पोखरा/ नेपालकै जेठो म्याराथनको रुपमा रहेको पोखरा म्याराथनमा १६ राष्ट्रका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेसँगै सहभागी राष्ट्रको संख्या समेत बढेको हो ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कुल १७ राष्ट्रका एक सय ५० धावकले सहभागिता जनाउने भएका हुन् ।
प्रतियोगिताको विभिन्न विधामा ८ हजार बढीले सहभागिताको लागि नाम दर्ता गराएका छन् । महिला हाफ म्याराथनमा ३५ जना धावकहरुले नाम दर्ता गराएका छन् । यस्तै १० किलोमिटर पुरुषतर्फ एक हजार पाँच सय र महिलातर्फ ६ सय जनाले नाम दर्ता गराएका छन् । ५ किलोमिटर दौडमा ७० विद्यालयका छात्र र छात्रले सहभागिता जनाउने भएका छन् । उक्त प्रतिस्पर्धाको छात्र तर्फ एक हजार छ सय र छात्रातर्फ ६ सय जनाले नाम दर्ता गराएका छन् । ह्विलचेयरतर्फ ४७ जना, दृष्टिविहीन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।
यस्तै मञ्चले पत्रकार सम्मेलनमार्फत् शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ । मञ्चका अध्यक्ष पराजुलीका अनुसार ४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । जसमा प्रदेशबाट सहभागि धावकहरुलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार स्वरुप क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैयाँ प्रदान गरिने छ ।
‘यो प्रतियोगिता अन्तर्राष्ट्रिय भएकाले हामीले स्थानीय खेलाडीको हौसला प्रदान गर्नका लागि पनि गण्डकी प्रदेशका खेलाडीलाई पनि रकम प्रदान गर्नेछौ’, उनले भने,‘ गण्डकी प्रदेशकै खेलाडी हुनुपर्नेछ उनीहरुले म्याराथन पार गरेर पहिला आउने लाई प्रथम मानिने छ ।’ उनका अनुसार खुल्ला म्याराथनमै भाग लिएका गण्डकीका धावकहरुका लागि हौसला प्रदान गर्न पुरस्कार राखिएको हो । यदि म्याराथन नै जितेको खण्डमा समेत उक्त नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको हाफ म्याराथन विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोश्रोले एक लाख, तेस्रोले ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितिय र तृतिय पुरस्कार स्वरुप क्रमश ३० हजार, २० हजार र १५ हजार, ५ किलोमिटर छात्र छात्रा दौडतर्फ १५ हजार १० हजार र ७ हजार रुपैयाँ क्रमश प्रथम, द्वितीय, तृतीय हुनेले प्राप्त गर्ने छन् ।
यसैगरि मञ्चले ह्विलचेयर र दृष्टिविहीन महिला/पुरुष दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई सुजल डेरी प्रालिले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।





