बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘विकासमा पछि प-यौँ, मुख्यमन्त्रीमा दाबी गर्छौं’

‘विकासमा पछि प-यौँ, मुख्यमन्त्रीमा दाबी गर्छौं’


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७९, बिहिबार

‘मितले हलो त्यसै दिया, दुई पाथी धान मैले त्यसै दियाँ’ भन्दाजस्तो यताबाट हामीले गाडीमा हालेर केही गाउँ पु¥याउँदा उताबाट खाली गाडी नफर्केने बनाउँदा बल्ल जनताले चाहेको जस्तो विकास हुन्छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक प्रणाली दुवैको नतिजा आइसकेको छ । नयाँ सांसद चयन भएसँगै संघ तथा प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । संघ तथा प्रदेशमा स्पष्ट बहुमत कुनैपनि दलको नआएकाले गठबन्धनबिना सरकार बन्ने सम्भावना कम छ । पाँच वर्षका लागि जनप्रतिनिधि छनोट गरेका जनतामा निर्वाचित जनप्रतिनिधिप्रति धेरै आशा र विश्वास छन् । बिद्यायकको रुपमा चयन भएका सांसदबाट सर्वसाधारणले चौतर्फी विकासको आशा राखेका छन् । बागलुङबाट यस पटक प्रदेश सभामा ११ जना सांसद निर्वाचित भए । ४ जना प्रत्यक्ष र बाँकी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् । निर्वाचित सबै सांसदप्रति जनताका उत्तिकै आशा र भरोसा छन् । अबको पाँच बर्षमा प्रदेश सरकारमार्फत बागलुङ निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ‘क’मा के कस्ता काम गर्न सकिन्छ ? पाँच बर्षपछिको यो क्षेत्र कस्तो होला ? जनताको आवाज बोकेर प्रदेशसभामा पुग्ने संसदले जनताका लागि गर्ने पहिलो काम के होला ? यी र यस्तै बिबिध बिषयमा बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘क’मा निर्वाचित सांसद दिपेन्द्र बहादुर थापासँग ढोरपाटन सहकर्मी तारानाथ आचार्यले गरेको कुराकानीको सम्पादित अंश । (सं.)

चुनाव जीतेपछि व्यस्तता घट्यो कि उस्तै छ ?

–चुनाव जीतेपछि व्यस्तता घट्ने त कुरै भएन झन् थपिएको होला नि ! जिम्मेवारीले व्यस्तता बढाउँछ । म व्यस्त नै छु । म यो ढोरपाटन दैनिकमार्फत मतदातालाई धन्यवाद दिन्छु । उहाँहरुले न्याय गर्नुभएको छ । जनताको घर घरमा पुग्नुपर्ने थियो । तर सबैका घरमा नपुग्दा, मत नमाग्दा पनि मलाई जिताउनुभो । उहाँहरु बधाईको पात्र हुनुहुन्छ । म जनताका दुःख सुखमा भलाकुसारी सधैं गर्नेछु । व्यस्त रहने छु ।

हजुरसँग हारजीत दुवै अनुभव छ, कस्तो हुँदोरहेछ जीतको अनुभव ?

