मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बालबालिकामा देखिने नाक,कान घाँटीको समस्या

बालबालिकामा देखिने नाक,कान घाँटीको समस्या

बच्चाले राम्रोसँग बोल्दैन भने उसले राम्रोसँग सुन्दैन भनेर बुझ्नुपर्छ । बच्चाले नबोल्नुमा विशेषगरी दुई कारण हुन सक्छन् । एक, बच्चाले राम्रोसँग सुन्दैन । दोस्रो, सुनेर पनि बोल्दैन ।


  • कमला गुरुङ
  • भाद्र ३ २०७९, शुक्रबार

वृद्धि विकासको क्रममा बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्छन् । कुनै जन्मजात हुन्छन् त कुनै जन्मपश्चात । जसमध्ये एक हो, कान, नाक र घाँटी (इएनटी) सम्बन्धी समस्या । केही स्वास्थ्य समस्याहरु चिकित्सकसँगको परामर्शपछि मात्र थाहा पाउन सकिन्छ त केही अभिभावकले बालबालिकाको क्रियाकलापलाई ध्यानले नियाल्दा पनि पत्ता लगाउन सकिन्छ । वृद्धि विकासको क्रममा बालबालिकाहरुमा सुनाई, बोलाइ सम्बन्धी धेरै किसिमका समस्याहरु देखिन्छन्। केही समस्या सामान्य उपचारले निको हुन्छन् भने केहीलाई शल्यक्रियाको नै आवश्यक पर्छ ।

त्यसो त बालबालिकालाई सताउने थुप्रै इएनटी सम्बन्धी समस्याहरु छन् । तर त्रिवि शिक्षण अस्पतालका इएनटी, हेड नेक सर्जरी विभागका डा योगेश न्यौपानेका अनुसार नेपालमा विशेषगरी बालबालिकामा नाक, कान, घाँटी सम्बन्धी ६ वटा समस्याहरु छन्, जुन आम रुपमा बालबालिकाहरुमा बढी देखिन्छन् । ती हुन् –

१. बच्चामा कानेगुजीको समस्या
२. कान पाक्ने समस्या
३. घुर्ने तथा श्वासप्रश्वासमा समस्या
४. ढिलो बोल्ने समस्या
५. घाँटीमा गिर्खागुर्खी आउने समस्या
६. बच्चामा हुने रुघाखोकी

यी ६ वटा समस्याहरुले बालबालिकाहरुलाई धेरै नै सताइरहेको हुन्छ । डा योगेशले हेर्ने अधिकांश बिरामीमा देखिने समस्याहरु पनि यस्तै छन् । सुन्दा सामान्य लागेपनि यी समस्याहरुको बेलैमा उपचार नगरे दीर्घकालीन रुपमा जटिल रुप लिने डा न्यौपाने बताउँछन् । उनले भने, ‘जन्मजातदेखि १४ वर्षसम्मका बालबालिकामा मुख्यगरी यी ६ वटा इएनटी समस्याहरु आम रुपमा देखिन्छन् ।’ उनका अनुसार पहिले पहिले यी समस्या बारे अभिभावकहरु जानकार भएपनि सचेत थिएनन्। तर हाल भने अभिभावकहरु केही सचेत हुन थालेको उनको अनुभव छ । बालबालिकामा देखिने इएनटी सम्बन्धी यी ६ वटा समस्याहरुको बारेमा यहाँ विस्तृत रुपमा उल्लेख गरिएको छः

१. बच्चामा कानेगुजीको समस्या

अधिकांश अभिभावकहरु बच्चाको कानमा कानेगुजी भएको भन्दै चिकित्सक कहाँ सफा गर्न पुग्छन् । तर, डा न्यौपानेका अनुसार कानमा कानेगुजी हुनु सामान्य कुरा हो । यसलाई सफा गरिरहनु पर्दैन। बाहिरी कानमा कानेगुजी बनाउने ग्रन्थीहरु हुन्छन् । ती ग्रन्थीहरुले कानेगुजी बनाउनुको पछाडी विभिन्न कारण छन् । बाहिरबाट आएका किराहरुलाई कानेगुजीले भित्र जानबाट रोक्छ । कुनै बाहिरी वस्तु भित्र पस्यो भने पनि कानको जालीमा असर गर्न दिँदैन ।

