पोखरा/ गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिलातर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ फाइनमा प्रवेश गरेका छन् ।
राष्ट्रिय महिला भलिबल क्याप्टेन अरुणा शाहीको कप्तानीमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३ र २५–१० अंकले स्याङ्जालाई पराजित गरेको हो ।
यस्तै महिलातर्फ नै पर्वतले तनहुलाई २५–११, २५–१४ र २५–१९ अंकले पराजित गर्दै म्याग्दीसगँको भेट पक्का गरेको टेक्निकल प्रमुख नारायणबहादुर भण्डारीले जानकारी दिए ।
पुरुषतर्फ बाग्लुङले तनहुँलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित गरेको हो । बागलुङले १८–२५, १८–२५, २५–१५, २५–१९ र १७–१५ को जित निकालेको हो । पहिलो दुई सेटमा पराजित भएको बागलुङले खेलमा फर्कँदै पछिल्ला तीन खेलमा जित्दै फाइनको यात्रा तय गरेको हो । प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषदले खेलाएको प्रतियोगितामा पुरुष तर्फ ११ जिल्ला र महिलातर्फ मनाङ बाहेकका १० जिल्लाको सहभागिता रहेको छ । फागुन ३ गतेसम्म संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला प्रथमले एक लाख ५० हजार, द्धितीयले एक लाख र तृतीयले ५० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
खेलमा सर्बोत्कृष्ठ खेलाडीले १५ हजार पाउदाँ बिधागत स्पाइकर, सेटर, सरभर, ब्लकर, डिफेण्डरले १०÷१० हजार नगद पाउने खलकुद परिषदका प्रमुख टोपलाल भुसालले बताए ।





