पोखरा/गण्डकी प्रदेशका स्पाइकर घनश्याम चौधरीले खेलाडी हुँदाको पीडा पोखेका छन् । बुधबार गण्डकी प्रदेश पुरुष टोलीले त्रिभुवन आर्मीविरुद्ध लिग चरणमा रोमाञ्चक जित निकाल्दा चौधरी नायक बने । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेल पाँचौ सेटसम्म धकेलिएको थियो । उक्त खेल गण्डकीले ३–२ले आफ्नो पक्षमा पा¥यो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २३–२५ ले पुनः आर्मीले आफ्नो पक्षमा पा¥यो ।
चौथो सेटमा पुनः गण्डकी खेलमा फर्कियो । गण्डकीले २५–२२ ले जित्यो । निकै रोमाञ्चक बनेको अन्तिम सेट १५–१३ ले आर्मीलाई हराउन सफल रह्यो । खेलको म्यान अफ दी म्याच गण्डकीका घनश्याम घोषित भए । उनले म्यान अफ दी म्याच घोषित भएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राख्दै पीडा पोखेका छन् । उनले खेलाडीले राम्रो खेल्दा प्रशंसा पाउने र नराम्रो खेल्दा गाली खानुपर्ने बाध्यता रहेको दुखेसो पोखेका छन् । फेसबुकमा लेखेका छन्, ‘खेलाडी हुनुको पीडा राम्रो खेल्यो भने हाइहाइ नराम्रो खेल्यो भने बाइबाइ । गाह्र्रो छ हजुर’ । यो समस्या उनको मात्रै होइन । समग्र नेपाली खेलकुदमा खेलाडीले भोग्नुपर्ने समस्या हो ।
खेलपश्चात आफ्नो प्रतिक्रिया दिँदै उनले टिममा प्रशिक्षणको अभाव रहेको सुनाए । उनका अनुसार खेल हुँदा मात्रै टिम बनाउने र अघिपछि प्रशिक्षण नुहेन भनाइ थियो । आर्मीविरुद्धको खेल निकै रमाइलो र रोमाञ्चक बनेको चौधरीले बताए । ‘निकै नै रमणीय खेल भयो । विभागीय टिमलाई दबाब दिएर पाँचौ सेट समेत निकै प्रतिस्पर्धात्मक तरिकाले जित्यौ’, उनले भने, ‘राम्रो प्रशिक्षण थिएन । अहिले टिम मिल्दै गएको छ । हेरौं आगामी खेल कस्तो हुन्छ ।’ उता गण्डकीका प्रशिक्षक रमेश केसीले भने नतिजा खेलाडीको प्रदर्शनीमा भर पर्ने बताए । उनले आफुहरु च्याम्पियन बन्ने उदेश्यका साथ खेलेको सुनाउँदै आगामी खेलमा समेत उत्कृष्ट प्रदर्शनी देखाउने बताए । त्रिभुवन आर्मीका प्रशिक्षक जगत सिंहले गण्डकीको खेल निकै राम्रो भएको भन्दै प्रशंसा गरे । उनले आफूहरुले जित्नुपर्ने खेल समेत हारेको सुनाउँदै रिसिभ र ब्लकमा चुक्दा हार ब्यहोरेको सुनाए ।
उता बुधबार नै सम्पन्न पुरुष तर्फको अर्को खेलमा एपिएफले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाएको छ । एपिएफले २५–२३, २५–२३ र २५–२३ ले नै हरायो । जितसंगै एपिएफको चार खेलबाट १२ अंकसहित शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
तीन खेल खेलेको श्रीलकंली टोलीको एक अंक छ । तीन खेलबाट गण्डकीको पाँच अंक रहँदा समान खेल खेलेको आर्मीको चार अंक रहेको छ । पुलिसको दुई अंक रहेको छ ।
महिलातर्फको सेमिफाइनल, पुरुषतर्फ लिगचरणका अन्तिम खेल
पोखरा रंगशालामा जारी तेस्रो संस्करणको टाइगरकप भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनलका खेलहरु हुँदैछन् । चार टिम मात्रै सहभागि रहेको महिला तर्फ लिगचरणका खेलहरु भने बुधबार सम्पन्न भएका छन् । लिग चरणअन्तर्गतको आफ्नो अन्तिम खेलमा गण्डकी न्यू डायमण्डसँग ३–१को हार ब्यहोरेको छ । पहिलो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पारे पनि दोस्रो, तेस्रो र चौथो सेट भने गुमाउन पुग्यो । तिन सेटमा न्यू डायमण्डले सस्तोमै समेट्यो । दोस्रो सेटमा २५–१५ को जित निकाल्दै खेलमा फर्किएको डायमण्डले तेस्रो सेट २५–१४ र चौथो सेटमा २५–११ को जित निकाल्दै लिगकै पहिलो जित दर्ता गरायो ।
उता लिग चरणको अन्तिम खेलमा एपिएफले आर्मीमाथि ३–१ को जित निकाल्यो । पहिलो सेट २५–१७ ले जितेको एपिएफ दोस्रो सेटमा २२–२५ ले गुमाएको थियो । तेस्रो सेट २५–१६ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै जितको यात्रालाई निरन्तरता दिएको हो । एपिएफ ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । आर्मी दुई जित र एक हार सहित ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । न्यु डायमण्ड दुई हार एक जित सहित तेस्रो र तीन खेलमै हार व्यहोरेको गण्डकी अंकविहीन हुँदै अन्तिममा रह्यो ।
अब गण्डकीले शीर्षस्थानको एपिएफसंग सेमिफाइनलमा भिड्दै छ । लिगचरणमा एपिएफले गण्डकीलाई ३–० को सोझो सेटमा हराएको थियो । एपिएफले गण्डकीलाई २५–११, २५–१९ र २५–१६ को सेटमा हराएको थियो । सेमिफाइनल खेलमा गण्डकीले रिसिभ र ब्लकमा जोड दिने हो भने एपिएफलाई दबाब दिन सक्छ अन्यथा सेमिफाइनलमा समेत लिगकै नतिजा दोहोरिने छ ।
यस्तै आर्मीले भने न्यू डायमण्डको सामना गर्दैछ । प्रतिभा माली विना सहभागी जनाएको डायमण्ड पनि कमजोर देखिएको छ । डायमण्ड पनि लिग चरणमा आर्मीसँग ३–० कै सोझो सेटमा हारेको थियो । उक्त खेलमा आर्मीले २८–२६, २५–१७ र २५–२३ को जित निकालेको थियो ।
आजको खेल
महिला तर्फ
पहिलो सेमिफाइनल एपिएफविरुद्ध गण्डकी
दोस्रो सेमिफाइनल त्रिभुवन आर्मीविरुद्ध न्यु डायमण्ड
पुरुषतर्फ
गण्डकीविरुद्ध सेन्ट जोसेफ वाज
आर्मीविरुद्ध पुलिस





