‘जहाँ विधि चल्दैन, त्यहाँ थप्पड चल्छ ।’
नेपालको राज्य प्रणालीको निर्वस्त्र चरित्र हो यो । घर–बारीको बाँझो फुटाएर किसानी गर्छु भन्नेलाई विचौलियाले चुस्छ, केही उद्यम गर्छु भनी दौडधूप गरिरहेकालाई वित्तिय संस्थाले पजल खेलाए झै खेलाउँछ, कुनै कागजी प्रक्रिया मिलाउन भनी अड्डा धाउनेलाई सरकारी कर्मचारीले प्रक्रियामै अल्झाइरहन्छ, केही नलागेर श्रम बेच्न विदेश जान्छु भन्नेलाई दलालले फनफनी घुमाइरहन्छ ।
उपाय नास्ति भएपछि के हुन्छ ? क्रोधको जन्म हुन्छ । र क्रोधको सबैभन्दा तोडिलो भाषा हो, थप्पड । भलै ‘थप्पड’ विधिसम्मत् जवाफ होइन । तर, विधि नै बिग्रिएपछि त्यहाँ अरु प्रक्रियाहरु लाचार बन्छ । अनि थप्पडको ध्वनि चर्को हुन्छ ।
‘थप्पडदेखि थपडीसम्म’को मनोसामाजिक उद्वेग र औचित्य खोजीमा फन्को लगाउँछ, प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा–४’ ।
दीपकराज गिरी र दीपाश्री निरौला कृत ‘छक्का पञ्जा’को अघिल्लो शृंखला झै यसमा पनि हास्य-विनोदको कथानक विस्तार गरिएको छ । सन्देह रहेन, चलचित्रको मूल धरातल राजनीति र राज्य संयन्त्र नै हो । तर त्यसको आयम भने पारिवारिक बिकार, वदला र विचलनमा तन्किएको छ ।
अब लागौं यसको कथातर्फ ।
चलचित्रको कथानक परिदृश्य पञ्चायतकालिन ग्रामिण समाजबाट हुन्छ, जहाँ निर्भय सिंहको राजनीतिक रफाव छ । त्यसैको बलमा उनले आफुलाई समाजको केन्द्रमा राखेका छन् नै, व्यक्तिगत लाभका लागि छक्का-पन्जा पनि चालु राखेका छन् । जस्तो, गोबरगणेश छोरोलाई एसएलसीमा किर्ते परीक्षाबाट सर्वोत्कृष्ट बनाउनु ।
यस्तै पारिवारिक पृष्टभूमिमा हुर्किएका छोरो दिग्विजय सिंह स्वभावतः गुण्डागर्दीमा लीन छन् । उनको यो अराजक शैली आफ्नै पिताको राजनीतिक विरासतका लागि भने खतराको घण्टी बनेको छ ।
अन्ततः यस्तै कलह र अशान्तिबीच पिता निर्भय सिंह अचानक दुर्घटनामा परेर हल न चलका हुनपुग्छन् । यो घटना त्यहीबेला हुनपुग्छ, जब उनी एकीकृत निष्पक्ष दलबाट निर्वाचन लड्नै लागेका छन् । आफु थलिएपछि उनले उही उरेन्ठेउलो छोरोलाई उम्मेदवार बनाउँछन् र निर्वाचनको मोर्चामा पठाउँछन् ।
जबकि छोरो दिग्विजय सिंह नेतागिरी र गुण्डागर्दीवीचको भेद छुट्याउन समर्थ छैनन् । त्यसैले उनी आफ्ना मतदातासमक्ष पनि त्यसरी नै प्रस्तुत हुन्छन्, जसरी विगतमा धाक-धम्कीको शैली अपनाउथे ।
त्यही शैलीले गर्दा निर्वाचनमा आफ्नो स्थिति एकदमै फितलो हुने टुंगोमा पुगेपछि बल्ल उनी निहुरिन थाल्छन् । धम्कीको भाषा छाडेर लोभ–प्रलोभनको कथा भाक्न थाल्छन् । यही फर्मुलाले उनको जित हुन्छ ।
उनलाई त लागेको थियो, शक्तिमा पुगेपछि चाहेको र सोचेको कामहरु धमाधम फत्ते गर्न सकिन्छ । तर, कर्मचारीतन्त्र उनले सोचेजस्तो कहाँ सजिलो छ र ? कर्मचारीतन्त्रमा विद्यमान ‘फाइल घुमाउने’ चक्करले उनको मगज नै घुमाउन थालेपछि पो उनको मगज भन्दा बढी हात चल्न थाल्छ ।
हो त्यही थप्पड, जसले उनको राजनीतिक भविष्यलाई दुई कित्तामा विभाजित गर्छ । एउटा, पतन । अर्को, उदय । उदण्ड भएको भनी विरोधी एवं विपक्षीहरुले त्यही ‘थप्पड’को निहुँमा उनलाई निहुरमुन्टे लगाउन चेष्टा गरिरहेका छन्, अर्कोतर्फ त्यहीँ ‘थप्पड’को तोडमा जन–साधरणले उन्मुक्तिको सास फेर्दै उनलाई उचाल्न लागिपरेका छन् ।
मान्छेको मनोविज्ञान के हुन्छ भने, जब कसैले आफुमाथि आशा र विश्वास गर्न थाल्छन् तब उनीहरुप्रति प्रेम र जिम्मेवारीबोध पैदा हुन्छ । सर्वसाधरणले यसरी ‘हिरो’को रुपमा पेश गर्न थालेपछि दिग्विजय सिंहको ब्रम्हाज्ञानले भन्छ, ‘अब तँ वास्तवमै सुध्रिनुपर्छ । अब तैले उनीहरुको पीरमर्काको लागि लड्नुपर्छ, जसले तँमाथि भरोसा गरेको छ ।’
भनिन्छ नि, मान्छे अरुसँग लड्न सक्छ । तर, आफैलाई जित्न कठिन हुन्छ । माननिय दिग्विजयी सिंहको हकमा ठ्याक्कै यस्तै भएको छ । उनको ‘थप्पड’लाई ग्ल्यामराइज्ड गर्ने सूत्रधार बनेकी युट्यबर एलिसासँगको रहस्यमयी सम्बन्धसँगै जीवन चक्र यसरी गुजुल्टो पर्छ, अब त्यहाँबाट फुत्कने कसरी ? उम्कने कसरी ?
