फेवातालको जस्तो दुर्दशा भोग्न तिमी अभिषप्त छैनौ– फोक्सुण्डो । हिमालको काखमा तिमी निस्फिक्री रमाइरहेकी छ्यौ । उता शहरमा फेवाताल निस्सासिएर बाँचेकी छे ।
हिँड्दा सासै फुल्ने ठाडो उकालो बाटो । त्यहीँ उकालोमा मेरा पैतालाहरु फोक्सुण्डोको एक झल्को हेर्न हतास कुदिरहेका थिए । पैतालाभन्दा बढ्ता त मेरो मन नै कुदिरहेको हुँदो थियो । कति बेला डाँडामा पुगेर फोक्सुण्डो झुलुक्क हेरौं, मनले यही मात्र बोलिरहेको थियो ।
विस्तारै आकाशबाट सेता कपासका भुवा झैं हिउँ भुइँमा खस्न थाले । वरपरका डाँडाहरु छिनभरमा नै हिउँले ढाकिएर सेताम्य भए । मेरो मन पनि खुसीले ढपक्क फुलेर आयो । एकछिन त त्यहीँ झरिरहेका हिउँ नियाल्दै एक्लै एक्लै रमाइरहेँ । नाँचिरहेँ ।
‘कतै पनि दाहिने बाटो नसमात्नू । मुलबाटो छाडी देब्रे बाटो समातेर काँडे झ्याङ छिचोल्दै माथि डाँडामा निस्किनू है भाइ,’ पोलाम गाउँ कटेर उकालो लाग्दा एक जना दाइले मलाई बाटो सुझाएका थिए । हुन पनि दसैंको झरीले सुलिगढदेखि फोक्सुण्डो ताल पुग्ने बाटो धेरै ठाउँमा अवरुद्ध भएको थियो ।
गोरेटो छेवैमा बगिरहेको निराकर सुलिगढ नदी । ओरालो लागिरहेको सुलिगढ र उकालो लागिरहेको म, दुई दिनको पदयात्रामा हामी साथी थियौं । नदीलाई भेरी भेट्ने हतार थियो भने मलाई फोक्सुण्डो हेर्ने रहर ।
सुलिगढ नदीको जन्मथलो हो फोकसुण्डो ताल । रिङ्मो गाउँ छाडेर ओरालो लागेको नदी ठुलो झरना बनेर पहाडबाट झर्छ । झरनालाई दाहिने पारेर भीरै भीरमा खोपिएको बाटो समातेर रिङ्मो पुगिन्थ्यो । तर, हप्ता दिनको अविरल झरीले ठाउँठाउँमा हिड्ने गोरेटोको नामोनिसान थिएन । झरना चियाउने भ्यू टावरबाट यी सब मैले चिहाएँ ।
टावरको भुइँ टेकिनसक्नु थियो । असरल्ल फालिएका फोहोर देख्दा नमज्जा लाग्यो । नेपालीहरुले जहाँ पनि आफ्नो परिचय दिन भुल्दैनन् है ? मनमनै सोचेँ ।
यहाँबाट तेर्पाइँ तेर्पाइँ हिँडे । आधा घण्टामा फोक्सुण्डो छेवैको रिङ्मो गाउँ पुगिन्थ्यो तर पहिरोले बाटो लगिदिएकाले मेरो बाटो फेरो प¥यो । काँडे झ्याङ छिचोल्दै अर्को आधा घण्टामा सानो थुम्कोमा पुगेँ । त्यहाँ लामो सुरिलो खम्बामा राष्ट्रिय झण्डा फर्फराइरहेको थियो ।
आँखालाई पत्यार लागेन । त्यहाँबाट पूर्वतिर पुलुुक्क हेर्दा मैले देखेँ – निराकार फोक्सुण्डो ताल । यति सुन्दर ताल आजसम्म कहिल्यै देखेको थिइन । झोला बिसाएरै एक टक ताल नियालेँ । तालकै किनारमा पुग्नुछ भने किन यहाँ भुलिरहने ? त्यसैले अबेर नगरी बाटो समाए र रिङ्मो पुगेँ । मेरो बास भयो रिङ्गोमा रहेको से–फोकसुण्डो राष्ट्रिय निकुञ्जको रिङ्मो पोष्टमा । राति हरेक पल्ट ब्युझँदा हिउँ प¥यो कि भनेर म झ्यालको पर्दा उघार्दै हेर्थेँ । कतिबेला निदाएछु, पत्तै भएन ।
