पोखरा/ प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेश र जिल्लास्तरमा संचालन र आयोजना हुने प्रतियोगिता परिषदमा सूचीकृत भएका रेफ्री, एम्पायर, प्रशिक्षकले मात्र खेल र प्रशिक्षण संचालन गर्न पाउने निर्णय गरेको छ ।
यस्तै, प्रदेश खेलकुद परिषद्बाट स्वीकृति र सहमति नलिएका प्रतियोगितामा खेल संघले कुनै टिम, रेफ्री, एम्पायर उपलब्ध नगराउने तथा रेफ्रीसमेत नजान घोषणा गरिएको छ । परिषद्ले सूचीकृत नभएका रेफ्री, एम्पायर, प्रशिक्षकहरलाई सबै प्रकारका प्रतियोगिता र प्रशिक्षणमा रोक लगाउने पनि बताएको छ ।
मंगलबार परिषद्ले विभिन्न खेलकुद संघ र पत्रकारसँग अन्तक्र्रिया पनि ग¥यो । चालु आर्थिक वर्षका योजना, गत आर्थिक वर्षका प्रगति विवरण, निर्माण हुन लागेका दुई नियमावली प्रदेश खेलकुद पदक र खेलाडी कल्याण कोषबारे स्ुझाव लिन अन्तक्र्रिया गरेको हो । सो अवसरमा प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङले सबै खेल संघहरुलाई एकतावद्ध भएर दशौं राष्ट्रिय खेलकुदका लागि अघि बढ्नु पर्ने बताए । प्रदेश खेलकुद विकासका लागि निर्माणको चरणमा रहेका दुई नियमावलीले प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण रहेको बताउँदै अन्तक्रिया कार्यक्रमबाट आएका सुझावले नियमावली निर्माणमा दिशानिर्देश गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा परिषदका सदस्य सचिव श्रीधर शर्माले निर्माण हुन लागेका दुई नियमावलीले समग्र खेलकुद क्षेत्रको प्रतिनिधित्व होस भन्नका लागि अन्तक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।
जिल्ला खेलकुद समिति र जिल्ला खेलकुद संघहरु खेलकुद विकासका लागि मेरुदण्डको रुपमा रहेको बताउँदै सदस्य सचिव शर्माले खेलकुद पूर्वाधारहरु खेलाडीहरुको पहिलो अधिकारको रुपमा रहेको बताए । प्रदेश खेलकुद परिषदका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद विकास ऐनमा रहेका जटिलताहरु हटाउन सवैको ध्यान जानुपर्ने बताए । कार्यक्रममा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाललगायतले आफ्ना भनाइ राखेका थिए ।





