बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘जति राम्रा खेलाडी, उति नै राम्रा प्रतियोगिता’

‘जति राम्रा खेलाडी, उति नै राम्रा प्रतियोगिता’


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७९, बुधबार

गण्डकी प्रदेश भलिबलको उर्वरभूमि हो । कुनै बेला गण्डकीको महिला तथा पुरुष टिमले देशभर भलिबलमा एकछत्र राज गरेको थियो । अहिले पनि राष्ट्रिय टिमको कप्तानी गण्डकी प्रदेशकै खेलाडीले सम्हालिरहेका छन् । गण्डकीका अधिकांश खेलाडी विभागीय क्लबहरुमा आबद्ध भएका छन् । तर, पछिल्ला वर्षहरुमा गण्डकीले खेलाडीको संरक्षण गर्नै सकेन । खेलाडीको संरक्षण नहुँदा खेलाडी पलायन भए । यस्तो अवस्थामा गण्डकी लामो समयदेखि उपाधिविहीन रह्यो । दुई वर्षअघि टाइगरकपमा आर्मीलाई हराउँदै गण्डकीले उपाधि जित्यो । नवौं राष्ट्रिय खेलकुदमा पुनः गण्डकी उपाधिको होडमा छ । गण्डकीको महिला टिमको अवस्था भने कमजोर छ । गण्डकीको टिम, खेल प्रदर्शनी तथा समस्याबारेमा प्रशिक्षक लेखनाथ लम्सालसँग ढोरपाटनकर्मी विजय नेपालीले लामो कुराकानी गरे । प्रस्तुत छ–कुराकानीको सम्पादित अंश (सं.)

सम्मानित भएकोमा बधाई !

एकदमै खुसी लागेको छ ।भलिबल खेलमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेकोमा हिमालयन क्लबलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । पहिला आफू पनि खेलाडी बनेर हिँडियो, खेलमा पहिलाभन्दा अहिले अझ क्रेज बढेको छ । प्रशिक्षक भएपनि अहिले गण्डकी विश्वविद्यालयमा स्पोर्टस् म्यानेजमेण्ट पढ्दै छु ।

प्रशिक्षकसम्मको तपाईंको लामो यात्रालाई कसरी सम्झने ?

२०५५ सालमा नेपालगञ्ज सम्पन्न चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा मैले राष्ट्रिय खेलकुदमा डेब्यू गरेको हो । भलिबल चाहिँ सुर्खेतमा भएको थियो । पाँचौं राष्ट्रिय खेलकुदमा पनि परेको थिएँ तर खेल सरेकोकाले पाइन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका थुप्रै प्रतियोगिताहरु खेलँे । विदेश पनि गएँ ।१२ वर्ष विदेश बस्दा नेपालको प्रतिनिधित्व गर्दै ३ सिरिजका अन्तर्राष्ट्रिय कम्युनिट लिग खेल्ने मौका पाएँ । भलिबलमै केही योगदान गरौं भनेर प्रशिक्षणमा लागियो । २ वटा तालिम उत्तीर्ण गरियो । अहिले प्रशिक्षकको रुपमा क्रियाशिल छु ।

किन स्पोट्र्स म्यानेजमेण्ट रोज्नुभयो ?

गण्डकी विश्वविद्यालयले नेपालमै पहिलोपटक नेपालमा स्पोट्र्स म्यानेजमेण्टको कोर्ष राखेको छ । खेलेरमात्रै सबै ज्ञान प्राप्त हुँदैन । प्राक्टिकल कसरी गर्ने र खेलाडी र उसको खेल कौशललाई कसरी विकास गर्न सकिन्छ, भन्ने कुराहरु यो विषयमा रहेको छ । प्रतियोगिता कसरी आयोजना गर्ने, सुशासन कसरी प्रयोगमा ल्याउने भन्ने कुरा यो विषयमा रहेको हुनाले इच्छुक भएर पढ्न थालेको हुँ । खेलाडीको मात्र होइन, यसमा प्रशिक्षकले समेत कसरी राम्रो नतिजा ल्याउने र टेक्निकल कुराहरुको सिकाइ यसमा पाइन्छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई कसरी हेरिरहनुभएको छ ?

