हालै गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । अभाव, विवाद र कमजोरीसहित प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा प्रदेशतर्फ गण्डकी स्वर्ण पदकले प्रथम रह्यो । गण्डकी प्रदेशमा सर्वाधिक स्वर्ण आर्चरीमा आयो । आर्चरीमा गण्डकीले ७ स्वर्ण हात पा¥यो । ७ स्वर्ण, ४ रजत, १ कास्य सहित कुल १२ पदक ल्याउँदै सर्वाधिक स्वर्ण ल्याउने संघ बन्यो । यद्यपि, समग्र पदकका हिसाबले आइटिएफ तेक्वान्दो संघ १४ पदकका साथ पहिलो छ । आर्चरी खेलमा पनि खेल सामग्रीको अभाव भयो । अभावका बीचमा पनि प्रदेशलाई सर्वाधिक पदक दिलाउन संघमा रहेर महत्वपूर्ण भूमिका खेलेका नेपाल आर्चरी संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष वसन्त थकालीसँग गरिएको कुराकानी (सं.)
नवौं राष्ट्रिय खेलकुद सकियो, यसलाई कसरी हेर्नुभयो ?
सम्पन्न त भयो तर व्यवस्थित र भव्य अनि सभ्य हुन सकेन । खेलकुद भयो कि भएन भन्दा भयो । यो पनि सबै खेलकुद संघहरु र गण्डकी प्रदेशका साथीहरुले प्रदेशमा भएको प्रतियोगिता सम्पन्न गर्नपर्छ भनेर मात्रै सम्पन्न भएको हो । नत्रभने गाह्रो थियो । धेरै दुःख कष्टले प्रतियोगिता सम्पन्न भयो । यसमा त निर्णायक तथा खेलाडीले धेरैकुरामा त्याग गर्नुभयो । त्यो स्थितिमा खेल्न उहाँहरुले नसक्ने हो । यदि अलि विरोध गर्ने खेलाडी वा निर्णायक भएको भए यो खेल नै हुने थिएन । किनभने हामीसँग सामग्री थिएन् पुरानै सामग्रीको प्रयोग गरियो । एउटा टार्गेट फेस भन्ने हुन्छ, त्यसमा एकपटक हान्यो भने अर्कोपटक हानिदैन् । नम्बर दिन गाह्रो हुन्छ । त्यो अवस्थामा पनि खेलाडी र निर्णायक मिलेर प्रतियोगिता सम्पन्न गर्नपर्छ भनेर मात्रै उहाँहरुको सदासयताले प्रतियोगिता सम्पन्न ग¥यौँ । यो भव्य भयो भनेर हामीले भन्न सक्दैनौँ ।
उद्घाटन र समापनमा लगानी धेरै खेलमा थोरै भएको हो ?
बाहिरको मान्छे धेरै राख्न पर्ने जरुरत नै थिएन । गण्डकी प्रदेशकै राखेको भए काठमाडौंबाट आउने जाने हुने थिएन । कतिजना काठमाडौंका राखे उनीहरु आउजाउ होटल खर्च, प्लेन खर्च छ । आतिसवाजी गरेको छ, पटका पड्काएको छ, लाखौँ खर्च फोकटैमा उडाएको छ । त्यसको साटोमा खेलाडीलाई इक्युपमेन्ट, खेलकुद संचालन गर्ने संस्थालाई खेलकुद सामग्री र खेलकुद सम्पन्न गर्न खेलाडीलाई दिएको भए कमसेकम उनीहरुले राहत त पाउँथे । अब त्यहाँ दिनभरी मरिमेट्ने गरी स्वयमसेवकलाई दैनिक ६ सय रुपैयाँ भत्ता दिएर कहाँ पुग्छ ? त्यसमा पनि खाना त्यही रकममा । यहाँ सादा खानाकै दुई सय रुपैयाँ पर्छ । खाजा त्यो भन्दा महँगो छ । ग्रासलेभलमा काम गर्नेहरु एकदमै पेलानमा परे यसपटक। तर ,स्टेज बनाएर, ठूला भाषण गरे नचाहिदो ठाउँमा खर्च गरेको हामीले भव्य भयो भन्दैनौँ । भव्य हुनलाई त कसैको पनि विवाद आउनु भएन नि । मैले खेलाडीलाई प्रदेशको इज्जत जोगाइदिन आग्रह गरेपछि उहाँहरु शान्त भएर खेलिदिए । अन्तर्राष्ट्रिय जगतमा नेपालको खेलमा यस्तो भयो रे भनेर म्यासेज गएको भए के हुन्थ्यो ? त्यही मेसेज नजाओस भनेर दुःख सुख सम्पन्न गर्न लागि प¥यौँ, त्यसमा खेलाडी र निर्णायकले साथ दिनुभयो ।
नवौं स्थानीय स्तरको भन्दापनि गएगुजे्रको खेल भयो भन्छन्, सत्य हो ?