–२०४८ सालमा म रायडाँडा गाविसको अध्यक्षमा निर्वाचित भएँ । २०५४ मा मलाई पुनः पार्टीले टिकट दियो त्यतीबेला जनताको मायाले म सर्वसम्मत अध्यक्ष भएँ । त्यो कार्यकाल पनि पूरा गरेँ । २०७४ मा पार्टीले फेरि मलाई प्रदेशसभाको उमेद्वार बनायो । त्यतिबेला म पराजित भएँ । तर मेरो गुनासो रहेन् । किनभने जनताले मेरा एजेण्डा चिन्नुभएन्, हाम्रो पार्टीलाई चिन्नुभएन् भनेर चित्त बुझाएँ । जनताको भन्दापनि त्यतिबेला बुझाउन नसक्ने हाम्रो कमजोरी पनि थियो होला । अहिले जित्दा पनि अनुभव उस्तै छ । जनताले अनुमोदन गर्नुभएको छ, मैले सधैं भन्ने गरेको छु ‘फलेको हाँगो नुघ्नु पर्छ’ हाँगा नुघेन भने त्यसमा फल हुँदैन् । जनताको अभिमत बोकेर हिँड्दा कहाँ बिसाउने ? जनताको भावना बोकेर हिँड्नुपर्ने हुन्छ जितेको बेला । हार हुँदा जिम्मेवारी माग्दा नपाए जस्तो हुने भएकाले हार्दाभन्दा जित्दा धेरै जिम्मेबार बन्नुपर्ने, जनभावनाको कदर गर्नुपर्ने हुन्छ । जनताका खानेपानी, बाटाघाटा, शिक्षा, रोजगारी सबै देखिएको छ । ती चाहना र भावना कसरी पूरा गर्ने भन्ने जिम्मेवारी थपिएको छ । हामीले धेरै त जनताका बिचमा बोलेका छैनौं तैपनि हामीले जनताका स–साना चाहना त पूरा गर्नैपर्ने छ ।

जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने यहाँको भावना सांसद भएपछि दबिएला कि पाँच वर्षसम्म सेवाभाव नै रहला ?

–म वास्तवमा केही लिन राजनीतिमा आएकै होइन । २०४३ सालमा जागिर छोडेर म राजनीतिमा लागेको यो राष्ट्र र यहाँका जनताको लागि जीवन दिन आएको हुँ । मेरो ठूलो इच्छा छैन् । मेरो असन्तोष त्यतिबेला हुन्छ जनताको भावना र चाहना पूरा गर्न सकिँदैन्, त्यतिबेला असन्तोष हुन्छ । जनचाहना पूरा गर्ने मेरो पहिलो प्राथमिकता रहने छ । जनताले मलाई माननीय बनाएका छन् । अब मैले उनीहरुको चाहना पूरा गर्नुछ ।

चुनाव जितेर जानेहरु फर्किन्छन् कि फर्किँदैनन् भन्ने संशय जनतामा छ नि ?

अब जनताले यस्तो प्रश्न गर्ने नै होइन । जनताले गर्ने प्रश्न मैले बोकेर हिँडिसकेँ । किनभने निर्वाचनको समयमा हरेक मानिसहरु भोट माग्न आउँछन् तर जितेपछि फर्किँदैनन् भन्ने आवाज मेरो नै हो । भालुलाई बन्दुक पड्काएजस्तो गरेर एक पटक भोट माग्न आउने अनि नफर्कने गरेको मैले नै व्यहोरेको समस्या हो । जनताको समस्या होइन । अब म बोल्छु, म जनताका लागि पूरा गर्नुपर्ने दायित्व मैले भुल्दिन । जनताले त एक दिन मलाई भोट हाले काम सकियो, बाँकी पाँच वर्ष जनताप्रति उत्तरदायी बनेर काम गर्नुपर्ने छ नि । भूगोल र आवश्यकता हेरेर काम गर्दा जनताको मुहारमा हाँसो आउँछ, उसैगरी म लाग्छु ।

प्रदेशसभामा प्रवेशपछि यहाँको पहिलो काम, जनताको आवाज कसरी प्रस्तुत गर्नुहुन्छ ?

–मैले जे निर्वाचनको समयमा आफ्नो क्षेत्रमा जहाँ–जहाँ जे–जे समस्या देखेँ तीनै समस्याहरु पहिलो प्राथमिकतामा राखेर काम थाल्छु । विधायक पनि भएकाले नभएका नियम कानुन बनाउनु पनि मेरो दायित्व हो । विकास निर्माणभन्दा पनि प्रदेशमा आवश्यक पर्ने नियम कानून बनाउने हाम्रो काम हो । जनताको भावना अनुसारको कानून बनाउने दायित्व हो । अर्को कुरा विकास निर्माणको ठेकेदार पनि विधायक हो भन्ने छ । त्यो पनि नगर्ने भन्ने होइन । हामीले विकासका काममा पनि भूमिका खेल्छौं ।

जनताको मझेरीमा खड्केको समस्या के हो त ?

