पोखरा/ राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधिका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा नविनले अनुज कुमार बास्तोलालाई ६–४, ६–४ ले पराजित गर्दै उपाधीका लागि राजनसँगको भेट पक्का गरे ।
डबल्सतर्फ उपाधिका लागि गोपीबहादुर भट्टराई र सूर्य भुजेलले अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीसंग प्रतिस्पर्धा गर्नेछन् । भट्टराई जोडीले पदम गुरुङ र हुम आलेको जोडीलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा अनुज र नविन जोडीले लोक गुरुङ र राजन पौडेलको जोडीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै फाइनल पुगे ।
प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजारसहित ट्रफी तथा द्वितीय हुने खेलाडीले नगद ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगीको फाइनल खेल आइतबार पोखरा रंगशालामा हुनेछ ।