अरु खेललाई म भन्दिन । मेरो खेल(आर्चरी) को हकमा भन्दा हो । लोकल खेलमा त एकचोटी हानेको टार्गेटमा अर्कोचोटी हान्दैनौँ । राष्ट्रिय गेममा हान्न प¥यो भनेपछि यो कुरा आइहाल्यो नि मैले भन्नै पर्दैन । खेलले नै पुष्टि गर्छ । हामीले केही समय अघि मात्रै स्थानीय प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता हाम्रो संघले ग¥यो त्यहाँ त एकपटक हानेकोमा दुई चोटी हानेन । यहाँ त केही नभएर फ्लेक्स प्रिन्टमा हानेर गर्नुप¥यो । त्यसैमा चित्त बुझाउनु प¥यो ।
खेलाडीलाई सामग्री अभाव भएको हो ?
टार्गेट बोर्ड त हामीलाई छँदैछैन् । पुरानो बोर्डमा खेलाएको त्योबाट छिथ्र्यो । डबल राख्ने र बजारमा पाइने जुत्ताका सोलका रबर राखेरपनि खेलाइयो । अर्को कुरा टार्गेट फेसको हामीलाई एक्दमै जरुरत थियो, त्यो आएन । त्यो नम्बर थिएन । हामीसँग दुई–तीनवटा थियो,त्यसैमा खेलायौँ पछि पुरानैमा हान्यौँ । टार्गेट फेस एकदमै राम्रो आयो, खेल सकिनै लाग्दा । त्यो काम भएन् । चाहिने कुरा धेरै थियो, आएन । यहाँको नियम नै बुझ्न सक्दिन । गण्डकी प्रदेशकै कुरा गर्दा पनि खेलाडीलाई इक्युपमेन्ट थिएन । प्रदेशले रकम छुट्याइदिएकै हो । आयोजकले केही पनि गरेन, हामीलाई ।
अभावमै अभावमा पनि प्रदेशका लागि सर्वाधिक स्वर्ण ल्याउँदा चाहिँ कस्तो लाग्यो ?
निकै गौरव महसुस भयो । जीर्ण अवस्थाको इक्युपमेन्टका बाबजुत पनि गण्डकी प्रदेशले राम्रो पदक ल्याएको हो । हाम्रो टार्गेट ८ स्वर्ण थियो तर त्यो ल्याउन सफल रहेनौँ । मैले सुरुदेखि नै आठ भनेको थिएँ । अन्तिम समयमा ९–१० हान्छाँै भन्ने थियो त्यो सकेनौँ । पहिलाको भन्दा पनि बढी ल्यायाँ,ै त्यसमा अझ बढी खुसी छौँ ।
पहिला आर्चरीको स्वर्ण मान्य थिएन नि ?
अघिल्लो पटक हामी चार स्वर्ण थियौँ । तर, त्यतिबेला इभेन्ट कम थियो । पदक गणना भएको थिएन । पाँचौ र छैटौंमा हामी गनियौ । सातौं र आठौंमा प्रदेश पुगेन भनेर गणना भएन । गणना नभएपछि अहिले नवौंमा त प्रदेशपनि पुग्यो, तिनै विभागले भाग लिए, एनआरएन पनि आयो र ११ टिम भयो । पहिला टोकन मनीको रुपमा सीमित रकम दिएका थियौँ । टोकनमनिको रुपमा खेल खेलाउथ्यौँ । सबैभन्दाब ढी टिम र खेलाडी सहभागी भएको पहिलो पटक हो । खेलाडी बढेपछि इभेन्ट पनि बढ्यो र पदक संख्यापनि ।
पदकबाट सन्तुष्ट हुनुहुन्छ ?
पदकबाट हामी प्रत्येकपटक सन्तुष्ट भएका छौँ ।
पहिलो संस्करणदेखि नै नवौंमा फरक फरक भूमिकामा सहभागी हुनुभयो । अहिलेसम्मको अनुभव कस्तो रह्यो ?
