पोखरा/ हिमालयन एक्स्ट्राइ ट्रायथलनको दोश्रो संस्करण शनिबार पोखरामा हुने भएको छ । हिमालयन एक्स्ट्राइ नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ खेलाडी पोखरा आइसकेका आयोजक संस्थाका निर्देशक रिक्की योन्जनले जानकारी दिए ।
खेलाडीहरु बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश,भारत लगायतका देशका हुन् । तीमध्ये ५ जना महिला छन् । प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । सहभागीहरुले ३.८ किलोमिटर पौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यस लगतै १७५ किमी साइकल दौड सुरु हुनेछ ।
लेकसाइडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ । त्यस लगतै ४३ किमी लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ«े गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पूरा गर्न १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकको अनुमान छ ।





