पोखरा/ २२ औं आहा रारा पोखरा कपको फाइनल प्रवेशका लागि आज चर्च ब्वाइज क्लब र अमेरिकाको भुटनीज क्लबबीच प्रतिस्पर्धा निश्चित भएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा राष्ट्रिय खेलाडीले भरिएको चर्च ब्वाइजविरुद्ध पाहुना टोली भुटनीजले प्रतिस्पर्धा गर्न लागेको हो । भुटनीज टोलीको यो दोस्रो र चर्च ब्वाइजको पहिलो सहभागिता हो ।
भुटनीज युथ स्पोट्र्स क्लबले यसअघि ६ पटकको उपाधि विजेता मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले धरान फुटबल क्लब र लिग विजेता मछिन्द्रलाई हराएको हो ।
प्रभाव पार्न सक्ने खेलाडी
अञ्जन विष्ट (चर्च ब्वाइज)
नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट उत्कृष्ट खेलाडी हुन् । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेका विष्टले सेमिफाइनलमा समेत उत्तिकै अपेक्षा गरिएको छ । नेपाली टोलीमा समेत आफ्नो प्रभाव पारेका उनको सहभागिताले टोलीलाई हौसला मिलेको छ । उनी ९० मिनेटसम्म नै मैदानमा कुद्न सक्ने खेलाडी हुन् ।
आशिष चौधरी (चर्च ब्वाइज)
उदियमान खेलाडी आशिष चौधरी जारी खेलमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । उनले धरान र मछिन्द्रविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शनी गरे । लिग विजेता मछिन्द्रलाई क्वाटरफाइनलबाटै घर पठाउन उनले पनि गोल गरे ।
आशिष चापागाईँ (चर्च ब्वाइज)
आशिष चापागाई पनि उदियमान खेलाडी हुन् । जारी प्रतियोगितामा उनले पनि उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । मछिन्द्रविरुद्धको खेलमा उनको पनि ठूलो योगदान रह्यो । सेमिफाइनल खेलमा उनले टोलीका लागि महत्वपूर्ण योगदान दिन सक्छन् ।
रेने सान्टिलियोन (भुटनिज)
फरवार्ड रेने सान्टिलियोनले मनाङविरुद्ध उत्कृष्ट खेल देखाए । उनले सेमिफाइनलमा समेत टोलीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
प्रविन बस्नेत (भुटनिज)
प्रविन बस्नेत मनाङविरुद्ध गोल गर्ने खेलाडी हुन् । उनले चर्च ब्वाइज विरुद्ध समेत उत्कृष्ट खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
डिफेन्डिङ च्याम्पियन एपिएफलाई हराउँदै संकटा दोस्रो पटक फाइनलमा
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एपिएफ क्लबमाथि ४–१ को सानदार जित निकाल्दै संकटा क्लब फाइनल प्रवेश गरेको छ । संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । यसअघि २०७७ सालमा फाइनल प्रवेश गरेको थियो । दुई वर्षअघि पनि सेमिफाइनलमा एपिएफलाई नै २–० ले हराउँदै फाइनल प्रवेश गरेको थियो । संकटाको जितमा क्यामरुनी खेलाडीद्धय स्टेफन र मेस्सुके नै नायक बने । संकटाको सानदार जितमा दुवैले दुईदुई गोल गरे ।
एपिएफका खेलाडीबीच समन्वय नमिल्दा संकटाले खेलको सुरुवातमै अग्रता लिएको थियो । पाँचौं मिनेटमा स्टेफन विनोङले गोल गर्दै अग्रता दिलाए । संकटाका गोलरक्षक टेकेन्द्रसिंह थापाले डिफेन्डर आन्द्रे थेरी वियिकलाई पास दिएका थिए । उक्त बललाई आन्द्रेले सोझै लामो प्रहार गरे । बल बुद्धमणि राईले नभेटेपछि ड्रप हुँदै डिएरिया तर्फ बढेको अवस्थामा गोलरक्षक अघि बढ्दै गर्दा डिफेनडर दिपेश धिमालले गोलरक्षक राजु नगरकोटीलाई छाडिदिदाँ अनर्माकमा रहेका स्टेफनले प्रहार गरेको बल गोलरक्षक नगरकोटीको खुट्टामा लाग्दै जाली चुमेको हो ।
१७ औं मिनेटमा एपिएफ बराबरी गोल गर्नबाट चुक्यो । प्रदीप लामाले युवराज खड्कालाई दिएको पासलाई नियन्त्रणमा लिदैँ दिएको पासमा विकु तामाङको प्रहार बाहिरियो । २७ औं मिनेटमा संकटाका आयुष घलानको प्रहारमा टेकेन्द्र बाधक बने । ३९ औं मिनेटमा एपिएफको बराबरी गोल गर्नबाट चुक्यो । सनिस श्रेष्ठको लो क्रस पासमा बुद्धि मणि राईले डाइभ गर्दै उत्कृष्ट हेडर गरेको बल साइडबार नजिकैबाट बाहिरियो ।
४३ औं मिनेटमा मेस्सुकेले अग्रता दोब्बर पारे । आयुष घलानले सुनिल बललाई दिएको पासमा अनमार्क रहेका स्टेफनले बल मागेपछि सुनिलले छाडेको बललाई नियन्त्रणमा लिदै ओभरल्यापमा रहेका मेस्सुकेले सहजै गोल गरे । त्यसपछि भने एपिएफ निकै दबाबमा प¥यो । ४८ औं मिनेटमा मेस्सुकेले अवसर खेर फाले । दुई डिफेन्डरलाई बिट गर्दै खालि भएको अवस्थामा उनको प्रहार साइडबारहुँदै बाहिरियो । ५८ औं मिनेटमा मेस्सुकेको क्रसमा स्टेफनले गरेको हेडबल क्रसबार नजिकैबाट बाहिरियो । ६१ औं मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गरे । संकटाका डिफेन्डर आन्द्रेले डिफेन्सलाइनबाट क्लियर गरेको बलाई नियन्त्रणमा लिँदै सहज गोल गरे ।
एपिएफका दुई डिफेन्डर विशाल स्याङतान र मनबहादुर राना मगरले बललाई भेट्न नसक्दा गोल खान पुगेको हो । ६६ औं मिनेटमा सुनिल बलको पासमा स्टेफनको प्रहार बाहिरियो । उनले एपिएफका डिफेन्डरलाई विट गर्दै दोस्रा बारतर्फ गरेको प्रहार बाहिरियो । ६९ औं मिनेटमा विकु तामाङले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहारलाई टेकेन्द्रले बचाउ गर्दा नविन लामाले प्रहार गरेपनि डिफेन्डरले क्ल्यिर गरिदिए । ७४ औं मिनेटमा एपिएफका परिवर्तित खेलाडी हरि कार्कीले गोल गरे ।
आवास लामिछानेको पासमा उनले गोल गर्दै अग्रता घटानउने काम गरे । ८६ औं मिनेटमा मेस्सुकेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित निश्चित गरे । डिफेन्सलाइनमा सनिसले सुनिल लामालाई फल गरेपछि फ्रिकिक प्राप्त गरेको थियो । आन्द्रेले प्रहार गरेको उक्त फ्रिकिकलाई मेस्सुकेले पहिलो टचमै गोल गरे । निर्धारित समय सकिएपछि थप गरिएको चार मिनेटमा एपिएफको अग्रता घटाने अन्तिम मौका खेर गयो । सनिसको क्रसपासमा नविनले गरेको हेड क्रस बार नजिकैबाट बाहिरियो । स्टेफन खेलको म्यान अफ दी म्याच घोषित भए ।





