कर्णले सोधे– के म कर्तव्यबाट विमुख हुन मिल्छ ? के तपाईं मलाई धर्म र सत्यको मार्गबाट च्यूत भएको देख्न चाहनुहुन्छ ?’
पाण्डवहरूलाई पाँच वटा गाउँ दिने प्रस्ताव पनि धृतराष्ट्र र दुर्योधनले अस्वीकार गरेपछि युद्ध टार्न लागिपरेका श्रीकृष्ण दुर्योधनका सहयोगी कर्णलाई फकाउने प्रयासमा लागे । उनले कर्णलाई एकान्तमा बोलाएर भने, ‘कर्ण तिमी धेरैले भन्ने गरे जस्तो, सूतपुत्र होइनौ । तिमी त महाराज पाण्डु र कुन्तीका जेठा छोरा हौ; युधिष्ठिरका पनि दाजु । तिमी अहिले पाण्डवको पक्षमा आयौ भने तत्काल हस्तिनापुरको राजा त भई नै हाल्छौ, यो विनाशकारी युद्ध पनि टर्छ । यो ठूलो अवसर हो, सोच !’
तर, विगतमा सूतपुत्र (रथ चालकको छोरो) भनेर सबैले तिरस्कार र घृणा गरिरहेको बेलामा दुर्योधनले आफूलाई साथ दिएको सम्झ्ँदै कर्णले हस्तिनापुरको राजा बन्ने श्रीकृष्णको प्रस्ताव ठाडै अस्वीकार गरे । उनले अत्यन्त कडा तर शिष्ट लवजमा श्रीकृष्णलाई प्रतिप्रश्न गरे, ‘हिजो दुर्योधन एक्लैले मलाई सहारा र सम्मान दिए, आज मेरै भरोसामा तिनले पाण्डवहरूलाई युद्धको चुनौती दिएका छन् । के म उनका ती सबै उपकार भुलेर उनैलाई विश्वासघात गरौं ? हो, मलाई थाहा छ, युद्धमा तपाईंको साथ पाएका पाण्डवकै विजय हुनेछ । तर, त्यसो भन्दैमा म कर्तव्यबाट विमुख हुन मिल्छ ? के तपाईं मलाई धर्म र सत्यको मार्गबाट च्यूत भएको देख्न चाहनुहुन्छ ?’
आफ्नो वचन र कर्तव्यप्रतिको कर्णको यस्तो निर्भीक र कठोर निष्ठाले श्रीकृष्णलाई निरुत्तर बनाइदियो । कर्णको कथनलाई स्वीकार्दै ‘तथास्तु’ भनेर श्रीकृष्ण त्यहाँबाट बिदा भए । महाभारतको युद्धमा पाण्डवकै जित भयो । कर्णले मृत्युपर्यन्त दुर्योधनलाई साथ दिए । मित्रलाई दिएको वचन निर्वाह गरे ।





