पोखरा/ संकटाले आहा रारा पोखरा गोल्डकपमा सेमिफाइनलका लागि त्रिभुवन आर्मीको सामना गर्दै थियो । सोमबार खेल खेल्नका लागि आइतबार पोखरा आएको संकटा क्लबका दुई विदेशी फरवार्ड मेस्सुके र स्टेफन विनोङको वर्क परमिट थिएन् ।
आयोजक सहारा क्लबको विदेशी खेलाडीको वर्क परमिट विना खेल्न नदिने नियमले उनीहरुलाई समस्यामा पा¥यो । आइतबार संकटाका अफिसियलसहित १६ जना पोखरा आए तर दुई जना आएनन् । उनीहरु सोमबार वर्क परमिट बनाएर फ्लाइटमै पोखरा आउने योजना थियो ।
तर, मौसम सफा नभएकाले फ्लाइट पनि डिले भयो । संकटाले यता खेलाडी उतार्नुपर्ने भयो । टिमले खेल सुरु हुनुभन्दा साढे दुई घण्टाअघि अफिसियललाई सूचना दिनुपर्ने हुन्छ । त्यसपछि खेलाडीले खेल सुरु हुनु १५ मिनेट अघिसम्म अभ्यास गर्न पाउँछन् । संकटाका अन्य खेलाडीले अभ्यास गरेपनि मेस्सुके र स्टेफनले वार्मअफको समयसमेत पाएनन् । पोखरा झरेर आउँदा उनीहरु पृथ्वीचोको जाममा परे ।
तर, क्यामरुनी ती दुई खेलाडीले संकटालाई सेमिफाइनलको यात्रा गराए । फरवार्डद्धयले उत्कृष्ट प्रदर्शनसहित विपक्षी खेलाडीलाई हम्मेहम्मे नै बनाए । मेस्सुके र स्टेफन चम्कदाँ संकटाले पुनरागमन सहित ३–१ को सानदार जित हासिल ग¥यो ।
सातौं पटक सहभागिता जनाएको संकटाले १५ औं पटक सहभागिता जनाएको आर्मीलाई घर फर्काएको छ । आर्मीले १५ पटकसम्म आहा रारा गोल्डकपमा सहभागिता जनाएपनि उपाधि चुम्न सकेको छैन् ।
आर्मीका लागि पोखराको मैदान दुर्भाग्यपूर्ण बन्दै आइरहेको छ । २२ औं संस्करणको प्रतियोगितामा आर्मीका लागि संकट तिनै दुई खेलाडी बने । संकटाविरुद्धको खेलमा जितेरपनि आर्मीले हार व्यहोर्न बाध्य भएको हो । खेलको सातौं मिनेटमा भरत खवास हतारिँदा अग्रता लिने अवसर खेर गयो । सुदिल राईले गरेको ब्याकफ्लिक बललाई नियन्त्रणमा लिएका भरत खवास प्रहार गर्न हतारिए । उनले डिएरिया नजिकैबाट गरेको प्रहार बाहिरियो ।
दशौं मिनेटमा सुदिलले राम्रो मुभ बनाउन नसक्दा अर्को अवसर खेर गयो । कप्तान भरत खवास र नवयुग श्रेष्ठ अनमार्क रहेको स्थितिमा उनले पास दिन छाडेर आफैले लामो सट प्रहार गर्दा अग्रता लिनबाट आर्मी चक्यो । १४ औं मिनेटमा नवयुगले पेनाल्टि मार्फत गोल गर्दै अग्रता आर्मीलाई अग्रता दिलाए । आर्मीको डिफेन्डरले सेन्टरलाइनबाट दिएको बललाई भेट्न पुगेका दिनेश हेमजनलाई संकटाका निशान खड्काले डिएरियामा ट्रयाकल गर्दै लडाएपछि पेनाल्टी पाएको थियो । नवयुगले पेनाल्टीको सदुपयोग गर्दै सहजै गोल गरे ।
काउन्टर खेलेको संकटाले १७ औं मिनेटमा निशानले हेडर गरेको बललाई आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरे । सुनिल बलले प्रहार गरेको फ्रिकिकमा उनले हेड गरेका थिए । ३६ औं मिनेटमा मेस्सुकेले बराबरी गोल गरे । कप्तान सुनिल बलले डि एरियाभित्र दिएको सर्टपासमा मेस्सुकेले उत्कृष्ट गोल गरे । लगत्तै ३८ औं मिनेटमा आयुष घलानको पासमा स्टेफन विनोङको प्रहारलाई विकेशले बचाउ गरे । ४१ औं मिनेटमा आर्मीले अग्रता लिने अवसर खेर फाल्यो । सुदिल राईले नवयुग र नवयुगले पुनः सुदिलाई नै पास मिलाइदिएपनि सुदिल अलमलमा पर्दा प्रहार गर्न सकेनन् ।
४५ औं मिनेटमा कप्तान सुनिल बलको फ्रिकिक प्रहार क्रसबारभन्दा केहि माथिबाट बाहिरियो । दिपक गुरुङले मेस्सुकेलाई लडाएपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । दोस्रो हाफमा आर्मीले संकटामाथि निकै दबाब सिर्जना गरेपनि काउन्टरमा गोल खान पुग्यो । आर्मीले खेलको ५८ औं मिनेटमा टेकबहादुर बुढाथोकी र युद्ध शाहीलाई मैदान प्रवेश गराएसंगै खेलमा हाबि भएको थियो । ६७ औं मिनेटमा सुदिलको प्रहारलाई संकटाका गोलरक्षक टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाउ गर्दा रिवाउन्ड बलमा टेकबहादुरको प्रहारमा पुनः टेकेन्द्र बाधक बने ।
