बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खेलकुदमा अनियमितता बढी भयो : गुरुङ

खेलकुदमा अनियमितता बढी भयो : गुरुङ

करोडौं होइन, हजारमा लगानी गरिदिने हो भने टेनिसबाट उपलब्धी प्राप्त हुन्छ, पर्यटन प्रवद्र्धनमा सघाउँछ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०७९, बुधबार

गण्डकी प्रदेशमा हालै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको टेनिसको पुरुषतर्फ गण्डकी प्रदेशका खेलाडी प्रदीप खड्काले कीर्तिमानी कायम गरे ।सर्वाधिक स्वर्ण जित्ने पहिलो खेलाडी बने । सो पप्रतियोगिता तथा टेनिसका विषयमा कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङसँग हामीले केही प्रश्न ग¥यौँ । प्रस्तुत छ, त्यो कुराकानीको संपादित अंश । सं.

नवौं राष्ट्रिय खेलकुदलाई कसरी ब्याख्या गर्नुहुन्छ ?

आठौं राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण हुँदा नै हामीले यहाँ भएका टेनिसका पूर्वाधारहरु मर्मत गरिदिन आग्रह गरेका थियौं । नयाँ संरचना चाहिँदैन । भएकालाई मेन्टिनेन्स गरियोस् भन्ने हाम्रो माग थियो । तर, भन्नुमात्रै भयो ।

हाम्रो आउटडोरमा कोर्ट छ हावापानीले बाधा गर्छ, इन्डोर होइन् । यसपालि त यस्तो ठूलो पानी प¥यो कि हाम्रो कोर्टहरु जीर्ण भइसकेको थियो । राष्ट्रिय खेलकुद गर्दा त विदेशबाट समेत खेलाडी आउँछन् । अलिकति आकर्षण त दिन प¥यो नि । हामीलाई बजेटको सुनिश्चतता नै भएन । कामचलाउ तरिकाले प्रतियोगिता सम्पन्न भयो । बजेट नै नआउँदा थप केही गर्न सकिएन । किनभने, हामीसँग नेट थिएन, भएको प्वाल परिसकेको थियो । खेल सुरु भएको एकदिनपछि बल्ल नेट आयो । खेलाडीको पोशाक आयो तर साइज मिल्दैन् । पोशाक लिँदा राहतको लाइन बसेजस्तै भयो । पोशाक त हरेक खेल संघमा पु¥याउनुपर्ने हो,त्यसो भएन् । प्रशिक्षण गर्ने कि लाइनमा बस्न जाने ? सोमालियामा पाउरोटी बाँड्न लागेजस्तो गरी वितरण गरियो ।

टेनिस कोर्ट खनेर पुरै मर्मतसंभार गरेका छौँ । ६ लाख रुपैयाँ खर्च लाग्यो, त्यो अहिलेसम्म पाएनौँ । कस्तो अचम्म ! हामीले बिल दिइसकेका छौँ मर्मतसंभार समिति गठन गर्न प¥यो रे । संघकै खातामा हालिदिए भइहाल्थ्यो । आखिर समितिको अध्यक्ष पनि म नै हुँ । कुरा बुझ्नै सकिएन् । झन्झटिलो किन गर्ने ? संघको खातामा हालिदिए हुन्थ्यो त । अर्को कुरा प्रदेशको बन्द प्रशिक्षणमा भत्ता भनेको जम्मा ४ सयदेखि ६ सय रुपैयाँसम्म थियो । अनि मैले प्रदेशमा भनँे (प्रदेश खेलकुद परिषद्), खेलाडीले एक छाक खाना त खान पाउनुप¥यो नि, यतिले के गर्ने हो ? केही सीप नलागेपछि आफैले क्यान्टिनमा खानाको व्यवस्था गराएँ । हाम्रा खेलाडी धनी छैनन् । एउटा ¥याकेटको तार छिन्यो भने मर्मत गर्न १५ सय रुपैयाँ लाग्छ ब । हरेक खेलको प्रकृति फरक छ । हामीले अन्तर्राष्ट्रिय स्तरको कोर्ट बनाएका छौँ । खेलाडीले खेल्दा आहा भनेर गर्व गरे पो गण्डकी प्रदेशको सान हुन्छ । कामचलाउ तरिकाले प्रतियोगिता गरेर कसरी खेलको विकास हुन्छ ?

मेडल कति आउँछ भन्ने तर्फमात्रै ध्यान दिएको भन्न खोज्नुभएको हो ?

