म्याग्दी/ म्याग्दीको मंगला गाउँपालिका–५,अमर्नको पोक गाउँकी रिक्जना माझीले सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रर्दशन गर्दै चार स्वर्ण पदक दिलाएकी छन् । मंगला माविबाट प्रतियोगितामा सहभागी भएकी कक्षा ८ मा अध्ययनरत माझीले प्रतियोगिताको उद्घाटन खेलमै १५ सय मिटर दौडबाट स्वर्ण पदकको खाता खोलिन् । उनले ३ हजार सय, त्रिपल जम्प र रिले दौडमा स्वर्ण पदक जितिन् ।
खेलमा रिक्जना चम्किँदा विद्यालयले यसपटक पनि सम्रग नतिजामा तृतीय भयो । मंगला माविको ५ स्वर्ण, ३ रजत र १ काँस्य पदमध्ये एक्लै चार स्वर्ण जितेकी माझीले एथलेटिक्स विधाका अन्य खेलमा समेत आफ्नो बलियो प्रदर्शन देखाउन सफल भइन् ।उनले राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा मंगला माविबाट ६ स्वर्ण जितेकी थिइन् ।
एथलेटिक्स विधामा अलराउन्ड रिक्जनाले चरम गरिबीलाई जितेर पदक जितेकी छन् ।चारवटा स्वर्ण पदक जितेर बेनीबाट फर्किएकी रिक्जनाका बुबाआमा बिहान, बेलुकी हातमुख जोड्न अर्काको घरमा मजदुरी गर्छन् । भुईमान्छे भएर संघर्ष गरिरहेका तिलक र विष्णु माझीले जोडेको जग्गाजमिन समेत म्याग्दी नदीको कटानले घरखेत बगाएपछि अहिले सुकुम्बासी जीवन विताइरहेका छन् ।
तिलक दम्पत्तीले दैनिक गर्ने कठोर मजदुरीले समेत परिवार पाल्न धौ–धौ छ । गाउँकै विपन्न परिवारमा हुर्किएकी रिक्जनाले दुख,कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि समान्य अभ्यासबाटै खेलकुद विधामा सफलता प्राप्त गरेकी छन् । मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण समेत रिक्जना बनेकी छन् । चरक गरिबीको भूमरीमा फसेकी रिक्जनाले गाउँघरमा दौडँदा दौड्दै जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा पदक जितेर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र एउटै खेलाडीले धेरै पदक जित्दै पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपका लागि समेत छनोट भएकी छन् ।
रिक्जनाको खुसीका लागि आमाबुबाले बगाएको पसिना र खुसीमा आँखामा बग्ने आँसुको अर्थ मात्र फेरिएको छैन अनुहारमा खुशीको चमक पनि थपिएको छ । उनको सफलताले गाउँपालिका र विद्यालयमा समेतरौनक छाएको छ ।एथलेटिक्सको समूहगत खेलका विधामा रिक्जनाको प्रयासले समेत रजत र काँस्य पदक जोड्न सहज भएको मंगला माविका खेल शिक्षक हर्कबहादुर छन्त्यालले बताए । ‘रिक्जनाले अभावै अभावमा पनि पालिकालाई पदक दिएकी छन्,‘एथ्लेटिक्सकी सुन्दर भविष्य हुन्, अनुभवी प्रशिक्षकको साथ पाए धेरै प्रगति गर्न सक्ने खेलाडी हुन्’, खेल शिक्षक छन्त्यालले भने । हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर आयोजक र अतिथिलाई समेत चकित पारेकी रिक्जनाले पालिकास्तरीय खेलको नतिजालाई जिल्लास्तरीयमा समेतदोहो¥याउ सफल भएको खेल शिक्षक छन्त्यालको भनाइ छ ।
यता खेलाडी रिक्जनाले एलेटिक्स खेलबाटै जिल्लालाई राष्ट्रिय पदक दिलाउने आफ्नो लक्ष्य रहेको बताइन् । यता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएका खेलाडीलाई थप सफलताका लागि स्थानीय तहबाट उच्च प्राथमिकता हुनुपर्ने बताए । उनले स्थानीय प्रतिभाहरूको पहिचान हुने,उनीहरूको प्रतिभा निखार्दै भविष्यमा एउटास्तरीय खेलाडी उत्पादन गराउन स्थानीय तह, जिल्ला र प्रदेशबाट आवश्यक बजेट, तालिम र अन्य सुविधाका लागि निरन्तर लाग्ने बताए । खेलाडीको क्षमता र सफलताको आकार अनुसारको साथ पाएमा मात्रै खेल क्षेत्रमा रिक्जना जस्ता खेलाडीलाई टिकाउन र बिकाउन सकिने खेलकुद क्षेत्रका जानकार बताउँछन् ।





