पोखरा/ जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखरामा सम्पन्न खुल्ला तीन किलोमिटर दौडको उपाधि सुस्मिता रानाभाट र दिनेश बोगटीले जितेका छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न खुल्ला महिलातर्फ तनँहुकी सुस्मिता रानाभाटले १३ मिनेट ४ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हात पारिन् । कास्कीकी संगिता बिकले रजत हात पारिन् । उनले १३ मिनेट ४९ सेकेन्डमा पूरा गरिन् । एलपी देवकोटा विधालयकी मेनुका अधिकारीले १४ मिनेट १६ सेकेन्डमा दुरि पूरा गर्दै कास्य जितिन् । पुरुषतर्फ दिनेश बोगटीले ९ मिनेट ३४ सेकेन्डमा दुरि पूरा गर्दै स्वर्ण जितेका हुन् । शाहस पन्तले रजत हात पारे । उनले ९ मिनेट ३६ सेकेन्डमा दुरि पूरा गरे । तेन्जोन रोक्का मगरले कास्य हात पारे । उनले ९ मिनेट ५६ सेकेन्डमा दुरि पूरा गरे ।
यस्तै विद्यालय ट्रयाक एण्ड फिल्डतर्फका ६ वटा इभेन्टहरु आयोजना हुँदा छोरेपाटन मा.वि च्याम्पियन बनेको छ । छोरेपाटनले ३ स्वर्ण, १ रजत र १ कास्यपदक सहित विजेता बनेको हो । कास्की मोर्डनाइज्ड एकेडेमी २ स्वर्ण, १ रजत र २ कास्यका साथ दोश्रो तथा त्रिवेणी मा.वि २ स्वर्ण र एक रजतका साथ तेश्रो भएको छ ।
जिल्ला एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रम अन्तर्गत १०० मिटर छात्रतर्फको दौडमा कास्की मोर्डनाइज्ड एकेडेमीका प्रवेश थापाले १२.१८ सेकेण्डमा दौड पुरा गरी स्वर्ण पदक जिते । छोरेपाटन मा.वि का विनोद नेपालीले रजत र डायमण्डका ऋषी बहादुर कुमालले कास्य पदक हात पारे । त्यस्तै छात्रा १०० मिटर तर्फ त्रिवेणी मा. वि.की एञ्जल अधिकारीले १४.२० सेकेण्डमा दुरी पार गरी स्वर्ण पदक जित्दा केफ की संगम भण्डारीले रजत र लिटल फ्ल्वारकी कृष्ता गुरुङले कास्य जितिन् ।
२०० मिटर छात्रतर्फ लिटिल फ्ल्वारका कुश पोखरेलले स्वर्ण, केएमएका प्रमोद थापाले रजत र शैनिक आवासियका प्रज्वल खड्काले कास्य पदक हात पारे । छात्रातर्फ सगरमाथाकी अनुश्का अधिकारीले स्वर्ण, हिमाल कलेजकी रितु भण्डारीले रजत र छोरेपाटन मा.वि की एन्जल गुरुङले कास्य पदक जितिन् ।
८०० मिटर छात्र दौडमा केफका विवेक परियार, शैनिकका अभियान तिवारी र शैनिककै सागरलामाले क्रमश स्वर्ण, रजत र कास्य पदक जिते भने छात्रातर्फ छोरेपाटन मा.वि.की नारायणी भण्डारी, एलपी देवकोटाकी मेनुका अधिकारी, उदय मा. वि की करुणा कुमालले क्रमशः स्वर्ण, रजत र कास्य पदक जिते ।
१५०० मिटर छात्र दौडमा छोरेपाटनका तेन्जन रोक्का, केफका विवेक परियार र कास्की मोर्डनाइज्डका सन्दिप कुवंरले क्रमश स्वर्ण, रजत र कास्य पदक जिते । त्यसै गरी छात्रातर्फ छोरेपाटन मा.विकी नारायणी भण्डारी, त्रिवेणीकी अलिशा जिसि, लिटिल फ्ल्वारकी जस्मिन श्रेष्ठले क्रमश स्वर्ण, रजत र काश्य पदक जिते ।
लङ जम्पतर्फ भएको प्रतिस्पर्धामा छात्रतर्फ कास्की मोर्डनाइज्डका प्रवेश थापाले स्वर्ण जिते भने लिटिल फ्ल्वारका लभ पोखरेलले रजत र केएमएका प्रमोद थापाले कास्य पदक जिते । त्यस्तै छात्रातर्फ त्रिवेणीकी एन्जल अधिकारी, सगरमाथाकी अनुस्का अधिकारी र कुमुदिनीकी लक्ष्मी कुमालले क्रमश स्वर्ण, रजत र कास्य पदक जिते ।