हो । मैले सुझावमा पनि लेखेको थिएँ । एक छाक खानाको पैसा पनि नदिने अनि यत्रो अपेक्षा गर्ने भनेर । तरपनि हामी ३ स्वर्ण ल्याउँछौ भन्ने कमिटमेन्ट गरेको थिएँ, त्यो पूरा भयो । यसको पछाडी खेलाडीको मिहेनत छ । उनीहरुले त (प्रदेश खेलकुद परिषद्÷राखेप) त टाढाबाट हेर्ने जाने गरेका हुन् । खालि दिन कटाउने काममात्रै गरे ।

खेल हुनुअघि खेलाडीले नै काम गरे भन्ने कुरा सत्य हो ?

हो । हामी आफै रातदिन काम नगरेको भए सम्भवै थिएन् । विचरा खेलाडीहरुले दिनभर प्रशिक्षण पनि गर्ने कोर्ट मर्मतका लागि श्रमदान पनि गर्ने गरेका हुन् ।

प्रदेशको विश्वास नलागेर खेलाडी काठमाडौंमा पुगेर प्रशिक्षण गर्न बाध्य भए नि ?

हो । हामीसँग प्रशिक्षक अन्तर्राष्ट्रियस्तरमै सिकाउ सक्ने खुवीका छन् । खालि प्रमाणपत्र मात्रै भएर प्रशिक्षक भइँदैन, खेलाडीलाई सिकाउन सक्ने सामथ्र्यको हुनुपर्छ । तपार्इंले भनेझँै हाम्रा खेलाडी काठमाडौं गएर प्रशिक्षण गरेकै हो । प्रदीप खड्काले निकै मिहेनत गरेर आज सफलता हासिल गरेको हो । प्रदेशको कुरा गर्नुपर्दा त खेल हुनु भन्दा २०÷२५ दिन अघि प्रशिक्षण दिएर कसरी हुन्छ त्यो पनि अव्यवस्थित । हामीलाई गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङले केही सहयोग गर्नुभएकै हो । अर्को कुरा स्तरीय प्रशिक्षक ल्याउने हैसियत नै छैन, प्रदेशसँग । एउटा डाइटको ६ सय रुपैयाँ लिन त लाइन बस्नुपर्ने ठाउँमा खेलाडीको मर्म कहाँ बुझ्छन् ? काठमाडौंमा स्पेनबाट ल्याएको प्रशिक्षक छ । अब आर्मीले पनि त्यही हिसाबको प्रशिक्षक राखेका छन् । हामीसँग मनोबल उच्च थियो । उत्साह थियो । सोही उत्साहले जित दिलाएको हो ।

नवौं राष्ट्रिय खेलकुद कस्तो हुनुपर्ने, कस्तो भयो ?

पोखरामा हुन्छ भन्ने निश्चित थियो । जब गण्डकीले आठौंमा झण्डा समातेर आयो पछि पूर्वाधार त बन्न प¥यो नि । जब राति तब बुढी ताति भनेजस्तो प्रतियोगिता हुनुभन्दा एक महिनाअघि तातेर के हुन्छ ? ओपनिङ र क्लोजिङमा पटका पड्काएर राम्रो हुँदैन् । हरेक पूर्वाधार हुन प¥यो नि । टेनिसकै कुरा गर्दा ६ वटा कोर्ट छ । आफ्नै स्रोत साधनबाट बनाएका छौँ तर नवौं भएपछि त्यसको मर्मत गरिदिनुपर्ने त्यो गरिदिएनन् ।
अर्को कुरा यहाँको भुगोल यहाँकैले बुझेका छन् । सबै कुरा यहाँकैलाई थाहा हुँदाहुँदै काठमाडौंबाट किन ल्याउन परेको थियो ? प्रदेशले अपनत्व पाउनुपर्ने त्यो पाएन् । ३९ वर्षपछि भएको प्रतियोगितामा पूर्वाधार सम्पन्न हुनुपर्ने त्यो भएन । विवादरहीत हुनुपर्ने त्यो पनि भएन् । यसरी गराएको भन्दा त नगराएकै जाति हुनेथियो ।

टेनिसमा पदकबाट सन्तुष्ट हुनुहुन्छ ?

पुरुषतर्फ त हामी सन्तुष्ट नै छौँ । सबै मेडल ल्यायौँ । महिलातर्फ मिक्स डबल्समामात्रै मेडल आयो ।

सर्वाधिक स्वर्ण विजेता प्रदीपको प्रदर्शनीबारे के भन्नुहुन्छ ?

प्रदीपको खेल राम्रो छ । मोफसलमा बसेर लोकल प्रशिक्षकबाटै प्रशिक्षण लिएर राष्ट्रिय खेलाडीलाई नै जित्नु भनेको सामान्य कुरा होइन् । अर्को कुरा प्रदीपले नेपाली टेनिसको इतिहासमा कीर्तिमानी कायम गरेका छन् । टेनिसमा एकै खेलाडीले सर्वाधिक स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनेका छन् । अनि गण्डकी प्रदेशका लागि पनि सर्वाधिक स्वर्ण जित्नेमै पर्छन् ।

खेलकुदमा सफलता हासिल गर्न के गर्नुपर्ने रहेछ ?

