पोखरा /कोभिड–१९ को प्रकोपपछि थला परेको नेपाली रंगमञ्चले पुनः लयमा फर्कने संकेत गरेको छ । रंगप्रेमी र रंगकर्मीको गतिशिलताले सकारात्मक संकेत देखिन थालेको हो । यस्ता संकेत देखिएपनि देशैभर पुरानै अवस्थामा फर्कन त्यति सहज भने छैन । किनकि अहिले देशको आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा स्थिरता देखिएको छैन । विभिन्न उतारचढाव आइरहेका छन् । यति हुँदाहुँदै पनि यतिबेला पोखरासहित संघीय राजधानी काठमाडांै र मोफसलका शहरहरुमा समेत रंगमञ्चिय गतिविधि बढ्न थालेका छन् ।
रंगकर्मी राजन खतिवडा कोभिड–१९ ले असर परेको नेपालको नाट्य क्षेत्र पुरानै अवस्थामा फर्कन अझै केही समय लाग्ने बताउँछन् । रंगमञ्चका विभिन्न गतिविधि हुन थालेपनि पहिलाको अवस्थामा यो क्षेत्र पुगिनसकेको उनको भनाइ छ । विभिन्न उतारचढावका कारण रंगकर्मीको नाट्य चेतमा विकास भएकोले अब आउने नाटक फरक खालका हुने विश्वास भने उनको छ ।
देशको सोसियल, पोलिटिकल र इकोनोमिकल सेक्टर धरमर–धरमर भएपछि त्यसको असर सबैतिर पर्छ । रंगमञ्चमा पनि परेको छ । सम्भावना नभएको होइन नयाँ सम्भावना हरेक दिनमा हुन्छ,’उनले भने,‘ अहिले काठमाडौं बाहिर सम्भावना देखाएको छ । काम भएको छ । काठमाडौंमा मण्डला फेरि बन्नु अर्को सम्भावना हो । क्रियटिभ काम कतिको हुन्छ भन्ने अर्को अर्थ हो ।’
यो क्षेत्रलाई सुरक्षित नदेखिएको कारण समेत समस्या भएको उनको भनाइ छ । कोरोना महामारी हुनुभन्दा पहिला रंगकर्मीमा आशा बढी भएपनि अहिले त्यस्तो अवस्था नरहेको उनले बताए ।
उनका अनुसार कोभिडअघि नाट्य क्षेत्रलाई व्यावसायिक हिसाबले सोच्ने एउटा समूह थियो । नाटक गरेपछि जे पनि हुन्छ भन्ने निर्धक्कता थियो । तर, अहिले त्यस्तो छैन । अगाडिको समयभन्दा अव नाटक फरक तथा गम्भीर विचार बोकेर आउने अनुमान पनि उनले लगाए ।
पोखराको रंगमञ्च भने पुरानै अवस्थामा फर्किएको महशुस भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन बताउँछन् । पोखरामा निरन्तर नाटक मञ्चन हुन थालेका छन् । रंगमञ्चिय अन्य गतिविधि पनि भइरहेका छन् । काठमाडौं लगायतका ठाउँमा पहिला भन्दा दर्शकको उपस्थिति कम छ भन्ने सुनिएको भएपनि पोखराको सन्दर्भमा लगभग पहिलाकै अवस्थामा फर्किएको उनको दाबी छ ।
पोखरा थिएटरले गर्दै आएको विद्यालय नाटक महोत्सव कोरोना महामारीको बीचमा समेत नरोकेको उनले सुनाए । ‘महोत्सव निरन्तर गरेका छौं । नाटक मञ्चन भइरहको छ । कोभिड पछाडि सबैभन्दा राम्रो भनेको विद्यालयमा नाट्य क्लास भनेर सञ्चालन भइरहेका छन्,’उनले भने,‘ यो राम्रो संकेत छ । यो वर्ष पोखरामा १३ विद्यालयमा अभिनयको कक्षा सञ्चालन गरिरहेका छौं । नाटक लेखन निर्देशन सम्बन्धी कार्यशाला सञ्चालन भइरहेका छन् ।’
