हरिदत्त मेरो सहपाठी थियो । त्यसको चेहरा उसिनेको आलु जस्तो रक्तहीन थियो । तर, गालाको सबभन्दा उठेको स्थानमा दुईचार चायाँका दाग थिए । त्यसको अनुहारमा डन्डीफोरले जति उपद्रव गर्न सक्थे, गरेर गएका थिए । त्यसो हुनाले त्यसको अनुहारभरि खाल्डा थिए– कसैले रिसमा हजार चोटि आक्रमण गरेको जस्तो ।
आाखा सानासाना थिए र त्यसले कसैतिर एकाग्रताले हे¥यो भने ती झन् साना हुन्थे र तिखा वाणजस्ता लाग्थे ! त्यो दुब्लोपातलो थियो र म जस्तो थिएन । त्यसको लुगा लाउने विषयमा सार्वभौतिक मत थियो । त्यसो हुनाले आज धोती र अलखा लाएको देखियो भने भोलि ठिक्क अंग्रेजले लाउने लुगा लाएको देखिन्थ्यो । आफूलाई सिँगार्न उसलाई काबुली मखमलको वेस्टकोट र सलवार र मद्रासी लुँगीसम्म चाहिन्थे । लुगाहरु धेरै वर्ष पहिले बनाएका जस्ता थिए, किनभने कोटको बाहुला चार अम्मल माथि हुन्थ्यो । प्यान्टचाहिँ तरकारी किनेर ल्याउने थैलो जस्तो थियो ।
मखमलको वेस्टकोट स्वास्नीमानिसले लाउने भित्री चोलो जस्तो थियो, लुंगी त जुनसुकै धोतीलाई पारे पनि हुन्थ्यो । अंग्रेजी लुगा लाएको दिन भने हामीहरुमाथि अलिक माथिबाट हेथ्र्यो र हामी पनि त्यसको अंग्रेजीको धाक मान्थ्यौं । कुनै शब्दलाई बंग्याएर बोल्ने कोसिस गर्दैनथ्यो । त्यसको वाक्यमा स् स् स् को बाहुल्य हुँदैनथ्यो । के त्यसको देब्रे हात प्यान्टको बगलीमा हुँदैनथ्यो र दाहिने हातले सानो बेतको छडी घुमाउँदैनथ्यो ?
जाडोजाडो जस्तो दिन थियो । बिहानदेखि आकाश मेघाच्छन्न थियो । हामीले आ–आफ्नो बाकसबाट कोटहरु झिक्दै लाउन थाल्यौं र हरिदत्तले त्यै टिम्म परेको कोट र धोक्रोजस्तो प्यान्ट लायो । स्कुल लाग्न अझै आधा घण्टा बाँकी थियो, त्यसो हुनाले हामी स्कूलको अगाडिको चउरमा बसेर गफ गरिरहेका थियौं ।टाढाबाट हरिदत्त आउन लागेको देख्यौं । प्यान्टको बगलीमा देब्रे हात हालेर, दाहिनेले छडी हल्लाउँदै (तेस्रो हात भएको भए त्यसले चुरोट अवश्य लिने थियो) । त्यसले कसरी हाम्रो भाव जानेछ र भन्यो–‘यो सुट गुलाम मुहम्मदले सिएको, ठट्टा होइन । हिन्दुस्तानमा त्यस्तो राम्रो सिउने अर्को कोही छैन ! यो धोबीले पो धुँदा बिगारिदिएको, पफ कालरको कदर नै नगरी इस्त्रीले थिचिदिएछ हेर ।’ कालरमा भएको इस्त्रीको प्रकोप देखाउन थाल्यो । सिउनी तानिएर सेतो धागो देखिन लागेको रहेछ ।हामीहरु हतपती त्यसको कुरामा विश्वास गर्न सक्दैनथ्यौं । किनभने त्यो एउटा धनीको घरमा बस्थ्यो । त्यसकी बहिनी हो कि दिदीलाई त्यस धनीले राखेको थियो । त्यसो हुनाले त्यो ठूलो दरबार जस्तो घरबाट निस्कने हरिदत्तले यस्तो विषयमा, जसमा धनको व्यय हुन्छ, केही कुरा भन्यो भने हामीहरु धेरैजसो पत्याउँथ्यौं ।मेरो घरमा त्यो सधैं आउँथ्यो । कहिलेकाहीँ पैसा पाएको दिन मिठाई ली आउँथ्यो । हामीले खाइनसकेको एकदुई टुक्रा मिठाई ‘लौ अब रहेको पावर्तीलाई दिऊँ’ भनी त्यो भन्थ्यो ।