जहाँ सत्यको विघटन हुन्छ, त्यहीबाट छक्का पन्जाको खेल सुरु हुन्छ ।
२ घण्टा ३२ मिनेट लामो यो चलचित्रले चलचित्र हाँसो–रोमान्ससँगै वर्तमान राज्य प्रणालीको दुरुस्त तस्विर देखाइदिन्छ । पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म नफेरिएको राज्य संयन्त्रलाई केन्द्रमा राखेर चलचित्र पारिवारिक जीवनभित्र घुस्छ र जात्रा देखाइदिन्छ ।
सिनेमा-साहित्यका सन्दर्भमा एउटा शास्त्रिय भनाई छ, यो समाजको ऐना हो । छक्का पञ्जाको यो शृंखला हेरिरहँदा हामीलाई आफ्नै समाजको आलो-तातो उतारचढाव नियाल्दैछु भन्ने लाग्छ । चलचित्रले मूलत यी कुरालाई आफ्नो अवयवय बनाएको छ ।
१. ‘गणतन्त्र’ भनिने वर्तमान व्यवस्था पनि पञ्चायती राजनीतिको अवशेष हो ।
२. नेपाली राजनीतिमा सिन्डकेट र वंश परम्परा इन्द्रेको बाउ चन्द्रेले पनि तोड्न सक्दैन ।
३. हाम्रो राजनीतिक प्रणाली यति क्रुर, कुरुप र कंक्रिएको छ कि, ‘केही नयाँ गर्छु’ भन्नेलाई पतन गराइन्छ ।
४. राज्य नेता-मन्त्रीले होइन, कर्मचारीतन्त्रले चलाउँछ ।
५.मिडियाले कुनैपनि कुरालाई सत्य र तटस्थ देखाइदिदा त्यसले सुधार र सुशासनमा कुनै न कुनै रुपले टेवा पुग्छ ।
६. सामाजिक सञ्जाल वर्तमान दुनियाँको शक्तिशाली हतियार हो । तर, यसले लगाउने निसाना पछाडि सत्य भन्दा बढी भ्रम हुन्छ ।
सरसर्ती चलचित्र हेरिरहँदा ‘हाइ काड्नुपर्ने’ बाध्यता रहँदैन । साथसाथै कला–शिल्पको सम्मोहनले ‘वाह’ भन्ने स्वतस्फूर्त भाव पनि आउँदैन । सिनेमा कला र यसको व्यवसायिक मूल्यलाई फरक ढंगले बुझ्दा दीपक-दीपाले कतिपय कुरा चुकाउनु परेको छ ।
मूल कथा र मुद्दामा कुनै खोट रहेन । तर, त्यसलाई भन्ने हतारोले दृश्यांशको कलात्मक सौन्दर्य छुट्न पुग्छ । अनि संवाद भारी बन्छ । यस्तो बेला कहिले काहीँ दर्शकलाई ‘सडक नाटक’ हेरेको भान पर्नसक्छ ।
सिनेमाका लागि कथा भन्दा महत्वपूर्ण हुन्छ, त्यसलाई पेश गर्ने ढंग । यसले क्यामेराको कोण, फ्रेमदेखि रंग र पाश्र्वध्वनिसम्म कति ढंग पु¥याएर समायोजन गरिएको छ भन्ने देखाउँछ । सिनेमामा पात्रहरु मात्र अभिनय गरेर पुग्दैन, पृष्टभूमीमा देखिने चल-अचल, चेत–अचेत सबै बस्तु पनि गतिशिल भएमा दर्शकले कथालाई अरु गहिराईमा अनुभूत गर्न सक्छन् ।
समयरेखा र स्थानको तालमेल नहुँदा, चरित्रको मनोविज्ञान र लवजमा स्थायित्व नहुँदा, परिस्थिती र घटनाक्रमको सिलसिला नमिल्दा दर्शक भड्किने ठाउँ रहन्छ । छक्का पञ्जा–४ ले यस्ता थुप्रै कुरामा कसरत गर्न अल्छी गरेको छ ।
तर, कमेडी जनरामा बनेको यत्तिको चलचित्रले मनलाई भारी र दिक्क बनाउँदैन । रमाइलो लाग्छ । माग्ने बुढाले भनेजस्तै, ‘हल्का रमाइलो ।’
चलचित्र : छक्का पन्जा ४
अवधि : २ घण्टा ३२ मिनेट
निर्देशक : हेमराज विसी
कलाकार : दीपकराज गिरी, नीर शाह, दीपाश्री निरौला, केदार घिमिरे, वेनिसा हमाल आदि





