बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘मताधिकार कुण्ठीतहुने प्रमुख कारण प्रलोभन हो’

‘मताधिकार कुण्ठीतहुने प्रमुख कारण प्रलोभन हो’


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७९, बिहिबार

आगामि मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएको छ । पहिलो हुने र समानुपातिक निर्वाचन प्रणाली दुवैका लागि दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएसँगै निर्वाचनका प्रक्रियागत कामहरु सुरु भएका छन् । निर्वाचन आयोगले दिएको समयावधि भित्रै सकिनेगरी दल तथा उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न जाँदैछन् ।
नेपालको संविधानले नागरिकको राजनीतिक अधिकारका रुपमा मताधिकारलाई सुरक्षित गरेको छ । सोही अनुसार हुने आवधिक निर्वाचनहरुमा नागरिकले आफ्नो अमूल्य मतको प्रयोगद्वारा आफ्ना प्रतिनिधिहरु छनोट गरिरहेकै छन् । लोकतन्त्रको सुन्दरपक्ष हो, आवधिक निर्वाचन । निर्वाचनको प्रमुख केन्द्र मतदाता र उनिहरुको अधिकार । वैशाखमा भएको स्थानीय तहको निर्वाचन होस वा त्यो भन्दा अघि भएका कयौं निर्वाचनहरु नजिकबाट नियाल्दा नागरिकको मताधिकारमाथि नै उम्मेदवार तथा दलहरुले धावा बोलेका कयौं घटनाहरु छन् । मत राख्नै नपाउने, मत राखेपनि निश्चित व्यक्ति वा समूहको स्वार्थ भएका उमेद्वारलाई राख्नु पर्ने । मताधिकार प्रयोग गरेकै कारण सामाजिक बहिस्करणसम्मका समस्या खेप्नुपर्ने । यी विविध कारणले नागरिकको मताधिकार सुरक्षित छैन् । मताधिकार कसरी प्रयोग गर्ने ? के नागरिकले चाहेको व्यक्तिलाई नै मत दिनसक्ने अवस्था छ ? निर्वाचनको समयमा कसरी मत प्रभाति हुन्छन् ? मताधिकारको दुरुपयोग रोक्न के गर्न सकिएला ? विविध विषयमा ढोरपाटन सहकर्मी तारानाथ आचार्यले नागरिक समाजका अगुवा तथा वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठसँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ– श्रेष्ठसँगको कुराकानीको संपादित अंश ।(सं.)

 

नागरिकको मत दिने अधिकार कसरी प्रयोग भइरहेको देख्नुभएको छ ?

मताधिकार, मतदान भन्ने कुरा नागरिकको राजनीतिक अधिकारसँग जोडिएको कुरा हो । हामीले यस्ता धेरै निर्वाचन व्यहोरेका छौं । आसन्न निर्वाचन पनि सन्मुखमा छ । वास्तवमा जुन मुलुकमा जनताको आर्थिक स्तर माथि उठेको हुन्छ, जुन मुलुकमा जनताको शिक्षाको स्तर माथि उठेको हुन्छ, जीवनयापनको मापदण्ड उठेको हुन्छ । त्यहाँका नागरिकले केमा आफ्नो भलो र कुभलो छ भन्ने विषय छुट्टाएर मतदान गरेका हुन्छन् । आजसम्मको मतदानको स्थिति हेर्दा राजनीतिक दलहरु, निर्वाचन आयोग र सरोकारवालाहरु नागरिकको बीचमा जाने तर कसैले मतदाता शिक्षाको विषयमा जनताले बुझ्नेगरी सिकाउने गरेका छन् भने कसैले जनतालाई हुने–नहुने कुरा गरेर झुक्याउने र मततान्ने गरेको पाइन्छ ।

मताधिकारमाथि नै दलहरुको हस्तक्षेप छ, दलले जसरी चाह्यो, उसैगरी जनताको मतको प्रयोग गर्छन् भन्ने आरोपहरु पनि छन् नि ?

राजनीतिक संस्कार भन्ने कुरा ठूलो कुरा हो । जुन मुलुकमा राजनीतिक दलहरु आफ्नो सिद्धान्त अनुसार, आफ्नो घोषणापत्र अनुसार, आफ्नो नीति नियम अनुसार चल्न सक्दैनन् । त्यो मुलुकमा निश्चित रुपमा नागरिकिलाई विभिन्न किसिमको प्रलोभन देखाएर, हुनै नसक्ने कुरा गर्छु भन्ने आश्वासन दिएर हस्ताक्षेप गर्ने गर्छन् । त्यो गलत प्रक्रिया हो ।
निर्वाचनसँग सरोकार राख्नेहरुको उद्देश्य हुनुपर्ने मताधिकार सुगमता, सहजतापूर्वक प्रयोग गर्न सकोस् भन्ने सचेतता सबैमा हुनुपर्ने हो । तर अहिलेको घेरा हेर्नेको भने त दलहरु नै मिलेर जाने, स्वतन्त्रहरुनै मिलेर मतदाताको मोलमोलाइमा जाने प्रवृत्ति देखिन्छ । यस्तो अवस्थामा मताधिकारको स्वतन्त्र प्रयोग कुण्ठित भइ नै हाल्छ ।

मताधिकार प्रयोगमा हुने हस्ताक्षेपको दीर्घकालीन असर कस्तो होला ?

