पोखरा/ बगर भाइखलकले माघ पहिलो साता ४० वर्षमाथि समूहको भेट्रान फुटबल प्रतियोगिताको आयोजना गर्दैछ । पोखरा महानगरपालिका १ बगरमा रहेको बगर भाइखलकले १२ औं संस्करणको ‘बगर भाइखलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबलको आयोजना गर्न लागेको हो । स्थापना कालदेखि नै दुई पिँढीलाई समेट्दै आइरहेको बगर भाइखलकले एक दशकपछि भने नयाँ पिँढीकोसमेत हात समाएको छ ।
समाजका विविध क्षेत्रमा जीवन विताएर ४० वर्ष काटेकाहरुको थलो बनाइ विभिन्न सामाजिक तथा खेलकुदको क्षेत्रमा काम गर्दै आएको संस्थाले फुटबल खेलमा यो वर्षदेखि तीन पुस्तालाई समेटेर अघि बढेको हो । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायम, नागरिक हरुका लागि नौलो आयाम’ भन्ने नारा लिएर अघि बढेको बगर भाइखलकले भेट्रानसँगै अग्रज र बालबालिकालाईसमेटेर अघि बढेको छ ।
बगर भाइखलकका अध्यक्ष दिल गुरुङ भन्छन्,‘हामीले तीन पिँढीलाई लिएर अघि बढेका छौँं । पहिला फुटबल प्रतियोगितामात्रै गर्दै आएपनि पछिल्ला केहि वर्षयता अग्रजलाई समेत समेटेका छौँ ।’ उनका अनुसार फुटबल खेलको विकासका लागि आफ्नो जीवन व्यतित गरेका अग्रज व्यक्तिलाई पुनः फुटबलमा समेट्नका लागि पूर्वखेलाडी सम्मान गरिँदै आएको छ । यो वर्ष उक्त सम्मान कास्की जिल्ला फुटबल संघका पूर्वअध्यक्ष खेम गुरुङलाई प्रदान गरिदैँछ ।
‘हामीले समेटेको तीन पिँढी भनेको अग्रज, समकालीन जो ४० वर्षका भेट्रान छन र उत्प्रेरणा जुन बालबालिका रहेका छन्’, गुरुङले भने,‘गत वर्षदेखि हामीले नयाँ पिँढीलाई समेट्ने गरी ग्रास रुट लेभलको फुटबल ट्रेनिङ पनि सुरु गरेका छौँ । यसले गर्दा तीन पिँढीलाई समेटेको अनुभव हामीले गरेका छौं ।’
२०६८ सालदेखि प्रतियोगिता संचानल गर्दै आएको संस्थाले ड्रिम प्रोजेक्टको रुपमा अघि सारेको छ । ८ वर्षदेखि १६ वर्ष मुनिका बालबालिकालाई फुटबलसम्बन्धी आवश्यक व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गर्दै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उदेश्यका साथ एकेडेमी संचालन अघि बढाएको हो । एकेडेमीमा अहिले एक सय बालबालिकाले फुटबल प्रशिक्षण लिइरहेका छन् ।
संस्थाले आर्थिक अभावका कारण फुटबल खेल खेल्न चाहने प्रतिभावान खेलाडीलाई निःशुल्क प्रशिक्षण प्रदान गर्नका लागि अक्षयकोषको समेत स्थापना गरेको अध्यक्ष गुरुङले बताए । संस्था ग्रासरुटबाटै जानुपर्छ भन्ने सोँचका साथ अघिबढेको र गरीब बालबालिकाका लागि एक प्रतिभा एक सहयोगदाता अभियानसमेत अघि बढाएको छ । उक्त अभियानअन्तर्गत कम्तिमा पनि ३० जना खेलाडीका लागि अक्षयकोष स्थापना गर्ने सोच संस्थाको रहेको उनको भनाइ छ ।
भाइखलक एट ए साइड भेट्रान फुटबलको तयारी पूरा
प्रथम हिमालय ब्रुअरी तथा १३ औं बगर भाइखलक एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा आयोजना हुने प्रतियोगिता जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बगर भाइखलकका महासचिव यामबहादुर गुरुङले प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको स्पष्ट पारे ।
माघ ३ गतेदेखी ८ गतेसम्म संचालन हुने प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको उनले बताए । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले समान पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भारतको देहरादुनबाट युके मास्टर्स, उत्तराखण्ड, काठमाडौं, विरगंज, हेटौंडा, चितवन, बुटवल, नवलपरासी, सिमरा र वालिङबाट गरि २४ टिमको सहभागिता रहेको उनले महासचिव गुरुङले जानकारी दिए । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले तीन लाख रुपैयाँ, पोखरा महानगरपालिकाले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको उनले बताए ।





