बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जलवायु परिवर्तन महामारी भन्ने बुझेनौंँ : गुरुङ

जलवायु परिवर्तन महामारी भन्ने बुझेनौंँ : गुरुङ


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७९, बुधबार

आगामी डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइदै छ । विश्वकै ठूलो पर्वतीय संग्रहालय अन्तर्राष्ट्रिय संग्रहालयमा पर्वतीय महोत्वस पनि मनाइदै छ । अहिले जलवायु परिवर्तले प्रभाव पारी रहँदा हिमाली भेगमा ठूलो असर गरिरहेको छ । जलवायु परिवर्तनको प्रभाव, पर्यटन आकर्षण तथा संग्रहालयको बारेमा संग्रहालयका परिकल्पनाकार मध्येका एक तथा नेपाल पर्वतारोह संघका केन्द्रिय सल्लाहकार डा. गणेश गुरुङसँग गरिएको छोटो कुराकानी :

अन्तराष्ट्रि पर्वतारोहण संग्रहालय संचालनमा आएको दुई दशक पुग्नै आट्यो यस्को परिकल्पना कसरी आयो ?

हाम्रो नेपाल पहाडको देश हो । पहाडमा बस्ने मानिसहरुको बारेमा विशेषगरी हाम्रो विद्यार्थीहरु र विश्वलाई हिमाल चिनाउन जरुरी छ जसका लागि संग्रहालय बनाउँदा उचित हुन्छ भनेर नै सोँच्यौ । त्यतिबेला नेपालमा खासै संग्रहालय थिएनन् । त्यसकारण हामीले विद्यार्थी लक्षित गर्दै अन्तराष्ट्रिय माउन्टेन संग्रहालय निमार्ण गरेका हौँ । यो माउन्टेन म्युजियम हो । विश्वमा माउन्टेन म्युजियमको पनि संगठन छ त्यसको पनि सदस्य छौं । हामीले बनाउदा नसोचेको अहिले भइदियो । यो विश्वकै ठूलो माउन्टेन म्युजियम हो संरचनाको हिसाबले गुणात्मक हिसाबले होइन् । हाम्रो झण्डै एक सय ४÷५ रोपनी जग्गा छ र भवनमात्रै साढे ६ रोपनी छ त्यसैले यो विश्वकै सबैभन्दा ठूलो म्युजियम हो । हाम्रो परिकल्पना अनुसार नै आज पोखरा घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पोखरालाई प्रकृतिले धेरै कुरा दिएको छ । त्यो बाहेक मानव निर्मित आकर्षक संरचना पनि हुनुपर्छ भन्ने हाम्रो सोँच थियो त्यो पुरा भएको छ ।

यो कतिसालमा बनाउने योजना बनेको हो ?

यो सन् १९९५ मा भएको हो । मैले सुरुमै भने हामीले माउन्टेनमा बस्ने र चढ्नेको बारेमा जिवन झल्काउने संग्रहालयको आवश्यकता छ भन्ने सोचेर नै अघि बढेका हौँ । यो संचालनमा आएको २०६० साल माघबाट हो । यो निमार्ण हुन धेरै समय लाग्यो । निमार्णको क्रममा संग्रहालयसँग यतिका पैसा थिएन विस्तारै बन्दै गएको हो । ठूलो संरचना छ अहिलेपनि बनाउन धेरै छ ।

तपाईहरुको परिकल्पना अनुसार संरचना बनेको छ ?

हामीहरुले सोचेको परिकल्पना अनुसार केहि हदसम्म सम्पन्न भएको जस्तो लाग्छ । तर केहि हदसम्म परिकल्पना गरेजस्तो पनि भएको छैन । हामीले चाहेको आर्टिफ्याक्चर हो । हामीले हिमाल चढेको औजारहरु, पोशाकहरु, खिचिएका तस्विर तथा फिल्महरु, हिमाल चढ्दा प्रयोग गरेका सामग्रीहरु संकलन गर्नुपनि थियो । त्यो चाँहि प्राप्त नभएको अवस्था हो । व्यक्ति व्यक्तिले ति सामान दिन मानेनन् । आफै राख्न खोजेको कारण त्यो समस्या आएको छ । हामीसँग फोटोहरु मात्रै छ जुन बस्तु जति हुनुपर्ने हो त्यो पुरा भएको छैन् । अझ हामीले हिमाल चढ्दा चर्चामा आएका व्यक्तिहरुको सामान राखेका छौँ । जस्तो कि टोनी हेगनले प्रयोग गरेका सामानहरु त्यहाँ छ । अर्को कुरा यहाँ आफ्ना मान्छेहरुको पनि राखिदेउ भन्दै विवाद गर्न आउछन् त्यसको पनि सामना हामीले गर्नुपरिरहेको अवस्था छ ।

यो संग्रहालय विशेषगरी हिमाली जिवनसँग जोडिएको हो ?

