सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीका सांसदको एक स्वर ‘खेलकुदमा संघीयता कहिले’

गण्डकीका सांसदको एक स्वर ‘खेलकुदमा संघीयता कहिले’


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८०, आइतबार

पोखरा/ गण्डकी प्रदेशका सांसदहरुले देशमा संघीयताको दोस्रो कार्यकाल सुरु हुँदा समेत खेलकुदले संघीयता नदेखेकोमा केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । देशले संघीयता पाएसँगै दोस्रो निर्वाचन गराइसक्दा समेत खेलकुदमा भने केन्द्रीकृत मानसिकता नहट्दा खेलाडी तथा कर्मचारी अन्योलमा परेको सांसदहरुले बताएका छन् ।

सनिबार पोखरा रंगशालामा आयोजित तेस्रो आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा बोल्दै गण्डकीका सांसदहरुले नेपाल सरकारका खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई खेलकुदमा संघीयता कायम गर्न अनुरोध गरेका हुन् । गण्डकीका चार सांसदले प्रदेशले आफ्नै खेलकुद नीति तथा ऐन निर्माण गरेपनि अझै पश्चिमाञ्चल खेलकुद विकास समितिको बोर्ड मुनी बस्न बाध्य भएकाले यसको समाधान तत्कालै गर्न अनुरोध गरेका हुन् । गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले खेलकुदमा संघीयता नहुँदा कर्मचारी कता जाने भन्ने विषयनै अन्योलमा रहेको सुनाए । उनले पोखरा रंगशाला राष्ट्रिय खेलकुद परिषद् अन्तरगत रहेको कारण प्रदेश सरकारले केहि गर्न नमिल्ने बताउँदै बहुउदेश्यीय कभर्डहलमा साउन्ड इको व्यवस्थापन गर्न तत्काल पहल गरिदिन आग्रह गरे । यस्तै अर्का सदस्य लिल बहादुर थापाले संघ सरकारले मात्र नभई प्रदेश सरकारले समेत खेलकुदलाई प्राथमिकतामा नराखेको गुनासो पोखे । उनले खेलकुदमा संघीयता नल्याउनुको पछाडी धेरै कुरा हुन सक्ने बताए । यस्तै प्रदेशसभा सदस्य द्रोण कुँवरले पनि संघ सरकारले खेलकुदमा संघीयता ल्याउनका लागि खेलकुद मन्त्रीलाई आग्रह गरे ।

गण्डकीकै सांसद जित बहादुर शेरचनले खेलकुदमा समायोजन नहुँदा निकै समस्या आएको सुनाए । उनले पश्चिमाञ्चललाई चाहेरपनि प्रदेश सरकारले गण्डकी प्रदेश बनाउन नसकेको बताउँदै ध्यानाकर्षण गराए । खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले राखेपले कर्मचारी प्रदेश अन्तरगत राख्ने निर्णय गरेपनि त्यसको कार्यान्वयन अझै हुन नसकेको बताए । उनले अझैसम्म खेलकुदमा संघीयताको अनुभुति गर्न नपाएको दुखेसो पोखे । उनीहरु सबैको जवाफ दिदै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुदमा संघीयता ल्याउनका लागि आफुले सबै प्रयास गर्ने सुनाए ।

‘अहिले मुलुक संघीयतामा गइसकेको अवस्था छ । तर यो खेलक्षेत्रमा केहिपनि पुनः संरचना भइसकेको अवस्था छैन् । हामी पुरानो संरचनामा चलिरहेका छौं । यो क्षेत्रमा संघीयता ल्याउने सवालमा मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद लागिपर्नुपर्छ’ उनले भने, ‘ हामी पुरानो मोडलमा बसेर यहाँ जुँगाको लडाईँ लड्नु जरुरी छैन । देश संघीयतामा गईसक्यो अनि फेरी खेलकुदमा पुरानै संरचनामा बस्ने हो र रु होइन नी यसका लागि तपाईँ खेलकर्मी साथिहरुले गम्भिरतापूर्व लिनुपर्छ भन्ने मलाई लाग्छ ।’ खेलक्षेत्रको विकास भएमा मात्रै देशको विकास हुने बताउँदै उनले खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्तिहरुलाई नीजि क्षेत्रको लगानी भित्र्याउनका लागि आ–आफ्नो ठाउँबाट काम गर्न आग्रह गरे । नीजि क्षेत्रको लगानी भित्रिएमा खेलकुदमा नयाँ युगको सुरुवात हुने उनको भनाई रहेको छ । उनले खेलाडीको वृद्धि विकास, पहिचान र संरक्षण गर्नका लागि ऐन संशोधनदेखी कार्यान्वयनको पाटोलाई विशेष रुपले अघि बढाउने समेत बताए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा तेक्वान्दो संघ गण्डकीको सह–आयोजनामा जारी प्रतियोगितामा सात जिल्लाका तीन सय बढि खेलाडीहरुको सहभागिता रहेको आइटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापाले जानकारी दिए । प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिए ।

खेलाडीहरुबीच एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ । यसैगरी एकल प्यार्टनतर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्म प्रतिस्पर्धा भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->