……
बिहानै सबेरै आँखा उघारिए । हतपत्त तात्तातो चिया पिएर म फोक्सुण्डो ताल किनार कुदिहालेँ । बोर्डमा ठूलो अक्षरले लेखिएको थियो, ‘तालबाट एक सय मिटर क्षेत्रमा कुनै पनि अस्थाथी टहरा बनाउन वा क्याम्पिङ गर्न निषेध छ ।’ यतिमात्र नभइ त्यस क्षेत्रमा कुनै पनि जनावर (घोडा, खच्चर आदि) लाई चरण गराउन वा बाँधेर राख्न नपाइने नियम रहेछ ।
झल्याँस्स सम्झिन पुग्छु, पोखरा महानगरपालिकाको २०७८ चैत १६ गतेको त्यो निर्णय । त्यही दिन फेवातालको मापदण्ड ६५ मिटरबाट घटेर ३५ मिटर निर्धारण भएको थियो । सर्वोच्च अदालतले फेवातालको क्षेत्र ६५ मिटर कायम गरेर त्यसभित्र पर्ने सबै संरचना हटाउन २०७५ वैशाख १६ गते ती तहकै सरकारका नाममा आदेश दिएको थियो । अनाधिकृत संरचनाहरु भत्काइनुको सट्टा उल्टै महानगरले आफैँले गठन गरेको अध्ययन समितिले सर्वोच्चको फैसला विपरीत गएको चैत १६ गते मापदण्ड घटाउने निर्णय ग¥यो ।
यस पछाडि छुट्टै राजनीतिक चलखेलहरु पक्कै भएका थिए । गैरकानुनी रुपमा तालको भूभागहरु मिचेर कैयौं तारे होटलहरु, रेष्टुरा र भिल्लाहरु निर्वाध रुपमा सञ्चालनमा छन् । ती अवैध संरचनाहरुलाई भत्काउनुको सट्टा उनीहरुलाई संरक्षण दिँदै उल्टै तालको मापदण्ड ३५ मिटर कायम गर्यो महानगरले । ती व्यवसायी, होटल तथा भिल्ला सञ्चालकहरुको नगरपालिकासँगको साठगाडले फेवातालको अस्तित्व नै संकटमा पारेको छ ।फोक्सुण्डो किनारमा आएका ससाना छालहरुले म झस्किएँ ।ताल यति निलो र सफा थियो कि तालको पिधँ नै किनारबाट प्रष्ट देखिन्थ्यो । पानी पनि उस्तै कञ्चन । अञ्जुली भरेर प्यास मेटुँ झै लाग्ने ।
…….
एकल कर्णाली पदयात्राको बीसौं दिनमा म फोक्सुण्डो आँगनमा निस्फिक्री रमाइरहेको थिएँ । मुस्ताङको कागबेनीबाट सुरु भएको मेरो पैदलयात्रा फोक्सुण्डो किनारमा सुस्ताइरहेको थियो ।
नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज से–फोक्सुण्डोको मुटु हो यो ताल । विश्व रामसर क्षेत्रमा सूचीकृत यस ताल नेपालकै गहिरो ताल मानिन्छ । काञ्जीरोवा हिमश्रृखंलाको काखमा अवस्थित यो तालले कसलाई पो मोहनी लगाउँदैन र ? तालमा पर्ने सूर्यको प्रकाशको मात्राले दिनमै कैयौं पटक तालले रंग बदल्छ । त्यहीँ रंगसँग रंगिन म पनि आतुर थिएँ । त्यसैले अझै दुई दिन फोक्सुण्डो कै काखमा रमाउने निधो गरेँ ।
अजंगका पहाडहरुले घेरिएको फोक्सुण्डो साघँुरिएर परपरसम्म फैलिएको हुनुपर्छ, मैले अड्कल लगाएँ तर तालको प्यानारोमिक भ्यू हेर्न यहाँबाट सम्भव थिएन । सोचेँ, माथि डाँडाबाट तालको सुन्दरता नियाल्दा कस्तो देखिँदो हो ?