पहिलो र दोस्रोमा म खेलाडीको रुपमा रहे । एकदमै भव्य थियो । भरर्खरै सुरुभएको जोश निकै थियो । त्यतिबेलाका आयोजक निकै कडा हुनुहुन्थ्यो । खेलाडीलाई बढी सेवा दिने सोच थियो । अनुशासनमा थियो । अहिले त सबै अनुसाशनहीन भएका छन् । त्यो बेला लिडर आएपछि सबै डराउँथे, अहिले त्यो स्थिति छैन् । सबैभन्दा बिग्रिएको स्थिति त्यो भन्छु, म । यो गरेन उ गरेन भन्दा पनि हामी नेपाली अनुशासित छैनौँ । गुरुसँग चेलाले टेर्दैन, लिडरलाई तलकोले टेर्दैन, हाकिमलाई सहयोगीले टेर्दैन, अहिले यस्तो जमाना आयो । आर्चरीकै कुरा गर्दा म पाँचौदेखि प्रत्येकपटक जुरी कमिटिमा बसेर प्रतियोगिता चलाएँ । अहिलेसम्म हेर्दा धरै अनुशासन नभएको देखेँ । सबै आफै ठूलो छ । खेल पूर्वाधारमा प्रगति भएको छ, खेल सामग्रीमा प्रगति भएको छ तरपनि हामीमा कमी छ । प्रथम राष्ट्रिय खेलकुददेखि अहिलेसम्म आउँदा हामीले फड्को मार्नुपर्ने हो त्यो सकेका छैनौँ । यो मात्रै होइन साफकै कुरा गरौँ न दोस्रो साफमा त्यसतो स्वर्ण ल्याउने फुटबल खेलाडी आज खोइ ? हुन त हो त्यो भन्दा अहिलेका खेलाडी राम्रा खेलेका छन् तर त्यो बेलामा खेल्ने स्तर र अहिलेको स्तरमा वृद्धि हुनुपर्ने हो त्यो हुन सकेको छैन् । म त यसमा सबैभन्दा ठूलो कुरा अनुशासन नै देख्छु । अनुशासन नभए पछि खेलकुदमा विकास हुँदैन ।
आर्चरी खेलकुदको रुपमा नेपालमा कहिले विकास भयो ?
आर्चरी धेरै पहिला दर्ता भएको खेल हो । क्रियाशील र आधिकारिक रुपमा लागेको २०६०÷०६१ सालबाट हो । त्यो बेला म कास्की जिल्ला आर्चरी संघको संस्थापक सचिव थिएँ । त्यसपछि यो खेललाई अघि बढाउँदै लग्याँै ।
ओलम्पिकमा कहिले पुग्यो ?
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यसलाई ओलम्पिकमा पदक ल्याउने दाबेदार खेल भनेर सूचीमा पनि राख्यो । तर पनि यसको भौतिक पूर्वाधार पोखरामा मात्रै छ,अन्यत्र छैन् । यो पोखरामा मात्रै खेलेर भएन । सामाग्री पनि नेपालमा पाइदैन्, बाहिरबाट ल्याउनुपर्ने । सुरुमा लगानी ठूलो छ । तर, दैनिक हेर्दा अन्य खेलभन्दा धेरै सस्तो छ । दुःख–सुख खेल्दै जाँदा ब्राजिलमा सन् २०१६ भएको रियो ओलम्पिकमा हामीले पहिलो पटक सहभागिता जनायौँ । वाइल्डकार्डमार्फत् हेटौंडाका जीत मोक्तान ओलम्पिकमा सहभागी हुनुभएको थियो । त्यसपछि २०२१ मा जापानमा भएको टोकियो ओलम्पिकमा पनि सहभागी हुने अवसर पायौँ । त्यतिबेला तिलक पुन र ज्ञानु छात्रवृत्तिमा पर्नुभयो । उहाँहरु जान तयार हुनुहुन्थ्यो तर अन्तिममा जाने क्रममा फाइनल छनोट खेल हुने राष्ट्रमा जानुभन्दा पहिला १५ दिन अन्य राष्ट्रमा बसेमात्रै जान पाउने भनेपछि हाम्रा खेलाडी जान सकेनन् । त्यसरी बसेर जान नेपालीलाई सम्भवै भएन । त्यो आफ्नै खर्चमा जानुपर्ने राज्यले दिएन । ओलम्पिकमा जाने अवसर आर्थिक अभावकै कारण हातबाट गुम्यो ।
मंहगो खेल छ भन्छन् त ?
हो नेपालीले यो खेललाई महँगो खेल भन्छन् । तर हामी ओलम्पिक टच गरेको खेल हो ।
राज्यको लगानी छैन् ?
