पोखरा/ ३ वर्षअघि कास्कीको माछापुच्छे्र गाउँपालिकामा फिफा ‘ड्रिम प्रोजेक्ट’ संचालन गर्ने गरी योजना अघि बढ्यो ।
विश्व फुटबल महासंघ (फिफा) को ड्रिम प्राजेक्ट कास्कीमा ल्याउन निकै मुस्किल भयो । विभिन्न समस्याका बावजुत पनि उक्त प्रोजेक्ट कास्कीको माछापुच्छे्र गाउँपालिका आउने तयारी भयो । त्यतिबेला अखिल नेपाल फुटबल संघका अध्यक्ष थिए– कर्माछिरिङ शेर्पा र कास्की जिल्ला फुटबल संघका अध्यक्ष थिए– मिलन गुरुङ ।
पूर्वकार्यसमिति भएकै समयमा प्रोजेक्टका लागि टेन्डर आह्वानसमेत भएको थियो । उक्त प्रोजेक्टको विरोध तत्कालीन एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ पक्षले खुलेरै विरोध गरे । त्यो पनि लिखित रुपमै ।
अहिले एन्फाको नेतृत्व तिनै पंकजले गरेका छन् । उनी नेतृत्वमा आएसँगै फिफा ड्रिम प्रोजेक्ट छायाँमा परेको छ । कास्की जिल्ला फुटबल संघमा पनि उनकै पक्षका उज्वल रन्जित नेतृत्वको नयाँ टिम आएको छ । तर, उज्वल नेतृत्वलेसमेत उक्त प्रोजेक्टका बारेमा चासो नदेखाएपछि गाउँपालिकाले चासो देखाएको छ । गाउँपालिकाले कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवललाई उक्त ड्रिम प्रोजेक्टको बारेमा के कति प्रगति भयो भन्दै प्रगति विवरणको कागजात नै माग गरेको छ ।
माछापुच्छे्र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर रहेको पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०७९/०७ ।०३ को गाउँपालिकाको निर्णय बमोजिम तपार्इं श्री उज्वल रन्जित अध्यक्ष रहेको कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) ले विगत ३ वर्ष अगाडी बाट यस माछापुच्छे्र गाउँपालिकाको भेडाबारीमा एन्फा टेक्निकल सेन्टर बनाउन प्रस्ताव भई अगाडी बढेको एन्फा टेक्निकल सेन्टरको हालसम्मको कार्यप्रगति के कति भएको छ सोबारे जानकारी गराउने प्रमाणीत कागजातको प्रतिलिपी सहित २०७९।०७। १४ गतेका दिन यस माछापुच्छे्र गाउँपालिकाको कार्यालयमा उपस्थितिका लागि अनुरोध गरिन्छ ।’ गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले पत्रचार गरेपछि कुरा भएको र पालिकामा प्रोजेक्ट बन्ने प्रतिबद्धता व्यक्त भएको सुनाए । ‘एन्फा केन्द्रीय उपाध्यक्ष दावा लामा, कास्की जिल्ला फुटबलसंघका वर्तमान अध्यक्ष र पूर्वअध्यक्ष लगायत सबैसँग भेट भयो । हामीले झकझक्याउने काम गरिरहेका छौँ’, उनले भने,‘यो व्यक्ति वा पालिकाको लागि मात्रै फाइदाको विषय होइन् । समग्र देशकै गौरवको विषय हो ।’ उनले विकासको काममा कसैले पनि राजनीतिकरण गर्न नहुने बताउँछन् ।
कास्की जिल्ला फुटबल संघका निवर्तमान सचिव तथा नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश (नेकोस) अध्यक्ष रमेश कार्कीले प्रोजेक्ट टेन्डर प्रक्रियामा गइसक्दा समेत कार्यान्वयन नगर्नु संकाको विषय रहेको बताए । उनले उक्त प्रोजेक्ट कुनै व्यक्तिवादी नभइ समग्र प्रदेश र राष्ट्रकै योजना रहेकाले यसमा दुई मत कसैले गर्न नहुने बताए । उनका अनुसार उक्त परियोजनाका लागि फिफाबाटै दुई पटकसम्म प्रतिनिधि आएर स्वीकृत गरेर गइसकेका छन् । यतिमात्र होइन, परियोजनाका बारेमा केही विवाद आएपछि भारतबाट इन्जिनियर ल्याएर त्यहाँको भुगोल तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी फिफालाई बुझाएको थियो ।