हो । रमाइलो कुरा के छ भने नेपालको हिमाल चढ्ने प्रथाको पहिलो विकास भएकै पोखरा क्षेत्र हो । अन्नपूर्णमा पहिलो पटक फ्रान्सका मौरिस हर्जोक चढेका हुन् । सन् १९५० मा । सगरमाथा त त्यसपछि मात्रै चढेको हो । यहाँ म्युजियममा पर्वत चढ्ने र पर्वतका मानिसहरुको जिविकोपार्जन देखाउने उदेश्य हाम्रो हो । नेपालको लागि नौलो प्रस्तुति हो जसले थुप्रै विदेशी पर्यटकलाई समेत पोखरा ल्याएको छ । पर्वत भन्नाले यहाँ जिल्ला होइन समग्र टापुहरु हो ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसकोको अवसरमा पर्वतीय महोत्सव पनि हुँदैछ र महिला विशेष नारा छ नी ?

यस वर्षको थिम ‘वुमेन मुभ माउन्टेन भन्ने छ’ यो संयुक्त राष्ट्र संघले राखेको थिम हो । किनभने कोभिडको समयमा महिलाहरुले नै माउन्टेन धान्न परेको भन्ने जनाउछ सायद त्यहि कारणले यो थिम राखेको हुन सक्छ । घर धान्ने काम महिलाले नै गरेको हुन्छ । सबै महिलाले नै सम्हालेको हुन्छ महिलाको योगदानको मुल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघले यो अवधारणा ल्याएको हो ।

जलवायु परिवर्तनको प्रभाव मुख्यगरी हिमालमा परेको देखिन्छ यसलाई कसरी हेर्नुहुन्छ ?

जलवायु परिवर्तन विश्वव्यापी रोगको रुपमा महामारीको रुपमा आइराखेको छ । हामीले कोभिड, डेंगु सह्यौ तर हामीले जलवायु परिवर्तन पनि महामारी हो भन्ने बुझेका छैनौ । अब हरेक मानिसले जिवनयापनका तौरतरिका परिवर्तन गर्न जरुरी छ । यो विश्वभरी महामारीको रुपमा आएको छ । हिजोमात्रै इटालिमा भिषण वर्षा भयो । यो समयमा वर्षा नहुन पर्ने हो । त्योपछि ठूलो बाढी आयो । हामीले देखेकै हौँ बाढी पहिरो आएको कुरापनि । अहिले असार साउनमा झरी वर्षा हुँदैन भदौ असोजमा ठूलो वर्षा हुन्छ । हामीले के पनि बुझ्न जरुरी छ भने नेपालले जलवायु परिवर्तनमा ज्यादै कम भूमिका खेलेको छ । यो महामारी हामीले नखाएको विख लागेको हो । यो युरोप र अमेरिकी राष्ट्रहरुले आणविक हतियार बनाएर राख्ने भट्टिको कारण भएको हो । नेपालमा बढी प्रभाव किन देखियो भने यहाँ अग्ला हिमाल छन् । हिमालै हिमालको देश । सबैभन्दा बढी घाम त्यहि लाग्ने रहेछ अग्लो भएको हिसाबले । त्यो कारण अहिले हिउँ पग्लिन थालेको छ र तालहरु निमार्ण भएका छन् । ति तालहरु फुट्यो भने पहिरो जानेनै भयो । पश्चिमा देशको क्रियाकलापले गर्दा समस्या निम्तिएको हो ।

अहिले पदमार्ग मासिदा पर्यटकको बसाइ खुम्चिनुलाई के भन्नुहुन्छ ?

पहिला यहाँ यातायातको व्यवस्था थिएन त्यतिबेला धेरै पैदमार्ग थिए । तपाईले भनेझै त्यतिबेला धेरै दिन लाग्थ्यो । अब विकासको क्रममालाई हामी रोक्न सक्दैनौँ । किनभने त्यो सबैको नैसर्गिक अधिकार हो । बाटो जान दिनुपर्छ तर बाटोसँगसँगै मासिँदै गएको पदमार्गको रुपमा नयाँ पदमार्ग पनि खोज्नु जरुरी छ । मोटरमा जानेलाई मोटरमा जान दिनुप¥यो हिडेर जानेलाई हिडेरै । यो भनिरहँदा अहिलेको डोजरे बाटोबाट हिडेर छ भएन नी त्यसका लागि आकर्षक गन्तव्य पनि हुन प¥यो । जहाँ पर्यटक सडक होइन पदमार्ग रोजोस त्यो अवस्था चाँहि सिर्जन गर्न आवश्यक छ ।

हिमालबाट दक्षिणतर्फ झर्ने क्रमको वृद्धि भएको भन्ने सत्य हो ?