यो गण्डकी प्रदेशको लागि एकदमै ठूलो अवसरको कुरा हो । गण्डकीवासीले यसलाई उत्साहको रुपमा लिएका छन् । प्रदेशका हरेक जिल्लामा हुनेगरि ३६ वटा खेल हुँदैछन् । र, पुरुष भलिबल पोखरामा नै हुने भएकाले सबै उत्साहित छौँ । अर्को कुरा, गण्डकीको भलिबल टिम विभागीयको भन्दा कम छैन् । खेलाडीकोको मेहनत, परिश्रम र लगावले देखाएको बाटो खेर जाने छैन् र यही लामाचौरमा पनि अस्ति आर्मीलाई हराउँदै सेमिफाइनल पुगेको थियो भने आज एपिएफलाई हराउँदै फाइनल प्रवेश गरेको छ । यसमा हामीले गर्व गर्नुपर्छ ।

तपाईं प्रशिक्षकत्वमा वर्षौदेखि उपाधिविहीन गण्डकीले उपाधि उचाल्यो । त्यो कसरी सम्भव भयो ?

टिममा म मात्रै होइन, रमेश केसी पनि प्रशिक्षक हुनुहुन्छ । अहिले उहाँ हेरिरहनु भएको छ । पढाइका कारण पूरै समय दिन पाएको छैन । गण्डकीको टिममा प्रायः स्याङजा, बागलुङ, म्याग्दी, कास्की, पर्वत, तनहुँ, नवलपुरलगायत जिल्लाका खेलाडीहरु छन् । प्रदेशस्तरीय खेलहरु हुँदा गण्डकी प्रदेशले केही बजेट छुट्टयाउँछ अन्य प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघले सहयोगीदाताहरु खोज्दै खर्च जुटाउँछ । हामीले अहिलेको उपलब्धी छोटो प्रशिक्षणबाटै प्राप्त गरेका हौं । हामीले सहयोगीको भरमा काम चलाउ तरिकाले अघि बढिरहेका छौँ ।

कुनै समय गण्डकी निकै अब्बल थियो । तर,अहिले त्यस्तो छैन । भलिबलको स्तर खस्किनुको कारण के हो ?

पहिला ज्ञानुबाबा, फिस्टेल बोर्डिङ स्कूलगायत विद्यालयबाट पनि खेलाडी उत्पादन हुन्थ्यो । अझ ज्ञानुबाबा बढी सक्रिय थियो हामीले सम्मान गर्नैपर्छ । अहिले सबै हराइसके । जतिपनि राम्रा खेलाडी आउँछन्, ती विभागतिर गएको अवस्था छ । यसका लागि गण्डकी प्रदेश सरकारले कुनै नीतिगत कार्यक्रम, ट्यालेन्ट हन्टिङ कार्यक्रमहरु ल्याएर निरन्तर प्रशिक्षणमा राखेर विद्यालयमै भएपनि फेरि सिकाउन थालेमा पुनः टिम अब्बल बन्न सक्छ । पहिलाकै लयमा आउने सम्भावना मैले देखेको छु ।

गण्डकीका खेलाडीहरु सरकारबाट सहयोग नपाएको गुनासो गर्छन् । के साँच्चिकै सहयोग नपाइएको हो ?

हो । गण्डकी प्रदेश सरकाले अथावा नेपाल सरकाले नै भनौँ न, छुट्टिएको बजेट अरु क्षेत्रमा भन्दा खेलकुदमा ज्यादै न्यून छ । थोरै बजेटमा धेरै व्यवस्थापन गर्न परेको कारणले यस्तो अवस्था आएको छ । त्यस्तो अवस्थामा गण्डकी प्रदेशले पनि भलिबललाई त्यति राम्रो बजेट छुट्याएको छैन् । जुन बजेट आउँछ, त्यो डाइटको लागि पनि अपुग हुन्छ । गण्डकीलाई देश विदेशबाट सहयोगीले माया नगर्ने हो र सहयोग नगर्ने हो भने टिम नै हराउँछ । सहयोगकै भरमा डाइट, जर्सी,भाडा र थोरै भएपनि भत्ताको व्यवस्थापन गर्दै आइरहेका छौँ । प्रदेशले खेलकुदमा कहिले लगानी गर्छ र बलियो टिम बनाउन लाग्छ भन्ने कुरा अन्योलमा छ ।

प्रदेश सरकाले सहयोग नगर्दा प्रदेशकै टिम बनाएर किन खेल्ने ? सहयोगी वा कुनै क्लबको नामबाट खेले हुँदैन ?