सबैभन्दा पहिला त पूर्वाधारको विकास हुनुपर्छ । जस्तो हामी २०७२ सालमा रंगशाला छि¥यौँ । टेनिस भनेको भुँडी घटाउने खेल हो भन्ने आरोप थियो । तर, अहिले हामीले रिजल्ट दियौँ । यसलाई किन जोडेको भने हामीसँग अन्तर्राष्ट्रियस्तरको कोर्ट छ । सिकाइ नियमित छ । अर्को भनेको अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता पनि हुन आवश्यक छ । खेलकुदमा सफलता हासिल गर्ने भनेको ग्रासरुटबाटै प्रशिक्षण हुनुपर्छ । एक दुई वर्षमै सफलता मिल्छ भन्ने होइन् । यसका लागि धेरै संघर्ष गर्नुपर्छ । हामी राज्यको धेरै लगानी चाहदैनौँ तर कुनैै क्षेत्रको प्रतिनिधित्व गर्छ भने उसलाई केही सहयोग भने आवश्यक पनि गर्न पर्छ । जस्तो प्रदीप खड्कालाई पनि सफलता हात पार्न निकै समय लाग्यो । अझ ऊ त बल ब्वाइ हो । तर, सिक्दै जाँदा दशौं वर्षको मिहेनतले सफलता दिलाएको छ ।

प्रदिपले धनीले खेल्ने खेल भन्ने परिभाषालाई बदलिदिएको हो ?

बदलिदियो । पोखरा टेनिसको यस्तो क्षेत्र हो कि प्रदीपभन्दा अघि श्रीराम मगर, कुमार अधिकारी पनि यहीँको हो । उनीहरुकै बाटो पछ्याउँदै प्रदीप पनि अघि आए । महँगो खेल भयो भन्दैमा अरुले खेल्नै नसक्ने त होइन नि । कोशिस गरे भविष्य छ, यसमा ।

टेनिसको यहाँ ठूला प्रतियोगिता भएपनि चर्चामा आउँदैन नि !

टेनिस त्यति लोकप्रिय छैन् । यो अलि हेर्दा कठीन पनि छ । सहजै बुझ्न नसक्ने भएकाले पनि हो । अब विस्तारै लोकप्रिय हुँदैछ । अहिले यसले पनि चर्चा पाउन थालेको छ । बिस्तारै हुँदै जान्छ । हामीले टेनिस प्रति लगाव बढाउनका लागि विद्यालयबाटै प्रशिक्षण सुरु गराउन थालेका छौँ । वर्षेनी पोखरामा ठूलो प्रतियोगिता गर्छौँ जहाँ १० देखि २० राष्ट्रका खेलाडीको सहभागिता रहन्छ । त्यो राज्यले देखेकै छैन् । विदेशी खेलाडी आउँछन्, आफ्नै खर्चमा बस्छन् खेल्छन अनि जान्छन् । त्यो पनि हेर्न पर्ने हो । उचित व्यवस्थापन गर्नसकेमा यो खेलले पनि चर्चा पाउँछ ।

खेल पर्यटनसँग जोडिएको भएपनि प्रदेशले हेर्न सकेको छैन नि ?

नेपाल पर्यटन बोर्डमा पनि हामीले पत्राचार गरेकै हौँ । उहाँहरुले करोडौं रुपैयाँ लगानी गरेर विदेशमा गएर नेपाल आऊ भन्छन् तर टेनिसले त्यो काम रंगशालामै बसेर गरिदिन्छ । हामीले हरेक वर्ष हजारौँ विदेशी खेलाडी ल्याएका छौँ । त्यो कुरामा उहाँहरुले त्यति ध्यान दिनुभएन् । हामीले केही सहयोग गर्नुस् भन्दा उहाँहरुले बजेट छैन भन्नुभयो । करोडौं होइन, हजारमा लगानी गरिदिने हो भने बढी प्रभावकारी हुन्छ । हामीले गर्ने प्रतियोगितामा युरोप, अमेरिका, अफ्रिका जताततैबाट खेलाडी आउँछन् । उनको साथमा अभिभावक पनि आउँछन् यसरी हेर्दा पर्यटकले राम्रो खर्च गरेका हुन्छन् । यहाँ प्रदेश छ स्थानीय निकाय छ तरपनि यसतर्फ ध्यान दिन सकिरहेका छैनन् । खेलकुदमा लगानी गर्नु भनेको देशको अर्थतन्त्रमा सुधार गर्नु हो विकास गर्नु हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->