हो अहिले हिमाली जिल्लाबाट मानिसहरु तल झर्ने क्रम बढी रहेको छ । जनसंख्याको हिसाबले निकै कम भयो । संख्या निकै कम भइसक्यो अब त मनाङलाई लम्जुङमा, मुस्ताङलाई म्याग्दीमा र डोल्पालाई अरु कुनै जिल्लामा गाभ्नुपर्ने जस्तो स्थिति भइसक्यो । हुम्लालाई मुगुमा राख्न पर्लाजस्तो भइसक्यो । त्यहाँ अहिले जिविकोपार्जनका बाटोहरु भएनन् । अहिले माउन्टेन फेस्टिबलको उदेश्य पनि के हो भने त्यस्ता ठाउँहरुलाई वैकल्पिक विकासको बाटो देखाउने हो । हिमाली जिल्लाबाट बसाइ सर्ने क्रमलाई रोक्न बाह्य पर्यटकको आगमनसँगै आन्तरिक पर्यटकको पनि घुइचोँ लाग्ने किसिमको योजनाहरु ल्याउनुपर्ने देखिन्छ ।
जस्तै ढोरपाटनकै कुरा गरौँ न त्यहाँको विशेषता के छ? हामीले निकाल्न प¥यो । त्यहाको विशेषता भनेको सिकार हो । त्यहाँ सिकार गर्न विदेशी मुलुकका धनी मानिसहरु प्लेन चार्टर गरेर आउछन र सिकार खेल्न जान्छन् । सिकार खेलेर मारेको मासु उनीहरुले लैजादैनन् फोटो खिच्न मात्रै हो । त्यहाँ थोरै मात्रै सिकारका लागि खुलाउने गरिन्छ तर त्यहाँ मारिने जनावरको प्रजनन खेति गरेर संख्या वृद्धि गराउ न । त्यो त सम्भव छ नी । सय जनालाई सिकारको लाइसेन्स दिने गरेको छ भने प्रजनन् बढाएर संख्या बढाउँदा हजार जनालाई लाइसेन्स दिन सकिन्छ । अहिले प्राकृतिक रुपमा जति छ त्यतिमात्रै हो । केहि समय पालेर नाउरलाई जंगलमा छाडिदिन सक्छौँ । अर्को भनेको हामीले कस्तुरिको विनाको खेति पनि गर्न सक्छौ । कस्तुरिको विना पेटमा चिरेर निकालेपछि पुनः सिलाइदिए अर्को वर्ष फेरी निकाल्न सक्छौँ । नेपाल सरकारले कस्तुरिको विनाको खेति गर्ने प्रणालीको विकास गर्न दिएन । गएको वर्ष हामीले गण्डकी प्रदेशमा प्रयास गरेका हौँ स्वीकृति नै दिएन । जबकी त्यो विना सुन भन्दा पाँच गुणा बढी मुल्यमा विक्रि हुन्छ । त्यो क्यान्सरको औषधि बनाउन प्रयोग हुन्छ । हामीलाई सुनको खानी किन चाहियो त्यो भन्दा बढी आम्दानी हुन्छ भने । हाम्रो देशमा यो सम्भावना निकै छ तर ध्यान दिदैनन् । त्यसो हुनाले हिमाली क्षेत्रकाले आम्दानी गर्ने वातावरण नपाउँदा छाडेका हुन् । हामीले सोच्ने तौर तरिका बदल्नु पर्छ । हामीले हामीसँग जे कुरा छ त्यसैमा विकास गर्नुप¥यो ।

यस्ता विषयहरुमा पोखरामा बैचारिक वहस हुन्छन तर बौद्धिक वर्गको सहभागिता रहँदैन नी ?

पोखरामा किन होला कुन्नि एकदम चिसो छ । हामीले समय समयमा बौद्धिक बहस, गोष्ठी राख्ने गर्छौ तर सहभागिता नै रहँदैन् । पहिलो कुरा त बोलाएका पनि ढिला आउँछन र सहभागिता निकै न्युन रहन्छ । अर्को कुरा त्यस्ता बहस निकै कम हुन्छन् । काठमाडौंमा त्यो बहस हुन्छ धेरै स्थानमा । पोखरामा त्यस्ता वर्ग नभएका होइनन् छन् । तर रेस्पोन्स ज्यादै न्युन छ ।

हिमालको वातावरण पहिला र अहिलेमा के फरक पाउनुहुन्छ ?

भयङकर फरक छ । जलवायु परिवर्तनकै कारण धेरै फरक आएको छ । हिउँपर्न कम भएको छ । हिमालमा पानी पर्न थालेको छ । हिमाल नखुल्ने खुलेको हिमाल कालो देखिने थालेको छ । अब त हाम्रो क्यालेन्डर नै परिवर्तन गर्नपर्ने जस्तो देखियो । यहाँ हिमालमा मात्रै होइन पुरै पृथ्वीमा समस्या छ । किसानले असारमा धान रोप्छु भन्नेले अब भदौ असोजमा सार्न पर्लाजस्तो भइसक्यो ।

अन्त्यमा महोत्वस हुँदै छ यसका लागि दर्शकका लागि के सन्देश दिन चाहानुहुन्छ ?

हामीले नेपाल हेर्न लायक छ पोखरा, काठमाडौं, चितवन, लम्बिनीमात्रै घुम्ने ठाउँ होइन अन्य ठाउँहरुपनि छन् । पर्वतारोहण पर्यटनलाई जोड दिने उदेश्यले यो महोत्वसको आयोजना गर्न लागेका छौँ त्यसैले सम्पूर्णमा हिमाली जिवनको बारेमा जानकारी लिने सुगम थलो भएकाले आएर अवलोकन गरिदिनुहुन अनुरोध गर्दछु धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->