पार्वती मेरी नोकर्नीकी छोरीको नाउँ थियो । उसको सम्पत्ति दिन खोजे मेरो के लाग्थ्यो ?पार्वतीलाई म बोलाउँथेँ । हरिदत्त भन्थ्यो– ‘तैंले पार्वतीलाई दिएस् ।’
म भन्थेँ– ‘तैंले ल्याएको मिठाई तँ नै दे ।’
त्यसै बखतमा पार्वती लाज मानेर मेरो कोठामा आउँथी र म मिठाईको पोको उसको हातमा हालिदिन्थें । हरिदत्तचाहिँ मैले दिएको र पार्वतीले समातेकी हेरिरहन्थ्यो ।
एकदिन त हातमा मसला हालेको दूधको ठूलो भाँडो र अर्कोमा मिठाईको पोको लिएर त्यो आयो ।
‘यो दूध म आज आफैं पार्वतीलाई दिन्छु,’ त्यसले भन्यो,‘लौ उसलाई बोला त, त्यो मिठाईचाहिने हाम्रो ।’
मैले पार्वतीलाई बोलाएँ । ऊ आएपछि हरिदत्तले दूध आफ्ना हातले दिन सकेन र मलाई भन्यो– ‘तँ नै दे ।’
दूध लिएर पार्वती गई । हामीहरुले बसेर मिठाई खायौं । आज उसकी दिदीले उसलाई एक रूपियाँ दिएको रहेछ । त्यो रूपियाँ पाउनेबित्तिकै मिठाई र दूध किन्न मात्र बाटामा विलम्ब गरेर ऊ सोझै मकहाँ आयो ।मिठाई खाएर हामीहरु डुल्न निस्क्यौं । हामीहरु केही पर पुगेका थियौं । हरिदत्त टक्क अडिएर मेरो काँधमा हात राखेर भन्न थाल्यो– ‘म पार्वतीलाई प्रेम गर्छु ।’
म छक्क परेँ ।
त्यो भन्दै गयो– ‘अब मेरो तिमी सहायता गर ।’
म आत्तिएँ ।
‘तिमी दोस्त हौ । मित्रको अब कर्तव्य गर । मित्र ज्यानसम्म दिन तैयार रहन्छ । मैले आफ्नो रगत बगाएर तिम्रो केही भलो हुन्छ भने म आफ्नो रगतसम्म बगाउन तत्पर छु ।’
दोस्तीको यत्रो ठूलो कर्त्तव्यका सम्मुख म निरूत्तर भएँ । यसमा उसको कसरी भलो हुन्छ भनेर सोध्नु त्यो बेला तुच्छ ठहराएँ । मैले मित्रका रुपमा सबै कुरा गर्न तयार हुनुपथ्र्यो । तर, शक्तिभन्दा बाहिरको कुरा भए नि ?
मैले सोधेँ– ‘म कसरी तिम्रो सहायक हुन सक्छु र ?’
‘त्यो तिम्री नोकर्नीको छोरी हो । तिमी जे पनि गर्न सक्छौ,’ बडो सजिलैसँग त्यसले भन्यो ।म परेँ बडो पेचमा । मित्रको कर्तव्यबाट च्युत हुन मन पराउन्नथेँ । तर, कसरी हरिदत्तको सहायक हुन सकिन्छ, मलाई थाहा थिएन ।भोलिपल्टदेखि हरिदत्तले मलाई आफ्नो प्रेमको व्यापकता र निस्वार्थतामा वक्तृत्व दिन थाल्यो र मेरो कर्तव्यतिर मेरो ध्यान आकर्षित गर्न थाल्यो । तर, म आफ्नो ध्येयमा सफल हुन सकिनँ । जस्तै आँटेर चेष्टा गरे तापनि म पार्वतीलाई हरिदत्तको त्यसका प्रतिको प्रेमविषयमा केही भन्न सक्तिनथेँ । बिस्तारै–बिस्तारै हरिदत्तको सदाको उपदेशले गर्दा म आफूलाई मित्रोचित कर्तव्यबाट च्युत भएँ भनी ठान्न थालेँ । मलाई हरिदत्तको सम्मुख पर्ने साहस हुन छोड्यो ।