कानमा बनेको कानेगुजी आफैँ बाहिर पनि निस्कन्छ । केही खानेकुरा खाँदा, हाइ गर्दा, बोल्दा मुख पछाडीको च्यापु चल्छ । ती च्यापुमा हुने गतिले कानेगुजी पनि आफैँ बाहिर आउँछ । त्यसैले कानेगुजीलाई सफा गर्नु पर्दैन। तर यही क्रममा धेरै अभिभावकहरुले गल्ती गर्छन्। कानेगुजी सफा गर्ने भन्दै एयर बड प्रयोग गर्दा त्यसले कानमा भएको कानेगुजी भित्र जान्छ। सफा गर्ने भन्दै एयर बडको प्रयोग गरिरहँदा कानभित्र नै कानेगुजी जम्मा हुन थाल्छ। त्यसैले अलिअलि कानेगुजी कानमा हुनु सामान्य हो भनेर बुझ्नु अति नै आवश्यक छ ।

कानेगुजी कुन बेला सफा गर्ने ?

कानेगुजीले कुनै पनि समस्या निम्त्याउँदैन भन्ने पनि होइन। अवश्य पनि निम्त्याउँछ। तर समस्या निम्त्याउने विभिन्न अवस्थाहरु हुन्छन् । यदि कानेगुजीले बच्चाको सुनाईमा असर गरेमा र धेरै भरिएर संक्रमण भएमा मात्र कानेगुजी सफा गर्नुपर्छ ।

कानमा तेल हाल्नु कत्तिको ठीक ?

गाउँघरमा अझै पनि अभिभावकले बालबालिकाको कानमा तेल हाल्ने गर्छन् । कानेगुजी आफैँमा तेल हुने भएकाले कानमा छुट्टै तेल हाल्नुपर्दैन । डा न्यौपानेका अनुसार कानमा तेल हाल्दा यसले झन् समस्या निम्त्याउन सक्छ । कानमा तेल हाल्दा कानेगुजीलाई फुलाईदिन्छ। कानेगुजी फुलेपछि बच्चाहरुलाई अप्ठ्यारो हुन्छ । र, उनीहरुले कान कोट्याउन थाल्छन् । कोट्याउने क्रममा बालबालिकाले घाउ बनाएर कान दुख्न थाल्छ । तेल भएको कानमा चिसो पानी पस्यो भने फंगल संक्रमण पनि हुन्छ । फंगल संक्रमण भए कान चिलाउँछ र यसले समस्या उत्पन्न हुन्छ । त्यसैले बालबालिकाहरुको कानमा तेल नहाल्न डा न्यौपानको आग्रह छ । कानेगुजीको समस्या विशेषगरी ३/४ वर्षदेखि ८/१० वर्ष उमेर समूहका बालबालिकाहरुमा बढी देखिन्छ ।

२. कान पाक्ने समस्या

बालबालिकामा देखिने आम समस्याहरुमध्ये एक हो, कान पाक्ने समस्या । यो समस्या विशेषगरी दुई किसिमका हुन्छन् । एक, एक्युट ओटाइटिस मिडिया र दोस्रो, क्रोनिक ओटाइटिस मिडिया । यो समस्या भएका अधिकांश बालबालिकाहरु कान समातेर रुने गर्छन् । नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ । जसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ । बच्चाहरुमा रुघा लागेपछि त्यही पाइप हुँदै कानमा संक्रमण हुन्छ । त्यसैले कान पाक्छ र दुख्छ। यो उमेरका बालबालिकाहरुलाई बढी रुघा लाग्ने भएकाले उनीहरुमा कान पाक्ने समस्या आम रुपमा देखिन्छ ।