–जनताले वास्तवमा विकासको मेरुदण्ड सडक मानेका छन् । राम्रो सडक भैदिए हुँदो हो भन्ने जनताको चाहना छ । मेरो मान्यता के हो भने सडक बनाउनु त छँदैछ । त्यो बाटोमा गुड्ने गाडी खाली नफर्कने बनाउनु छ । ‘मितले हलो त्यसै दिया, दुई पाथी धान मैले त्यसै दियाँ’ भन्दा जस्तो यताबाट हामीले गाडीमा हालेर केही गाउँ पु¥याउँदा उताबाट खाली गाडी नफर्केने बनाउँदा बल्ल जनताले चाहेको जस्तो विकास हुन्छ । बाटो बनाउनु त छँदैछ । जनतालाई उत्पादनसँग जोड्नुपर्ने समस्या जनताको मझेरीमा छ । मैले त सोचेको छु । गाउँठाउँ वनमाराले ढाक्यो । गाउँ खाली छन् । उहीं ‘उपियाँ जती फड्केर गए जुम्राका घान’ भनेजस्तै जो टाँठाबाँठा छन्, जो बिद्वान छन्, जो धनी छन् उनीहरु हिँडे, जो कमजोर आर्थिक अवस्थाका छन् उनीहरुको विकासका लागि ठाउँ अनुसारको उत्पादनमा प्रोत्साहन गरेर गाउँमा फर्किने वातावरण बनाउनु छ । गाउँठाउँ उजाड हुँदै जाने, बस्ती लथालिङ्ग हुने विकास गर्छौं भन्ने गरेर मात्रै केही हुँदैन ।

पाँच वर्षपछि तपाईँको निर्वाचन क्षेत्रमा के–के प्रगति हुन्छ होला ?

–पहिलो कुरा त अहिले जुन कच्चि बाटोहरु खनिएको छ मेरो कार्यकालमा वडा कार्यालयसम्म पक्कि बाटो बनाउँदा काम भएको देखिन्छ । हाम्रो क्षेत्रमा रिङरोड छ । यो रिङरोड ग्राभेल नाली सहितको बनाउँदा डाँडाहरुमा पर्यटकीय क्षेत्र विकास गर्न सकिन्छ भन्ने लागेको छ । हाम्रो क्षेत्रको आयआर्जन बढेको हुनेछ । फलफुल, दूध र मासुमा आत्मानिर्भर बनाउने की भन्नेमा हामी गम्भिर भएर लाग्छौं ।

विद्यालयक मात्रै भएर त जनताका सबै माग सम्बोधन हुँदैनन् होला ? सरकारको मन्त्री हुने सम्भावना के हुन्छ होला ?

–हाम्रो धारणा के छ भने, जहाँ शक्ति गयो त्यहाँ विकास हुने । बिधिभन्दा पनि विकास शक्तिकै आधारमा पुग्ने परम्परा छ । हाम्रो धौलागिरी क्षेत्र लामो समयदेखि यस्तै समस्याको चपेटामा छ । शक्ति नै पु¥याएर मात्रै विकास हुने हो भने हामीले अहिले सरकारको प्रमुख सिटमा नै दाबा गर्नुपर्छ र त्यो गर्छौं । हामी साविक धौलागिरी एक हुनुपर्ने बेला आएको छ । हिजो गण्डकीले मुख्यमन्त्री पाएकाले यसपाली हामीलाई चाहिन्छ भन्छौं र लड्छौं ।

हजुर आफै कि कोही कसैलाई मुख्यमन्त्रीको उमेद्वार बनाउँदै हुनुहुन्छ ?

