पोखरा/ पोखरामा जारी १९ औं माछापुच्छ्े« ओपन टेनिस प्रतियोगिताको भेट्रान्सतर्फको उपाधि कमल थापाले जितेका छन् । उनले ६५ वर्षमाथितर्फको भेट्रान्स सिंगल्समा विदुर विष्टलाई पराजित गर्दै उपाधि जितेका हुन् । थापाले फाइनलमा विदुरलाई ४–१, ४–० को सोझो सेटमा पराजित गरेका हुन् । थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष हुन् । सोही समूहको डबल्सतर्फ भने उनी पराजित भए ।
डबल्स मेन्सतर्फको उपाधि नेपाल नं १ खेलाडी प्रदिप खडका र नेहाल जंगबहादुर थापाको सम्मिलित जोडीले निशान श्रेष्ठ र रितिक रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन् । खेलमा पहिलो सेट ७–६ ले जितेका प्रदिप र नेहालले दोश्रो सेट ६–२ ले जित्दै उपाधि हात पार्न सफल भए ।
प्रतियोगिताअन्तर्गत नै सम्पन्न ३५ वर्षमाथि मेन्स भेट्रान्स डबल्समा जितेन्द्र परियार र चेवाङ लामाको जोडीले कमल भण्डारी र यज्ञ भण्डारीको जोडीलाई सोझो सेटमा पराजित गर्दै सो उमेर समुहको खेलको उपाधि जिते । सम्पन्न फाइनलमा जितेन्द्र र चेवाङको जोडीले ६–३, ६–१ ले पराजित गरी उपाधि जितेका हुन् ।
त्यस्तै, ३५ वर्षमाथि सिंगल्स सेमीफाइनलमा कमल भण्डारीले चेवाङ लामा लाई ६–३, ६–१ ले पराजित गरी उपाधि नजिक पुगेका छन् भने जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–३, ६–४ ले पराजित गर्दै कमल भण्डारी संग फाइनलमा आफ्नो भेट पक्का गरे । ४५ वर्षमाथिको मेन्स भेट्रान्स डबल्स फाइनलमा निमा लामा र भारतिय खेलाडी सम्मिलित टि तुलेश्वर सिंहको जोडीले उपाधि जितेको छ । फाइनलमा उनीहरुले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका थिए । ५५ वर्षमाथिको मेन्स भेट्रान्स सिंगल्सको उपाधि कृष्णराज घलेले जितेका छन् । फाइनलमा कृष्णराजले अनिल तुलाचनलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् ।





