पोखरा/ सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधिका लागि तीनजना खेलाडीबीच प्रतिष्पर्धा हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आर्चरीकी रोजीना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगरलाई उत्कृष्टको सूचीमा राखेको छ । उत्कृष्ट तीनको मनोनयनमा परेका रोजीना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङकी ।
वैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव राजाराम पौडेलले जनाए । यस अगाडि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी विमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, कराँतेकी सुष्मी श्रेष्ठ रहेका छन् । भलिबलकी अरुणा शाहीले दुईपटकसम्म यो विधाको अवार्ड हात पारेकी थिइन् ।
रोजीना थापा मगर–आर्चरी
२०५९ सालमा जन्मिएकी रोजीना थापा मगरले २०७२ सालदेखि आर्चरी खेल्न सुरु गरेकी हुन् । स्व.लक्ष्मणकुमार श्रेष्ठको स्मृतिमा २०७३ सालमा आयोजना गरिएको राष्ट्रिय आर्चरी प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले २०७३ सालमै सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण पदक हात पारेकी थिईन । २०७४ सालमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी उनले पदक हात पार्न भने सकिन्न । २०७९ सालमा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण हात पार्न सफल भइन् । दोस्रो गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगितामा समेत उनले कास्य पदक हात पारेकी थिइन् ।
सुस्मिता थापा मगर – आइटिएफ तेक्वान्दो
२०६० सालमा बागलुङमा जन्मिएकी सुस्मिता थापा मगर आइटिएफ तेक्वान्दो खेलाडी हुन् । हाल खेल व्यवस्थापनमा स्नातक तहमा अध्य्यनरत थापाले ०७६ मा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा सहभागी भएकी उनले एक स्वर्ण र दुई रजत पदक हात पार्न सफल भइन् । २०७७ मा सम्पन्न २० औं सिनियर राष्ट्रिय च्याम्पियनशीपमा सहभागी उनले तीन रजत हात पारेकी थिइन् । २०७८ मा भएको पहिलो गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पटक हात पार्दै उत्कृष्ट खेलाडी घोषित भइन् । २०७९ मा सम्पन्न नवांै राष्ट्रिय खेलकुदमा एक स्वर्ण र एक रजत पदक हात पार्न सफल बनिन् ।
सावित्रा भण्डारी –फुटबल
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन् । १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनी फुटबल भन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुन्् । उनले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्र्तगत १०० मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।
२०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । त्यसपछि हालसम्म गरी उनले देशको प्रतिनिधित्व गदै एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।
०७० सालमा विभागीय एपिएफ क्लबमा आवद्ध उनी हालसम्म सोही क्लबमा आवद्ध छन् । उनी भारतको क्लवमा समेत आवद्ध रहँदै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी छन् ।





