बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चाडपर्वको सुरक्षाका लागि मापसे चेकजाँच : अधिकारी

चाडपर्वको सुरक्षाका लागि मापसे चेकजाँच : अधिकारी

कसैले बढी भाडा लिन्छ भने उनीहरुलाई कारवाहीको दायरामा ल्याउनपर्छ/ ल्याइन्छ ।


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७९, बुधबार

दशैं सुरु भइसकेको छ । नागरिकहरु दशैं मनाउन आ–आफ्नो घरजान जानेक्रमसँगै राजमार्गमा सवारी चाप पनि बढिरहेको छ । दशैंको बेलामा, चोरी, डकैति,लुटपाट, भाडामा कालोबजारी, सवारी दुर्घटना हुने सम्भावना पनि रहन्छ । त्योबाहेक एक स्थानबाट अर्को स्थानमा जाने यात्रुलाई विभिन्न समस्या पनि आउन सक्छ । सार्वजानिक तथा निजी सवारीबाट यात्रा गर्दैगर्दा राजमार्गमा धेरै समस्या आउनसक्ने भन्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना अघि सारेको छ । यही योजना तथा सडक सुरक्षाका बारेमा गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द अधिकारीसँग ढोरपाटनकर्मी विजय नेपालीले कुराकानी गरेका छन् । प्रस्तुत छ–कुराकानीको सम्पादित अंश ।( सं)

चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि के–कस्ता प्रयासहरु हुँदैछन् ?

दशैं, तिहार, छठलगायत विभिन्न चाडपर्वहरुलाइ लक्षित गरेर सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्ययोजना तयार पारेका छौँ । ती योजना गण्डकी प्रदेशअन्तर्गत रहेका ११ जिल्लामा पठाएका छाँै । चाडपर्व भन्ने बित्तिकै सवारीको चाप बढ्ने,देश तथा विदेशबाट यही समयमा घर फर्किने र संख्यात्मक हिसाबमा अन्य समयमा भन्दा यो समयमा यात्रुहरुको आवातजावत बढ्छ । मान्यजनहरुबाट आशीर्वाद थाप्न जाने–आउने गर्दा यात्रुको चापसँगसँगै विभिन्न खालका दुर्घटना बढ्ने, सवारी साधनमा यात्रुको बढी लोड हुने हुन्छ । यो समय गाउँघर जाने भएकाले ग्रामीण सडक तथा बाटो त्यति सुरक्षित र भरपर्दो नभएको तथा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने। छतमा बस्दा धेरै दुर्घटना हुने सम्भावना बढी हुन्छ । अघिल्लो वर्षको रेकर्ड हेर्दा पनि चाडवाडको समयमा बढी दुर्घटना भएको छ । दुर्घटना नहोस् भनेर योजनाबद्ध तरिकाले चेकपोइन्ट राख्नेछौँ ।

यस्तो बेला बिगे्रको वा पाटपुर्जा कमजोर भइसकेको पुराना, थोत्रा गाडीको प्रयोग हुनसक्छ । त्यसैगरी चालकले पनि यहि बेला हो भनेर रातदिन खटिरहने, आराम नगर्नाले घटना हुन्छन् । त्यस्ता गतिविधिलाई निरुत्साहित गर्नका लागि योजना बनाएका छौँ । हामीले प्रदेशभरी स्थायी चेकपोइन्ट ६७, नियमित चेकजाँच ५१, मापसे चेकिङ पोइन्ट ३६ र यात्रु सहायता कक्ष ३३ स्थानमा राखेका छौँ । त्योबाहेक राजमार्ग ग्रामीण गस्ति, विपद् उद्धार टोली, मोबाइल गस्ती, क्युआरटी परिचालन समेत गरेका छौँ ।सबैभन्दा बढी दुर्घटना हुने स्थानको विश्लेषण गरेर ब्ल्याक स्पटको पहिचान गरेका छौँ । ति क्षेत्रमा पनि घटना नहोस् भनेर चेक पोइन्ट राख्ने काम पनि गरेका छौँ । बढी दुर्घटना हुने समयमा भनेको बेलुका ६ बजेदेखि राति १२ बजेसम्म हो त्यसैले त्यो समयमा त्यहाँ पुगेर चेकिङ गर्ने गरी ड्युटी खटाउने तयारी छ ।

यात्रु सहायता कक्ष कस्ता स्थानमा छन् र त्यहाँबाट के सेवा दिइरहेको छ ?