परीक्षाको दिन पनि नजिकै थियो । हामी पढाइमा लाग्यौं । म पास भएँ । हरिदत्तले हामीलाई निराश गरेन, फेल भयो । परीक्षाफल निस्केको दिन हरिदत्त मकहाँ आयो र भन्न थाल्यो– ‘मलाई थाहा थियो, म फेल हुन्छु । पढेको भए पो पास हुनु । पढ्न सकेको भए पो पढ्नु ! पार्वतीको प्रेमले गर्दा रातभरि निद्रा लाग्दैनथ्यो । प्रेममा परेर केही काम गर्न सक्तैन । लैला–मजनुको कथा पढेको छैन ? म त मजनु थिएँ, पढ्नामा कहाँ मन अड्काउन सक्थेँ ! फेरि आजकालको पढाइमा कहाँ मन लाग्छ र ? किताबको कीरा बन्यो, दुनियाँको सुखदेखि अलग्ग रह्यो र पछि खुब गर्न सक्यो भने ४० रूपियाँको नोकरी ग¥यो । आजकालको स्कूलको पढाइ त बेकामको हुन्छ ।’
मलाई आफू पास भएको हुँदा खुसी हुनु त कहाँ, त्यसको कुराले झन् लाज लाग्यो ।हरिदत्तचाहिने पास भएको जस्तो गरेर जीवनको कार्यक्रम स्थिर गर्न थाल्यो ।
‘अब म यो स्कूल छोड्छु । मैले कमर्स पढ्ने निश्चय गरेको छु । कमर्सले व्यापारमा काम दिन्छ । व्यावसायिक जीवनमा मद्दत हुन्छ । यो स्कूलमा कमर्स छैन । हालैमा कमर्स सिकाउने स्कूल खुलेको छ, त्यहीँ नाउँ लेखाउँछु । तिमी बीए पास ग¥यौ भने हद्द ४० रूपियाँ पाउला । कमर्समा सफल भइयो भने !’
हात पसारेर फल टिप्न मात्रै बाँकी छ भने झैं गरेर मलाई आफ्नो परीक्षाको सफलतामा लज्जित पार्दै काबुली लुगा लाएको हरिदत्त बाहिर गयो ।धेरै दिनपछि त्यसको र मेरो भेट भयो । एउटा ठूलो सभामा म गएको थिएँ, त्यो पनि त्यहीँ थियो । यो सभा बेकामको बकवादी कुरा गर्नको निमित्त बोलाइएको छ भनेजस्तो गरेर ह्वार्लाङ्ग–ह्वार्लाङ्ग सुरूवाल लाएको हरिदत्त सभाको वास्ता नगरेर टाढै उभिएको थियो ।
मैले त्यो भएनेर गएर कुराकुरामा त्यसको कमर्सको पढाइको विषयमा सोधेँ । बडो तिरस्कारको दृष्टिले मलाई हेरेर उसले भन्यो– ‘तिमी त किताबका कीरा भैसकेछौ । देशमा यत्रो हलचल मच्चिरहेको छ । हजारौं देशभक्त जेलमा परेका छन् । यो बखतमा तिमी आफ्नो कर्त्तव्यको सीमा किताबभित्र छ भनी ठान्छौ । किताबसिताब फ्याँकेर मैले सार्वजनिक क्षेत्रमा प्रवेश गरेँ ।’
मलाई समातेर कोही नभएको कुनामा लगेर बिस्तारै भन्न थाल्यो– ‘अब हामीले पिस्तोल, बन्दुक जम्मा गर्नुप¥यो । तिमी पहाडमा बस्छौ, त्यहाँ हाम्रो खजाना बनाउनपर्छ ।’
मैले डराएर चारैतिर हेरेर भनेँ –‘बन्दुक, पिस्तोल त्यहाँसम्म पु¥याउने कसरी ? पुलिसको आँखा कसरी छल्ने ?’
