सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पुनरागमनसँगै डेब्यु खेलमा चर्च ब्वाइजको रोमाञ्चक जित

पुनरागमनसँगै डेब्यु खेलमा चर्च ब्वाइजको रोमाञ्चक जित


  • विजय नेपाली
  • पुष १६ २०७९, शनिबार

पोखरा/ पहिलोपटक आहा रारा पोखरा गोल्डकपमा सहभागिता जनाएको चर्च ब्वाइज क्लबले पुनरागमनसहित रोमाञ्चक जित निकालेको छ । पहिलो हाफमा १–० ले पछि परेको चर्च ब्वाइजले दोस्रो हाफमा रणनीति परिवर्तनसँगै सुधारिएको प्रदर्शन गरेसँगै नेपाल पुलिस क्लबमाथि २–१ को जित निकालेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो । थप भएको समयमा चर्च ब्वाइजले गोल गर्दै डेब्यु खेलमा जित निकालेको हो ।

सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं संस्करणको प्रतियोगिताको खेलमा पुलिसले पहिलो हाफमा आफ्नो दबदबा कायम गरेको थियो । तर दोस्रो हाफमा खेलमा फर्कँदै चर्च ब्वाइजले पुनरागमनसहित जित निकाल्यो । चर्च ब्वाइजको जितमा अञ्जन विष्ट नायक बने । उनले एक गोलसहित एक गोल असिस्ट गरे ।

खेलको ११ औं मिनेटमा पुलिसका हेमन्त श्रेष्ठले आशिष चपाइँलाई फल गरेपछि चर्च ब्वाइजले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । तेज तामाङको फ्रिकिक प्रहारमा आशिषले गरेको हेडर प्रहारमा पुलिसका गोलरक्षक संजित श्रेष्ठ बाधक बने । १९ औं मिनेटमा पुलिसका रवि पासवानको प्रहारलाई गोलरक्षक किशोर गिरीले बचाउ गर्दा पुलिस अग्रता लिनबाट चुक्यो । २५ औं मिनेटमा रविले पुलिसलाई अग्रता दिलाए । निरकुमार राईको पासमा उनले गोल गरे । खेलको दोस्रो हाफ निकै रोमाञ्चक बन्न पुग्यो ।

दिनेश राजवंशीको थ्रो बलमा कप्तान अनन्त तामाङले ब्याक हेडर गरेको बलमा आशिषको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ५९ औं मिनेटमा दिनेशले सेन्टरलाइन नजिकैबाट गरेको लामो प्रहारमा अनन्तले नै ब्याक हेडर गरेको बलमा अञ्जन विष्टले हेडरमार्फत् बललाई जालिको दिशातर्फ पठाएपनि गोलरक्षक संजित बाधक बने । उनले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता कायम राखे । ६२ औं मिनेटमा पुलिसका रविले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फाले । डिफेन्सलाइनमा आएको बललाई दिनेशले ट्रयाकल गर्दै रोक्ने प्रयास गर्दा असफल भएपछि उनले बल भेटेका थिए । डिफेन्डर विट भइसकेको अवस्थामा उनको प्रहार फितलो रह्यो ।

७६ औं मिनेटमा अञ्जन विष्टले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । कर्नरबाट आएको बलमा सुजित राईले हेडर गर्दा पुलिसका डिफेन्डरले क्लियर गर्ने क्रममा रिवाउन्ड भएको बलमा अञ्जनले उत्कृष्ट गोल गरे । त्यसअघि ७५ औं मिनेटमा एरिक विष्टले गरेको सशक्त प्रहारलाई पुलिसका गोलरक्षक संजितले पन्च गर्दै बचाउ गर्दा कर्नर प्राप्त गरेको थियो । सोही कर्नर प्रहारमा अञ्जनले गोल गरे ।

निर्धारित ९० मिनेटको खेलमा थपिएको ४ मिटेमा पुलिसका सन्तोष हेमरनले हेडर गोल गरेपनि रेफ्रीले अफसाइड करार गरिदिए । निर्धारित समय १–१ को बराबरीमा रोकिएपछि खेलमा ३० मिनेट लम्बिएको थियो । खेलको १०० औं मिनेटमा अञ्जनको ब्याक हेडरमा अनन्तले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा ल्याएका थिए । खेलको १२० औं मिनेटमा अञ्जन विष्टले वान भर्सेस वानको स्थितिमा चिप गर्दै बललाई जालीको दिशा दिएपनि गोलरक्षकले गोललाइनबाट विफल पारिदिए । अञ्जन खेलको म्यान अफ दि म्यान घोषित भए ।

सहायक रेफ्री कमजोर भयो : म्यानेजर रुकेश तन्दुकर (पुलिस)

आजको खेलमा हामी रेफ्रीबाट असन्तुष्ट भयौं । हाम्रो चारवटा बल अफसाइड दियो । असिस्टेन्ट रेफ्री गतिलो भएन । यति ठूलो खेलमा त्यस्ता रेफ्री राख्नु उचित भएन । हामीले हानेको गोलपनि अफसाइड दियो । जबकि त्यहाँ कुनै अफसाइड नै थिएन । आज खेल हार्नुको कारण असिस्टेन्ट रेफ्री हो । हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकै हुन् ।

टिम नयाँ हुँदा तालमेल मिलेन : प्रशिक्षक विक्रम लामा (चर्च ब्वाइज )

हाम्रो टिम नयाँ हो । हामी अझैपनि टिम निर्माणकै क्रममा छौं । आहा रारामा हाम्रो टिमको पहिलो सहभागिता मात्रै नभइ टिम बनाउँदै गर्दा पहिलो म्याच र पहिलो खेल खेलेका छौं । सुरुमा हामीलाई निकै समस्या भयो । खेलाडीहरु चल्न सकेनन् । दोस्रो हाफमा केही सुधारिएको खेल देखायौं । अबको खेलसम्म हामीले अझ मिहिनेत गर्नेछौं । हाम्रो डिफेन्स लाइनमा निकै कमजोर भएको थियो । जसका कारण हामीले आज हार व्यहोर्न पनि सक्थ्यौं तर जसले गल्ती ग¥या,े उसैले जित दिलायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->