मोबाइल झिकेर गुगल म्यापमा तालको नक्सा हेरेँ । अंग्रेजी अक्षर ‘वाइ’ आकारको ताल चियाउन यहाँबाट डेढ कि.मी. उकालो लाग्नु पर्नेरहेछ । मलाई त्यही नक्साले लोभ्यायो ।
करिब छत्तीस सय मिटरको उचाइमा रहेको तालको पुर्वी किनार हो, छोलफु । यही किनारबाट उकालो लागेर सालघारी हुँदै उपल्लो डोल्पाको पदयात्रामा धेरै पर्यटकहरु निस्किन्छन् । दोस्रो रात त्यही छोलफुको किनारमा रात काट्ने योजना बुनेँ । त्यहीँ अनुरुप बन्दोबस्त गर्न म कोठातिर लागेँ ।
बिहानको खाना खाएर रिङ्मो छाड्दा ११ बजेको थियो । चिसो बतासले घरको छानामा झुन्डाइएका तिब्बती लुङ्दा जोडजोडले फर्फराइरहेका थिए । मनमा छुट्टै प्रकारको शान्तिको अनुभव मिल्यो ।
पारिलो घाम लागेपनि चिसो सिरेठो चलेको थियो । तालको देब्रे कुनाको बाटो समाएर म अघि बढेँ ।
कति ठाउँमा भित्तालाई खोपेर त कति ठाउँमा काठका फल्याकहरु तेस्र्याएर बनेको बाटो हिँड्दा अलिकति डर र अलिकति रोमाञ्चक अनुभव मिसिएको थियो । साँघुरा बाटामा भारीले भरिएका खच्चर वा घोडा भेटिए, के हुँदो हो ? म मनमनै सोच्थेँ र छिटोछिटो पाइला चाल्थेँ ।
जति पाइला अघि सर्दै गयो, उति विशाल फोक्सुण्डोले मन लोभ्याउँदै जान्थ्यो । मनमा लागिरह्यो, यो दृश्य कहिल्यै नसकियोस्, अर्थात यो बाटो कहिल्यै नटुंगियोस् । करिब आधा घण्टाको बाटो हिँडेपछि आइपुग्यो उकालो ठाडो बाटो ।
गह्रौ झोला त्यसमाथि उकालो बाटो । स्याँ स्याँ र फ्वा फ्वाँ गर्दै धिमे गतिमा पाइला सार्दै गएँ । शरीरको थकान पछाडि फर्केर ताल नियाल्दा हराइजान्थ्यो । थकान मात्र हैन, सबथोक बिर्साउने मादकता तालसँग थियो ।
तालको वरपर संरचनाहरु नभएरै फोक्सुण्डोको सुन्दरता अझै जीवित छ, म आफैँसँग बोलेँ । गोरेटो पनि सफासुग्घर थिए । हिँड्ने बाटामा फाट्टफुट्ट मात्रामा फोहोर भेटिए । तालमा मिसिने न ढलहरु थिए न नालाहरु नै । मात्रा थिए हिमालको कोखबाट पग्लिएर बगेको हिउँको पानी बग्ने स–साना खोल्साहरु ।फोक्सुण्डो चियाएर म मन्त्रमुग्ध बनेँ । ताल सफा रहन त्यहाँका स्थानीयको मन पनि सफा हुनुपर्दो रहेछ, मनमनै लाग्यो । अनि आँखामा फेवातालको टिठलाग्दो दृश्य घुम्न थाल्यो ।
……
कञ्चन पानीको खोला फेवातालमा नमिसिएको वर्षौं भयो । सफा पानी पिउने फेवाको प्यास अझैै मेटिएको छैन । डुङ्डुङ्ती गनाउने ढल र घरघरबाट निस्किएको फोहोर सिधैँ तालमा मिसिँदा निस्सासिएको फेवातालले व्यथा सम्झिन्छु अनि फोहोरी मानसिकता बोकेर ताललाई एकोहोरो दोहन गरिरहेका ती मानिस भनौँदाहरु । जति वर्षदेखि फेवा हडपेर बिलासी जीवनमा मानिसहरु रमाउन थाले, त्यति नै वर्ष भयो फेवाले चैनको सास नफेरेको । उति नै समय भयो फेवाले आफ्नो सुन्दरता गुमाएको । फेवालाई कुरुप बनाउने मानिसहरु अनेक देखावटी खोल ओढेर संरक्षणका नाराहरु फलाकिरहे । फेवाताल खुम्चिरह्यो ।
विभिन्न समयमा गरिएका अध्ययनहरुले फेवातालमा विभिन्न हानिकारक रसायन पर्दाथको मात्रामा अत्याधिक वृद्धि भएको देखाउँछ । तालमा आश्रित माछा, चराचुरुङ्गी लगायत अन्य जीवजन्तुमा परेको असरको कुनै लेखाजोखा छैन । यसले पर्यावरणमा पुगेको क्षतिको कुनै मूल्यांकन छैन ।
वर्षेनी तालको क्षेत्रफल मात्र खुम्चिएको छैन, यसको गहिराइ पनि घट्दो छ । यहीँ रफ्तारमा फेवा अतिक्रमण, अव्यवस्थित ढलको उचित निकास एवं फेवा मुहानमा बाढी पहिरो नियन्त्रण गर्न नसकिए, डेढदेखि दुई सय वर्षमा फेवातालको अस्तित्व सदासदाका लागि हराएर जाने विभिन्न अध्ययनहरुले देखाउँछ । अनि मन नराम्ररीे निमोठिन्छ, फेवा किनारमा झुन्डिएको साइनबोर्ड पढेर ‘नो मोर लेक, नो मोर लेकसाइड’ ।
……..
