागि तालिम प्रदान गर्ने, चेतना अभिवृद्धि गर्ने र रोजगारतर्फ जानका लागि प्रेरित गर्ने काम गर्छौँ । गाउँमै रोजगार प्राप्तिसँगै हरेकको घरमा चुलो बल्ने वातावरण बनाउँछौ । बाँकी भनेको त पूर्वाधारहरु हो ती कुरा त हुदैँ जान्छन् । भावि योजना भनेकै जनतासँग गरेका वाचा पूरा गर्ने नै हो ।





