बागलुङ/ ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर युवा संघ बागलुङले फागुन १२ देखि १५ गतेसम्म दोस्रो लखन कप महिला/पुरुष भलिबलको आयोजना गरेको छ । संघको स्थापना दिवसको अवसरमा पालिका स्तरीय महिला भलिबल र खुुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर युवा संघका उपाध्यक्ष प्रकाश थापामगरले जानकारी दिए ।
‘मगर संघको स्थापना दिवस फागुन १५ गते हो वर्षेनी कार्यक्रम आयोजना हुँदै आएको छ, थापामगरले भने, ‘शहीद लखन थापामगरलाई राष्ट्रले उचित सम्मान दिन सकेको छैन, शहीद थापामगरको सम्मानस्वरुप अन्य कार्यक्रम गर्दै आएपनि गत वर्षदेखि लखन कप आयोजना गरेका छौं ।’
दोस्रो लखन कप पालिका स्तरीय महिला भलिब प्रतियोगितामा विजेता हुने टोलीले २५ हजार, द्धितीयले १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ विजेताले ८१ हजार १ सय ८१, द्रोस्रो हुने समूहले ४१ हजार १ सय ४१ र सान्त्वना हुने दुई समूहले क्रमशः १०÷१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल मगर युवा संघ बागलुङका उपाध्यक्ष थापामगरले जानकारी दिए ।
उनका अनुसार लखनकप तथा मगर स्थापना दिवसको अवसरमा सामूहिक खुल्ला लोकनृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । लोक नृत्यतर्फको विजेताले १० हजार, दोस्रो हुने समूहले ७ हजार र तेस्रो हुने समूहले ४ हजार पुरस्कार प्राप्त गर्नेछन् ।