जहाँबाट यात्रुहरुको प्रस्थान हुन्छ र बाहिरबाट आएर उत्रिने स्थान हुन्छ त्यहाँ यात्रु सहायता कक्ष स्थापना गरेका छौँ । बसपार्क क्षेत्र, बढी भिडभाड हुने क्षेत्र जस्तै कास्कीको पृथ्वीचोक, बागलुङ बसपार्क । तनहुँमा दमौली, बेलचौतारा, आबुखैरेनी त्यस्ता ठाउँहरु भए । सबै जिल्लामा बसपार्क पहिलो नम्बरमा छ । प्रत्येक यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी र सिभिल प्रहरी गरी दुईजना खटिएका हुन्छन् । उनीहरुले त्यहाँबाट जतिबेला यात्रुलाइ अफ्ठेरो पर्छ त्यो समयमा सेवा दिन्छन् ।

धेरै यात्रु सहायता माग्नका लागि पुगेको देखिदैन नि ?

यात्रुहरुकै लागि यो स्थापना भएको हो । तपाईंहरुले टिकट पाउनुभएन वा बढी मूल्य तिर्नुप¥यो वा समस्यामा पर्नुभयो भने निर्धक्क भएर आउँदा हुन्छ । हामी हजुरहरुकै सेवाका लागि बसेका हौँ । सामान्य समस्या भएपनि त्यहाँबाट सेवा प्रदान हुन्छ । सहायता माग्न झन्झन नमान्नुहोला । यात्रुमात्रै होइन् चालक, सहचालक, व्यवसायी वा जो कोहीलाई पनि समस्या परेमा आउन सकिन्छ ।समयमा टिकट नपाउने वा टिकट काटेपनि अर्कै व्यक्ति आएर बस्ने,दलालीको बिगबिगीजस्ता समस्या आउन सक्छन् वा आफू जाने क्षेत्रको बसको टिकट कहाँ पाइन्छ भन्ने थाहा नहुन पनि सक्छ । त्यसका लागि ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्षमा आउन सबैमा अनुरोध पनि गर्न चाहन्छु ।

गण्डकी प्रदेशमा कति ट्राफिक प्रहरी छन् र तिनीहरुको परिचालन कसरी गर्नुभएको छ ?

गण्डकी प्रदेशमा ट्राफिक प्रहरी ४ सयको हारहारीमा रहेको छ । धेरै ट्राफिक फ्लो हुने र आवश्यक पर्ने भनेको कास्की जिल्ला नै हो । एक सयभन्दा बढी ट्राफिक प्रहरी कास्कीमै छन् । जिल्ला हेरेर कुनैमा बढी कुनैमा कम छन् । चाडवाडमा हामी अरुबेलामा भन्दा बढी समय सडकमा नै विताउनेगरी परिचालित भएका छौँ ।

यो पर्याप्त संख्या हो ?

मागलाई हेर्दा हामीसँग पर्याप्त मात्रामा ट्राफिक प्रहरी छैनन् । कतिपय स्थानमा ट्राफिक प्रहरीको माग भए पनि पु¥याउन सकिरहेका छैनौँ । विशेषगरी ग्रामीण भेगमा बजारसँगै सडक बिस्तार भएका ठाउँमा सवारी अस्तव्यस्त भएको र त्यसलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी चाहियो भन्ने ठाउँ थुप्रै छन् । अहिले जति स्थानमा हामी परिचालित भएका छौँ त्यहाँ पनि अपुग नै छौँ । यहाँ प्रविधि छैन्, ट्राफिक लाइटहरु छैन् जसले गर्दा भौतिक रुपमै उपस्थिति भएर काम गर्नुपर्ने बाध्यता पनि छ । सडकमा आफै खटिएर हेर्नुपर्ने स्थिति छ । त्यहि पनि जति छौँ,त्यसैले सकेको राम्रो सेवा दिनेप्रयास गरेका छौँ ।

बढी भाडा मागे के गर्ने ?