राज्यको लगानी भन्दा हाँसो लाग्छ । नेपालले जम्मा ८ वटा खेलमा मात्रै सहभागिता जनाएको छ, ओलम्पिकमा । ७ वटाले खेलिरहेको थियो पछि आर्चरी थपिएपछि ८ भएको हो । नेपालमा दुई सयभन्दा बढी खेलसंघहरु छन् तर जम्मा ओलम्पिक खेल्ने देश ८ वटा छ । राज्यको लगानी शुन्य । ओेलम्पिकमा पुगेको खेललाई त राज्यको लगानी हुन प¥यो नि । राज्यलाई थाहा छ ,यो खेलले मेडल ल्याउन सक्छ भन्ने कुरा । यी खेललाई कति सुविधा दिने, के गर्ने पूर्वाधार बनाउने यावत कुरा सोच्नुपर्ने हो त्यो सोचेको छैन् । अर्को कुरा भनेको हाम्रा नेपालका ठूला घरानाका व्यक्तिहरुले पनि देशको इज्जत राख्ने र देशको झण्डा फहरिनुपर्छ भनेर सहयोग गर्न प¥यो यी खेलमा । जुन खेलले ओलम्पिक टच गर्छ त्यो खेलमा लगानी गर्नपर्छ भनेर हाम्रा उद्योगपति तथा व्यवसायीहरुमा पनि लगानी गर्नपर्छ भन्ने भावना जगाउन पर्छ । यो काम भनेको सरकारको र परिषद्को हो ।
नेपाली खेलकुद विश्वमा अझै जम्न सकिरहेको छैन किन ?
खेलकुदको विकासमा मैले देशविदेशको अनुभव भन्नुपर्दा विदेशीले यस्तो ग¥यो यो पदक ल्यायो हामीले सकेनौँ भन्छन् । हामी नेपालीले सक्दैनौँ भन्छन् । हामीले सक्छाँै । तर नेपालीको फिजिकल्ली सक्ने खेल कुन कुन हो भनेर खेलकुदको मुख्य संस्थाले छान्न सक्नुप¥यो । यो–यो संस्थालाई लगानी ग¥यो भने हामीले पदक ल्याउन सक्छौँ ओलम्पिकमा । यी खेलमा लगानी ग¥यो भने हाम्रो पदक शतप्रतिशत आउँछ भनेर छनोट गर्न प¥यो । त्यसपछि त्यही अनुसारको सुविधा दिनुप¥यो । अहिले ९÷१० वटा खेल छनोट गरेको छ त्यो भित्र आर्चरी पनि छ । त्यहाँ सुविधा खै ? अर्को कुरा सेवा दिने, छनोट गर्दा कस्तो खेलमा हामीले जित्ने भनेर अनुसन्धान गर्नपर्छ । विदेशमा ग्रासरुटबाट नै एकै प्रशिक्षक राखेर प्रशिक्षण गर्छ । वर्षौँको मेहनतले पदक ल्याउँछ । यहाँ त ग्रासरुटको कुरा त छाडौँ । एउटा प्रशिक्षकले सिकाएको हुन्छ । अनि खेल्न जाँदा अर्को प्रशिक्षकलाई पठाउँछ । त्यसरी जाँदा त्यो प्रशिक्षकले खेलाडीको मानसिक र फिजिकल अवस्तथा बुझेको हुँदैन अनि कहाँबाट प्रगति हुन्छ ? अब खेलकुदलाई शिक्षासँग जोड्न अत्यावश्यक छ । खेलकुदमा भविष्य छ तर लगानी गर्नु आवश्यक छ । खेलकुदमा खेल विज्ञ, खेल बुझेको व्यक्तिलाई ल्याउनपर्छ । अन्यथा यस्तै हुन्छ भन्ने मेरो बुझाइ छ ।
अन्त्यमा, नवौंलाई हेर्दै दशौं राष्ट्रिय खेलकुद कस्तो हुन्छ जस्तो लाग्छ ?
खेलकुदको टे«न नै बसिक्यो । अब पनि यसरी नै जान्छ । यसरी जाँदा खेलकुद भयो की भएन भन्दा भयो भन्ने अनि राज्यको पैसा सक्ने मात्रै काम हो । न खेलाडी उत्पादन राम्रोसँग हुन्छ न त खेलकुद नै । मेरो विचार भन्नुपर्दा कुनै प्रदेशलाई प्रतियोगिता गर्न दिने हो भने प्रदेशलाई नै जिम्मा दिनुपर्छ ।
प्रस्तुति : विजय नेपाली