उकालो उक्लेको आधा घण्टामा फोक्सुण्डो चियाउने तल्लो भ्यू पोइन्ट पुगेँ । चिटिक्क परेको काठले बनेको त्यस भ्यू पोइन्टले मेरो मन तान्यो । म त्यतै सोझिएँ । झोला बिसाएर तातो कफी पिउँदै फोक्सुण्डोसँग बात मार्न थाले । ‘फेवातालको जस्तो दुर्दशा भोग्न तिमी अभिषप्त छैनौ– फोक्सुण्डो । हिमालको काखमा तिमी निस्फिक्री रमाइरहेकी छ्यौ । उता शहरमा फेवाताल निस्सासिएर बाँचेकी छे । तिम्रो यो सुन्दरता अजम्बरी रहिरहोस् । तिम्रो रुपले मोहनी लगाएर मानिसलाई फेवा संरक्षण गर्न प्रेरणा मिलोस् ।’
एकछिन थकान मारेर मैले फेरि पाइला सारेँ । उकालो सकिने छाँटकाट छैन । बेस्सरी हावा चल्दा माथिबाट ढुंगाहरु खस्थे । एकपटक त झण्डै ढुंगाले लागेन । केही सेकेण्डले मात्रा म उम्किएँ ।
जति उक्लिदै गएँ, तालको बृहत रुप देखिदै गयो । दोस्रो भ्यू पोइन्टबाट विस्तारै ओरालो लागेपछि एक घण्टामा तालको पुर्वी किनार पुगेँ । यहाँ न घरहरु थिए, न कुनै होटल नै । ताल किनारमा टेन्ट टाँग्न म कस्सिएँ । बेतोड चलेको हावाले टेन्ट उडाएर लगिदिन्थ्यो । धेरैपछिको प्रयासपछि मात्रा टेन्ट टाग्न सफल भएँ ।
घाम अस्ताइसकेको थियो । चिसो अत्याधिक थियो । तातो चिकन सुप र चाउचाउ उमालेर ज्यान तताएँ । पिटर म्याथिसनको ‘दि स्नो लियोपार्ड’ को केही पानाहरु पढेँ । टेन्ट उघारेर हेर्दा जे देखेँ, त्यसले बाहिर निस्किन बाध्य बनाए ।
न्जिकै देखिने सेताम्य हिमालहरु जूनको प्रकाशमा टिलिक्क टल्किएका थिए । हिमाल माथि चम्किरहेका ताराहरुको त के वर्णन गरु ? तालका छालहरु किनार आएर मत्थर हुन्थे । यो सब म धीतमरुन्जेल नियालिरहेँ ।
भौगोलिक विकटताले फोक्सुण्डो तालको सुन्दरता चियाउन अझै धेरैले पाएका छैनन् । यसलाई पर्यटकीय गन्तव्यका रुपमा ब्रान्डिङ गर्नु जरुरी छ तर साथैमा तालको सौन्दर्यता बचाइरहन अर्को चुनौती थपिनेछ । फेवातालको जस्तै दुर्गति फोक्सुण्डोले भोग्न नपरोस् । फेवातालको संरक्षण र फोक्सुण्डोको प्रचारप्रचार सँगसँगै लान सकिए, कति गज्जब हुँदो हो ? म एकोहोरो घोत्लिरहन्छु ।




