पोखरा/ सहारा क्लब पोखराको आयोजनामा जारी आहा रारा पोखरा गोल्डकपमा दुई वर्षपछि संकटा र एपिएफ फाइनल प्रवेशका लागि भिड्दै छन् । साविक विजेता एपिएफ क्लब र दुई वर्ष अघिको विजेता संकटा सेमिफाइनलमा दोस्रो पटक भेट भएका हुन् । २०७७ सालमा संकटाले एपिएफलाई सेमिफाइनलमा २–० ले हराएको थियो । पोखरा रंगशालास्थित फुटबल मैदानमा आज हुने पहिलो सेमिफाइनल खेलमा एपिएफले दुई वर्षअघिको बदला सहित उपाधि रक्षाका निम्ति खेल्नेछ भने संकटाले एपिएफमाथिको जितलाई निरन्तरता दिने दाउमा हुनेछ ।
एपिएफको यो सेमिफाइनल प्रवेश छैटौं पटक हो । २०६३ सालमा पहिलो पटक सेमिफाइनल पुगेको एपिएफ थ्रिस्टारसंग ३–० को हार व्यहोरेको थियो । ०६४ सालमा युहारा युकलाई १–० ले हराएको थियो । भने २०७५ सालमा थ्रिस्टारसंगै टाइब्रेकरमा ४–२ को हार व्यहोरेको थियो । ०७७ सालमा संकटासंग २–० को हार व्यहोरेको थियो । ०७८ सालमा मछिन्द्रलाई ३–१ ले हराएको थियो ।
२०६१ सालमा पहिलो पटक सहभागिता जनाएको संकटाको समेफाइनलको यो तेस्रो यात्रा हो । २०७३ सालमा मनाङसंग १–० को हार व्यहोरेको थियो । ०७७ सालमा एपिएफलाई २–० ले हराएको थियो । त्यतिबेला संकटा पहिलो पटक च्याम्पियन बनेको थियो । जारी प्रतियोगितामा संकटाले क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । उता एपिएफले धरान फुटबल क्लबलाई २–० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रभाव पार्न सक्ने खेलाडी
सुनिल बल (संकटा)
सुनिल बल फ्रिकिक प्रहारमा माहिर छन् । खेललाई मोड्नका लागि उनी महत्वपूर्ण खेलाडी सावित हुन सक्छन् ।
मेस्सुके (संकटा)
क्यामरुनी फरवार्ड मेस्सुके संकटालाई सेमिफाइनलमा पु¥याउन महत्वपूर्ण मूमिका खेल्ने खेलाडी हुन् । पहिलो खेलमा लाइनअफमा मात्रै मैदान प्रवेश गरेका उनले उत्कृष्ट प्रदर्शनी गर्दै १–० ले पछि परेको स्थितिमा आर्मी विरुद्ध गोल गर्दै खेलमा फर्काएका थिए ।
स्टेफन (संकटा)
स्टेफन विनोङ संकटालाई आर्मीविरुद्ध सहज जित दिलाउन गोल गर्ने खेलाडी हुन् । क्यामरुनी फरवार्ड स्टेफनले आर्मी विरुद्ध उत्कृष्ट खेल प्रदर्शनी गरेका थिए । उनी पनि मेस्सुके संगै वार्मअफ विनै मैदान प्रवेश गर्दै उत्कृष्ट खेल प्रदर्शनी गरेका थिए ।
आयुष घलान (संकटा)
राष्ट्रिय खेलाडी आयुष घलान सेमिफाइनलमा एपिएफ माथि दबाब दिन सक्ने खेलाडी हुन् । सानै उमेरमा उत्कृष्ट खेल कौशलका कारण राष्ट्रिय टिमबाट खेलेका घलानले उत्कृष्ट खेल देखाएका थिए ।
मणि लामा (एपिएफ)
एपिएफका मिडफिल्डर मणि लामा पास निकाल्नमा माहिर छन् । उनले लङ पास निकाल्न सक्छन् । मणिलामाको फ्रिकिकमा र कर्नरमा निकाल्ने पास उत्कृष्ट रहँदै आएको छ ।
प्रदीप लामा (एपिएफ)
एपिएफका फरवार्ड प्रदिप लामा संकटालाई भारी पर्न सक्छन् । उनले सेमिफाइनलमा टोलीलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । प्रदीप विपक्षीलाई छक्याएर खाली स्थानमा बस्न माहिर खेलाडी हुन् ।
विकु तामाङ (एपिएफ)
फरवार्ड विकु तामाङ एपिएफका प्रभाव पार्न सक्ने खेलाडी हुन् । जारी प्रतियोगितामा म्यान अफ दि म्याच समेत भएका तामाङ बल नियन्त्रणमा लिदैँ प्रहार गर्न सक्षम छन् ।
नविन लामा (एपिएफ)
नविन लामा क्रस पास र गोलका लागि पास निकाल्स माहिर छन् । उनले टोलीका लागि गोल एसिस्ट गर्न सक्छन् । उनी खेलमा प्रभाव पार्न सक्ने खेलाडी पनि हुन् ।
पाहुना टोली भुटनिज सामु मनाङ स्तब्ध
मंगलबार भएको अन्तिम क्वाटरफाइन खेलमा अमेरिकाको भुटनिज युथ स्पोट्र्स क्लबसंग मनाङ मस्र्याङदी स्तब्ध भएको छ । छ पटकको आहा रारा विजेता मनाङ भुटनिजसंग १–० ले स्तब्ध भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको १८ औं मिनेटमा भुटनिजका प्रदीप बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा पाएको अवसरको सदुपयोग गर्दा भुटनिजलाई सफलता हात पारेको हो । पहिलो हाफमा पछि परेको मनाङले दोस्रो हाफमा सुधारिएको खेल देखाउँदै खेलमा फर्कन प्रयास गरेपनि गोल गर्न भने सकेन ।





