पोखरा/ पोखरा महानगरपालिका भलिबल संघ गठन भएको छ । भलिबल खेलको विकासका लागि तदर्थ समिति रहँदे आएको महानगर भलिबल संघले विधिवत् रुपमा अधिवेशन गर्दै कार्यसमिति चयन गरेको छ ।
रामबहादुर लामिछानेको अध्यक्षतामा सात सदस्यी कार्यसमिति चयन भएको हो । बुधबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बलबहादुर श्रेष्ठ, सचिवमा युवराज गुरुङ, कोषध्यक्षमा सोविन गुरुङ सदस्यमा लिलबहादुर गुरुङ, प्रेम पुन र परिवेश रेग्मी सर्वसम्मत भएका हुन् ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवम् वडा २५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाले महानगर भलिबल संघले यसअघि तदर्थ समिति रहँदा देखिनै काम गर्दै आइरहेको बताए । उनले राष्ट्रिय खेलको रुपमा रहेको भलिबललाई हरेक विद्यालयमासम्म पुग्ने गरी संघलाई जान अनुरोध गरे । खेलकुदका लागि महानगर तयार रहेकाले संघहरुलाई कार्यक्रममात्र नभई खेलाडी उत्पादनमा समेत लाग्न उनले अनुरोध गरे । यस्तै बलबहादुर श्रेष्ठले पोखरामा भलिबलको क्षेत्रमा ग्रामीण वडाको बढी सहभागिता हुनेगरेपनि अन्य वडाको सहभागिता न्यून रहँदै आएको बताए ।
उनले भलिबल खेलको विकासका लागि महानगरभित्र रहेका हरेक विद्यालयमा भलिबल खेल सिकाउनका लागि अग्रह गरिने समेत बताए । उनले ग्रासरुटबाट जाँदा उत्कृष्ट खेलाडी उत्पादनमा जोडमिल्ने बताए । अध्यक्षमा निर्वाचित रामबहादुर लामिछानेले संघलाई थप क्रियाशिल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले आफुहरु पदका लागि मात्र नभई काम गर्नका लागि आएको बताउँदै महानगरमा खेलाडी उत्पादन र खेल विकासमा भूमिका खेल्ने बताए ।