हामीले योजना बनाएर काम गर्ने भनेकै दुर्घटना न्यूनीकरण र बढी भाडा लिन्छन् कि भनेर हो । बढी चेक पोइन्ट बनाएको यात्रु सहायता कक्ष राखेकै त्यसका लागि हो । कसैले बढी भाडा लिन्छ भने उनीहरुलाई कारबाहीको दायरामा ल्याउनपर्छ÷ ल्याइन्छ । यदि कसैले बढी भाडा लिन्छ भने तुरुन्तै प्रहरी समक्ष पु¥याउनुपर्छ । हामी कारबाहि गर्छौँ । हामीले यसका लागि राजमार्गमा छड्के जाँच पनि गर्छौँ । सवारी रोकेरै यात्रुलाइ कति भाडा लिएको हो भनेर सोध्छौँ । भेटेमा तत्काल कारवाही गर्छौँ ।

ट्राफिक प्रहरीका लागि ‘हिट एण्ड रन’ केश मुख्य चुनौती हो ?

हो, हिट एण्ड रन अरुभन्दा चुनौतीपूर्ण छ । सवारी साधन कस्तो थियो, कति नम्बरको हो, कसको हो भन्ने कुराहरु खुलेको हुँदैन् । यो बेलामा हिट एण्ड रनकै केस बढी हुन्छन् । राजमार्ग बढी सुनसान हुन्छ, सिसिटिभी छैन्,कसैले देख्दैन अनि हानेर फरार हुन्छन् । त्यहाँ कुनै पनि क्लु पाउँदैनौँ ।

समाधान के हो त ?

यस्को समाधान भनेकै सिसिटिभी हो । राजमार्गमा सिसिटिभीको नेटवर्किङ भयो भने कहिँबाट पनि भाग्न सक्दैन् । गाडीको केही न केही हुलिया क्याप्चर हुन्छ । त्यो भएपनि हामीले पक्राउ गर्न सक्छौँ । यसका लागि स्थानीय निकायले ध्यान दिन जरुरी छ ।

तपाइँ आइसकेपछि उदाहरणीय काम केके गर्नुभयो ?

विशेष गरेर मैले ट्राफिक व्यवस्थापनमा सानासाना कुराहरुले कस्तो असर गरिरहेको हुन्छ भनेर अध्ययन गरी एउटा अभियान चलाएँ । मैले गाडीमा टाँसिएका स्टिकर, झल्लरहरु, अनावश्यक राखिएका लाइटदेखि प्रेसर हर्नहरु हटाउने काम गरेँ। वातावरणमैत्री ट्राफिक व्यवस्थापन भनेर नै अभियान बढाएँ । कालो सिसा हटाउने काम पनि गरँे । रोड सेफ्टी टिप्स कार्यक्रम चलाएँ । यो एक सचेतनामूलक कार्यक्रम हो । यो हरेक सवारी चालकले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनुपूर्व यातायात कार्यालयमा जम्मा भएका नागरिकलाई ट्राफिक नियमको बारेमा सटिक रुपमा प्रभावकारी ढंगले स्मरण गराउनका लागि गरिएको कार्य हो । त्यसैगरी ट्राफिक प्रहरीको आचरणमा सुधार गर्न नमस्ते अभियान सुचारु गराएँ । अर्को कुरा भनेको समयसमयमा ट्राफिक प्रहरी र सवारी चालकको स्वास्थ्य परीक्षण गराउने कार्यक्रम संचालन गरेका छौँ ।

भावि योजना केके छन् ?

हामीसँग सिसिटिभी नेटवर्किङ भएन । हाामी प्रविधिमैत्री भएनौँ भनिरहेका छौँ । यो विषयलाई कसरी समाधान गर्न सकिन्छ र थप सुधारका लागि पहल गर्ने योजना रहेको छ । ठाउँठाउँमा ट्राफिक लाइट राख्नका लागि हामी आफैले त सक्दैनौँ, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर यो विषयमा कसरी हुन्छ कार्यान्वयको चरणमा लैजाने योजना हो । कास्कीमा बैंकिङ्ग प्रणालीबाट जरिवाना लिइरहेका छौँ । एउटामात्रै काउन्टरबाट जरिवाना लिदैँगर्दा तिर्ने नागरिकलाई असुविधा भइरहेको छ । यसलाइ कसरी विस्तार गर्न सकिन्छ र अझै सहज किसिमले अनलाइन पेमेन्ट सिस्टमलाइ ल्याउन बैंकसँग समन्वय गरेर काम गरिरहेका छौँ । दुर्घटना न्यूनीकरणका लागि हामीसँग नभएका रिडार गन, राडर गनको व्यवस्थापन गर्ने, वेव क्यामेराको व्यवस्थापन गर्ने र अहिलेको भन्दा बढी परिचालन गर्ने योजनाहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->