रुघा लागेको छ तर कानमा संक्रमण भएको छैन भने रुघाको औषधि खाएर मात्र पनि उपचार हुन्छ । तर रुघा पनि लागेको र कानमा संक्रमण भइसकेको अवस्था छ भने रुघाको औषधि र एन्टीबायोटिकको प्रयोग गर्नुपर्छ। कान पाक्ने समस्या बारम्बार भयो र राम्रोसँग उपचार गरिएन भने ती बालबालिकाको कानको जालीमा प्वाल पर्छ । कानको जालीमा प्वाल परेपछि हरेक पटक रुघा लाग्दा कानबाट पिप निस्कने समस्या हुन्छ ।

एक्युट ओटाइटिस मिडिया –

हप्ता दश दिनदेखि एक महिनासम्म कान पोकेको अवस्थालाई एक्युट ओटाइटिस मिडिया भनिन्छ । २ देखि ५ वर्ष सम्मका बालबालिकालाई यो समस्याले बढी सताउँछ । रुघा लाग्ने, कान दुख्ने र कानबाट पिप आउने यसका लक्षणहरु हुन् । पाक्ने समस्याको सुरुवाती अवस्था नै एक्युट ओटाइटिस मिडिया हो ।

क्रोनिक ओटाइटिस मिडिया

सामान्य भाषामा बुझ्नुपर्दा कान पाक्ने समस्याले लामो समयदेखि दुख दिइरहेको अवस्था क्रोनिक ओटाइटिस मिडिया हो । जसमा ३÷४ महिना वा वर्षौदेखि कान पाकिरहेको हुन्छ । एक्युट ओटाइटिस मिडियाको समस्या बारम्बार भइ कानको जालीमा प्वाल परेर पिप बाहिर निस्कनुलाई क्रोनिक ओटाइटिस मिडिया भनिन्छ । यसको समयमै उपचार गरिएन भने बालबालिकाको सुनाईमा कमजोरी हुन । बारम्बार कान पाक्नु, बच्चाले कम सुन्नु यसका लक्षणहरु हुन । कान पाक्ने समस्याको सुरुवाती अवस्था छ भने सामान्य उपचारले पनि निको हुन्छ। तर बारम्बार कान पाकिरह्यो र जालीमा पनि ठूलो प्वाल परेको छ भने शल्यक्रिया नै गर्नुपर्ने डा न्यौपानेले बताउँछन् । कतिपय अवस्थामा बालबालिकाको शल्यक्रिया गर्न अभिभावकहरु डराउँछन् । र, ठूलो भएपछि शल्यक्रिया गर्न आग्रह गर्छन् । तर उपचार गर्न ढिला गरे सुनाईमा समस्या आउने न्यौपाने बताउँछन् ।

‘मेरो बच्चा पाँच वर्षको छ । यति सानो उमेरमै अपरेसन गर्न मिल्छ त ? भनेर मलाई धेरै अभिभावकले सोध्नुहुन्छ’, उनले भने, ‘जुन रोगको समस्या जुन उमेरमा छ त्यही समयमा गर्नुपर्छ । ढिला गर्नु हुँदैन। उपचार गर्न ढिलाई भए बहिरोपनदेखि विभिन्न समस्या हुन सक्छ ।’ कान पाक्ने समस्याले गर्दा कानको हड्डी कुहिने समस्या पनि निम्त्याउन सक्छ । यो समस्या ५ वर्ष माथिका बालबालिकाहरुमा बढी देखिन्छ । कानबाट गन्हाउने पिप आउनु, कान दुख्नु र कम सुन्नु यसका लक्षण हुन् । कानको हड्डी कुहिने समस्या बढ्दै गए यसको संक्रमण मस्तिष्कसम्म पुग्ने संभावना पनि हुन्छ । जसले गर्दा मेनेन्जाइटिस हुने, बहिरोपन हुने र मुख बाङ्गिने समस्या आउन सक्ने उनले बताए ।

