गणेशबहादुरहरुलाई ‘सिरीधना’ पानीजहाजको दुईहप्ते यात्रा क्रममा नौलो गरौँ भन्ने सोच पलायो अनि नौलो तारा जन्मियो ।
८० वर्ष लागेका गणेशबहादुर गुरुङको जन्म लमजुङ जिल्लाको क्व्होंलासोथार गाउँपालिका ६ मा भएको हो । उनलाई मनपर्ने खेल फुटबल हो । जवानीमा फुटबल खेलें । अहिले पनि समय मिल्दा फुटबल खेल हेर्न रुचाउँछन् । बाल्यकालमा उनलाई खेलप्रति रुचि भएन । खेल खेल्ने समय पनि कहाँ मिलोस् ? गाई भैंसी चराउने,घाँस–दाउराले छाडे पो ! त्यसो त, त्यो बेला गाउँमा फुटबल नै कति पो खेलिन्थ्यो र ?
२०१६ सालको तिहारमा मावली गएको समयमा ‘गल्लाहरु’ले उनलाई भेटे । जीन्दगीको यात्राले नयाँ मोड लियो । हातमा बाँसको लौरो, टेप र कापी लिएका तीनजनाले बोलाएर भने ‘मंसिरमा पोखरा आउनू’ । त्यसपछि मंसिरमा उनी पोखरा आए । पुरानो एयरपोर्ट नजिकै मानिस जम्मा हुँदै थिए । त्यहाँबाट २८ रुपैयाँको टिकट काटेर भैरहवा लागे । भर्ती भए । मलाय लगियो । सुगाइवेसी पुगे । पल्टनमा त्यतिबेला भलिबल, बास्केटबल, दौड, स्विमिङ पनि खेलिन्थ्यो । तर, उनको ध्यान फुटवलतर्फ मोडियो । खेल्न थाले ।
मलाय लाहुरमा गएका विभिन्न सैनिक समूहलाई दुई पटक गरेर छुट्टीमा पठाइथ्यो । अप्रिल, मे र जुनमा एकपटक । जसलाई चौथो छुट्टी भनिन्थ्यो । अगष्ट, सेप्टेबर र अक्टुवरमा अर्कोपटक । यसलाई आठौं छुट्टी भनिन्थ्यो । यसरी छुट्टी आउँदा सिंगापुर ट्रान्जिट क्याप्प नेपाल पार्कमा बिग्रेड अफ गोर्खाको छुट्टीमा जानेहरु जम्मा गरी पानीजहाजमार्फत् कलकत्ता ट्रान्जिट क्याम्पको लागि प्रस्थान गरिन्थो ।
सिंगापुरदेखि कलकत्ता ब्यारेकपुरसम्मको यात्रा १४–१५ दिनको हुन्थ्यो । चौथों छुट्टीमा आउने क्रममा गणेशसहितका सैनिकले पानीजहाजको डिकमाथि बसेर नेपालमै केही नौलो काम गर्नेबारे गम खाए । छलफलपछि नेपालमा त्यसबेला कमै खेलिने खेल फुटबल खेल्ने र खेलाउने योजना बन्यो । नेपाल आइपुगेपछि मनोरञ्जनको लागि पोखरामा फुटबल खेलको प्रदर्शन गर्ने र त्यसका लागि एक क्लबको परिकल्पना गरी नाम ‘नौलो तारा’ राख्ने निर्णय गरियो । यसरी ‘सिरीधना’ पानी जहाजमा दुई हप्ताको गफले जन्मायो ‘नौलो तारा’ ।
नेपाल आएपछि २०२० साल साउन ६ गतेका दिन सोल्डर बोर्ड हाइस्कूल (हालको अममरसिंह मावि)को पिपलबोट प्राङ्गणको ग्राउण्डमा फुटबल टिम स्थापना गरियो । टिम क्याप्टेन लालकाजी गुरुङ थिए भने संयोजक गणेशबहादुर गुरुङ । यसैगरी गोरे पुन, धनबहादुर गुरुङ, श्यामलाल गुरुङ, रेशम गुरुङ, बुद्धिबहादुर गुरुङ, पुर्ण थापा, रुद्र प्रधान, पूर्णबहादुर पुन, गोपाल गुरुङ, भेगलाल गुरुङ, गमबहादुर गुरुङ, गुञ्ज गुरुङ, गंगाप्रसाद गुरुङ, बखन दुरालगायत टिममा रहेका थिए ।
पहिलो खेल हेर्न चौरभरी भरिभराउ भएका दर्शकको हौसलाले खेलाडीलाई आफ्नो योजना सही र आवश्यक रहेको भान भयो । अनि एकपछि अर्को खेलहरु हुन थाले । हालको जस्तो सर्वसुलभ सञ्चार सेवा नभएको समयमा धेरै दुःख गरी चिठीपत्र र मौखिक समाचारको भरमा हरेक कार्यक्रम सञ्चालन गरिन्थ्यो । त्यसै कारण कहिले पूर्ण, कहीले अपूर्ण जस्तो कार्यक्रम हुन्थ्यो । जे होस्, त्यतिबेला यो कार्यक्रमले फुटबल खेलमा केही रौनकता थप्यो ।
चौथोछुट्टीमा आएका फिर्ता हुँदै गर्दा खेलको जिम्मा आठौं छुट्टी आएकाको काँधमा आउँथ्यो । आउने जाने र खेल खेल्ने क्रममा २ हजार जनाभन्दा बढी लाहुरे खेलसँग जोडिए । ‘जसले गर्दा कहीले एकदम सशक्त टिम बन्थ्यो,कहिले ठीकै टिम बन्थ्यो । सबैजना एकैपटक भेट्न सम्भव नभएको कारण नौलो ताराबाट फुटबल खेलेका सबैको सबैसँग चिनजान भने हुने थिएन,’गणेशबहादुरले ती दिन सम्झँदै भने ।
