सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दर्शक नहुँदा घट्यो सहाराको आम्दानी

दर्शक नहुँदा घट्यो सहाराको आम्दानी

दर्शक तान्न विदेशी टिममा लगानी गरिने ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८०, बुधबार

पोखरा/ मोफसलकै चर्चित नकआउट फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपका पछिल्ला संस्करणमा दर्शकको चाप घट्न थालेको छ । अपेक्षाअनुसार दर्शक नआउँदा सहारा क्लबको आम्दानीमा असर गरेको छ । क्याराभानसहित २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपबाट ९४ लाख ६५ हजार ६२६ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगिता संचालन गर्दा ९१ लाख ४६ हजार ९ सय ६९ रुपैयाँ खर्च भएको छ भने ३ लाख १८ हजार ६ सय ५७ रुपैयाँ बचत भएको छ ।

प्रतियोगिताको अर्थ संकलन उप–समितिका संयोजक सुनिल गुरुङले आय–व्यय सार्वजानिक गर्दै पुस १४ देखि २३ गतेसम्म संचालन भएको २२ औं संस्करणको प्रतियोगिताको गेट टिकटबाट १७ लाख ८६ हजार ९ सय ३० रुपैयाँ र सिजनल टिकटबाट १२ हजार रुपैयाँ आम्दानी भएको बताए । उनका अनुसार व्यानर एवं आर्थिक सहयोग ११ लाख ७२ हजार ९ सय, मुख्य प्रायोजक हिम श्री फुड्स प्रालिबाट २२ लाख २५ हजार रुपैयाँ प्राप्त भएको हो । प्रतियोगितामा अपेक्षा अनुसार दर्शक नभएको आयोजकको भनाइ छ । १० दिनसम्म संचालन भएको प्रतियोगिताको फाइन खेलमाबाहेक अन्य खेलमा दर्शकको त्यति सहभागिता देखिएन् ।

आहा रारा गोल्डकपको १५ औं संस्करणमा ९७ लाख १० हजार ६५ रुपैयाँ आम्दानी हुँदा टिकटबाट ४ लाख १५ हजार ३७० रुपैयाँ उठेको थियो । २७ लाख ७८ हजरा १९१ रुपैयाँ बचत भएको थियो । १६ औं संस्करणमा टिकटबाट ३३ लाख ५० हजार ६८५ रुपैयाँ आम्दानी भएको थियो । कुल ९४ लाख ४१ हजार १४८ रुपैयाँ आम्दानी, २३ लाख ७६ हजार ९७ रुपैयाँ बचत भएको थियो । १७ औं मा टिकटबाट १५ लाख ५० हजार २६५ रुपैयाँ उठेको थियो । कुल आम्दानी ७० लाख ७८ हजार ७८६ हुँदा १ लाख ४९ हजार ३२६ रुपैयाँ बचत भएको थियो । १८ औं टिकटबाट २८ लाख ४३ हजार ४७० रुपैयाँ उठेको थियो । कुल आम्दानी ८८ लाख १० हजार ३६६ र बचत १८ लाख ९६ हजार ६५७ रुपैयाँ भएको थियो । १९ औं मा टिकटबाट २२ लाख ११ हजार २२० रुपैयाँ उठेको थियो । कुल आम्दानी ५६ लाख ८१ हजार ५२६ रुपैयाँ आम्दानी भएको थियो । ६२ लाख १० हजार ८९९ रुपैयाँ खर्च भएको थियो । २० औं मा टिकटबाट ७ लाख ८६ हजार ८९० रुपैयाँ उठेको थियो । कुल ६९ लाख ८९ हजार आम्दानी हुँदा ३ लाख ४७ हजार ८१८ रुपैयाँ बचत भएको थियो । यो तथ्यांकले पनि आहा रारा गोल्डकपमा दर्शक घटिरहेको देखिन्छ । क्लबले आम्दानी अनुसार खर्च गरे पनि दर्शक भने निकै कम देखिएको हो ।

सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोनापश्चात दर्शक घटेको सुनाए । उनले कोरोना महामारीपछि आहा रारा गोल्डकपमा दर्शक घटेको र प्रतियोगितामा नेपाली सधैं एकै टिममात्र खेलिरहँदा समेत दर्शकको मन जित्न नसकेको स्विकारे । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) ले समयमै मिति नदिँदा प्रतियोगितामा राम्रा विदेशी टिम ल्याउन नसकेको बताए । २३ औं संस्करणका लागि क्लबले भारत र बंगलादेशको राम्रो टिम ल्याउने तयारी समेत गरेको उनको भनाइ छ । ‘हामीले सामाजिक कार्यमात्र गर्छौ भनेर दर्शक नआउने रहेछन् । यसका लागि स्तरीय टिम पनि चाहिँदो रहेछ । नेपालीमात्रै होइन विदेशी स्तरीय टिम ल्याउँदा दर्शकमा उत्साह आउने रहेछ,’ उनले भने, ‘हिजोको दिनमा हामीले बोलाएको विदेशी टिम त्यति राम्रा थिएनन् । सस्तो टिम आएको थियो तर आज हामी उनीहरुलाई लगानी गरेर नै ल्याउने तयारीमा जुटिरहेका छौं । २३ जनाको टिम आउँदा करिब ६ लाख खर्च लाग्छ त्यो व्यहोर्न हामी तयार भएका छौं ।’ टिम राम्रो ल्याएपछि दर्शकको चाप बढ्नेमा क्लब आशावादी देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->