–अब मैले स्थानीय तहमा दश वर्ष काम गरेँ । अनुभव लामो र राम्रो छ । पार्टीको सभापति भएर लामो समय काम गरेँ । जनताका समस्यासँग भिजेको छु । जनभावना बुझेको छु । धौलागिरीबाट प्रतिनिधित्व गर्ने सांसदहरुमा अनुभवी र पाको नेता मै हो । केन्द्रमा रमाएर राजनीति गर्ने साथीहरु भन्दा म जनतामा भिजेको नेता हो । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा मेरो दाबी सशक्त हो । सात प्रदेश र संघको निर्णय नीतिगत रुपमै प्याकेजमा निर्णय हुन्छ । यहाँ गठबन्धनको मुख्य साझेदार माओबादी हो । हामी २७ सिट छौं, उहाँहरु कम हुनुहुन्छ । त्यसैले नेपाली कांग्रेसले नेतृत्व पाउँछ । कांग्रेसले नेतृत्व पाउँदा मेरो दावी सशक्त रहन्छ । पहिलो कुरा धौलागिरीबासी एक हुनुपर्छ । हामीले मुख्यमन्त्रीको भावना राख्दा सम्भावना छ ।

मुख्यमन्त्री दाबी गर्न त पहिला संसदीय दलको नेता चुनिनुपर्ने होला नि ?

–सम्भावना छ नि ! संसदीय दलको नेताका लागि हामी साविक धौलागिरीका सांसद एक ठाउँ हुँदा एक दुई भोट तानतुन गरे पुग्छ । मिले सबै सम्भव छ, नमिले त उही ‘भाई फुटे गभार लुटे’ हुने हो । तर, यसपटक मुख्यमन्त्री हामीले पाउनै पर्छ भन्ने मेरो धारणा हो । हिजो गण्डकीले लियो आज धौलागिरीले पाउनुपर्छ ।

मुख्यमन्त्री दाबी गरेर मन्त्री हुन खोज्नुभएको हो भन्ने चर्चा छ नि ?

–हैन, हामीले वास्तवमा जुन कुरा भनेका छौं त्यो पहिलो दाबी रहन्छ । राष्ट्रिय राजनीतिको प्रभाव, गठबन्धनको प्याकेज धेरैलाई हेर्दा भोलि अरु विकल्पहरु पनि रहलान तर हाम्रो सशक्त दाबी हो । मुख्यमन्त्रीका लागि अरु साथीहरुको पनि दावी छ । त्यो स्वभाविक हो । हाम्रो भनाइ के हो भने पछि परेको धौलागिरीले अवसर पाउनुपर्छ भन्ने हो ।

आशा गरौं बागलुङले मुख्यमन्त्री नपाएपनि मन्त्री पाउँछ ?

–त्यसमा त दुईमत नै छैन् । केन्द्रदेखि प्रदेशसम्म गठबन्धनको सरकार बन्नेछ । गण्डकी कांग्रेसलाई भाग पर्दा केन्द्रको प्रभाव यहाँ देखिन्छ र केन्द्रमा संस्थापन पक्षको प्रभाव रहँदा प्रदेशमा पनि नेपाली कांग्रेसको पनि संस्थापन पक्षको बलियो उपस्थिति हुन्छ भन्ने हो । हामी सधैं कर्णाली भयौं, हाम्रो दाबी मुख्यमन्त्री हो । म अनुभवी छु, जनताको माझभन्दा टाढा छैन् । जनताका काम मात्रै गरेको छ । पार्टीको नेतृत्व पनि गरेको हिसाबले म प्रदेश सञ्चालन गर्ने कुरा गह्रुंगो छ भन्ने लाग्दैन् । प्रदेश हाँक्न सक्छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->