हरिदत्तले सजिलैसँग भन्यो–‘छीछी, चिनीको बोरामा म हतियार भरेर चलान गरुँला, तिमी त्यहाँ पुगेपछि तिनलाई एक ठाउँमा जम्मा गर्नू । कसैलाई शङ्का नै पर्दैन । चिनीको बोरामा पिस्तोल छ भन्ने कसलाई थाहा ? ऊ, त्यो गुप्ती पुलिसका इन्स्पेक्टर हो । ऊ हेर, उसको दृष्टि ममाथि छ । हाम्रो जीवन त चौबीसौं घण्टा खतरामा रहन्छ । कालापानीमा जीवन बिताउनुपर्ने हो कि फाँसीको डोरीमा झुन्डिनुपर्ने हो । तर, देशको निमित्त मैले त आफ्नो शरीर अर्पण गरिसकेको छु ।’
त्यसै बखतमा एउटा मान्छेले आएर त्यसको हात समातेर त्यसलाई लग्यो । जाँदाजाँदै त्यसले मलाई सम्बोधन गरेर भन्यो– ‘हेर है, मैले भनेको नबिर्सनू । अहिले मलाई फुर्सत छैन । यी, काममा हिँडिहाल्नुप¥यो, पछि भेट भएमा सारा प्लान छलफल गरौंला ।’
एकदिन कोर्टबाट फर्केर म आफ्नो कोठाको झ्यालबाट तल सडकमा हेरिरहेको थिएँ । सामुन्नेको बाटोबाट हरिदत्त आइरहेको थियो । मैले कराएँ ।हरिदत्तले उँभो मुन्टो लाएर हे¥यो । मलाई देखेर आफ्नो सारा दाँत देखाएर हाँस्यो ।
म तल झरेँ र त्यसलाई लिएर माथि आएँ ।यतिका दिनले – ७/८ वर्षले उसको अनुहारमा केही परिवर्तन पारेको थिएन । मलाई ता आफू धेरै छिप्पिसकेँ जस्तो लाग्थ्यो । तर, ऊ त जस्ताको तस्तै, केवल अलिक दुब्लाएको, पहेंलो मुख झन् पहेंलो भएको, सानासाना आँखा झन् तल भासिएका ।
मैले सोधेँ – ‘तिमी यहाँ कहाँ ?’
उसले पहिले मेरो कोठाको चारैतिर आँखा घुमायो । बिस्तारै एकएक कुरामा उसको दृष्टि अड्थ्यो । पछि उसको दृष्टि एउटा चोलोमा प¥यो, जो भूलले वा असावधानीले बिछौनामा छुटेको थियो ।
‘त्यो को ?’ चोलोलाई देखाएर हरिदत्तले भन्यो ।
‘मेरी पत्नी,’ मैले त्यसको हात समातेर त्यसलाई सोझै बिछौनामा तानेर बसाल्दै भनेँ । चोलीलाई एउटा कुनामा हु¥याएँ ।
‘तिम्रो त बिहा भएछ, पैसा पनि कमाउँछौ क्यारे,’ उसले फेरि कोठामा चारैतिर हे¥यो ।
मैले सोधेँ – ‘तिमी यहाँ के गरिरहेछौ ?’
‘म त व्यापार गर्न आएको छु, आजकाल चियाको व्यापार गर्छु ।’
बिस्तारबिस्तार उसलाई आफ्नो पुरानो जोश र उत्साह आउन थाल्यो । ‘चियाको व्यापारमा आजकाल खुब धन छ । लिप्टनले, ब्रुकबोन्डले करोडौं रूपियाँ कमाए । अरु व्यापारमा हानिको डर हुन्छ, यसमा त हानिको डरै छैन, नाफा मनग्गे छ ।’
मैले फेरि सोधेँ– ‘यहाँ कहाँ बसेका छौ ? तिमीलाई फुर्सत भए डुल्न जाऔं ।’
उसले प्रस्ताव ग¥यो– ‘भोलि आएर तिम्री श्रीमतीसँग भेटूँला । अहिले त मलाई फुर्सत छैन । व्यापारमा समयको बडो मूल्य छ । मसित हिँड ।’
म जान तैयार भएँ ।कुन–कुन कोप्चा र अँध्यारो गल्ली हुँदै यस्तो गल्लीमा मलाई लिएर गयो, जहाँ सूर्यको किरणको कहिले प्रवेश भएको नहोला । त्यही गल्लीको उपयुक्त एउटा घरभित्र हामी पस्यौं । त्यसले एउटा कोठा लिएको रहेछ, त्यही कोठाको बार्दलीमा उसको भान्साघर रहेछ । एउटा दमचुलो, पानीमा ढाडिएका भातका सिता, नमाझेको थाल र पानी हालेर निभाएको कोइलाले बारदली नै भान्साघर हो भन्ने प्रमाण दिइरहेका थिए ।बस्ने कोठामा तीनवटा बोराभरि चिया थियो । एउटा बोरा त खुलेको थियो, दुई वटा सिएका थिए । कोठाभरि चियापत्ती छरिएका थिए र चियाको गन्ध कोठामा रागमगिएको थियो ।