नयाँ अध्यक्षले चासो देखाएनन्
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले कास्की जिल्ला फुटबल संघका अध्यक्षले चासो नदेखाएका बताउँदै आफूरुले ध्यानाकर्षण गराएको जानकारी दिए । उनले यसअघिको नेतृत्वले जिम्मेवारी हस्तान्तरण नगरेको कारण समस्या आएको बताएको उनको भनाइ छ ।
‘हामीले पत्राचार गरेपछि १४ गते उहाँहरु आउनुभयो । ३३४ रोपन जग्गाको कुरा रहेछ । अन्य कोर एरियाभित्रको ७ रोपनी जग्गा व्यक्तिको नाममा रहेको पाइयो तर उहाँहरु पनि दिन तयार देखिए । उनीहरुलाई आधिकारीक रुपमा पत्राचार भएमा निःशुल्क रुपमै जग्गा दिन तयार छन् । जग्गाको समस्या छ भनेपछि हामीले त्यो समाधान गर्ने बतायौँ’, उनले भने,‘जग्गा कसैको छ या छैन् भनि दावि विरोधको समेत सार्वजानिक सूचना निकालेको रहेछ । कसैको विरोध छैन् । पालिकामा समस्या छैन् समस्या उतै रहेछ । ’ एन्फा पदाधिकारीहरुसँग प्रोजेक्ट बन्ने मौखिक सहमति भएपनि लिखितम रुपमा भने नभएको सुनाए । ‘नयाँ अध्यक्षले जिम्मेवारी पाएको छैन भन्नुभयो त्यो जिम्मेवारी हस्तान्तरण नभएपछि चासो नदिएको रहेछ’, उनले भने ।
३ वर्षदेखि अन्योलमा
२०७६ सालमा कास्कीको माछापुच्छे्र गाउँपालिका भेडाबारीमा जग्गा देखाएपछि उक्त परियोजना कास्कीले पाएको थियो । जसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइ काम अघि बढेको थियो । उक्त स्थानमा टेक्निकल सेन्टर बनाउनका लागि स्थानीय जनसमुदाय, स्थानीय तह र प्रदेश सरकारले समेत आर्थिक, भौतिक सहयोग छ ।
२०७६ सालमा नेपालले प्रोजेक्ट पाएसँगै कास्कीमा बनाउने योजना अघि बढेको थियो । २०७७ सालमा उक्त प्रोजेक्टको शिलान्यास गरिने बताए पनि कोरोना महामारीका कारण योजना अघि बढ्न सकेन् । योजनाको चौथो वर्ष अर्थात् २०७९ सालमा आएर बल्ल बोलपत्र आह्वान भएको छ ।
फुटबलको मात्र नभइ स्थानीयस्तरमै विकासका गर्ने अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिने उक्त प्रोजेक्टको सपना देखेका स्थानीय पनि कहिले बन्छ भन्ने आशामा बसिरहेका छन् । फिफाको आर्थिक सहयोगमा बन्ने परियोजनाको लागत निकै ठूलोे छ । पहिलो चरणमा १७ करोड ५५ लाख रुपैयाँ छुट्टिएको छ । एन्फाले ४ चरणमा काम सक्नेछ । ३५२ रोपनी जग्गामा बन्ने परियोजनाको पहिलो चरणअन्तर्गत अभ्यास मैदान, छात्रवास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ । टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, दुई कृतिम मैदान, दुई बालुवा मैदान, स्विमिङपुल, रेष्टुरेण्ट,पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा रहेको छ । पाँच सय रोपनी जग्गा २० वर्षका लागि भोगचलन लिएको उक्त योजना पूरा गर्न ८० देखि ९० करोडसम्म लाग्ने अनुमान छ ।
प्रोजेक्टको शिलान्यास नभएता पनि माछापुच्छे« गाउँपालिकाले भने खोलाले कटान हुन सक्ने क्षेत्रमा २ सय मिटरसम्म बाँध लगाइदिएको छ भने, प्रदेश सरकारले पनि उक्त परियोजनाका लागि आवश्यक बजेटको विनियोजन गरेको छ ।