हामी गण्डकी प्रदेशका नागरिक भएको हुनाले पनि गण्डकीका लागि केही गर्नुपर्छ भन्ने हो । गण्डकीमा पनि खेलाडीहरु छन्, नभएका होइनन् । प्रदेशले पहिचान र सहयोग गरेमात्रै पुग्छ । सरकाले पनि बजेट नदिएको होइन दिएकै हो तर थोरै दिएको छ । यो प्रदेशको प्रतिष्ठाको कुरा हो । किनकि, स्थानीय स्तरको खेल खेलाडीले खेल्न नपाउने हुन्छ । यो भलिबलको उर्वरभूमि भएकाले यसको पहिचान मेट्न दिनुहुँदैन । त्यसैले पनि हामी गण्डकी कै नामबाट अघि बढिरहेका छौँ ।

तर, खेलाडी विभागमा जाने र विदेश पलायन हुने अवस्था छ । खेलाडी टिकाउन के गर्नुपर्छ ?

मेरो विचारमा, त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ क्लबको जस्तै प्रदेशका खेलाडीलाई पनि मासिक तलब भयो भने र निरन्तर प्रशिक्षणको वातावरण सिर्जना भयो भने सम्भव हुन्छ । खेलमा भविष्य बनाइराख्न जागिरको आवश्यकता छ । त्यसले विभागीय क्लबमा जानबाट रोक्न सकिन्छ । विभागमा भविष्य छ त्यहाँ पेन्सन हुन्छ, खेलिन्जेल तलब पायो, रिटायर्ड भएपछि पेन्सन पायो । त्यसपछि अर्को ठाउँमा जाने अवसर भएकाले खेलाडी उता जाने हुन् । हामीले सके त्योभन्दा बढी र नसके त्यो सरहको सेवा सुविधा दिने हो भने खेलाडीहरु कतै जाँदैनन् ।

यो सम्भव छ त ?

आजभन्दा ४० वर्षअघि जति राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीहरु हुनुहन्थ्यो,उहाँहरुलाई खानेपानी संस्थान, कृषि विकास बैंकजस्ता स्थानमा जागिर दिइन्थ्यो । अनि उहाँहरु जागिर गर्दै खेल्दै गर्नुहुन्थ्यो । अहिले पनि विभिन्न बैंक, क्लब तथा संघ संस्थाहरुसँग सम्झौता/सहकार्य गरेर प्रदेश सरकारले मासिक तलबको व्यवस्था गर्ने हो भने तलबमात्रै नभइ रिटायर्ड लाइफपछि पनि लेभल छुट्याएर उनीहरुलाई सुविधानजनक तलब वा भत्ताले सम्बोधन गर्न सक्छ । खेलकुदको लगानी खर्च होइन्, आर्थिक विकासको मार्ग हो भन्ने सरकारले बुझन आवश्यक छ । खेलकुदमा लगानी गर्दा देशको अर्थतन्त्रलाई पनि त उकास्न सकिन्छ नि । जति राम्रा खेलाडी, उति नै राम्रा प्रतियोगिता अनि त्यति नै आर्थिक विकास हुन्छ ।

महिला भलिबल निकै कमजोर छ । नेपालकै कप्तान अरुणा शाहीको प्रदर्शन पनि खस्किने खतरा देखियो त !

अरुणा राष्ट्रिय होइन्, अन्तर्राष्ट्रिय खेलाडी हो । उनलाई जुन स्तरको प्रशिक्षण चाहिएको हुन्छ, त्यो छैन् । उल्टै भलिबलमा अनुभव नै नभएका भरखर सिक्दै गरेका नयाँ खेलाडीहरुसँग मिलेर खेल्न परेको छ । जसका कारण उनलाई समस्या त आउँछ नै । यसका लागि मैले अघि नै पनि भनँे, ट्यालेन्ट हन्टिङ कार्यक्रम ल्याउने, विद्यालयमा जाने, ग्रासरुट भलिबल प्रशिक्षण गराउने हो भने फेरि पनि गण्डकी प्रदेशको महिला भलिबल पहिलाको अवस्थामा आउने सम्भावना देखिन्छ ।

अन्त्यमा आम भलिबल प्रेमीका लागि तपाईँको सन्देश ?

भलिबललाई माया गर्ने सबैले आ–आफ्ना ठाउँबाट इभेन्टका लागिमात्रै नभइकन इभेन्टपछि पनि खेलाडीले के गरिरहेका छन् ? कहाँ गएका छन् भन्ने जस्ता विषयमा चासो देखाएर खेलाडीको सुविधाका लागि सबैले पहल गरिदियो भने गण्डकी प्रदेशको भलिबल अझै उचाइमा पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->