पोखरा/ साफ यु–१६ च्याम्पियनसीपका लागि गण्डकीबाट ४५ खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसीपका लागि यु–१६ राष्ट्रिय टोली छनोटका लागि जिल्ला र प्रदेश छनोट गरिरहेको छ । सोही छनोटअन्तर्गत गण्डकीमा जिल्लालगत्तै प्रदेश छनोट सम्पन्न भएको हो । ९ जिल्लाको सहभागिता रहेको प्रदेश छनोटमा कुल २१८ खेलाडीको सहभागिता रहेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार तनहुँबाट ४३, बागलुङबाट २५, स्याङ्जाबाट २३, पर्वतबाट २५, मनाङबाट दुई, गोर्खाबाट ३२, नवलपुरबाट ३० र लमजुङबाट १६ खेलाडीको सहभागिता रहेको थियो ।
कास्की फुटबल संघले भने इगोका कारण प्रदेश छनोटमा सहभागिता नजनाउने भएता पनि चौतर्फी दबाबका दिन छनोटको अन्तिम दिन सहभागिता गराएको थियो । कास्कीबाट खेलाडी आफैं छनोट प्रक्रियामा सामेल भएपछि बाध्य भएर कास्कीले सहभागिता जनाएको हो । कास्कीबाट २२ खेलाडीको सहभागिता रहेको थियो । कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्ज्वल रञ्जितले इगो देखाउँदा कास्कीका खेलाडीको भविष्य नै अन्योलमा परेको थियो । छनोटमा खेलाडी सहभागिता नगराएपछि प्रदेश खेलकुद परिषदले जिल्ला खेलकुद विकास समितिमार्फत् स्पष्टीकरण सोधेको थियोे ।
रञ्जितले छनोट खेलको बारेमा कुनै जानकारी नै नगराएको कारण खेलाडी सहभागिता नगराएको बताएका थिए । उनले प्रदेशले टिम सहभागिताका लागि पत्राचार गरे पनि छनोटमा कास्कीका कसैलाई पनि जिम्मेवारी नदिएको भन्दै गुनासो गरेका थिए । पोखरामा छनोट चल्दा जिल्लासँग समन्वय हुनुपर्ने उनको माग थियो । कास्कीका खेलाडीलाई सिद्यैँ केन्द्रमा नै छनोटमा सहभागि गराउने बताएपनि केन्द्र र प्रदेश परिषद्को दबाब पछि रञ्जित पछि हटेको एक पदाधिकारीले बताए । कास्कीले इगो मात्र देखाएन खेलाडी छनोटमै समेत कास्कीबाट २२ खेलाडीमध्ये चार खेलाडीको उमेर बढी भएकाले फालिएका छन् । तीमध्ये तीनजना छनोटमा सहभागी नै भएनन् । उनीहरुको उमेर तोकिएको मापदण्डभन्दा बढी भएकाले सहभागी नभएको छनोटमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।
छनोट खेल संयोजक मिलन गुरुङका अनुसार छनोट चरण निकै राम्रो भएको बताए । पोखरा रंगशालामा भएको छनोटको मुख्य प्रशिक्षक किरण श्रेष्ठ रहेका थिए । उनको टिमले नै खेलाडी छनोट गरेको थियो । अब प्रदेश छनोटमा परेका खेलाडीको अन्तिम छनोट काठमाडौंमा हुनेछ । काठमाडौंमा छनोटपश्चात नेपाली यु–१६ पुरुष राष्ट्रिय टोली घोषणा गरी बन्द प्रशिक्षणमा बस्ने संयोजक गुरुङले जानकारी दिए ।
छनोटमा परेका जिल्लागत खेलाडीको नामावली
गोर्खाबाट– असिम गुरुङ, अंकित अधिकारी, दिलबहादुर नेपाली, कुशल गुरुङ, नवीन सुनार, निराजन श्रेष्ठ, रोशिक पौडेल र समिर तामाङ ।
स्याङ्जाबाट– अज्जवल रेग्मी, सुस्विन थापा मगर, सफल गुरुङ र अमृत कुमाल ।
कास्कीबाट– आकृष्ट महत, आशिष गुरुङ, अरुण विक, अश्विन विक, गिरी मगर, कुञ्जन पौडेल, मिजास केसी, निर्मल चोचाङ्गी, सुभरत थापा र सभोग सुवेदी ।
पर्वतबाट– सुशान्त थापा, नितेश श्रेष्ठ ।
नवलपुरबाट–आशिष तामाङ, अशोक थापा मगर, अभिषेश कुँवर क्षेत्री, विश्व कुमार, गणेश विक, मानबहादुर तामाङ, सौगात महत, सुजल मल्ल सुन्दर पुलामी र सुशिल विक ।
तनहुँबाट– सुमित कुँवर, रोशन थापा, दिवस सुनार, एयोन राना, विकल तिमिल्सिना
लमजुङबाट–असिम नेपाली , विपिन तामाङ, मनोज विक, प्रजय गुरुङ,
बागलुङबाट– सक्षम बोहोरा
मनाङबाट– निजम गुरुङ





