सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टाइगरकप भलिबल खेल्न श्रीलंकन टिम पोखरा आइपुगे

टाइगरकप भलिबल खेल्न श्रीलंकन टिम पोखरा आइपुगे


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७९, शुक्रबार

पोखरा/ पोखरामा आयोजना हुने टाइगरकप भलिबल प्रतियोगितामा सहभागी हुन श्रीलंकाको भलिबल क्लब पोखरा आइपुगेको छ । टाइगर ग्रुप पोखराको आयोजनामा हुन लागेको तेस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियनसिप खेल्नका लागि श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस् क्लब बिहीबार काठमाडौं आइपुगेको हो । प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयासका साथ यो वर्ष दुई विदेशी टिमलाई पोखरा ल्याइएको हो ।

माघ ८ गतेबाट पोखरा रंगशालास्थित भलिबल प्रशिक्षक केन्द्रमा सुरु हुने प्रतियोगितामा सो क्लबले पुरुषतर्फ सहभागिता जनाउने छ । टोलीलाई टाइगर ग्रुपपका सदस्य एवम गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ, नेपाल भलिबल संघका कोषाध्यक्ष श्याम श्रेष्ठ, पूर्वराष्ट्रिय टिम कप्तान भरत शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

तीन अफिसियल र १२ खेलाडीसहितको श्रीलंकाली टोली १५ सदस्यीय रहेको छ । माघ १४ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पहिलो पटक दुई बिदेशी क्लबसहित महिला र पुरुषतर्फ ५–५ टिम गरी १० टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जनाएका छन् ।

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ भारतीय क्लब केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत र पुरुषतर्फ एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हुन् । यस्तै यो वर्ष प्रतियोगितालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ खेल मैदानमा डिजिटल स्कोर बोर्डको व्यवस्था गर्न लागेको टाइगर ग्रुपका सचिव डिवी नेपालीले जानकारी दिए । उनका अनुसार अब खेलको अंक तालिका दर्शकले सहजै हेर्न पाउनेछन् । ‘हामीले दर्शक तथा खेलाडीलाई पनि सहज होस् भनेर डिजिटल बोर्ड राख्न लागेका छौं । जसले खेलका दौरान अंक देखाउने छ । यो पोखरामै पहिलो अभ्यास हुनेछ,’ उनले भने,‘त्यो डिजिटल बोर्डमा खेलाडीको परिचय समेत दिने छौं ।’

प्रतियोगितामा गत वर्षको च्याम्पियन हेल्प नेपालले भने सहभागिता नजनाउने भएको छ । पुरुषतर्फ श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस् क्लबसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, गण्डकी प्रदेशको सहभागिता रहेको छ । महिलातर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लव र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।

महिला/पुरुष दुवैतर्फको विजेताले समान ५/५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता टिमले समान २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको महिला तथा पुरुष सर्वोत्कृष्ट खेलाडीले समान २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट प्रशिक्षकले समान १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यी हुन् श्रीलंकन खेलाडीहरु

श्रीलंकाली टिममा रिशन सेनारा (कप्तान), अविष्का दिलन चन्द्रसिरी, मिउरान सावियो फर्नान्डो, कविष्का चथुमल बन्दर जयसुन्दरा, दहम चमिका, हिरुषा निमसारा फर्नान्डो, निमुथु लकदिना, सयुरु कविष्का फर्नान्डो, थिलाका राज, निथिना केशन फर्नान्डो, एशेन मलिन्था परेरा, आलोका दिलशान फर्नान्डो रहेका छन् । मुख्य प्रशिक्षकमा निशान इन्डिका, सहायक प्रशिक्षक गमुनु कुमारा र म्यानेजर महेश अवरथना रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->