स्याङ्जा/ प्रथम वालिङ गोल्डकप फुटबल प्रतियोगिता एभिनियर एफसी क्यामरुन फाइनलमा प्रवेश गरेको छ ।
वालिङ युनाइटेड फुटबल क्लबले गरेको गोल्डकपको अन्तिम सेमिफाइनलमा आयोजक रातोलाई २–० गोल अन्तरले पराजित गर्दै एभिनियरले आयोजक नीलोसँग भेट पक्का गरेको हो । बलियो टिमविरुद्ध सशक्त प्रतिरक्षा गरेको वालिङ युनाइेडविरुद्ध क्यामरुनका टिम्बा टिम्बाले ८५ औं मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । अन्तिम समयमा गोल खाएसँगै वालिङले सम्हालिने मौका गुमायो । उसको रक्षा पंक्ति कमजोर बन्यो । दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा साबाले गोल गर्दै टिमको जित पक्का गराए ।
साबाले टिम्बाको पासमा गोल गरेका हुन् । प्रतियोगितामा क्यामरुनका साबा म्यान अफ दि म्याच घोषित भए । उनलाई प्रदेश सांसद सुधीरकुमार पौडेलले कप तथा नगद प्रदान गरे । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ । खेलाडी उत्पादन, खेलमैदान निर्माण र जेष्ठ नागरिक सम्मान गर्ने उदेश्यले नकआउट गोल्डकप फुटबलको आयोजना गरिएको क्लबका अध्यक्ष एलपी ज्वाारचनले बताए । प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ ।