माथिको तख्तामा छापेका कागतका मुठा थिए, जसको दुई–तीन पाता तल झरेर चियाको साथसाथ हाम्रो पादले मदित हुन्थे ।कोठाभित्र पसेर उसले मलाई बस्ने इसारा ग¥यो । आफू मेरो स्वागतमा चिया बनाउने तर्खरमा लाग्यो । मैले खसेको कागतको पाता टिपेँ । चियाको विज्ञापन रहेछ । सबभन्दा माथि एउटी केटीको तस्बिर थियो ।हरिदत्तले बार्दलीमा चुल्हो सल्कायो । त्यसको धुवाँ कोठामा भरिन लाग्यो । बारदलीबाटै चुल्हो फुक्तैफुक्तै हरिदत्त भन्न लाग्यो– ‘चियाको व्यापारको केन्द्र बङ्गाल हो । चीनमा चिया हुन्छ तर हिन्दुस्तानको चियाको जस्तो माग दुनियाँमा छ, त्यस्तो चीनको चियाको छैन । दार्जिलिङको चिया दुनियाँमा नामी छ । यस व्यापारपट्टि मेरो ध्यान आकर्षित गर्ने एउटा गुजराती सज्जन हुन् । म बम्बईमा थिएँ ।’
जब चियाको पानी पाक्न थाल्यो । त्यसले मनेर आएर भन्यो– ‘दूध र चिनी त छैन । मेरो त त्यसै खाने बानी छ । चियामा चिनी र दूध हाले चियाको स्वाद के नि ? तर तिमी त चिनी–दूध नहाली खान सक्तैनौ कि ? मसँग त अहिले एक पैसा पनि छैन ।’ मैले पैसा झिकेर दिएँ । ऊ कुद्दै गयो र दूध र चिनी लिएर आयो । बिहान पकाएको एउटा मोटो रोटी एक टुक्रा मलाई समात्न दिएर अर्को आफैंले लिएर गिलास र एउटा कचौरामा चिया लिएर आयो । मैले गिलासको चिया समातेँ । चिया खाँदा कुरा हुन थाल्यो । हरिदत्तले सोध्यो– ‘तिमी कुन चिया खान्छौ ?’
मैले भनेँ– ‘लिप्टन ।’
‘लिप्टनको कुन ब्रान्ड ?’
‘हरियो लेबल ।’
यहाँ उसले ज्ञान देखाउने मौका पायो–‘लिप्टनको चिया त चुत्थो हुन्छ । खालि विज्ञापनको भरले उसको बिक्री हुन्छ । सबभन्दा असल ब्लेन्डिङ त ब्रुकबोन्डको हुन्छ । लोप्चुब्रान्ड खाएका छौ ? तर, मेरो चियाको गन्ध सबभन्दा असल छ ।’
विज्ञापनको कागत उठाएर मलाई देखाउँदै भन्न लाग्यो – ‘यो कसको तस्बिर हो, चिन्यौ ? राम्ररी हेर त । ब्लाक राम्रो बनेन, अलिक अनुहार मिल्दैन । सफा छपाइ पनि छैन । पार्वतीको हो, चिनेनौ ? जब ती गुजराती सज्जनले मेरो ध्यान चियापट्टि आकर्षित गरे, मसँग त पैसा थिएन । यसो हुनाले दाजुको ३०० रूपियाँ चोरेर नै भन्नुप¥यो, लिएर आएँ । त्यसैले चिया किनेर यो विज्ञापन छपाएँ । मेरो कम्पनीको नाउँ पारु हो । मेरो पार्वतीप्रतिको भावनालाई अमर पार्न उसको नाउँमा मैले यो कम्पनी खोलेँ । सच्चा प्रेम यो हो । पार्वती आजकाल कहाँ छे ?’
मैले उत्तर दिएँ – ‘उसको बिहा भयो । दुईवटा छोरा छन् । त्यै आउँथ्यो नि गोरो क्षेत्री, बाँसुरी बजाउने, कहिले–कहिले मेरो काम पनि गथ्र्यो, रणवीर क्या ? हो, उसैसँग उसको बिहा भयो, सुखैसँग होली ।’ हरिदत्त एकछिन चुप लाग्यो । एकछिनपछि फेरि भन्न लाग्यो – ‘यै चियाको बलले मैले रूपियाँ कमाउनु छ । अहिलेसम्म त केही बिकेको छैन । तर, चिया नबिक्नु यो हुनै सक्तैन । जसले मेरो चिया एकचोटि चाख्छ, उसले फेरि लिप्टन र ब्रुकबोन्ड केही मन पराउने छैन । व्यापार एकैचोटि हुने होइन । बिस्तारबिस्तार हुन्छ । व्यापारमा धन छ, बाबु । अलिक दिन पर्ख । यै, चियाले म लखपति हुन्छु ।’ रोटीको आखिरी टुक्रा निलेर चियाको एक घुट्को खाएर उत्साहसँग हरिदत्त पैसा कमाएपछिको कार्यक्रम निर्धारित गर्न थाल्यो ।
(नोट : बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा उनको कथा संग्रह ‘दोषी चस्मा’बाट यो कथा साभार गरिएको हो । सं.)