यसले नागरिकलाई मात्रै होइन, मुलकलाई नै असर गर्छ । निश्पक्ष रुपमा कसलाई निर्वाचित गरिनुपर्छ, दलीय स्वार्थभन्दा माथि आफ्ना लागि मात्रै नभएर नागरिक र राष्ट्रका लागि कसले काम गर्न सक्छ । जो कमाउनका लागि होइन, सेवाका लागि हिँड्नेहरुलाई बेलैमा चिन्न नसके नागरिकको मत खेर जान्छ । पाँच वर्ष लामो समयाबधि खेर जान्छ र राष्ट्रलाई घाटा पुग्छ । स्वतन्त्र मत प्रयोग हुने वातावरण नहुँदा गलत मान्छे चुचिने सम्भावना बढी हुन्छ ।

मताधिकार गलत प्रयोगलाई सुधार गर्नका लागि नागरिक आफै सचेत भएनन् कि हाम्रा दलहरु जिम्मेवार छैनन् ?

हो हामीले दल भनौं, नागरिक भनौं वा सरोकारवाला भनौं । हामीले जो जसलाई गणतन्त्रवादी भन्छौं । यदि प्रजातन्त्र गणतन्त्रलाई बचाउने हो, राष्ट्रलाई माथि लगाउने हो भने निश्चित रुपमा इमान्दारीपूर्वक मतदानको अभ्यासलाई निश्पक्ष र स्वतन्त्र बनाउनेतर्फ हामी सबैले सोच्नुपर्छ । पुराना सडेगलेका कुराहरुबाट मतदातालाई गलत प्रभाव पारेर, गलत परम्पराको विकास गरेर, मतदाताको हैसियत एक बोरा चामल, एक बोतल रक्सीमा झारेर असल प्रतिनिधि छनोट गर्न सक्दैन् । गलत प्रकारको काममा दल उम्मेदवारहरु लाग्छन् भने त्यो मुलुकको लागि बान्छनीय हुँदैन् ।

निश्पक्ष मताधिकार प्रयोगका लागि दल, सरोकारवाला र मतदाता स्वयंको भूमिका के हुनसक्छ ?

सरसर्ती हेदार्, सरकार र दलहरु कति नराम्रो भैराखेको छ भन्दाखेरी आफ्नो पक्षको नराम्रो कुरा नदेख्ने अर्काको पक्षको राम्रो कुरा पनि नदेख्ने र अर्काको पक्षको नराम्रो कुरामात्रै देख्ने, आफ्नो पक्षको राम्रो कुरा मात्रै देख्ने । यो गलत चिन्तन दलहरुमा देखिन्छ । यो चाहिँ अस्वच्छ चिन्तन हो । राम्रो कुरा छ भने विपक्षीको भए पनि समर्थन जनाउने र गलत भए आफ्नै दलको भए पनि आलोचना गरेर सुधारोन्मुख बाटोमा ल्याउने आम सचेत नागरिकको दायित्व हो । अर्को पक्ष भनेको निर्वाचनका सायमा आयोगले तोकेका कर्मचारी तथा पदाधिकारीहरुले पनि कुन दलको सरकार छ कुन दल पावरमा छ भनेर सोच्नु भन्दा राष्ट्रिय दायित्व हो भने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोच राखेर फेयर निर्वाचन गराउने कर्तव्य हो । नागरिकले प्रलोभन त्यागेर सही समयमा सही निर्णय गर्ने आँट गर्नुपर्छ ।

आसन्न निर्वाचनका लागि नागरिक कति उत्साहित छन् ?

अहिले भर्खरै त त्यस्तो केही देखिँदैन् । बेला पनि भइसकेको छैन् । नागरि उत्साहित हुने समय बाँकी नै छ । जुन लहर आउनुपर्ने हो त्यो अझै आएको जस्तो लाग्दैन् । जमेर बसेको पानीमा तरंग ल्याउन पनि ढुंगा फाल्नुपर्छ । त्यस्तै नागरीकलाई उत्साही बनाउनका लागि पनि वातावरण बनाउनुपर्छ । नागरिक काममा छन् । सधैं निर्वाचनका लागि उत्साहित भइरहन मिल्दैन् । वातावरण बनेपछि नागरिक उत्साहित हुन्छन् ।

हालसम्म भएका निर्वाचनमा आफ्नो मत सदुपयोग भएकोमा नागरिक कत्तिको ढुक्क छन् ?