पछिल्लो समय सिनेकर्मीहरुले समेत पोखराका रंगकर्मीहरुलाई प्राथमिकतामा राख्दै आएका छन् । कास्टिङको कुरामा चासो दिएर आइरहेका छन् । यहाँका सबै रंगकर्मीसँग सहकार्य राम्रो छ । उनीहरुसँगको सहकार्य काम भइरहेको छ । केही नाट्य संस्था कोभिड–१९ पछाडि स्थापना भए ।
पोखरा बाहिर मण्डला थिएटरसँग सहकार्य गरेर सुनकेशरी नाटक मञ्चन भयो । रातो बंगला र कथा घेराले धुमधामको घुमघाम नाटक मञ्चन ग¥यो । अन्य पोखरा बाहिरका टिमसँग सहकार्य भैरहेको छ । यहीं बीचमा पोखिरा थियटरले नाटक लिएर नवलपुरमा एक चिहान मञ्चन ग¥यो ।
परिवर्तन थिएटर झापाको कला संयोजक कविता नेपाल भने कोभिड–१९ पछि त्यहाँको नाट्य क्षेत्रमा असर परेको बताउँछिन् । ‘कोभिड–१९ पछि सबै रंगकर्मी पलायन भएको अवस्था रह्यो । केही काम गर्न सक्ने अवस्था पनि भएन । त्यसपछाडि हामीले इनडोर रुपमा रंगमञ्च भनेर मञ्च भित्र काम गर्न सकेनौँ,’उनले भनिन्,‘ बाहिर चाहिँ फोरम थिएटर भनेर प्रोजेक्टवाइज हामीले काम गरिरहेका छौं । अब नयाँ वर्षदेखि एउटा नयाँ नाटकको निर्माण तयारी हुँदैछ ।
उनका अनुसार मेचीनगर भारत र नेपालका रंगकर्मी भेट हुने बोर्डर एरियाको ठाउँ हो । कम्तिमा यो ठाउँलाई राम्रोसँग कलाको क्षेत्र बनाउने नगरको सम्पत्ति हो भन्ने सोच हुन्छ भने व्यववस्थित तरिकाले संरक्षण गर्न जरुरी भएको पनि उनले सुनाइन् ।
बुटबलका रंगकर्मी सुरेश सापकोटा त्यहाँ पनि रंगमञ्चिय गतिविधि हुन थालेको सुनाउँछन् । कोरोनाभन्दा अगाडि रंगमञ्चिय गतिविधि खासै नहुने गरेको भएपनि कोरोनाकै समयबाट आफूहरुले काम थालेको बताए । अहिले यो क्षेत्रमा सकारात्मक संकेत देखिएको उनले सुनाए ।
‘कार्यशाला गरिरहेका छौ । २, ३ वटा यहींको उत्पादन मार्फत स्टेज प्ले पनि भइसक्यो । ३, ४ वटा नाटक काठमाडौंबाट ल्याएर मञ्चन गरियो ।बुटबलबाट नजिकको जिल्ला अर्घाखाची, गुल्मीमा सडक नाटक लिएर जाने काम भइरहेको छ,’उनले भने,‘ यहाँ कोभिड अगाडि र पछाडि भनेर तुलना गर्न मिल्दैन । किन मिल्दैन भने हामीले काम सुरु गरेको कोभिड कै टाइममा थियो । जे काम भइरहेको छ अहिले भइरहको छ ।’
उनका अनुसार वागेश्वरी संगीतालय म्यूजिक आर्टलगायतको क्षेत्रमा काम गर्ने संस्था थियो । थिएटरमा काम गर्ने इच्छा भएका व्यक्तिहरु भेला भएर सोही संस्थामा एउटा नयाँ विधाको रुपमा नाटक थपिएको हो । ‘सामाजिक मुद्दा रंगमञ्चको माध्यमबाट आउन् भन्ने रहर हो । जसको आवाज कथा आइरहेकको छैन उहाँहरुको कथा आहोस् नयाँ नयाँ दृष्टिकोण आहोस् भन्ने नै हो,’उनले भने,‘ अहिले संकेत ठिकै देखिएको छ । शैक्षिक माहोल राम्रो भएकोले विद्यालयसँग मिलेर काम गर्ने गरेका छौं । एउटा नाटक १२, १५ दिन चल्ने गरेको छ । ’