३. घुर्ने तथा श्वासप्रश्वासमा समस्या

बालबालिकाहरु राति सुतेको समस्या घुर्नु अर्को समस्या हो । घुर्नु भनेको सास फेर्ने बाटो साँघुरिनु हो । साँघुरो बाटोबाट जब हावा भित्र जान्छ, त्यसले एक किसिमको भाइब्रेसन ल्याउँछ । त्यसलाई नै घुर्नु भनिन्छ। राति शरीरमा अक्सिजनको मात्रा कम भएकाले घुर्ने समस्या हुन्छ ।कहिलेकाहीँ रुघा लागेको बेला केही दिन बालबालिकाहरु राति घुर्ने र छट्पटिने गर्छन् । जुन रुघा निको भएपछि आफैँ हराउँछ। यो सामान्य हो । तर, वर्षौदेखि बालबालिकाहरु राति घुर्ने गर्छन् भने सामान्य होइन । राति सुतेको बेला घुर्ने, छटपटाउने, बिहान उठ्ने बेला अप्ठ्यारो मान्ने, झिँझो मान्ने, झगडा गर्ने, पढाइमा मन नलगाउने, बढी हाइहाई गर्ने यसका लक्षणहरु हुन् ।

नाक र घाँटी पछाडिको टन्सिल ठूलो भएका कारण यो समस्या देखिन्छ । नाकको पछाडिको भागमा टन्सिल हुन्छ । दुई/साढे दुई वर्षदेखि ६÷७ वर्षसम्म टन्सिल बढ्छ । त्यसपछि यो १२ वर्षसम्म सानो हुँदै हराउँछ । तर कुनै बालबालिकामा यो टन्सिल ठूलो हुँदा नाक र मुख दुवैबाट सास फेर्न गाह्रो हुन्छ । नाक र घाँटी दुवैको टन्सिल ठूलो भएर सास फेर्न समस्या भएको छ भने उपचार गर्नुपर्छ । सुरुमा चिकित्सकले खाने र नाकमा हाल्ने औषधि दिन्छन् । औषधिले पनि ठीक नभए शल्यक्रिया नै गर्नुपर्ने डा न्यौपानले बताउँछन्। त्रिवि शिक्षण अस्पतालमा महिनामा १२ देखि १५ वटासम्म शल्यक्रिया गर्ने गरेको उनले बताए । घाँटीको शल्यक्रिया गरेपछि आवाज बिग्रने तथा आवाज नआउने भन्ने कुरा भ्रम मात्र भएको उनले बताए ।

४. ढिलो बोल्ने समस्या

बालबालिकाहरुमा आम रुपमा देखिने अर्को समस्या भनेको ढिलो बोल्ने समस्या हो । सामान्यतया बालबालिकाले ६ महिनादेखि कुनै पनि आवाजसँग प्रतिक्रिया दिन थाल्छन् । एक वर्षदेखि केही शब्द र तीन वर्षको उमेरदेखि केही शब्दको वाक्य बोल्न थाल्छन् । तर केही बालबालिकाहरुमा भने ढिला बोल्ने अथवा नबोल्ने समस्या हुन्छ । बच्चाले राम्रोसँग बोल्दैन भने उसले राम्रोसँग सुन्दैन भनेर बुझ्नुपर्छ । बच्चाले नबोल्नुमा विशेषगरी दुई कारण हुन सक्छन् । एक, बच्चाले राम्रोसँग सुन्दैन । दोस्रो, सुनेर पनि बोल्दैन ।

