पोखरा/ गण्डकी प्रदेशस्तरीय महिला भलिबल २०८० मा क्वाटरफाइनलको समिकरण पूरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश भलिबल संघ गण्डकीको ब्यवस्थापनमा पोखरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन क्वाटरफाइनलको समीकरण पूरा भएको हो । जारी प्रतियोगिताबाट स्याङजा, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेको प्रदेश भलिबल संघका उपाध्यक्ष हरि श्रेष्ठले जानकारी दिएका छन् ।
सम्पन्न खेलमा म्याग्दीले मनाङलाई २५–२, २५–१८ को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइलको यात्रा तय गरेको छ । उपाधि नजिक पुग्न म्याग्दीले बागलुङको सामना गर्ने भएको छ । यता बागलुङले गोर्खालाई २५–१७, २५–२२ ले पराजित गर्दै म्याग्दीसँग अन्तिम चारमा भेट पक्का गरेको रेफ्री टुकबहादुर गुरुङले बताए ।
यस्तै स्याङजाले कास्कीलाई र पर्वतले तनहुँलाई पराजित गर्न सफल भए । स्याङजाले २५–२१, २५–१९ ले कास्कीलाई पराजित गर्दै तथा पर्वतले तनहुँमाथि २५–१२, २५–१३ ले जित दर्ता गर्दै सेमीफाइनलको यात्रा तय गरेका छन् ।
प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद १ लाख, उपविजेतालाई नगद ७० हजार र तृतिय हुनेलाई नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र दिइने छ । प्रतियोगितामा ११ वटै जिल्लाका टिमहरुको सहभागिता रहेको छ ।