लगत्तै ६८ औं मिनेटमा टेक बहादुरले गरेको उत्कृष्ट प्रहार गोलरक्षक टेकेन्द्रलाई नाघ्दै दोस्रो बारभन्दा केही इन्चबाट बाहिरिँदा आर्मीका लागि दुर्भाग्य बन्न पुग्यो । ७२ औं मिनेटमा भरत खवासको सशक्त प्रहारलाई टेकेन्द्रले उत्कृष्ट बचाउ गरे । उक्त बलमा पाएको कर्नरमा टेकबहादुरको हुेडमा पुनः टेकेन्द्र नै बाधक बने ।
सेसेहाङ आन्दाम्बेको कर्नरमा उनले गरेको हेडरमा टेकेन्द्रले डाइभ हान्दै समाए । ७९ औं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले रिवाउन्ड बलमा उत्कृष्ट गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । सुनिल बलले सेन्टरलाईन भन्दा थोरै पछाडीबाट लेफ्ट साइडमा दिएको रनिङ पासलाई स्टेफनले नियन्त्रणमा लिँदै विकास खवासलाई छलाउँदै प्रहार गरेको बल साइड बारमा लाग्दै फर्किएको थियो । उक्त बललाई सुरज जिउ ठकुरीले डिएरियाबाट प्रहार गरेको प्रहारले दुई डिफेन्डरसहित गोलरक्षकको छेउ हुँदै जाली चुमेको थियो ।
८६ औं मिनेटमा आर्मीले बराबरी गोलको अवसर खेर फाल्यो । सुदिलको पासमा जिलेस्पी जंग कार्कीले गरेको प्रहार आकाशियो । निर्धारित समयमा थप गरेको अतिरिक्त ६ मिनेटको चौथो मिनेटमा स्टेफनले गोल गर्दै जित निश्चित गराए । मेसुकेले दिएको पासलाई नियन्त्रणमा लिदैँ बल अघि बढाउने क्रममा गोलरक्षक विकेश कुथु अघि आउँदै बचाउ गर्न खोज्दा उनले छलाउँदै बीट गरेपछि गरेको प्रहारलाई आर्मीका युद्ध शाहीले रोक्न खोज्दा टांगमुनिबाट छिरेको थियो । स्टेफन खेलको म्यान अफ दी म्याच समेत घोषित भए ।
आर्मीले २०६० सालमा पहिलो पटक आहा रारा गोल्डकपमा सहभागिता जनाएको थियो । आर्मी चार पटक आहा गोल्डकपको फाइनलमा पुगरे पनि उपाधि चुम्न सकेन । यस्तै तिन पटक सेमिफाइनलसम्म पुगेको छ ।
उता संकटाले भने सेमिफाइनलको यात्रा तय गरेको छ । संकटाको यो आठौं सहभागिता हो । संकटाले २०६१ सालमा पहिलो सहभागिता जनाएको थियो । संकटाले २०७३ सालमा सेमिफाइनलको यात्रा गरेको थियो । त्यसपछि ०७७ सालमा उपाधि चुमेको थियो । त्यो बाहेक अन्य सहभागितामा संकटा क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
विदेशीले जिताएः प्रशिक्षक नविन (आर्मी)
हामीलाई भाग्यले साथ नदिएको भन्दापनि केही न केही हाम्रै कमजोरीका कारणले हार व्यहोरेका हौं । आजको खेल टफ थियो । हामी रणनीति अनुसार नै खेलको हौँं । हामी लिगको तयारी गरिरहेका छौं । सोही अनुसार नै खेलेका हौं । जित्ने मनासायले नै आएका हौं । पहिलो हाफमा लिड पनि गरेका हौं । जोगाउन सकेनौं । हामीले पहिलो जुन गोल खायौं त्यो नै आजको टर्निङ पोइन्ट भयो । दोस्रो हाफ हेर्दा पोलमा लागेर राम्रो रिवाउन्डमा उनीहरुले गोल गरे । अवसर पायौं तर गोल गर्न सकेनौं गोल गर्न नसक्दा काउन्टरमा अर्को गोल खान पुग्यौं । हारको कारण नै दोस्रो गोल हो ।
आज संकटाले जित्नु अर्को कारण भनेको विदेशी खेलाडी पनि हो । आज उनीहरु हाबी भएको देखियो । उनीहरुको मुख्य भूमिका भनेकै फरेन प्लेयर हो जसले गेम चेन्ज नै गरायो ।
रणनीति अनुसार नै खेल्यौं : प्रशिक्षक सल्यान (संकटा)
गेम टफ नै रह्यो । अघिल्लो वर्षको लिगपछि बल्ल हामीले प्रतियोगिता खेल्दैछौं । यो वर्षकै पहिलो प्रतियोगिता भएकाले हाम्रो केही कम्जोरी रह्यो जसले हामीलाई गाह्रो पनि भयो र पहिलो गोल खाएपछि हामीले जुन कमब्याक ग¥यौं, त्यो नै खुसीको कुरा हो । आज केटाहरुले हामीले जुन रणनीति बनाएका थियौं त्यसमा मरेरै खेले । टाइटलका लागि पूर्ण हकदार छौं ।
वर्क प्रमिटको मापदण्डक सबै मिलाएर आउँदा ढिला भयो । त्यसमा पनि आज फ्लाइट डिले भयो । हिजोको फ्लाइटमा आउन मुस्किल भयो र आजको फ्लाइटमा आएका हुन् । कहिले काँहि यस्तो समस्या आउछन् तर यो ठूलो समस्या होइन् । खेलाडी राम्रै भएर त सहभागी हुने हो ।





