पोखरा/ अन्तर्राष्ट्रिय दृष्टिविहीन टि २० क्रिकेट प्रतियोगितामा नेपालकी विनिता पुनले पहिलो पटक शतक प्रहार गरेकी छिन् । नेपालको आयोजनामा पोखरामा सुरु भएको टि २० अन्तर्राष्ट्रिय सिरिजमा भारतविरुद्ध शतक प्रहार गर्दै उनी शतक प्रहार गर्ने विश्वकै पहिलो दृष्टिविहीन महिला खेलाडी बनेकी छन् ।
उनको शतकीय इनिङ्समा नेपालले भारतमाथि ८ विकेटको जित हासिल गरेको छ । १७४ रनका विजयी लक्ष्य पाएको नेपालले १७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । ओपनर विनिता १११ रनको शतकीय इनिङ्स खेल्दै अविजित रहिन् । उनले राष्ट्रिय रेकर्डसमेत कायम गरेकी छन् ।
यसअघि नेपालकी मानस्की चौधरीले सन् २०१९ मा पाकिस्तानविरुद्धको खेलमा ८२ रन बनाउँदै सर्वाधिक रन जोड्ने खेलाडी बनेकी थिइन् । पुरुष तर्फभने पहिलो अन्तर्राष्ट्रिय शतक गर्ने खेलाडी कुशल रायमाझी हुन् । विनिता बी ३ अन्तर्गतकी दृष्टिविहीन हुन् ।
विनिता सर्वाधिक चौका हान्ने खेलाडीसमेत बनिन् । उनले शतकीय इनिङमा कुल १७ चौका प्रहार गरिन् । नेपालका लागि बी २ अन्तर्गतकी मनकेशरी चौधरी ३१ रन जोड्दै आउट भइन् । ३ चौका प्रहार गरिन् । सुस्मिता तामाङ शुन्यमै पेभिलियन फर्किइन् । उनी बी १ अन्तर्गतकी दृष्टिविहीन हुन् । बी २ दृष्टिविहीन सरिता घिमिरेले १ चौकासहित २१ रनमा नटआउट रहिन् ।
भारतका लागि बी १ दृष्टिविहीन वर्षा र गंगाभाले समान १–१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रनको योगफल तयार गरेको थियो ।
भारतका लागि गंगौभाले ७१ रनको योगदान दिइन् । सुस्मा पटेल १९ रनमा आउन भइन् । वर्षा १०, सीमा दास२७, दिपिका १६, सन्ध्या १, प्रिया २ रनमा आउट भइन् । नेपालका लागि निशाले १ विकेट लिइन् । भारतका ७ ब्याटर रनआउट भएका थिए ।
नेपालले दोस्रो सिरिज मंगलबार खेल्दैछ । यसलगत्तै सिरिजका अन्य खेल काठमाडौंमा हुनेछन् ।
क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ (मध्यम दृष्टि) र बी ३ (न्यून दृष्टि) भएका खेलाडी हुन्छन् ।
पहिलो शतक पूरा गरेकी विनिताले आफुले नसोचेको कुरा पुरा भएको बताइन् । विश्वकै पहिलो शतक खेलाडी हुन पाउँदा निकै खुुसी लागेको उनले सुनाइन् । ‘मलाई निकै खुसी लागेको छ । आजको खेल जित्ने मात्र होइन् । विश्कै पहिलो एक सय रन बनाउने खेलाडी समेत भएकी रहेछु,’ उनले भनिन्,‘यो हामी जस्ता दृष्टिविहीन खेलाडीका लागी गौरवको कुरा हो । दोस्रो खेलमा समेत म अझ राम्रो गर्नेछु ।’ नेपालका प्रशिक्षक रिजन प्रजुले अपांगता भएका व्यक्तिका लागिसमेत राज्यले खेलकुद प्रतियोगिता वर्षेनी गर्नुपर्ने बताए । नेपालको दृष्टिविहिन टिम बलियो रहेको उनले बताए । टिमकी कप्तान भगवती भट्टराईले खेलमा सुधार गर्न आवश्यक रहेको बताइन् ।