लालकाजी गुरुङ, गणेशबहादुर गुरुङ, पूर्ण थापा, डम्बर गुरुङ, कृष्ण आले जस्ता खेलाडी एकै समयमा छुट्टी पर्न आएमा टिम सशक्त बन्थ्यो । यस्तो टिमले राष्ट्रिय तथा क्षेत्रीय टिमसँग पनि प्रतिष्पर्धा गर्न पुग्थ्यो । खेल खेल्ने क्रममा नौलो तारा क्लबका खेलाडीहरुले नेपाली सिमा जोडिएको इन्डियाको पटना, कुनाघाट, दार्जलिङ, भुटन, सिक्किम, गोरखपुर तथा नेपालका विभिन्न जिल्लाका क्लबहरुमा प्रतिष्पर्धा गरी मेडल तथा पुरस्कार जित्न सफल भए । कहिलेकाहिँ इन्डियन आर्मी तथा सिभिलहरु समेत नौलो ताराबाट सहभागी हुन्थे । जनकपुर चुरोट कारखानाले प्रायोजन गरेको शिल्ड, राजाको जन्मोत्सवमा आयोजना हुने कपसहित केही महत्वपूर्ण पुरस्कार समेत उनीहरुले जिते । नौलो ताराका केही खेलाडीले राष्ट्रिय टिमबाट पनि खेले ।
त्यतिबेला गोर्खाली फौजको २ जिआर, ६ जिआर, ७ जिआर र १० जिआर पल्टनलाई मलाया लगिएको थियो । ती पल्टन पुगेपछि फेरि गोर्खा इञ्जिनियर, गोर्खा सिग्नल, गोर्खा ट्रान्सफर रेजिमेन्ट गोर्खा पल्टनबाटै छनोट गरियो । यसैगरी गोर्खा कम्पनी, गोर्खा प्यारा कम्पनी बोर्डर स्क्वाडमा लगियो । गणेश रोयल इञ्जिनियरमा रहेका थिए । जब मलाया मिसन पूरा भयो, मलायलाई गोर्खाली सैनीकहरु नचाहिने भयो । त्यसपछि केहीलाई नेपाल फिर्ता पठाइयो । केही गोर्खालीलाई हङकङ लगियो । हङकङमा गएका ब्रिटिश आर्मीहरु हवाइजहाजबाट आवत जावत गर्न थाले । हवाइजहाजबाट थोरै संख्यामा आउँदा टिम पुग्थेन । जसको कारण नौलो तारा पहिलाको जस्तो रहेन । बिस्तारै सेलायो । खेलाडीहरु पनि तितरबितर भए ।
यसरी सेलाएको नौलो तारालाई पुनः जगाउने सपना गणेश लगायतकाले गरे । उनी संरक्षक बनेर पटक–पटक छलफल गरियो । गणेशबहादुर कास्की जिल्ला आसपासका आफ्ना साथीहरुलाई जम्मा पारेर बेला–बेलामा छलफल चलाउँथे । रहर मरेको छैन । तर उमेर ढल्कँदै गएकाले उनले त्यो जिम्मा पछाडिका पुस्तालाई सुम्पेका छन् ।
सपनाले मूर्तरुप लिएको छ । स्थापनाको ६० औं वर्षगाठसँगै पूर्वखेलाडी थेबहादुर गुरुङको अध्यक्षतामा नौलो ताराको पुनर्गठन भएको छ । थे इण्डियन आर्मीबाट रिटायर्ड हुन् । क्लबको संरक्षकमा गणेश छन् । औपचारिक रुपमा दर्ता नभए पनि ‘नौलो तारा’ नामप्रति गणेशलाई अगाध माया छ । ‘यही नाममा फुटबल क्लब स्थापना गरेर नेपालकै चर्चित फुटबल क्लब बनाउने धोको छ,’उनी सुनाउँछन्,‘ यहीं नाउँमा गण्डकी प्रदेशको फुटबल टिम बनाउन सके झन राम्रो ! नौलौ तारामा रहँदा गणेश अग्रपंक्तिका खेलाडी थिए । २०४० मा सन्यास लिएका उनले सोही वर्ष २ गोल गरेका थिए । हालसम्म कति गोल गरेँ भन्ने उनीसँग रेकर्ड छैन । चियामा पाउरोटी डोबेर खेल खेलेको उनले अझै भुलेका छैनन् ।
हाल युकेमा बस्दै आएका उनी गण्डकी प्रदेशको सशक्त फुटबल टिमको रुपमा नौलो तारालाई अगाडि बढाउनुपर्ने बताउँछन् । अहिले नेपालमा विभिन्न क्लबलाई प्रायोजन गर्ने क्रम चलिरहेको छ । यस्तोमा इतिहास बनाएको नौलो तारालाई पुनः सक्रिय बनाउने रहर पालेको पोखरामा भेटिएका संस्थापक संयोजक गुरुङले सुनाए । फुटबल क्लबहरुमा लगानी गर्ने क्रम बढ्दै गएकोले आफ्नो सपना पूरा हुने उनको विश्वास छ ।
तस्विर : राजाराम पौडेल





