सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एसिसी प्रिमियर कप : नेपालले ओमानलाई ८४ रनले हरायो

एसिसी प्रिमियर कप : नेपालले ओमानलाई ८४ रनले हरायो


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८०, शुक्रबार

काठमाडौं/ नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै एसिसी प्रिमियर कप प्रतियोगितामा लगातार दोश्रो जित पाएको छ । जितका लागि ५० ओभरमा ३११ रनको लक्ष्य पाएको ओमान ४६ ओभर ३ बलमा २२५ रनमा अलआउट भएपछि खेल नेपालले ८४ रनले जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको घरेलु नेपालले ८ विकेट गुमाएर ३१० रनको विशाल स्कोर तयार पारेको थियो । दोश्रो ब्याटिङ गरेको ओमानले सबै विकेट गुमाएर जम्मा २२६ रनमात्र बनाउन सक्यो ।

ओमानका लागि ओपनर जतिन्दर सिंहले १५ रन बनाए भने अर्का ओपनर काश्यप प्रजापतिले २५ रन बनाए । यसैगरी आदील सफिक १३ रनमा‚ कप्तान जिशान मक्सुद शून्यमा आउट भए ।

ओमानका लागि मोहम्मद नदीमाले सर्वाधिक ६५ रन बनाए भने सन्दीप गौडले ४६‚ आयान खानले २९ र फैय्याज बटले १९ रनको योगदान गरे। अकिब इलियास रिटायर्ड आउट भए ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले ३र३‚ दीपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले ​एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर गरेको थियो ।

नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । ६४ बल खेलेका उनले १० छक्का र ९ चौकाको सहयोगमा १ सय ८ रनको महत्वपूर्ण योगदान गरे। युवा अलराउण्डर कुशलको एकदिवसीय क्रिकेटमा यो पहिलो शतक हो । सोमपाल कामी ६३ र करण केसी २९ रनमा अविजित रहे ।

भीम सार्कीले ३३, आरिफ शेखले २९, कप्तान रोहित पौडेलले २३ रन बनाउँदा सन्दीप लामिछाने ८ र दीपेन्द्र सिंह ऐरी ७ रनमा आउट भए ।

यसैबीच आजको खेलमा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो विकेट लिएर एकदिवसीय खेलमा सबैभन्दा छिटो एक सय विकेट लिने कीर्तिमान बनाएका छन् ।

४१ खेलमा ९९ विकेट लिइसकेका सन्दीपले ४२ खेल खेलेर सय विकेटको कीर्तिमान बनाएका हुन्। उनीभन्दा पहिले यो कीर्तिमान ४४ खेलमा १ सय विकेट पूरा गरेका अफगानिस्तानका बलर राशिद खानको नाममा थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->