सबैभन्दा पहिले बच्चाले सुन्छ/सुन्दैन भन्ने कुराको हेयरिङ्ग परीक्षण गरेर थाहा पाउन सकिन्छ । सुनाइमा समस्या छ भने उनीहरुको अवस्था अनुसार उपचार गर्नुपर्छ । त्यसपछि उनीहरुलाई स्पिच थेरापीमा राख्नुपर्छ। उनीहरुलाई सुनेको कुरा बुझाउनुपर्छ र बोलाउनुपर्छ। बालबालिकाहरुले सुनेर मात्र पनि हुँदैन। सुनेका शब्दहरुको अर्थ बुझ्ने र प्रयोग गर्ने तरिका बारे सिकाउन स्पिच थेरापीमा राखेपछि मात्र उनीहरुले बोल्न जान्छन् । यो समस्या अहिले बढ्दो क्रममा छ । बढ्दो ग्याजेट्सको प्रयोगका कारण पनि बालबालिकाहरुले परिवारमा कम अन्तरक्रिया गर्छन् ।

कुनै बालबालिकाहरु सुनेर पनि बोल्दैनन्। उनीहरुमा विभिन्न किसिमको न्यूरो डेभलपमेन्टल/न्यूरो साइकाइट्रिक्स समस्या हुन सक्छ । यस किसिमको समस्या भएका बालबालिकाहरुलाई लागि स्पिच थेरापी मात्र समाधान होइन। यसको उपचारको पाटो फरक छ । यसको उपचारमा बालबालिकासँगै अभिभावकको धैर्यता उत्तिकै जरुरी छ । समयमै समस्या पहिचान गरेर उपचार गरे नतिजा राम्रो आउँछ । तर ढिला उपचार गरे समस्याले जटिल रुप लिन्छ । ‘बच्चाले सुनेर बोलीको विकास गर्ने मस्तिष्कको एरिया पाँच वर्षसम्म छिप्पिन सक्छ।’ डा न्यौपानेले भने,‘दुई वर्षको उमेरमा देखिएको समस्या सात वर्षमा उपचार गर्छु भनेर हुँदैन । परिवारको अन्य सदस्य ढिलो बोल्यो भनेर कुर्नु ठिक होइन ।’

५. घाँटीमा गिर्खा आउने समस्या

बालबालिकाको घाँटीमा गिर्खा भेटिएको भन्दै धेरै अभिभावकहरु डा न्यौपानेसँग पुग्छन् । जसमध्ये धेरैले एन्टीबायोटिक खाएका छन् । तर घाँटीमा गिर्खा हुनु सामान्य हो । उनका अनुसार घाँटीमा दुई सयदेखि चार सय वटासम्म गिर्खाहरु हुन्छन् । जसलाई ‘लिम्फ नोड’ भनिन्छ । यी गिर्खाहरु छाला र मासु भित्र हुन्छन् । विभिन्न माध्यमबाट शरीर भित्र प्रवेश गरेका किटाणुहरुलाई पहिलो चरणमा प्रतिरोध गर्ने काम लिम्फ नोडले गर्छ । बच्चाहरुमा रुघाखोकी आम रुपमा हुन्छ । रुघाखोकी लागेपछि शरीर भित्र प्रवेश गरेका किटाणुलाई रोक्न यी लिम्फ नोडहरु सक्रिय हुन्छन् । किटाणुलाई प्रतिरोध गर्ने क्रममा यी लिम्फ नोड सक्रिय हुँदा फुलेर ठूलो हुन्छन् । मोटो शरीर भएका बालबालिकाहरुमा सजिलै लिम्फ नोड भेटिँदैन । तर दुब्लो र घाँटी लामो भएका बच्चाहरुमा सजिलैसँग लिम्फ नोडहरु भेटिन्छन् ।

सबै लिम्फ नोड सामान्य हुन् ?