अब नागरिकको कुरा गर्ने हो भने सबै नागरिकलाई एउटै डालोमा राखेर मूल्यांकन गर्न मिल्दैन् । यहाँ नाता, व्यक्ति र परम्परा हेरेर मतदान गर्ने नागरिक पनि छन् । हाम्रा मतदाता नागरिकले आफ्नो मत सदुपयोग भए नभएको विषय खोज्दैनन् । पछिल्लो समय सञ्चार क्षेत्र र विद्धान समुदायबाट यसको खोजी हुन थालेको छ यो सकरात्मक छ । सचेत मतदाताको कुरा गर्ने हो भने अहिलेसम्म मत सदुपयोग नभएको भन्छन् । राष्ट्रिय स्वार्थमा हामीले पठाएका नेताले काम गरेनन् भन्ने गुनासो छ । विकास निर्माणमा भूमिका खेल्न नसकेको कुराहरु । साधारण र पूँजीगत खर्च, बजेट फ्रिज भएका कुरा, कार्यालयमा जनताका काम नभएका गुनासाहरु छन् । यी सबै समस्याको समाधान खोज्ने बुझ्ने मतदाताले आफ्नो मतको सदुपयोग नभएको देख्छन् ।

आम नागरिक आगामी निर्वाचनमा कस्तो उम्मेदवारको खोजीमा छन्, कस्तो उम्मेदवारको आशा राखेका छन् ?

आवधिक निर्वाचनमा हाम्रो माटो सुहाउँदो विकास गर्नसक्ने, व्यवस्थापन गर्न सक्ने । कृषि, पर्यटन पूर्वाधारको विकास गर्ने खालको उम्मेदवार मतदाताले अपेक्षा गरेका छन् ।

निर्वाचनमा नागरिक अधिकार कुण्ठित गरिन्छ भनिन्छ नि ? यसलाई कसरी हेर्नुभएको छ ?

मैले अघिपनि भनँ,े राजनीतिक अधिकार हो, मतदान । अहिले पनि शुन्य समयमा मतदाता प्रभावित गर्न रातिराति मतदाताको घरदैलोमा पुग्ने, प्रचार सामग्रीको रुपमा पैसाको प्रयोग गर्ने र कसैको स्वतन्त्र मत राख्ने अधिकारलाई कुण्ठित गर्ने कामहरु भैरहेका छन् । यो त गलत कुरा हो । उम्मेद्वारले आफ्नो घोषणापत्र, अभिव्यक्ति र जनताको भोटबाट मत लिनु नागरिकका लागि उपयुक्त कुरा हो । अझै पनि हजार, दुईहजार पाँच सय पाँच किलो चामलमा भोट बटुल्ने हो भने त हामीलाई मात्रै होइन, यसले मुलुकलाई अझै पछि धकेल्ने निश्चित जस्तै छ । नियमन गर्ने निकायले कडाइका साथ हेर्नुपर्छ । राजनीतिक संस्कार नै सुधार गर्ने प्रमुख समस्याको समाधान हो ।

निर्वाचनमा आउने प्रलोभनमा नागरिकको प्रतिकार के होला ?

जसलाई एक छाकको समस्या छ, महिनाको समस्या छ त्यस्तो व्यक्ति वा परिवारका लागि कुनै आदर्शले फरक पार्दैन् । प्रलोभनमा पर्नु बाध्यता हो । त्यसैले पहिला आर्थिक स्थिति सुधार गरेर मात्रै निर्वाचनका बेलाका प्रलोभनको प्रतिकार गर्न जरुरी छ । निर्वाचनमा प्रलोभनबाट मत पाउन राजनीतिक दलहरु नै जिम्मेवार र सचेत बन्नुपर्छ । आदर्श र आश्वासन मात्रै होइन, व्यवहारमा काम गर्न सके गर्न नसक्ने भन्ने पनि केही होइन् ।

नागरिकको मत सदुपयोग गर्न अथवा बदर हुन नदिन के गर्नुपर्ला ?

दलहरुले मत माग्नेमात्रै होइन्, मत कसरी राख्ने, खसाल्ने कसरी भनेर अभ्यास गराउन जरुरी छ । सरोकार वाला निकायले पनि सचेतनाका कार्यक्रम ल्याउन जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->