पोखरा/ गण्डकी प्रदेश सरकारले आगार्मी आर्थिक वर्ष २०८०/ ०८१ मा खेलकुदतर्फ विनियोजित बजेट घटेको छ । शुक्रबार गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले मगरले बजेटको सिलिङ घटाएर खेलकुदमा सात करोड ५५ लाख बजेट विनियोजन गरेको सुनाए । यो बजेट गत आर्थिक वर्षको भन्दा २९ करोड ३५ लाख रुपैयाँ कम हो । गत आर्थिक वर्षमा प्रदेश सरकारले खेलकुदमा ३६ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
त्यसमा नवौं खेलकुदको लागि छुट्टयाइएको बजेट पनि समावेश थियो । मन्त्री मगरले गण्डकी प्रदेश क्रिकेट रंगशाला, बहुउदेश्यीय कभर्डहल र हाइअल्टिच्युट तालिम केन्द्रलाई प्राथमिकता दिएको सुनाए । ‘गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रको रुपमा विकास गर्नका लागि अन्तर्राष्ट्रियस्तरको कभर्डहलको सम्भाव्यता अध्ययन, क्रिकेट रंगशाला, उच्च उचाई तालिम केन्द्र, एक स्थानीय तह एक खेल मैदान, जिल्लास्तरमा रङ्गशाला र विभिन्न खेलमैदान निर्माणको लागि ७ करोड ५५ लाख बजेट विनियोजन गरेको छु,’उनले भने । प्रदेश सरकारले ‘खेल्छ गण्डकी’लाई यो वर्ष समेत निरन्तरता दिएको छ ।
प्रदेश सरकारले खेलकुद विकासका लागि विद्यालय तहदेखि नै खेलकुद गतिविधि सञ्चालन गरी प्रतिस्पर्धी खेलाडी उत्पादन, खेलाडीको पहिचान गर्ने योजनासमेत अघि सारेको छ । यस्तै खेलाडी कल्याणकारी कार्यक्रम, खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्नका लागि आवश्यक बजेटको समेत व्यवस्था गरेको मन्त्री मगरले सुनाए । गण्डकी सरकारको बजेटमा परेको प्रादेशिक रंगशाला र हाइअल्टिच्युट मैदानका लागि संघ सरकारले समेत बजेटको व्यवस्था यसअघि गरिसकेको छ । खेल्छ गण्डकीमार्फत् खेलाडी उत्पादन, पहिचान खेलकुद पदक, खेलाडी कल्याणकारी कार्यक्रम, प्रोत्साहनका लागि आवश्यक बजेटको विनियोजन गरेको बताए । गण्डकी खेलकुद परिषदले ८ करोड २७ लाख रुपैयाँको प्रस्ताविक बजेट पठाएको थियो । विभिन्न २३ शीर्षकका बजेट सिलिङ तोक्दै खेलकुद परिषद् गण्डकीका सदस्य तथा मुआथाई प्रशिक्षक खगेन्द्र क्षेत्रीको संयोजनमा उक्त बजेट सिलिङ पठाएको थियो ।
यस्तै, गण्डकी प्रदेश सरकारले गण्डकीका सात जना ओलम्पियनलाई सम्मानसहित भत्ता प्रदान गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले मासिक पाँच हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको हो । बजेटमा भनिएको छ,‘राष्ट्रको तर्फबाट ओलम्पिक खेल प्रतियोगितामा भाग लिएका गण्डकी प्रदेश स्थानीय ठेगाना भएका खेलाडीलाई सम्मानसहित खेलाडी प्रोत्साहन वापत भत्ता उपलब्ध गराउन आवश्यक बजेटको विनियोजन गरेको छु ।’
यी हुन् गण्डकीका ओलम्पियनहरु :
गोर्खाका टीका बोगटी एथलेटिक्सबाट २ पटक ओलम्पिकमा सहभागी खेलाडी हुन् । सन् १९८८ दक्षिण कोरियाको सिओल र १९९६ को अमेरिकाको एट्लान्टा ओलम्पिकमा उनी एथलेटिक्समा सहभागी भएका हुन् । कास्कीका तेक्वान्दो खेलका खेलाडी नारायण गुरुङ स्पेनको बार्षिलोनामा भएको ओलम्पिकमा सन १९९२ मा सहभागी भएका थिए । ऋषिराम प्रधान सन १९८८ को सिओल ओलम्पिकमा सहभागी भएका थिए । गोर्खाका प्रधान जुडो खेलबाट ओलम्पिकमा सहभागी खेलाडी हुन् ।
सीताराम शाही सन १९९६ को अमेरिकाको एट्लान्ट ओलम्पिकमा सहभागी भएका खेलाडी हुन् । तनहुँका शाही पौडी खेलका खेलाडी हुन् । भगवती खत्री सुटिङ र ज्ञानबहादुर बोहरा एथलेटिक्स खेलाडी हुन् । उनीहरु सन २००० मा अष्टे«लियाको सिड्नी ओलम्पिकमा सहभागी भएका थिए । राजेन्द्र भण्डारी २००४ को ग्रिसको एथेन्स ओलम्पिकमा सहभागी खेलाडी हुन् । तनहुँका भण्डारी एथलेटिक्सबाट ओलम्पिकमा सहभागी भएका थिए । सातमध्ये गोर्खा जिल्लाका ३ जना ओलम्पियनहरु हुन् । ओलम्पियन ज्ञानबहादुर बोहरा, टीका बोगटी र ऋषिराम प्रधान एउटै वडावासी हुन् ।