बच्चाहरुमा एक सेन्टिमिटर भन्दा ठूलो लिम्फ नोड मात्र महत्वपूर्ण हुन्छन्। रुघाखोकी लाग्दा मात्र लिम्फ नोड भेटिन्छ र रुघाखोकी निको भएपछि फेरि हराउँछ भने त्यो सामान्य हो । यसलाई उपचार गर्नु पर्दैन। तर घाँटीमा धेरै गिर्खाहरु भेटिन थाले, गिर्खाको आकार पनि ठूलो हुँदै गयो भने ‘ग्लान्ड टिबी’ हुने संभावना हुन सक्छ । तर, ग्लान्ड टिबी हुने संभावना ठूलो व्यक्तिमा भन्दा बालबालिकामा निकै कम हुन्छ । घाँटीमा गिर्खा भेटिँदैमा आत्तिनु भने पर्दैन । घाँटीको भिडियो एक्सरे गर्ने क्रममा कुनै शंकास्पद रिपोर्ट आएर लिम्फ नोडबाट पानी निकालेर परीक्षण गरिन्छ। समस्या देखिए मात्र त्यसको आधारमा उपचार गर्नुपर्छ ।

६. रुघाखोकीको समस्या

बालबालिकाको शरीर निकै संवेदनशील हुन्छ । बाहिरी किटाणुहरुले उनीहरुलाई छिटो आक्रमण गर्न सक्छ। रुघा बालबालिका अनुसार फरक हुन्छ। मौसम परिवर्तन हुने बेला पनि धेरै बालबालिकालाई रुघा लाग्छ । हरेक तीन चार महिनामा उनीहरुलाई रुघाले सताउँछ । विद्यालय जाने उमेरका बालबालिकामा यो समस्या निकै धेरै हुन्छ । नाक बन्द हुने, सिगान बग्ने, छाती घ्यार–घ्यार भएको जस्तो हुने, ज्वरो आउने लक्षणहरु हुन्छन् । तर केही बालबालिकालाई १२ महिना नै रुघा लाग्ने समस्या पनि हुन्छ ।

त्यसलाई क्रोनिक नाकको समस्या भनिन्छ। बाह्रमासे सिगान आइरहने, आवाज परिवर्तन हुने, नाके स्वर हुने, नाक बन्द हुने, राति सुत्दा पनि मुख खुला गरेर सुत्ने समस्या हुन्छ। यसका कारण पत्ता लगाउनुपर्छ। नाक पछाडिको टन्सिल ठूलो भएका बालबालिकामा यो समस्या आम रुपमा हुन्छ । यी बाहेक बिहान र बेलुकी रुघा लाग्ने समस्या पनि हुन्छ। यी समस्या भएका बालबालिकाहरुले बिहान र बेलुकी हाछ्यँु गर्ने र दिउँसो ठिक हुने हुन्छ।

यो समस्या बालबालिकालाई कुनै ‘लोकल एलर्जी’ का कारण हुन सक्छ। अर्थात् बालबालिका बसेको कोठा, धूलो या कुनै कुराले एलर्जी भएका कारण बिहान बेलुकी हाछ्युँ गर्न थाल्छ । यो समस्यालाई बेवास्ता गरे नाकमा क्रोनिक इन्फ्लामेसन हुन्छ । समयमै उपचार नगरे ती बालबालिकाको नाकमा मासु पलाउने वा दम हुने संभावना हुन्छ ।

जहाँ र जुन वस्तुबाट एलर्जी भइरहेको छ, त्यसलाई रोक्नुपर्छ । घरको सरसफाई महत्वपूर्ण हुन्छ । कुनै बेला कोठा परिवर्तन गर्दैमा पनि समस्या हराउँछ । ओसिलो कोठामा पनि बालबालिकालाई एलर्जी हुन सक्छ । रुघाको कारण पत्ता लगाएर मात्र उपचार गर्नुपर्छ । जथाभावी आफूखुसी एन्टीबायोटिकको प्रयोग गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->